एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत भएको खेलमा प्रदेश ७ र एपीएफ क्लब विजयी भएका छन् । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपालयको व्यवस्थापनमा कीर्तिपुर मैदानमा भएको खेलमा प्रदेश नम्बर ७ ले प्रदेश ३ लाई २ विकेटले पराजित गरेको थियो ।
प्रदेश ३ ले दिएको ११७ रनको कमजोर लक्ष्य पछ्याएको प्रदेश ७ ले लक्ष्य भेट्टाउन ठूलै सङ्घर्ष गर्नुपरेको थियो । प्रदेश ७ ले ३९.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । प्रदेश ७ का लागि सञ्जु धामीले २५, विजय रानाले २४ र अरुण ऐरीले २१ रन जोडेका थिए । प्रदेश ३ का जितेन्द्र ठकुरी र सागर ढकालले २–२ विकेट तथा किशोर महतो, प्रतिश जीसी र सञ्जय बस्नेतले एक–एक विकेट लिएका थिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश ३, ३३.३ ओभरमा ११६ रनमा अलआउट भयो । उसका लागि जितेन्द्रसिंह ठकुरीले सर्वाधिक ४० रन बनाए भने सोनु तामाङले २९ र सञ्जय बस्नेतले १० रन जोडेका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रनसमेत बनाउन सकेनन् ।
प्रदेश ३ लाई सस्तैमा समेट्न प्रदेश ७ का शेर मल्लले ४ विकेट लिएका थिए । उनी खेलको म्यान अफ द म्याचसमेत बने । बलरहरू चम्किएको खेलमा विकास आग्रीले ३ विकेट र विनोद लामाले १० ओभरमा पाँच मेडन राख्दै १ विकेट लिएर उत्कृष्ट बलिङ गरेका थिए ।
प्रदेश नम्बर १ प्रतियोगिताबाट बाहिरियो
यता मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले प्रदेश नम्बर १ लाई ९ विकेटले पराजित गरेको छ । एपीएफको जितपछि प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । चार खेलबाट प्रदेश १ दुई अङ्क जोड्दै पुछारमा छ । चार अङ्क बनाएको एपीएफले भने सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । आर्मीको पनि चार अङ्क नै छ ।
वर्षाका कारण खेल निर्धारित समयभन्दा एक घन्टा ढिला भएपछि ४५ ओभरमा छोट्याइएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश १, ४७ ओभरमा १२७ रनमा अलआउट भयो । उसका लागि सन्दीप ढुङ्गानाले २९, मनीष थापाले २७, कप्तान पुष्प थापाले २०, सन्नी पुनले ११ र विवेक मेहताले १० रनको योगदान दिएका थिए ।
एपीएफका बलरहरू, अमरसिंह रौटेला, करण केसी, भुवन कार्की र वसन्त रेग्मी सबैले २–२ विकेट लिए । यसैगरी कमलसिंह ऐरी र पवन सर्राफले १–१ विकेट लिएका थिए ।
१२८ रनको लक्ष्य एपीएफले १६.३ ओभरमा १ विकेट गुमाउँदै भेट्टाएको थियो । एपीएफलाई जिताउन अनिलकुमार साह र पृथु बास्कोटाले एक सय रनको अविजित पारी खेलेका थिए । ३० रनको अवस्थामा प्रदीप ऐरी व्यक्तिगत २३ रनमा क्याचआउट भएपछि बास्कोटा र साहले दोस्रो विकेटका लागि साझेदारी गरेका थिए । साहले ६२ रन बनाउँदा अर्को एन्डबाट बास्कोटाले ३२ रन जोडे । एपीएफको एक मात्र विकेट सन्दीप ढुङ्गानाले लिएका थिए ।
प्रतिक्रिया