तेस्रो टुबोर्ग नेपालगन्ज गोल्डकपको तयारी पूरा भएको बाँके जिल्ला फुटबल सङ्घले जनाएको छ । नेपाल राष्ट्रिय आदर्श निमावि, डिगाउँको खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष भोजराज शाहीले सो जानकारी गराएका छन् ।
नेपालगन्ज गोल्डकपमा ६ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा नेपालगन्ज–११, सशस्त्र प्रहरी बल, लाल रूपन्देही–११, सुदूरपश्चिम–११, सरस्वती क्लब र सीएमजी सङ्कटा क्लब रहेका छन् । प्रतियोगिताको उद्घाटन खेल नेपालगन्ज–११ र सशस्त्र प्रहरी बलबीच हुनेछ ।
नेपालगन्ज गोल्डकपको दुईवटा संस्करण नेपालगन्ज रंगशालामा सम्पन्न भएको थियो । तर, यसपटक आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि रंगशाला मर्मतसम्भार गरिन लागेको कारण गोल्डकपको आयोजना खजुरामा हुन लागेको अध्यक्ष शाहीले जानकारी गराएका छन् । खजुरा क्षेत्र फुटबलको क्रेज भएको ठाउँ भएकाले गोल्डकप उत्साहजनक हुने शाहीले बताए ।
गत वर्ष सङ्घले टिकटबाटै पाँच लाख कमाए पनि यसपटक टिकटमा ‘स्वविवेक’ प्रयोग गरिएको छ । फुटबल सङ्घलाई सहयोग गर्न चाहनेले टिकटको पैसा दिन सक्ने आयोजकले बताएको छ । डिगाउँको मैदानमा न्यु डाँफे क्लबले ठूलाठूला प्रतियोगिता आयोजना गरेको मैदान भएकाले विकल्पको रूपमा छनोट गरिएको हो ।
अखिल नेपाल फुटबल सङ्घका (एन्फा) सदस्य प्रदेशसिंह राठौरले खजुरा क्षेत्रमा फुटबल गराउँदा दर्शकको कमी नहुने बताए । साथै एन्फा ग्रासरुटबाटै फुटबलको विकास गर्न लागिपरेकोसमेत राठौरले सो अवसरमा बताए ।
वडाध्यक्ष एवमम् न्यू डाँफे क्लबका अध्यक्ष तिलकवीर सुनारले रातदिन खटेर फुटबल मैदानलाई उत्कृष्ट बनाएको बताए । ‘खजुरा फुटबलको हव हो, हामी आफैँले पनि ठूलाठूला प्रतियोगिता गराइसकेका छौँ, यो गोल्डकपमा नेपालगन्जमा भन्दा बढी दर्शक आउने छन्– सुनारले भने । प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले गर्ने जानकारी आयोजक कमिटीले गराएको छ ।
प्रतिक्रिया