राष्ट्रिय क्रिकेटमा आर्मी सेमिफाइनलमा

राष्ट्रिय क्रिकेटमा आर्मी सेमिफाइनलमा


त्रिभुवन आर्मी क्लब एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको समूह ‘ए’बाट सेमिफाइनलमा प्रवेश गरेको छ । त्यस्तै समूह ‘बी’अन्तर्गत प्रदेश ६ प्रतियोगिताबाट बाहिरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा जारी प्रतियोगिताअन्तर्गत भएका खेलहरूमा आर्मीले प्रदेश नम्बर ४ लाई र प्रदेश नम्बर ५ ले कर्णाली प्रदेशलाई समान ९ विकेटले पराजित गरेका थिए ।

समूह ‘ए’अन्तर्गत मूलपानी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चार नम्बर प्रदेश २९ ओभरमा मात्र ७६ रनमा अलआउट भएको थियो । उसका लागि अनिल गुरुङले ४२ रन बनाउँदा बाँकी खेलाडी सस्तैमा आउट भएका थिए । प्रदेश ४ का ६ खेलाडीले खाता खोल्नै सकेनन् । प्रदेश ४ को इनिङ ध्वस्त पार्न आर्मीका विक्रम सोब, साहव आलम र सागर पुनले समान ३–३ विकेट लिएका थिए ।

जवाफमा आर्मीले १६.४ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । आर्मीको जितमा सागर पुनले २६ तथा अनिल मण्डलले २८ र नरेश बुढाऐरले १० रनको योगदान गरेका थिए । अलराउन्ड प्रदर्शन गरेका सागर पुन खेलको म्याच अफ दी म्याच चुनिए ।

यता टीयू मैदान कीर्तिपुरमा भएको खेलमा प्रदेश ५ ले पनि प्रदेश ६ विरुद्ध ९ विकेटको सहज जित हासिल गरेको थियो । जितसँगै प्रदेश ५ ले सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राख्दा पराजयसँगै प्रदेश ६ भने प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘बी’को चार खेलबाट उसले १ अङ्क मात्र जोड्न सफल भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेश २२.५ ओभरमा ५५ रनमा अलआउट भएको थियो । उसका लागि विजय विष्टले १७ रन बनाउँदा बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । प्रदेश ६ को इनिङ धराशायी बनाउने क्रममा प्रदेश ५ का कप्तान कप्तान शक्ति गौचनले शानदार बलिङ गरेका थिए । ६ ओभर बलिङ गरेका शक्तिले ३ मेडन राख्दै ४ रन दिएर ३ विकेट लिएका थिए । उनी खेलको म्यान अफ म्याच चुनिए । राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सैलेश कर्माचार्यले शक्तिलाई पुरस्कारबाट सम्मानित गरेका थिए ।

जवाफमा प्रदेश ५ ले १० ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियोे । उसको जितमा शंकर रानाले २९ तथा सन्दीप सुनारले २७ रन बनाएका थिए ।