ब्राजिलका पूर्वचर्चित फुटबल खेलाडी रोनाल्डिन्होले आफ्नो जीवनबारे ठूलो खुलासा गरेका छन् । रोनाल्डिन्हो आफ्नो विवाहबारे खुलासा गर्दै विश्वभरिका आफ्ना फ्यानलाई चकित पारिदिएका छन् । ३८ वर्षीय रोनाल्डिन्होले आफूले यसै वर्षको अन्त्यमा दुई महिलासँग एकैसाथ विवाह गर्न लागेको खुलासा गरेपछि रोनाल्डिन्हो अहिले चर्चाको शिखरमा पुगेका छन् ।
ब्रिटेनको समाचारपत्र ‘डेली मिरर’ले ब्राजिलको एक स्थानीय सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारलाई आधार मान्दै रोनाल्डिन्होले सन् २०१८ को अगस्तमा आफ्ना गर्लफ्रेन्ड अर्थात् मंगेतरसँग विवाह गर्न लागेको जनाएको छ । डेली मिररका अनुसार रोनाल्डिन्होको विवाह प्रिस्किला कोएलो र बिटिज सुजासँग एकसाथ गर्न लागेको खुलासा गरेको छ । यतिबेला दुवै महिला कोएलो र सुजा रियो डी जेनेरियोमा रोनाल्डिन्होसँगै उनको घरमा बस्दै आएको पनि स्रोतले जनाएको छ । उनीहरू गत वर्ष डिसेम्बरदेखि रोनाल्डिन्होको घरमा बस्दै आएका हुन् ।
३८ वर्षीय रोनाल्डिन्होले सन् २०१६ देखि बिटिज सुजासँग डेट गर्न शुरु गरेको स्रोतले बताएको छ । जब कि रोनाल्डिन्हो प्रिस्किला कोएलोसँग पहिलेदेखि नै डेट गर्दै आएका थिए । रोनाल्डिन्हो प्रिस्किलासँग थुप्रै कार्यक्रममा एक साथ देखिएका पनि छन् । तर, पछिल्लो समयमा उनले बिटिजसँग डेट गर्दा पनि उनीहरूको सम्बन्धमा कुनै असर परेको छैन । रोनाल्डिन्होले समय मिलाएर दुवैलाई उत्तिकै प्राथमिकता दिएका कारण दुवैले रोनाल्डिन्होसँग विवाह गर्न तयार भएको जानकारी प्राप्त भएको छ । यो कुरालाई उनीहरूले एकसाथ खिचाएको तस्बिरले पनि प्रमाणित गर्छ ।
प्राप्त जानकारीअनुसार रोनाल्डिन्हो गत जनवरीमै दुवैसंग विवाह गर्न चाहन्थे । विवाहबारे रोनाल्डिन्होले प्रिस्किला र बिटिजसँग कुरा पनि गरेका थिए । साथै सो अवसरमा रोनाल्डिन्होले सगाईको औँठी पनि दुवैलाई प्रदान गरेका थिए । त्यतिबेला विवाह गर्न असम्भव भएपछि तीनैजनाको सल्लाहबमोजिम आउँदो अगस्तमा एकसाथ विवाह गर्ने निर्णय भएको थियो । सोहीअनुरूप अब रियोस्थित सान्टा मोनिका कोन्डोमिनियममा एक निजी समारोहमा उनीहरूको एकसाथ विवाह हुने पक्का भएको छ । अगस्तमा विवाह हुने पक्का भए पनि रोनाल्डिन्होकी बहिनीले यस विवाहबारे आपत्ति जनाउँदै विरोध जनाएकी छिन् ।
यतिबेला रोनाल्डिन्होको घरमा बसिरहेका प्रिस्किला र बिटिजलाई रोनाल्डोले मासिक १ हजार ५ सय पाउन्ड भत्ता दिएर राखेका छन् । उनीहरू यो रकम आफ्नो इच्छाअनुसार खर्च गर्न पाउँछन् । रोनाल्डिन्होको यस्तो खुलासाले यतिबेला फुटबल खेलमा तरङ्ग पैदा भएको छ । एउटा विश्वचर्चित खेलाडी जो ब्राजिलले विश्वकप जित्दाको प्रमुख सदस्य थियो, त्यस्तो व्यक्तिले एकसाथ दुईजनासँग विवाह गर्ने घोषणा गर्दा यसले आगामी दिनमा कस्तो सन्देश जान्छ त्यो अहिले चर्चा र परिचर्चाको विषय बनेको छ ।
प्रतिक्रिया