राष्ट्रपति भण्डारीलाई खेलकुद क्षेत्रको अभिनन्दन

राष्ट्रपति भण्डारीलाई खेलकुद क्षेत्रको अभिनन्दन


राष्ट्रपति विद्यादेवी भण्डारीलाई खेलकुद क्षेत्रको तर्फबाट अभिनन्दन गरिएको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को नेतृत्वमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टलगायतका पदाधिकारी र विभिन्न राष्ट्रिय खेल सङ्घका प्रतिनिधिसहितको उपस्थितिमा राष्ट्रपति भण्डारीलाई अभिनन्दन गरिएको हो । अभिनन्दन कार्यक्रममा खेलकुदमन्त्री विश्वकर्मा र सदस्यसचिव केशवकुमार विष्टले राष्ट्रपति भण्डारीलाई अभिनन्दनपत्र प्रदान गरेका थिए ।

सो अवसरमा नेपाल एथलेटिक्स सङ्घ, नेपाल ब्याडमिन्टन सङ्घ, अखिल नेपाल टेबलटेनिस सङ्घ, अखिल नेपाल फुटबल सङ्घ, नेपाल टेनिस सङ्घ, नेपाल हक्की सङ्घ, नेपाल बक्सिङ सङ्घ, नेपाल भलिबल सङ्घ, नेपाल कबड्डी सङ्घ, नेपाल भारोत्तोलन सङ्घ, नेपाल सुटिङ सङ्घ, नेपाल पौडी सङ्घ, नेपाल जुडो सङ्घ, नेपाल गोल्फ सङ्घ, नेपाल आर्चरी सङ्घ, नेपाल कराते महासङ्घ, नेपाल तेक्वान्दो सङ्घ, नेपाल उसु सङ्घ, नेपाल बास्केटबल सङ्घ, नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घ, नेपाल बुद्धिचाल सङ्घ, नेपाल खो खो सङ्घ, नेपाल पारा ओलम्पिक कमिटी, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ, नेपाल सेपाकताक्रो सङ्घ, नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घ, नेपाल मोडर्न पेन्टाथलन सङ्घ, नेपाल योग खेलकुद सङ्घ, नेप्लिज फेडेरेसन अफ बडि बिल्डिङ एन्ड फिट्नेस, पर्वतीय खेलकुद महासङ्घ, नेपाल साइक्लिङ सङ्घ, नेपाल कुराँस सङ्घ र काठमाडौं जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरूले राष्ट्रपति भण्डारीलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय जगत्मा ख्याति कमाउने क्षेत्र भएकाले खेलकुद राष्ट्रिय जीवनको महत्वपूर्ण अङ्ग भएको धारणा व्यक्त गरेकी थिइन् । राष्ट्रपति भण्डारीले राष्ट्रिय खेलकुद परिषद्ले राम्रो काम गरिरहेको बताउँदै विद्यालय खेलकुद र पूर्वाधारमा अझ बढी ध्यान दिन आवश्यक रहेको बताइन् । राष्ट्रपति भण्डारीले खेलकुदमा झैँ राजनीतिमा पनि नियम पालना गर्नुपर्छ भन्ने चर्चा हुने गरेको स्मरण गर्दै खेलकुदले मानिसलाई अनुशासनमा राख्ने काम पनि गरेको बताइन् ।

खेलकुदमन्त्री विश्वकर्माले खेलकुदमा रहेको विवाद र समस्यालाई अन्त्य गर्दै खेल क्षेत्रलाई अगाडि बढाउन मन्त्रालय प्रयासरत रहेको बताए । त्यस्तै सदस्यसचिव विष्टले राष्ट्रपतिले खेलकुदमा देखाएको माया, स्नेह र अधिकतम् सद्भावको कदर स्वरूप सिङ्गो खेलकुद क्षेत्रको तर्फबाट अभिनन्दन गरिएको बताए थिए ।