विल्सन एकेडेमी र भ्याली पब्लिकले प्रथम हेराल्ड थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको स्कुलतर्फ उपाधि जितेका छन् । ब्वाइज फाइनलमा विल्सनले गोल्डेनपिकलाई ९–६ ले पराजित गरेको थियो । विल्सनका पेम्बा शेर्पाले ६ अङ्क जोडेका थिए । गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले एचएचसीएलाई ८–४ ले पराजित गर्दा भ्याली पब्लिककी सुजु गुरुङले ४ अङ्क जोडेकी थिइन् ।
हेराल्ड इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा विल्सनका क्षितिज थापामगर र गल्र्समा भ्याली पब्लिककी सुजु गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । प्रतियोगिताअन्तर्गत २०७४ सालको एसईई दिएर बसेका टिमबीचको प्रतिस्पर्धामा ग्रेट माया र न्यु समिट च्याम्पियन बनेका थिए । ग्रेट माया ब्वाइज र न्यु समिट गल्र्समा पहिलो भएका हुन ।
ब्वाइजको प्रतिस्पर्धात्मक फाइनलमा ग्रेट मायाले आयोजक हेराल्डमाथि १४–१३ को रोमाञ्चक जित दर्ता गर्दा ग्रेट मायाका अनमोल खत्रीले ८ स्कोर गरेका थिए । गल्र्सको फाइनलमा न्यु समिटले लुम्बिनी ‘ए’ लाई ६–४ ले पाखा लगाउँदा विजेताकी सन्जु हायु राईले ५ अङ्क जोडेकी थिइन् ।
ब्वाइजमा ग्रेट मायाका अनमोल खत्री र गल्र्समा न्यु समिटकी श्रीजा भुजेल ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । विजेतालाई नेपाल बास्केटबल सङ्घका महासचिव नरेन्द्र थापा, हेराल्डका प्रिन्सिपल एवम् चेयरम्यान डा. नारायणप्रसाद उपाध्याय, प्रा.डा. मुकेश क्षेत्रीलगायतले पुरस्कृत गरेका थिए । तीनदिने नकआउट प्रतियोगिताको ब्वाइजमा ८० र गल्र्समा ५० टिमले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया