नेपाली खेलाडी प्रद्योतन निरौलाले क्यानडाको टोरन्टोमा सम्पन्न क्यान एम च्याम्पियनसिपमा दुई स्वर्ण हात पार्न सफल भएको टोरन्टोबाट प्रशिक्षक राजु गड्तौलाले जानकारी गराएका छन् ।
१९ जेठमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रद्योतनले आफ्नो उमेर समूहको पुम्से र ग्योरोगीमा गरी दुई स्वर्ण हात पार्न सफल भएको प्रशिक्षक गड्तौलाले बताए ।
एडमन्टन अल्बर्ट क्यानडामा सञ्चालित हिमालयन तेक्वान्दोमा प्रशिक्षण लिइरहेका आठ नेपाली खेलाडीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । जसमा स्माइल खत्रीले एक स्वर्ण र एक रजत, गिब्सन ढकालले एक स्वर्ण, जोनिस चौधरीले दुई रजत, विनय खड्काले एक रजत र एक कांस्य, जेम्स चौधरी, सुभम अधिकारी र सुभम लुइँटेलले एक–एक रजत पदक जित्न सफल भएका थिए ।
अन्तर्राष्ट्रिय एरिनामा पदक हात पार्दै राष्ट्रको गौरव बढाएकोमा अभिभावक शाम्भवी नेपालले खुसी प्रकट गरेकी छिन् । हिमालयन तेक्वान्दो विगत १८ महिनादेखि क्यानडामा नेपालीलगायत विदेशी खेलाडीलाई प्रशिक्षण प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया