‘सबैका लागि स्वास्थ्य, स्वास्थ्यका लागि खेलकुद र आजैदेखि स्वस्थ बनौँ’ भन्ने मूल उद्देश्यसहित कार्य गर्दै आएको नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घले नेपाली खेलकुदमा भइरहेका विकृति–विसङ्गतिप्रति सधैँ औँला उठाउँदै आएको छ । खेलाडी होस् या प्रशिक्षक, पदाधिकारी होस् या कर्मचारी सबैको हकहितका लागि सङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै सुसूचित गर्दै आएको छ । अहिले इन्डोनेसियामा आयोजना हुन गइरहेको १८औँ एसियाली खेलकुद प्रतियोगितामा राष्ट्रिय खेलकुद सङ्घहरूमा राजनीतिक सिन्डिकेट, परिवारवाद र राजनीतिवाद हावी भएपछि सङ्घ पुनः तातेको छ । १८औँ सागमा प्रतिभावान खेलाडीलाई बाइपास गरिएकोप्रति असन्तुष्टि जनाउँदै आएका र राम्रो र राष्ट्रलाई पदक दिलाउन सक्ने उत्कृष्ट खेलाडीलाई खेलाउनुपर्छ भन्ने आवाज उठाउँदै आएका नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घका अध्यक्ष महेश नेवाःसँग श्रीविक्रम भण्डारीले गरेको कुराकानी :
० यतिबेला १८औँ एसियाली खेलकुद प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई सङ्घले बाइपास गरेको भन्ने नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घमा निवेदन परेको छ नि, के यो सत्य हो ?
– एकदमै सत्य हो, सङ्घकै सदस्य तथा लन टेनिसकी राष्ट्रिय खेलाडी पे्ररणा कोइरालाले निवेदन दिएकी हुन् । प्रेरणाले खेलाडीले खेल्न पाउने अधिकारवाट सङ्घले वञ्चित गरेको भन्दै निवेदन दिएकी हुन् । निवेदनमा लनटेनिसको खुला छनोट प्रतियोगिता खेलाडीको छनोट हुनुपर्ने र जसले विजय हासिल गर्छ त्यसले १८औँ एसियाडमा जानुपर्ने उल्लेख गरिएको छ । जुन खेलकुदलाई विवादरहित बनाउन उचित कदम भएको सङ्घले निस्कर्ष निकालेको छ ।
० अब प्रेरणालाई न्याय दिलाउन कस्तो कदम सङ्घले चाल्छ त ? तपाईंहरूको दबाबले लन टेनिसको छनोट प्रतियोगिता होला त ?
– प्रशिक्षक सङ्घ जहिले पनि खेलाडी र प्रशिक्षकको हकहित र अधिकारका लागि लड्दै आएको संस्था हो । त्यसैले प्रेरणाको मुद्दामा पनि सङ्घ लड्छ, उनीमाथि अन्याय भएको छ भने न्याय दिलाउने कोसिस गर्छ, यसमा दुईमत छैन । हामीले प्रतिभावान खेलाडीलाई खेलाउनुपर्छ हिजो पनि भनेका थियौँ आज पनि भन्छौँ । अहिले प्रेरणाको बारेमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र सङ्घसंस्थासँग छलफल भइरहेको छ । निष्पक्ष छनोट गरी प्रतिभावान् खेलाडी खेल्न पाउने वातावरण बनाउन लागेका छौँ । यदि सम्बन्धित निकायले यस विषयमा आलटाल गरे सम्पूर्ण खेलाडी तथा प्रशिक्षकलाई आन्दोलनमा उतार्ने छौँ । त्यसपछिको परिणामको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्नेछ ।
० तपाईंहरूले प्रेरणाको बारेमा मात्र चर्चा गर्नुभो, अन्य खेलमा पनि यस्तो घटना भएको छ नि ? त्यसबारे सङ्घको मौनता किन त ?
–हामी मौन बसेका छैनौँ, हामी हाम्रो कार्य गरिरहेका छौँ । जहाँसम्म प्रेरणाको कुरा छ, उनले सङ्घमा दिएको निवेदनका कारण हामीले अहिले उनको मुद्दालाई विशेष प्राथमिकतामा राखेका हौँ । अन्य सङ्घका खेलाडीले निवेदन दिए हामी उनीहरूको विषयमा पनि आवाज उठाउन तयार छौँ । त्यसका लागि सर्वप्रथम सङ्घलाई जानकारी गराउनु त प¥यो नि ? हो, हामीलाई थाहा छ, कुराँस र पेनकेक सितालका खेलाडी पनि मर्कामा परेका छन्, तर उनीहरूले कुनै किसिमको जानकारी हामीलाई गराएका छैनन् । एउटा कुरा के सत्य हो भने कुराँस र पेनकेकमा पूरै एमालेकरण भएको छ, त्यहाँ राजनीतिक हस्तक्षेप पनि उत्तिकै छ ।
० प्रेरणाको सवालमा त राष्ट्रिय खेलकुद परिषद्ले लनटेनिस सङ्घलाई पत्राचार गरेर सत्यतथ्यको जानकारी गराउन निर्देशन दिइसकेको छ नि ?
–हो, राखेपले लनटेनिस सङ्घलाई पत्राचार गरेर यस विषयमा तुरुन्त जानकारी गराउन निर्देशन दिएको छ । अहिले राखेपले निर्देशन दिएको पनि दुई साता बितिसक्दा पनि लनटेनिस सङ्घले कुनै जवाफ दिएको छैन । उल्टै खेलाडीलाई विवादमा पार्ने कार्य सङ्घले गरेको छ । छनोट प्रतियोगिता हुनुपर्छ, जसले जित्छ त्यसले एसियाडमा जानुपर्छ भन्ने माग राख्ने खेलाडीको भविष्य सिध्याउने खेल भएको छ । सुनिन आएअनुसार प्रेरणालाई कोर्टमा प्रशिक्षणसमेत गर्न नदिने तल्लोस्तरको निर्णय भएको बुझिएको छ । यसको मतलब यहाँ शक्तिको आडमा ठूलो चलखेल भइरहेको बुझ्न सकिन्छ ।
० प्रतिभावान् खेलाडीलाई खेल्न नदिने यस्तो अवस्थामा १३औँ एसियाडमा नेपालको प्रदर्शन कस्तो होला त ?
–यही कुरोमा त हामी चिन्तित छौँ । हाम्रो उद्देश्य भनेको हाम्रालाई होइन, राम्रालाई खेलाआँै भन्ने नै हो । तर, अहिले १८औँ एसियाडमा छनोट भएका सम्पूर्ण खेलमा व्यापक राजनीतीकरण भएको छ । जसले गर्दा राष्ट्रका राम्रा खेलाडी पछि परेका छन् । व्यवस्थापनमा पनि निकै कमी–कमजोरी देखिएको छ । राखेप र नेपाल ओलम्पिक कमिटीको खिचातानीले गर्दा खेलाडीमा अन्योलता छाएको छ । राखेपले एउटा खेलाडीको नाम सिफारिस गरेर पठाउँछ, एनओसीले अर्कै । जसले गर्दा खेलाडीको मनोबल निकै घटेको छ । यसबारे हामीले पटकपटक सम्बन्धित निकायलाई सुझाव दिइसकेका छौँ, तर उक्त निकायले कुनै चासो देखाएको छैन । यतिबेला पनि एसियाडमा छनोट भएका खेलहरूको दुई–दुईवटा संस्था छन्, अहिलेसम्म ती खेलको छिनोफानो हुन सकेको छैन । हाम्रो चाहना भनेको इन्चोन एसियाडको घटना पुनः नदोहरियोस् भन्ने मात्रै हो ।
० यस्तो हुनुमा तपाईं कसलाई दोषी ठान्नुहुन्छ, यसको समाधानको विकल्प के हो त ?
–खेलकुदमा हुने सबैखाले गैरकानुनी कार्यलाई निर्मुल पार्न सर्वप्रथम ‘राष्ट्रिय खेलकुद नीति बन्नुपर्छ । उक्त खेलकुद नीतिमा कर्मचारी, प्रशिक्षक र पदाधिकारीको हैसियत के हो त्यो प्रस्ट हुनुपर्छ । खेलकुदमा त कर्मचारी को हो, पदाधिकारी को हो ? छुट्याउनै गाह्रो भइसक्यो । त्यसैले कर्मचारी कर्मचारी र पदाधिकारी पदाधिकारी हुनुपर्छ । अर्को महत्वपूर्ण कुरा सरकारले अन्य संस्थाहरूको नीति तयार गरे पनि खेलकुद अहिलेसम्म बनाएको छैन । जसको प्रभाव खेलकुदमा नकारात्मक परेको छ, सरकार खेलकुदप्रति किन गम्भीर नबनेको हो त्यो खेलकुदका लागि दुर्भाग्य बनेको छ । आमनागरिकलाई स्वस्थ बनाउन मुख्य भूमिका निर्वाह गर्ने थलो खेलकुदलाई सरकारले विशेष प्राथमिकतामा राख्नुपर्छ । साथै सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका भौतिक पूर्वाधार र विकासको निर्माण गर्नुपर्छ ।
प्रतिक्रिया