कर्णाली प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

कर्णाली प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु


सुर्खेतमा माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्राबीच कर्णाली प्रदेशस्तरीय १०औँ राष्ट्रप्रति रनिङ शिल्ड शुरु भएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबारदेखि शुरु भएको राष्ट्रपति रनिङ शिल्डको उद्घाटन कर्णाली सुर्खेतबाट निर्वाचित प्रतिनिधिसभाका सांसद ध्रुवकुमार शाहीले गरे ।

कार्यक्रममा सांसद शाहीले खेल जगत्मा कर्णाली प्रदेश अब्बल रहेको बताए । ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस’ हरिबहादुर रोकाया जन्माउने कर्णाली प्रदेशले मुलुकको गरिमालाई माथि राख्न सहयोग पु¥याएको उनको तर्क थियो ।

मुलुक विकासका लागि शिक्षित र स्वस्थ नागरिक दुवै आवश्यक भएकाले अध्ययन र खेल दुवैलाई सँगसँगै लैजान उनले खेलाडीलाई आग्रह गरे । खेल जगतको पूर्वाधार विकासका लागि आफ्नो तहबाट पहलकदमी चाल्ने उनको भनाइ थियो ।

प्रदेशसभाका सदस्य पद्मा खड्काले राष्ट्रका लागि खेल आवश्यक रहेको बताए ।
जेठ २१ गतेसम्म सञ्चालन हुने १०औँ राष्ट्रप्रति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबडी, एथ्लेटिक्स, तेक्वान्दो, कराते, उसुलगायतका खेल समावेश गरिएको कर्णाली प्रदेश खेलकुद प्रतियोगिता आयोजक समितिका संयोजक शान्ति सिंहले जानकारी दिए । संयोजक सिंहका अनुसार सहभागी खेलाडीले स्वर्ण, रजत र कास्यगरी ३०४ पदकका लागि स्वस्थ प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा कर्णाली प्रदेशका हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, रुकुम, सल्यान र सुर्खेतसहित प्रत्येक जिल्लाबाट ८४ जनाका दरले ८४० खेलाडीको सहभागिता रहेको प्रतियोगिता सञ्चालन समितिका सदस्य अर्जुनजंग शाहीले बताए ।

सदस्य शाहीका अनुसार प्रदेशस्तरीय यो खेलबाट १०२ खेलाडी छनोट भएर यही जेठ २३–२५ सम्म काठमाडौँमा सञ्चालन हुने राष्ट्रिय खेलमा सहभागिता जनाउनेछन् । प्रदेशस्तरीय खेलकुदमा सहभागी खेलाडीको आवास तथा खाजा खर्चका लागि खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्ले रु २० लाख बजेट विनियोजन गरेको प्रतियोगिता सञ्चालन समितिले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय आउने खेलाडीलाई क्रमशः रु २० हजार, रु १५ हजार रु १० हजार पुरस्कार राशि रहेको जनाइएको छ ।