काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस र प्रदेश नम्बर १ विजयी भएका छन् । पुलिसले प्रदेश ७ लाई १७४ रनले पराजित गर्दा प्रदेश १ ले प्रदेश २ लाई ६८ रनले पाखा लगाएको थियो ।
टियू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल पुलिसले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३२४ रनको विशाल योगफल बनाएको थियो । पुलिसका लागि ओपनर सुनील धमलाले सर्वाधिक ८३ रनको इनिङ खेलेका थिए । उनले ३९.४ ओभरमा रनआउट हुनुअघि ११३ बलमा ९ चौका प्रहार गरे । उनी खेलको म्यान अफ दी म्याचसमेत चुनिएका थिए ।
त्यस्तै, आरिफ शेखले ५७ रन बनाउन ३७ बलमा खर्चेका थिए । उनले ५ छक्का र २ चौका प्रहार गरे । त्यस्तै कप्तान मञ्जित श्रेष्ठले पनि ३३ बलमा ३ छक्का र ४ चौकाको सहयोगमा ४९ रन बनाए । पुलिसका लागि दिलीप नाथले २७, दीपेन्द्रसिंह ऐरीले २५, कुशल भुर्तेलले २२ र सिद्धान्त लोहनीले २६ रन बनाएका थिए । बलिङतर्फ प्रदेश ७ का शेर मल्लले २ विकेट लिए ।
३२५ रनको विशाल लक्ष्य पछ्याएको प्रदेश ७ ले ब्याटिङ गर्दै गर्दा वर्षाले खेल रोकिएको थियो । त्यसपछि ३७ ओभरमा खेल छोट्याइएपछि प्रदेश ७ ले ३०५ रनको नयाँ लक्ष्य पाएको थियो । तर, कमजोर शुरुवात गरेको प्रदेश सातका अरुण ऐरीबाहेक अन्य ब्याट्सम्यान धेरै समय क्रिजमा टिक्न सकेनन् । ऐरीले ७० रनको पारी खेले पनि अन्य खेलाडी सस्तैमा आउट भएका थिए ।
बलिङतर्फ पुलिसका दिपेन्द्रसिंह ऐरीले ४ तथा ललित भण्डारीले २ विकेट लिए । प्रतियोगितामा पुलिसको पहिलो जित हो भने प्रदेश ७ ले पहिलो पराजय ब्यहोरेको हो । यसअघि आइतबार भएको खेलमा प्रदेश ७ ले कर्णाली प्रदेशलाई पराजित गरेको थियो ।
साथै मूलपानीमा भएको अर्को खेलमा प्रदेश १ ले प्रदेश २ लाई ६८ रनले पराजित गरेको थियो । प्रदेश नम्बर १ ले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २२३ रन बनाएको थियो । प्रदेश १ का लागि सन्दीप ढुङ्गानाले ५१ रन बनाएका थिए । ६९ बल खेलेका सन्दीपले ८ चौका प्रहार गरे । यसैगरी फिर्दोष अन्सारी र श्रवण यादवले आउट नभई ३७ र ३४ रन जोडे ।

प्रदेश २ का सन्देश शेखले ४ तथा मेहबुब आलमले २ तथा हरिनारायण साहले १ विकेट लिए । २२४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले १७ ओभरमा ६ विकेट गुमाएर ६७ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । त्यसपछि खेल ३४ ओभरमा झारियो र प्रदेश २ ले २१४ रनको नयाँ लक्ष्य पाएको थियो । तर, प्रदेश २, ३० ओभरमा १४५ रनमै समेटिएपछि प्रदेश १ को ६८ रनको जित हासिल गरेको थियो ।
प्रदेश २ का लागि ओपनर हरिशंकर शाहले सर्वाधिक ४४ रन बनाए पनि अन्यले गतिलो रन बनाउन सकेनन् । उसले २८ अतिरिक्त रन पाएको थियो । बलिङतर्फ १ नम्बर प्रदेशका पुष्प थापा र मिनास थापाले ३–३ विकेट लिए । कप्तानसमेत रहेका पुष्प थापा खेलको म्यान अफ दी म्याच चुनिएका थिए ।
प्रतिक्रिया