राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन गरेको छ । सङ्घका अध्यक्ष श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले काठमाडौं जिल्लाको नयाँ कार्यसमितिको चयन गरेको हो । सो अवसरमा मुख्य अतिथिको रूपमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेको उपस्थिति रहेको थियो ।
काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको ११ सदस्यीय नयाँ कार्यसमितिको अध्यक्षमा विनय महत सर्वसम्मत चुनिएका छन् । त्यस्तै उपाध्यक्षमा बालकृष्ण निरौला, सचिवमा रोशन बोहरा, सहसचिवमा सुवास खड्का, कोषाध्यक्षमा सबिना भट्टराई, सहकोषाध्यक्षमा वीरेन्द्र श्रेष्ठले जिम्मेवारी पाएका छन् ।
यसैगरी सदस्यहरूमा आस्मा घिमिरे, रामचन्द्र गोपाली, गंगा कार्की र बजुर तितुङ रहेका छन् । अन्य एक सदस्यको छिट्टै मनोनयन गरिने राष्ट्रिय तेक्वान्दो सङ्घका महासचिव राजकुमार कार्कीले जानकारी गराएका छन् ।
सो ग्रेडिङ तथा पुनर्गठन कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ प्रशिक्षक ध्रुव गुरुङ, मीन थापा, काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका तेक्वान्दो पदाधिकारी, प्रशिक्षक र खेलाडीको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि ध्रुवराज न्यौपानेले अन्तर्राष्ट्रियस्तरमा पदक जित्ने सम्भावित खेल तेक्वान्दोको विवाद समाधान हुनुपर्ने बताउँदै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । त्यस्तै सङ्घका वरिष्ठ उपाध्यक्ष गुरुङले तेक्वान्दो विवादको समाधानको विकल्प भनेको ‘तेक्वान्दोको फेडरेसन हो भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गरेका थिए । त्यस्तै, महासचिव कार्कीले नयाँ कार्यसमितिले सक्षम र युवा तेक्वान्दो खेलाडी उत्पादन गर्न सकोस् भन्दै सफलताको शुभकामना दिएका थिए ।
त्यस्तै, नवनिर्वाचित अध्यक्ष विनय महतले आफूलाई जुन विश्वासले सङ्घले जिम्मेवारी दिएको छ त्यसमा खरो उत्रिने भन्दै सङ्घलाई धन्यवाद दिएका थिए । विकास अनुशासन र गतिशीलता आफ्नो मुख्य हतियार हुने बताउँदै केही समय महिनाभित्रै नयाँ कार्यसमितिले काठमाडौंमा तेक्वान्दोको प्रतियोगिता गर्ने महतले जानकारी पनि गराएका थिए ।
प्रतिक्रिया