वर्षाले प्रभावित राष्ट्रिय क्रिकेटमा आर्मी विजयी

वर्षाले प्रभावित राष्ट्रिय क्रिकेटमा आर्मी विजयी


एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा त्रिभुवन आर्मीले समूह ‘ए’बाट आफ्नो पहिलो खेलमा जित निकालेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा टीयू क्रिकेट मैदानमा भएको खेलमा आर्मीले प्रदेश नम्बर २ लाई ५६ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले इनिङको तीन बल बाँकी छँदा सबै विकेट गुमाएर २४४ रन जोडेको थियो । आर्मीका लागि मध्यक्रममा ब्याटिङ गरेका विकेटकिपर राजु रिजालले ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए । आर्मीका लागि राजेश पुलामीमगरले ४० तथा सोमपाल कामीले पनि ४१ रनको योगदान दिए । कप्तान विनोद भण्डारीले २३ रन जोडेका थिए । त्यस्तै बलिङतर्फ दिव्यांशु मल्लिकले ३ विकेट लिँदा रसिद खान, सांसद शेख र कप्तान मेहबुब आलमले २–२ विकेट लिएका थिए ।

२४५ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ का ओपनर कुन्दन सिंह तेस्रो ओभरमा खाता नखोली आउट भएका थिए । अर्का ओपनर हरिशंकर शाह र हसिम अन्सारीले सम्हालिएर पारी उकासेका थिए । खेल ८ ओभरपछि वर्षाका कारण रोकिएको थियो । करिब १ घन्टापछि सुरु भएको खेल ४० ओभरमा छोट्याउँदै प्रदेश २ लाई २३८ रनको नयाँ लक्ष्य दिइएको थियो । तर, प्रदेश नम्बर २ ले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १८२ रन समेटिएपछि आर्मीले ५६ रनले खेल आफ्नो पक्षमा पारेको थियो ।
प्रदेश २ का मध्यक्रमका कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । प्रदेश २ ले २७औँ ओभरमा १०९ रन बनाउँदा महत्वपूर्ण ८ विकेट गुमाइसकेको थियो । नवौँ विकेटका लागि रसिद खान र सुरज पटेलले ४३ रनको साझेदारी गरेपछि प्रदेश २ का लागि नयाँ आशा पलाएको थियो । तर, ३५औँ ओभरमा साहव आलमको बलमा क्याचआउट भए । उनले ४० बल खेलेर ३४ रन बनाएका थिए ।

अविजित खेलेका पटेल भने अर्धशतक प्रहार गर्नबाट मात्र २ रनले चुके । उनले ४८ बलमा २ छक्का र ६ चौका प्रहार गरे । बलिङतर्फ सोमपाल कामीले ३ विकेट लिँदा सुशान भारी, सागर पुन र साहव आलमले २–२ विकेट लिए । सोमपाल खेलको म्यान अफ द म्याच चुनिएका थिए ।