मञ्चमा गुटबन्दी
नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा हिमेशरत्न बज्राचार्य र अजय फुँयालको भिडन्त हुने पक्का भएको छ । यही चैत २४ गते हुने निर्वाचनमा अध्यक्ष पदमा दुवैले आफ्नो दाबेदारी नछोडेपछि निर्वाचन हुन लागेको हो । अध्यक्ष पदमा हिमेश र अजयको उम्मेदवारीसँगै अहिले मञ्चको राजनीति पनि तातेको छ भने खेलकुद पत्रकारहरू दुई गुटमा विभाजित भएका छन् । त्यस्तै मञ्चसँग प्रत्यक्ष–अप्रत्यक्ष सम्बन्ध राख्नेहरू पनि हिमेश र अजयको पक्षमा गोप्य रूपमा लबिङ गर्न थालेका छन् । र पनि अहिलेसम्म निर्विरोध रूपमा निर्वाचन गर्दै आएको मञ्चले ‘निर्विरोध’को प्रक्रियालाई नै पहिलो प्राथमिकतामा राखेको बुझिएको छ । यसका लागि मञ्चका अध्यक्ष निरञ्जन राजवंशी, महासचिव हेमन्त काफ्ले, उपाध्यक्ष महेश आचार्य र मञ्चका अन्य पदाधिकारीबीच ‘विशेष होमवर्क’ भइरहेको जानकारीमा आएको छ । थाहा भएअनुसार उनीहरूले यो अचुक अस्त्र परिस्थितिलाई बुझेर गर्ने बुझिएको छ ।
आवरणमा एउटै ढिकाजस्तो देखिए पनि मञ्चका पदाधिकारीमा ‘फुट’को विजारोपण भएको लामो समय भइसकेको छ । आपसी मनमुटाव अर्थात् जुँगाको लडाइँले गर्दा मञ्चका पदाधिकारी एक गुटमा मात्र नभई तीन गुटमा विभाजित भएका थिए । जसले गर्दा एउटै संस्थाका पदाधिकारी भए पनि उनीहरूको टाउको हिमेश, अजय र निरञ्जनतर्फ फर्किएको थियो । तर, संस्था फुट्ने डर र सन्त्रासले गर्दा भित्र आगो दन्किए पनि मञ्चका पदाधिकारीहरूले यो विवादलाई सतहमा आउन दिएनन् । विवाद सतहमा आए सबैको पोल खुल्ने र मञ्चको प्रतिष्ठासमेत दाउमा लाग्ने भएकाले उनीहरूले देखाउनकै लागि भए पनि आवरणमा राम्रो अभिनय गर्न सफल भएका थिए । जुन यद्यपि जारी छ, जसलाई मञ्चको साङ्गठित सफलताको कडी पनि मान्न सकिन्छ । वर्तमान अवस्थामा गुट, उपगुटमा बाँडिएर एकले अर्कोलाई पाखा लगाउने मनसायका साथ अगाडि बढेका मञ्चका पदाधिकारीहरूले अन्त्यमा विवाद छताछुल्ल हुन नदिन एकताको सन्देशसहित निर्विरोध निर्वाचन सम्पन्न गरे त्यसलाई अन्यथा मान्नुपर्ने छैन ।
आगामी चैत २४ गते हुने मञ्चको निर्वाचनको सरगर्मीले अहिले सम्पूर्ण खेलकुद पत्रकारको ध्यानाकर्षण गरेको छ । मञ्चका पदाधिकारी दुई गुटमा विभाजित भएपछि निर्वाचनको माहोल अझ तातेको छ । यस्तो अवस्थामा प्रथम उपाध्यक्षको दाबेदार विनोद पाण्डेले आफू कुनै पनि पदमा नबस्ने घोषणा गर्दा अर्को समस्या थपिएको छ । तटस्थवादी पाण्डेका लागि अहिले पनि उक्त पद खाली राखिएको छ । तीन उपाध्यक्ष रहने मञ्चको कार्यसमितिमा श्रीलोचन राजोपाध्याय, देवेन्द्र सुवेदी र सञ्जीव सिल्पकारको नाम चर्चामा आएको छ । त्यस्तै महासचिवमा महेश आचार्य र सचिवमा प्रकाश तिमिल्सिना सर्वसम्मतिबाट चुनिने प्राय: निश्चित भएको छ । यसैगरी कोषाध्यक्षका लागि नवीन खतिवडा र प्रमोद पोखरेलको नाम अगाडि आएको छ । खतिवडा र पोखरेलले भिन्दाभिन्दै गुटको प्रतिनिधित्व गर्ने भएकाले प्रकाश तिमिल्सिनालाई सचिव बनाउने हो भने पोखरेललाई कोषाध्यक्ष बनाउनुपर्ने बार्गेनिङ भइरहेको छ । यसैगरी निवर्तमान अध्यक्षको पद खडागरी निरञ्जन राजवंशीलाई सधैँभरि मञ्चमा राख्ने प्रयास भइरहेको छ । महासचिव हेमन्त काफ्ले प्रेस युनियनको राजनीतिमा चुर्लुम्म डुबेकाले उनले मञ्चमा बस्ने कुनै चासो देखाएका छैनन् । तैपनि काफ्लेलाई सम्मान स्वरूप मञ्चको सल्लाहकारमा राख्ने कोसिस भइरहेको छ । महिलातर्फ दुईजना पवित्रा राउत र सरिता श्रेष्ठलाई मनोनयन गर्ने बुझिए पनि प्रतीक्षा दुलालको बारेमा भने टुङ्गो लाग्न सकेको छैन ।
निर्वाचन फत्ते गर्न अहिले दुवै गुट आफ्नो रणनीति बनाएर गोप्य रूपमा कसरत गरिरहेका छन् । हिमेशको गुटमा हेमन्त काफ्ले, प्रजित शाक्य, श्रीलोचन राजोपाध्यय, प्रमोद पोखरेल, रोशन राउत, पवित्रा राउत र सञ्जीव सिल्पकार रहेका छन् । त्यस्तै अजयको गुटमा निरञ्जन राजवंशी, महेश आचार्य, प्रकाश तिमिल्सिना, नवीन खतिवडा, सरिता श्रेष्ठ, पवन आचार्य र देवेन्द्र सुवेदी देखिएका छन् । अब यिनीहरूको रणनीतिले एक–अर्कालाई कस्तो प्रभाव पार्छ त्यो निर्वाचनको परिणामले देखाउने भए पनि अहिलेसम्मको स्थितिमा हिमेशको पलडा भारी देखिएको छ । हिमेश र अजयको आँकडामा अहिले ६०–४० को अन्तर देखिएको छ । भविष्यमा यो दूरी बढ्छ कि समिप आउँछ त्यो भन्न सकिने अवस्था छैन । हिमेश अध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने र अजयले अर्कोपटक आफूलाई अध्यक्ष बनाउने भए दाबेदारी छोड्नेजस्ता चर्चा चल्नुले अन्त्यमा अध्यक्ष पनि निर्विरोध हुने सङ्केत देखिएको छ । यसका लागि हालै पोखरामा सम्पन्न भएको नेपाल पत्रकार महासङ्घको साधारणसभामा भाग लिन गएका मञ्चका पदाधिकारीले कस्तोखाले गोप्य मन्त्रणा गरेका छन् त्यसको खुलासा पछि अवश्य थाहा हुनेछ ।
मञ्चको निर्वाचनमा अन्य पदका लागि दुवै गुटमा सहमति जुट्ने देखिए पनि अध्यक्षका लागि भने निर्वाचन हुने पक्काजस्तै भएको छ । अध्यक्ष निरञ्जन राजवंशी र नेपाल ओलम्पिक कमिटीको साथ पाएका अजय फुँयाल अहिले अखिल नेपाल फुटबल सङ्घको औपचारिक धारणाको प्रतीक्षामा छन् । एनओसीका अध्यक्ष ध्रुवबहादुर प्रधान, महासचिव जीवनराम श्रेष्ठको पहिल्यै समर्थन र आशीर्वाद पाइसकेका अजय अहिले गणेश थापाको आशीर्वादको पर्खाइमा छन् । मञ्चमा थापाको निकै बोलवाला भएकाले थापाको समर्थनबिना यो लडाइँ जित्न फलामकै चिउरा सावित हुने अजयले राम्ररी बुझेका छन् । तसर्थ साथीहरूको सहयोगसँगै अजय यी खेलकुद सङ्घसंस्थाहरूको सहयोगमा आफूलाई अध्यक्षको उम्मेदवार बनाउन चाहन्छन् । उता ‘जेन्टलम्यान’का रूपले परिचित हिमेश भने यस्ता दाउपेच र रणनीतिवाट बेखबर छन् । उनी कसैको आशीर्वादले भन्दा पनि आफ्ना साथीहरूको मन जितेर अध्यक्ष बन्न चाहन्छन् । यो हिमेशको प्रिन्सिपल भए पनि निर्वाचनमा उत्रिसकेपछि राजनीतिक फट्याइँ र चतु-याइँलाई आत्मसात् नगर्नुमा हिमेशको ठूलो कमजोरी देखिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चको निर्वाचनलाई राष्ट्रिय खेलकुद परिषद्ले त्यति आत्मसात् गरेको देखिँदैन । तर, नेपाल ओलम्पिक कमिटी र अखिल नेपाल फुटबल सङ्घले भने मञ्चको निर्वाचनलाई निकै नजिकबाट नियालेका छन् । वास्तविक रूपमा भन्ने हो भने उनीहरूले निकै अर्थपूर्ण रूपमा हेरेका छन्– यो निर्वाचनलाई । कारण जे पनि हुनसक्छ, यसमा उनीहरूको स्वार्थ लुकेको पनि हुनसक्छ । आखिर कुरा जे भए पनि एनओसीको पहिलो च्वाइसको रूपमा अजय परेका छन् भने एन्फाको फिट्टी–फिट्टी मात्रै छ । यस्तो अवस्थामा कान्तिपुर हिमेशलाई जिताउन साम दाम डण्ड भेद चारै नीति अवलम्बन गरिरहेको अवस्थामा गणेश थापाको पनि समर्थन र सहयोग पाएको खण्डमा हिमेशले आनन्दले बाजी मार्ने देखिन्छ । अर्को कुरा थापाको अन्य सञ्चारमाध्यमभन्दा कान्तिपुरप्रति बढी झुकावका कारणले पनि हिमेशलाई समर्थन गर्न ‘भिटो’ प्रयोग नगर्लान् भन्न सकिँदैन । यदि थापाले भिटो प्रयोग गरेमा मञ्चका केही सदस्य मात्र नभई स्वयम् अध्यक्ष निरञ्जन राजवंशी पनि हिमेशको पक्षमा उत्रिने कुरा अजयले पनि राम्ररी बुझेका छन् ।
यसरी मञ्चको निर्वाचन उत्सर्गमा पुग्दा दुवै गुट आफ्नो उम्मेदवारलाई जिताउन ज्यान छोडेर लागेका छन् । हिमेशलाई आन्तरिक र अजयलाई बाह्य समर्थन रहेको प्रस्ट देखिने यो लडाइँ यदि निर्वाचनमा परिणत भयो भने राम्रै ‘बुलफाइट’ हुने देखिन्छ । स्मरणीय कुरा अहिले पनि ६०–४० को अन्तर बनाएका हिमेशले निर्वाचनमा आफ्नो ‘जेन्टलम्यानसिप’लाई अझ उदार बनाए भने त्यो अजयको लागि ठूलो खतरा बन्नसक्छ । अजय र हिमेशको व्यक्तित्वबारे यहाँ कुनै विश्लेषण गर्नुभन्दा मञ्चले नै यसको छिनोफानो गर्दा राम्रो हुन्छ । ‘को कति पानीमा छ’ यसको सम्पूर्ण जानकारी मञ्चसञ्ग छ, त्यसैले मञ्च निर्वाचनभन्दा निर्विरोधलाई बढी प्राथमिकता दिइरहेको छ । तर, विडम्बना ! थुप्रैपटक यो विवादलाई समाधान गर्न ‘सिटिङ’ भइसके पनि त्यसको परिणाम सकारात्मक आउन सकेको छैन । अजयलाई उचाल्ने र हिमेशलाई पछार्ने खेलमा अहिले ठूलो गिरोह नै सलबलाएको छ, अर्थात् लागेको छ । यसको लपेटामा स्वयम् अध्यक्ष राजवंशी र केही पदाधिकारीसमेत परेका छन् । जसले गर्दा समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ । यसले समाधान होइन, समस्या नित्याउने पक्का छ । अझ राजनीतिका धुरन्धर खेलाडीका रूपमा सुपरिचित महासचिव हेमन्त कापm्ले पर्ख र हेरलाई कुरेर बसेकाले उनले जुनबेला पनि सकुनी दाउ हान्न सक्छन् । यदि काफ्लेलाई सकुनी दाउ हान्न बाध्य पारिएमा मञ्चको निर्वाचन एकै रातमा पल्टिन पनि सक्छ । जुन मञ्चका लागि फलदायी र पीडादायिक दुवै हुनसक्छ, सबैलाई चेतना भया ।
सबैका लागि जिम्न्यास्टिक्स सुरु
राष्ट्रिय स्कुल जिम्न्यास्टिक्स महासङ्घ नेपालको आयोजनामा सबैका लागि जिम्न्यास्टिक Level–1 International Instructor Course for School’s Teachers कोर्स सुरु भएको छ । चैत २३ गतेसम्म सञ्चालन हुने कोर्समा ३८ जिल्लाका ४० स्कुल र त्रिभुवन विश्वविद्यालयका २९ प्राध्यापकसहित ८५ विद्यार्थीको सहभागिता रहेको छ । प्रशिक्षार्थीहरूलाई NITTIADIA निप्पोन स्पोर्टस् साइन्स विश्वविद्यालय, टोकियो, जापानका प्रोफेसर तात्सुओ आराकीले प्रशिक्षण प्रदान गरिरहेका छन् । कार्यक्रमको एक समारोहबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले उद्घाटन गरेका थिए ।
प्रथम राष्ट्रिय जुनियर च्याम्पियनसिप हुने
प्रथम राष्ट्रिय जुनियर च्याम्पियनसिप यही आर्थिक वर्षभित्रै सम्पन्न हुने भएको छ । विद्यालय खेलकुद विकास बोर्डको आयोजनामा हुन लागेको प्रतियोगितामा एथलेटिक्स, फुटबल, भलिबल, तेक्वान्दो, कराते, उसु, बास्केटबल, बुद्धिचाल र बाघचाल समावेश गरिएका छन् । बास्केटबल र उसुको भने खुला प्रतिस्पर्धा हुनेछ भने अन्य खेलको हकमा जिल्ला र क्षेत्रीय छनोटबाट खेलाडी राष्ट्रिय जुनियर च्याम्पियनसिपमा सहभागी हुन पाउनेछन् । उक्त कुराको निर्णय बोर्डको दोस्रो बैठकले गरेको हो ।
बैठकमा बोल्दै बोर्डका अध्यक्ष एवम् राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले राष्ट्रलाई विश्वसामु चिनाउने मुख्य माध्यम खेलकुद भएकाले यो प्रतियोगिता सफल पार्न सबैलाई आग्रह गरेका थिए ।
‘समग्र खेलकुदको विकास भन्नु नै विद्यालय खेलकुद भएकाले राष्ट्रिय खेलकुद परिषद्ले पनि त्यही नीति अख्तियार गरेको हो,’ लामाले भने । लामाले तेस्रो बैठकले च्याम्पियनसिपको मितिलगायत प्राविधिक कुराहरूको समेत
टङ्गो लगाउने जानकारी गराएका थिए । सो अवसरमा बोर्डका सदस्यद्वय बुद्धि पुडासैनी र ऋतु सापकोटाले प्रतियोगितालाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । बोर्डका सचिव एवम् राखेप विद्यालय खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापाले बैठकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
मनाङमस्र्याङ्दी च्याम्पियन
ओङगेल सर्वोत्कृष्ट धनुर्धर
लक्ष्मी हुन्डाई मनाङमस्र्याङ्दी आर्चरी क्लबले अन्तरसमाज धनुषवाण प्रतियोगिताको उपाधि हात पारेको छ । थकाली सेवा समितिको आयोजनामा बालाजुस्थित समितिको कार्यालयमै भएको खेलमा मनाङले समग्रमा एक सय ६१ अङ्क बनाएर उपाधि जितेको हो । खेलको निर्धारित १५ डोरमा मनाङ र म्याग्दी मगर समाजले समान एक सय ४९ अङ्क बनाएपछि थपिएको एक डोरमा मनाङले १२ अङ्क थपेपछि उपाधि हात पारेको हो । म्याग्दीले भने थपिएको एक डोरमा ११ अङ्क मात्र बनाउँदै १ अङ्कले पछि पदै समग्रमा एक सय ६० अङ्क बनाएको थियो । मनाङको जितमा ओङगेल गुरुङले २९ स्कोर, नोर्बु गुरुङ र कमल गुरुङले समान २७–२७ स्कोर, चित्रलाल हिराचनले २५ स्कोर, शरद गुरुङले २३ स्कोर र छिमी गुरुङले १८ स्कोर बनाएका थिए । म्याग्दी समाजका लागि भने कुमार पाइजाले २८ स्कोर, सुभास पाइजाले २७ स्कोर, रूपक पुनले २६ स्कोर, राम पुनले २४ स्कोर, श्रीप्रसाद पुनले २३ स्कोर र जुलुम पुनले २१ स्कोर बनाएका थिए ।
प्रतियोगितामा मनाङका ओङगेल गुरुङले सर्वोत्कृष्ट धनुर्धर घोषित भए भने म्याग्दीका राम पुन विशिष्ट धनुर्धर भए । त्यस्तै प्रतियोगितामा नेपाल–जापान सम्पर्क समिति एक सय ४७ अङ्क बनाएर तेस्रो भयो । प्रतियोगिताका विजेतालाई पूर्वमन्त्री ओमकार गौचनले पुरस्कार प्रदान गरे । प्रतियोगितामा च्याम्पियन मनाङले पुरस्कारस्वरूप २० हजार रुपैयाँ प्राप्त ग-यो भने दोस्रो भएको म्याग्दी मगर समाजले १५ हजार र तेस्रो भएको नेपाल–जापान सम्पर्क समितिले १० हजार रुपैयाँमा चित्त बुझायो । विभिन्न १२ टिमले सहभागिता जनाएको प्रतियोगिता ५ दिनसम्म चलेको थियो ।
राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप हुने
आफ्नो वार्षिक कार्यक्रमअनुसार नेपाल एमेच्योर एथलेटिक्स सङ्घले यही चैत २७ देखि २९ गतेसम्म ३८औँ राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप प्रतियोगितामा आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिताको आधारमा चरणबद्ध रूपमा (मापदण्डको आधारमा) आउने एसियन गेम्स र साग गेम्सका लागि खेलाडी छनोट गरिने जानकारी गराइएको छ । प्रतियोगितामा एसियन र साग गेम्समा नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्न सकिने सम्भावित २८ इभेन्टहरूको प्रतिस्पर्धा गराइने भएको छ । समावेश पुरुष इभेन्टहरूमा ट्राकतर्फ १०० मिटर, २०० मि., ४०० मि., ८०० मि., १५०० मि. ५००० मि., १०००० मि., ११० मि. हडल्स र फिल्डतर्फ हाइजम्प, लङजम्प, ट्रिपलजम्प, सटफुट, ज्याभलिन थ्रो, र डिस्कस थ्रो रहेका छन् । त्यस्तै महिलातर्फ ट्रयाक इभेन्टहरूमा १०० मि., २०० मि., ४०० मि., ८०० मि., १५०० मि., ५००० मि., १०००० मि., १०० मि. हडल्स र फिल्डतर्फ हाइजम्प, लङजम्प, ट्रिपलजम्प, सटफुट, ज्याभलिन थ्रो, डिस्कस थ्रो रहेका छन् ।
क्लाइम्बिङमा विष्ट, सिंह र खड्कालाई उपाधि
नेपाली सेनाका श्याम विष्ट, पर्वतारोही आशाकुमारी सिंह तथा हरेराम खड्काले काठमाडौंमा सम्पन्न छैटौँ राष्ट्रिय स्पोर्टस् क्लाइम्बिङ च्याम्पियनसिपमा उपाधि हात पारेका छन् । पर्वतीय खेल महोत्सवअन्तर्गत काठमाडौंको महाराजगञ्जस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानमा दुई दिन भएको खेलमा उनीहरू विभिन्न तीन विद्यामा च्याम्पियन बनेका हुन् । लिड क्लाइम्बिङतर्फ हरेराम खड्काले उपाधि हात पार्दै २० हजार रुपैयाँ र एभरेस्ट अवार्ड हात पारे । त्यस्तै अनुप गुरुङ दोस्रो बन्दै नगद १० हजार रुपैयाँ र लुम्बिनी अवार्ड प्राप्त गर्न सफल भए । तेस्रो बनेका पासाङ टेन्डी शेर्पाले नगद पाँच हजार रुपैयाँ र अन्नपूर्ण अवार्ड हात पारेका थिए ।
टप रोप विधाको पुरुषतर्फ नेपाली सेनाका श्यामबहादुर विष्टले पहिलो स्थान हात पार्दा नेपाल स्काउटका प्रकाश श्रेष्ठ दोस्रो राजु राई तेस्रो भएका थिए । विष्टले नगद २० हजार र एभरेस्ट अवार्ड, श्रेष्ठले नगद १० हजार र लुम्बिनी अवार्ड तथा राईले नगद पाँच हजार र अन्नपूर्ण अवार्ड पाएका थिए । महिलातर्फको खेलमा पर्वतारोही आशाकुमारी सिंहले पहिलो स्थान हासिल गर्दै नगद २० हजार प्राप्त गरेकी थिइन् । त्यस्तै निङ डोमा शेर्पा दोस्रो याङ्दी शेर्पाले तेस्रो स्थान प्राप्त गरेकी थिइन् । सिंहलाई एभरेस्ट अवार्डबाट, डोमालाई लुम्बिनी अवार्डबाट तथा याङ्दीलाई अन्नपूर्ण अवार्डबाट समेत सम्मन गरिएको थियो ।
नेपाल स्पोर्टस् क्लाइम्बिङ एसोसिएसनको आयोजनामा भएको खेलमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल स्काउटसहित ९३ खेलाडीको सहभागिता रहेको थियो । विजयी खेलाडीलाई नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, एमालेका युवा नेता योगेश भट्टराईलगायतले पुरस्कार वितरण गरेका थिए ।
दक्षिण एसियाली ट्रायथलन नेपालको वर्चश्व
पोखरामा भएको एकदिने दक्षिण एसियाली ट्रायथलन प्रतियोगितमा नेपाली खेलाडीले नै वर्चश्व जमाउन सफल भएका छन् । ट्रायथलनको स्ट्यान्डर्ड विधामा भने विदेशी खेलाडीले कब्जा जमाएका थिए । जसमा १५ सय मिटर पौडी, ४० किलोमिटर साइक्लिङ र १० किलोमिटरको दौडमा विदेशी खेलाडी सन मिडल्स पहिलो भए । उनले निर्धारित दूरी दुई घन्टा ५७ मिनेट ५६ सेकेन्ड समय लगाएर पूरा गरेका थिए । दुई घन्टा ५८ मिनेट २७ सेकेन्ड समय लगाएर रिचर्ड म्याक डोबल्स दोस्रो बन्दा तीन घन्टा ५ मिनेट २२ सेकेन्ड समय लगाएका नेपालका चित्र पौडेल तेस्रोे भएका थिए ।
स्प्रिन्टतर्फ सात सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौडमा नेपालका दिलीप थापामगर प्रथम भएका थिए । उनले एक घन्टा ५३ मिनेट ४८ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए । गोविन्द कार्की एक घन्टा ३४ मिनेट ४४ सेकेन्डमा दूरी पार गरेर दोस्रो बन्दा एक घन्टा ३७ मिनेट ३७ सेकेन्ड समय लगाएका राजकुमार राना तेस्रो भएका थिए ।
दुवाथोलनतर्फ ४० किलोमिटर साइक्लिङ र १० किलोमिटर दौडमा हिमाल टमटा पहिलो भए । उनले उक्त दूरी दुई घन्टा १५ मिनेट शून्य तीन सेकेन्ड समयमा पार गरेका हुन् । त्यस्तै दुई घन्टा २६ मिनेट ५० सेकेन्ड समय लगाएर जीवन राई दोस्रो र सन्दीप राई दुई घन्टा २८ मिनेट ५५ सेकेन्ड समय लगाएर तेस्रो भएका थिए । महिलातर्फ लक्ष्मी मगर तीन घन्टा आठ सेकेन्ड समय लगाएर प्रथम भएकी थिइन् । सोही प्रतिस्पर्धामा एसटी उमार दोस्रो र सारूप बोकर तेस्रो भएकी थिइन् ।
टिम रिलेतर्फ सात सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटरमा महेन्द्र शाहीको टिम पहिलो भएको थियो । सो टिमले ४१ मिनेट शून्य दशमलव नौ सेकेन्डमा दूरी पार गरेको थियो । त्यस्तै उत्तम क्षेत्रीको टिम दोस्रो र कर्मा गुरुङको टिम तेस्रो भएको थियो । एसियन च्याम्पियन्सिपतर्फ सात सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ पाँच किलोमिटर दौडमा राजीव गुरुङ एक घन्टा ३१ मिनेट ५४ सेकेन्ड समय लगाएर पहिलो भए । भारतका खगिजा अफतार दोस्रो र बंगलादेशका एमडी असिफरिजा तेस्रो भएका थिए ।
प्रतियोगितामा नेसनल च्याम्पियन्सिपतर्फ राजीव गुरुङ पहिलो, दिलीप थापामगर दोस्रो र गोविन्द कार्की तेस्रो भएका थिए प्रतियोगिता पर्वतीय खेल महोत्सवअन्तर्गत आयोजना भएको हो ।
लीला र देविका च्याम्पियन
नेपाली सेनाका लीला अधिकारी र सशस्त्र प्रहरीकी देविका खड्का ललितपुरमा सम्पन्न तेस्रो उपत्यकाव्यापी जुडो प्रतियोगितामा च्याम्पियन बनेका छन् । ललितपुर महोत्सवअन्तर्गत आयोजना भएको उपत्यकाव्यापी जुडोमा नेपाली सेनाकी लीला अधिकारीले ४८ केजी तौल समूहमा सिडब्लूसीएनकी मनीषा महर्जनलाई इपोनका आधारमा पाखा लगाएर च्याम्पियन बनेकी हुन् । ५२ केजीतर्फको भिडन्तमा सशस्त्रकी देविका खड्काले सीडब्लूसीएनकी अमृता नेपालीलाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् । ६६ केजी पुरुषतर्फ नेपाली सेनाका पवन श्रेष्ठ पहिलो भए भने ७३ केजीमा केन्द्रीय डोजोका मोहन सुनार बाजी मारेका थिए । ७३ केजीभन्दा माथिको समूहमा एएमसीका विपक्षी श्रेष्ठ पहिलो भएका थिए । प्रतियोगिताका विजयी खेलाडीलाई नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्य, ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष अजरमान जोशी, ज्यापु समाजका अध्यक्ष मंगल महर्जनलगायतले पुरस्कार वितरण गरेका थिए ।
क्यास्पियनलाई फुटबल उपाधि
क्यास्पियनले सातौँ एलए कपअन्तर्गत अन्तरकलेजस्तरीय फुटबलको उपाधि जितेको छ । हात्तीवनस्थित लिटिल एन्जल्सको मैदानमा भएको फाइनलमा क्यास्पियनले मेगा कलेजलाई ३–१ ले पराजित ग-यो ।
विजयी टिमका लागि साजन थापा, अर्विन अधिकारी तथा राजेन्द्र बोहोराले गोल गरेका थिए । मेगाका तर्फबाट सोमबल तामाङले सान्त्वना गोल फर्काएका थिए । उपाधिसँगै क्यास्पियनले १५ हजार तथा मेगाले १० हजार नगद पुरस्कार हात पारेका छन् । विजेतालाई एलएसीएमका प्रिन्सिपल मित्रबन्धु पौडेल तथा भाइस प्रिन्सिपल माधव दाहालले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा १९ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया