चर्चित पौडीखेलाडी गौरिका सिंहले राष्ट्रिय पौडी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी छिन् । गौरिकाले २२औँ खुला राष्ट्रिय पौडी प्रतियोगितामा ८ स्वर्ण जितेर आफूलाई नेपालको नम्बर एक पौडी खेलाडी भएको साबित पनि गरेकी छिन् ।
गौरिकाले महिला २०० मिटर फ्रिस्टाइल, १०० मिटर बटरफ्लाई, १०० मिटर ब्याक, ५० मिटर फ्री, २०० मिटर आईएम, १०० मिटर फ्री, ५० मिटर बटरफ्लाई र ५० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् ।
छोटो दूरी (सर्ट कोर्स २५ मिटरको पुल) मा भएको प्रतियोगिताको २०० मिटर फ्रिस्टाइलको दूरी गौरिकाले २ मिनेट ०९ः१९ सेकेन्डमा पार गरेकी थिइन् । सो स्पर्धामा लिङ्कनकी टिशा शाक्य दोस्रो र इज्जी मर्फीले तेस्रो स्थान प्राप्त गरेका थिए ।
त्यस्तै १०० मिटर बटरफ्लाईमा १ मिनेट ८ः६३ सेकेन्ड निकाल्दै गौरिकाले स्वर्ण जितेकी थिइन् । सेनाकै डुवाना लामाले रजत र इज्जी मर्फीले कास्य पदकमा चित्त बुझाएका थिए । १०० मिटर ब्याकमा पनि गौरिकाले १ः९ः३० सेकेन्ड निकाल्दै स्वर्ण हात पारेकी थिइन् । सो स्पर्धामा लिङ्कनकी इज्जी मर्फीले रजत र इज्जी पावेलले कांस्य प्राप्त गरेका थिए ।

त्यस्तै, ५० मिटर फ्रिमा पनि गौरिकाले २७ः९५ सेकेन्डमा उक्त दूरी पार गर्दै स्वर्ण पदक जितेकी थिइन् । लिङ्कनमा टिशा शाक्य र इज्जी मर्फीले क्रमशः रजत र कांस्य प्राप्त गरेका थिए । २०० मिटर आईएममा २ः३२ः५१ समय निकाल्दै गौरिकाले स्वर्ण जितेकी थिइन् । सो स्पर्धामा डुवाना लामाले रजत र लिङ्कनकी टिशा शाक्यले कांस्य प्राप्त गरेका थिए ।
१०० मिटर फ्रीमा पनि सिंहले ५९ः९१ सेकेन्डका साथ स्वर्ण प्राप्त गर्दा लिङ्कनका टिशा शाक्यले रजत र इज्जी मर्फीले कास्य प्राप्त गरेका थिए । ५० मिटर बटरप्mलाईमा पनि गौरिकाले २९ः६२ सेकेन्डका साथ स्वर्ण जितेकी थिइन् । उक्त दूरीमा लिङ्कनका इज्जी मर्फी र इज्जी पावेलले रजत र कांस्य प्राप्त गरेका थिए । त्यस्तै, गौरिकाले ५० मिटर ब्याकमा ३१ः३१ सेकेन्डका साथ स्वर्ण हात पार्दा लिङ्कनका इज्जी मर्फी र निआम पावेलले रजत र कांस्य पाए ।
२० स्वर्ण पदकका लागि भएको प्रतियोगिताको अन्य खेलमा १०० मिटरमा सेनाकी डुवाना लामाले १ मिनेट २०ः५८ सेकेन्डमा स्वर्ण जितेकी थिइन् । उक्त विधामा टिशा शाक्यले रजत र निमाह पावेलले कांस्य प्राप्त गरेका थिए । यस्तै डुवानाले ५० मिटर ब्रेस्टमा पनि स्वर्ण हात पारेकी थिइन् । उक्त विधामा लिङ्कनका टिशा शाक्य र निमाह पावेलले रजत र कांस्य जितेका थिए ।
त्यस्तै ओलम्पियन शिरीष गुरुङले पुरुषको २०० मिटर आईएम, ५०, १०० र २०० मिटर फ्रीमा पनि स्वर्ण पदक जितेका थिए । उनले आईएममा २ मिनेट २६ः१७ सेकेन्डमा दूरी पूरा गरे । यस्तै, ५० मिटर फ्रीमा २५ः९५ सेकेन्ड, १०० मिटर फ्रीमा ५७ः०३ सेकेन्ड, र २०० मिटरमा २ मिनेट १४ः६८ सेकेन्डका साथ दूरी पूरा गरेका थिए ।
यस्तै, युलेन्सका अनुभव सुब्बाले १०० मिटर बटरप्mलाईमा स्वर्ण जितेका थिए । उनले उक्त दूरी १ मिनेट १ः७६ सेकेन्डमा पूरा गरेका थिए । अनुभवले ५० मिटर बटरप्mलाईमा पनि २७ः९७ सेकेन्डका साथ स्वर्ण पाए । जेम्स स्कुलका सुभमले १०० मिट ब्रेस्टस्ट्रोकमा १ मिनेट ८ः९४ सेकेन्डमा साथ स्वर्ण हात पारे । यस्तै, सुभमले ५० मिटरमा पनि स्वर्ण हात पारे । उनले उक्त दूरी ३२ः०१ सेकेन्डका साथ पूरा गरेका थिए । ५० मिटर ब्याकमा लिंकनका जराह बड्ले ३३ः५६ सेकेन्डमा साथ र प्रशान्तराज जोशीले १०० मिटर ब्याकमा १ मिनेट ११ः५३ सेकेन्डका साथ स्वर्ण जितेका थिए ।
इन्डोनेसियामा आयोजना हुने १८औँ एसियन प्रतियोगिताका लागि छनोट प्रतियोगितासमेत रहेको प्रतियोगिताबाट फिना अङ्कका आधारमा महिलातर्फ गौरिका सिंह, टिशा शाक्य तथा पुरुषतर्फ सुभम श्रेष्ठ र शिरीष गुरुङ छनोट हुन सफल भए । वैकल्पिक खेलाडीको रूपमा महिलातर्फ डुवाना लामा र पुरुषतर्फ अनुभव सुब्बा छनोट भएका छन् ।
गौरिकाले ६३० र टिशाले ५०७ अङ्क प्राप्त गरेका छन् । यस्तै, सुभमले ५२४ र शिरीषले ४८९ अङ्क हात पारे । डुवानाले ४६५ र अनुभवले ४८६ अङ्क प्राप्त गरेका छन् ।
प्रतिक्रिया