राष्ट्रिय मेयर कप खुल्ला टेबलटेनिस प्रतियोगिता हुने

राष्ट्रिय मेयर कप खुल्ला टेबलटेनिस प्रतियोगिता हुने


– चन्द्रकान्त खनाल, रुपन्देही

बुटवलमा पहिलोपटक राष्ट्रिय मेयर कप खुल्ला टेबल टेनिस प्रतियोगिता हुने भएको छ ।

रुपन्देही जिल्ला टेबल टेनिस संघको आयोजनामा यही जेठ १८ र १९ गते हुने प्रतियोगितामा देशभरबाट जुनसुकै उमेर समूहका पुरुष र महिला खेलाडी सहभागी हुन सक्ने आयोजक संघका जिल्ला अध्यक्ष कृष्णकुमार श्रेष्ठले जनाएका छन् ।

आज बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबका खेलाडीसहित पुरुषतर्फ ५० जना र महिलातर्फ ३५ जनाले प्रतिस्पर्धा गर्ने बताइएको छ । प्रतियोगितामा पुरुष एकल र महिला एकल गरी दुई विधामा स्कुल–कलेजका खेलाडीदेखि भेट्रान्स समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले ५० हजार उपविजेताले २५ हजार र महिलातर्फ विजेताले ३० हजार उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका संयोजक महेश खनालले जानकारी दिए । टेबलटेनिस प्रतियोगितामा मोफसलमा यो पुरस्कार राशी अहिलेसम्मकै सर्वाधिक भएको रुपन्देहीका पुराना टेबलटेनिस खेलाडी अर्जुनमान सैंजूले बताए ।

बुटवल देवीनगरस्थित नवदिलिप कभर्ड हलमा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न १२ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिता व्यवस्थापन समितिका सुरेन्द्र शाक्यले बताए । बुटवल उपमहानगरपालिकाले प्रतियोगिताका लागि एक लाख रुपैयाँ सहयोग गरेको आयोजक संस्थाले जनाएको छ ।