डा. बद्री पोखरेल (प्रमुख, जनसङ्ख्या महाशाखा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय)
० तपाईं स्वास्थ्य तथा जनसङ्ख्या महाशाखाको प्रमुख हुनुहुन्छ, मुलुकमा जनसङ्ख्या व्यवस्थापन कसरी भइरहेको छ त ?
– जनसङ्ख्या व्यवस्थापन मुख्य गरी जन्म, मृत्यु र बसाइँसराइसँग सम्बन्धित हुन्छ । जनसङ्ख्या देशको भौगोलिकता, उत्पादन, सीप, कला क्षमता र अवसरसँग पनि अन्तरसम्बन्धित हुन्छ । यसैले आमनागरिकको सङ्ख्या, अवस्था र बसाइलाई हेरेर व्यवस्थित बनाउन नीतिगत व्यवस्था गर्ने र गाउँ र जिल्लामा जनसङ्ख्या व्यवस्थापनका लागि युवायुवती, विद्यार्थी, अभिभावक र वृद्धवृद्धाका लागि सूचना र चेतनामूलक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन भइरहेको छ । नीति तर्जुमा गर्ने, गाइडलाइन, प्रोटोकल बनाउने काम हुँदै छ ।
० नेपालको जनसङ्ख्या त निकै बढिरहेको छ नि, होइन र ?
– जनसङ्ख्या देशको प्राकृतिक साधन, ती साधनलाई उपयोग गर्ने क्षमता, जनतामा भएको सीप, कला आदिलाई हेरेर घटी र बढी भन्नुपर्छ । हाम्रो अहिलेको वृद्धिदरलाई त्यति धेरै मान्नुपर्दैन । बरु भएका जनतालाई शिक्षा, स्वास्थ्यमा पहँुच पु-याउने, बालमृत्युदर घटाउने, परिवार नियोजनका साधनको उपयोग बढाउने, किशोरकिशोरी र युवायुवतीलाई जनसङ्ख्या शिक्षा दिने, वृद्धवृद्धाको व्यवस्थापन गर्नेतर्फ हाम्रो दृष्टि विशेष गहिराइका साथ लैजानुपर्नेछ ।
० स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खास कार्यक्रमचाहिँ के गरिरहेको छ ?
– अहिले मन्त्रालयबाट नीतिगत, अध्ययन, अनुसन्धान र जनस्तरमा प्रत्यक्ष असर पर्नेगरी तीन किसिमका काम भइरहेका छन् । नीतिगतभित्र २० वर्षे दीर्घकालीन रणनीति स्वीकृत भई लागू भएको छ । सरकारी र गैरसरकारी क्षेत्रबाट भएका र हुनुपर्ने कार्यक्रमसमेत समेटिने गरी जनसङ्ख्याको छाता नीति बन्ने काम अन्तिम चरणमा पुगेको छ । युवा, वृद्ध, महिलासँग सम्बन्धित प्रोटोकल र निर्देशिकाहरू बनेका छन् । अध्ययन–अनुसन्धानतर्फ डेमोग्राफिक हेल्थ सर्भे हरेक पाँच वर्षमा भइरहेको छ । त्यसको विषयगत विस्तृत अध्ययन भएको छ । किशोरकिशोरी र युवायुवतीको सर्भे भएको छ । यसैगरी वृद्धवृद्धाको सर्भे र आन्तरिक तथा बाह्य बसाइँसराइको अध्ययन भइरहेको छ । जनस्तरमा प्रत्यक्ष असर पर्ने कार्यक्रम विद्यालयमा साथी शिक्षा, विदेश काम गर्न जानेहरूका लागि सूचनामूलक कार्यक्रम, बालमृत्यु, मातृमृत्यु कम गर्न अपनाउनुपर्ने सचेतना, वृद्धवृद्धाको हेरचाहमा पु-याउनुपर्ने ध्यानजस्ता विषयमा जिल्लास्तरमा धेरै कार्यक्रम छन् ।
० जिल्लास्तरमा जनसङ्ख्याका छुट्टै कार्यालय छैनन् कसरी चलाउनुभएको छ, जिल्लाका कार्यक्रम ?
– जनसङ्ख्या कार्यालय नभए पनि जनस्वास्थ्य कार्यालयहरू सबै जिल्लामा छन् । एउटै मन्त्रालयअन्तर्गतका ती कार्यालयबाट जनसङ्ख्या कार्यक्रमहरू सञ्चालन गरिएका छन् । मन्त्रालयले सङ्गठन तथा व्यवस्थापन सर्भे गरिरहेको छ । यो सर्भेबाट सबै जिल्लामा जनसङ्ख्याको कर्मचारी राख्ने सोच बनिरहेको छ ।
० जनसङ्ख्या व्यवस्थापन भन्नाले जन्म–मृत्यु, बसाइँसराइ नै मुख्य हो भन्नुभयो । त्यसो हो भने जन्म व्यवस्थापनमा के काम भइरहेको छ त ?
– जन्म भन्नाले जन्म, जन्मनुभन्दा अगाडि र जन्माउने बाबुआमा, जन्मअन्तरजस्ता कुरा आउँछन् । हाल भइरहेको जनसङ्ख्या र हिजोको जनसङ्ख्याबीचको फरकप्रति जोडीको बच्चा जन्माउने औसद दर, परिवार नियोजनका साधनको प्रयोग दर, जन्मअन्तरबाट बच्चा र आमाको स्वास्थ्यमा पर्ने असरजस्ता कुरा नै जन्म व्यवस्थापन हो । छोरी र छोराबीच फरक मान्ने संस्कार र त्यसमा परिवर्तन ल्याउनुपर्छ भन्ने शिक्षा पनि जन्म व्यवस्थापनमा पर्छ । जनसङ्ख्या महाशाखाबाट मात्र उल्लेखित सबै कुरा सम्भव हुँदैन र मन्त्रालयअन्तर्गत परिवार स्वास्थ्य, बालस्वास्थ्यजस्ता महाशाखा पनि रहेका र ती महाशाखाहरूबाट पनि उल्लेखित जन्म व्यवस्थापनतर्फका कार्य भइरहेका छन् ।
० मुत्यु व्यवस्थापन कसरी गर्न सकिन्छ ?
– मृत्यु टार्न सकिँदैन । तर, हरेक मृत्युलाई सजिलो बनाउन सकिन्छ । आयु बढाउने उपायका रूपमा खानपान, रहनसहन, व्यायाम, सोच आदि बारे सुसूचित गर्न सकिन्छ । सर्ने र नसर्ने दुवै रोगको उपचार हुन्छ । रोगको कारण पहिचान गरेर समयमै औषधि उपचार गरेर मृत्यु व्यवस्थित गर्न सकिन्छ ।
० बसाइँसराइ गर्ने कुरालाई कसरी व्यवस्थित गर्न सकिन्छ ?
– बसाइँसराइको कारण सेवा सुविधाको उपलब्धता र सुरक्षा नै मुख्य हो । पहिलेदेखि बसिरहेकै ठाउँमा यस्तो सुविधा दिने हो भने धेरै हदमा बसाइँसराइ गर्ने प्रवृत्ति रोकिन्छ । यस्ता सुविधा थपेर अब हुने बसाइँसराइलाई घटाउन सकिन्छ । भइसकेको बसाइँसराइलाई भने साविककै ठाउँमा सेवा–सुविधा उपलब्ध गराएर पुनस्र्थापित गराउनुदेखि बाहेक नयाँ ठाउँको आवश्यकताबारे सम्बोधन गरेर व्यवस्थित गर्न सकिन्छ ।
० ठूलो सङ्ख्यामा युुवायुवती बाहिरी मुलुकमा जाने कुरालाई जनसङ्ख्या महाशाखाले कस्तो कार्यक्रम तर्जुमा गरेर व्यवस्थित बनाउन खोजेको छ ?
– युवायुवती विदेश पलायन हुने कारण धेरै छन् । यो राष्ट्रिय समस्या हो । प्रमुख कारणमा रोजगारीको अभाव, असुरक्षा र भौतिक असुविधा नै हो । जनसङ्ख्या महाशाखाले अहिले चालेका कार्यक्रममा तिनलाई रोक्नुभन्दा पनि स्वदेशमै काम गर्नुपर्छ भन्ने र जानेहरूले जानुअघि लिनुपर्ने जानकारीबारे सूचना प्रवाहित गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसबारे सरकारका कुन अङ्गले कस्तो कार्यक्रम सञ्चालन गरेमा अन्तर्राष्ट्रिय बसाइँसराइलाई व्यवस्थित गर्न सकिन्छ भन्नेबारे जनसङ्ख्या महाशाखाले अध्ययन गर्दैै छ । अध्ययनको प्रतिवेदन आएपछि त्यसैअनुसारको सिफारिस सरकारका सम्बन्धित अङ्गमा गर्ने सोच महाशाखाले बनाएको छ ।
० यसबाट आएको विप्रेषणले अर्थतन्त्रलाई ठूलो सहयोग पु-याएको छ होइन र ?
– अवश्य हो, यसले राष्ट्रिय आयको २२÷२३ प्रतिशत हिस्सा लिइसकेको छ । त्यति मात्र नभएर अर्थतन्त्र चलायनमान बनाएको छ । उपभोग बढेको छ । कति परिवारमा बसी–बसी खान पुगेको छ । राम्रा स्कुलमा पढाउन र प्रविधि भित्याउन, विदेशमा निर्मित बस्तु किन्न सकिएको छ । यसका नकारात्मक पक्ष त्यत्तिकै मननीय छन् । पहिलो कुरा त यो स्थायी स्रोत होइन, दोस्रो यसले परावलम्बी बनाउँछ र बानी बिगार्छ, तेस्रो, स्वदेशका उद्योग व्यवसाय सुकाएको छ, चौथो, यसले सामाजिक संस्कार खल्बलाएको छ, डरलाग्दो रोग निम्त्याएको छ, पाँचौँ युवा जनशक्तिको अभावले गर्दा ग्रामीण कृषि व्यवसायको निमित्त श्रमको अभाव भएको छ र गाउँमा मलाम जाने मान्छे पनि नभएको अवस्था छ । देशले लिएको खुला अर्थतन्त्रको नीति र विश्वव्यापीकरणको सन्दर्भमा युवा शक्तिलाई विदेश जान रोक लगाउन नसके पनि विभिन्न उपाय प्रयोग गरेर स्वदेशमै आकर्षित बनाउन सकिन्छ । स्वदेशमै आय आर्जनको सम्भावना खोजेर स्थायी उपाय अवलम्बन गर्नुपर्छ र विदेश जानुअघि उच्च सीप र दक्षता हासिल गर्नुपर्छ भन्ने मात्र जनसङ्ख्या महाशाखाको आशय हो । प्राप्त विप्रेषणलाई पनि उपभोगतर्फ भन्दा पुँजी निर्माण गर्नेतर्फ प्रवाहित गर्ने नीति र कार्यक्रम ल्याउनुपर्छ ।
० जनसङ्ख्या व्यवस्थापन गर्न कसको सहयोग आवश्यक ठान्नुहुन्छ ?
– जनसङ्ख्या व्यवस्थापनको काम सरकारको पूर्ण सहयोगबाट मात्र सम्भव हुन्छ । सरकारका सबै निकाय, निजीक्षेत्र सबैको प्रयास हुनुपर्छ । साथै, गैरसरकारी क्षेत्र, दातृनिकायको सहयोग त्यत्तिकै आवश्यक हुन्छ । तर, अहिले तरल राजनीतिको कारणले सोचेअनुसार र चाहेअनुसार काम हुन सकिरहेको छैन ।
० प्रसङ्ग बदलौँ, तपाईं त अर्थशास्त्री मान्छे जनसङ्ख्या व्यवस्थापन गर्ने काम कस्तो लागिरहेको छ ?
– कस्तो योग्यता भएकालाई कस्तो काम दिने भन्ने कुरा सरकारले जान्नुपर्ने र बुझ्नुपर्ने विषय हो । मलाई अर्थशास्त्र पढ्ने खर्च सरकारले व्यहोरेको छ । त्यसअनुसार मैले अर्थशास्त्र पढेँ । पीएचडी गरेँ, पुस्तक लेखेँ, अनुसन्धान गरँे, धेरै वर्ष अर्थ, वित्त, कर, योजना, बजेटको क्षेत्रमा काम गरेँ । मेरो रुचि र क्षमता त्यही छ, तर गएका केही वर्षदेखि सरकारले मलाई मेरो योग्यता र रुचिभन्दा बाहिर काम लगाएको छ । यसबाट न म प्रसन्न छु, न त सरकारले मबाट लगानी गरेअनुरूपको प्रतिफल लिन पाएको छ । तैपनि अर्थशास्त्र जुनसुकै क्षेत्रमा काम लाग्ने अन्तरसम्बन्धित विषय भएकाले काम गरिरहेको छु । अहिले आएर डेमोग्राफी पढ्न थालेको छु ।
० तपाईंको जस्तो एउटा अनुभवी व्यक्ति महाशाखाप्रमुख भएपछि नयाँ कुरा के भएको छ त ?
– म आफँैले आफ्नोबारेमा कसरी बताऊँ ? यो त अरूलाई सोध्ने कुरा हो । म इमानदारीका साथ विवेक प्रयोग गरेर काम गरेको छु, दाताहरूको सहयोग बढेको छ । सबै मिलेर काम गर्ने वातावरण छ ।
० तपाईं त साहित्यतिर पनि हुनुहुन्छ क्यार होइन ?
– हो, नेपाली म साहित्य पढ्छु र लेख्छु पनि । अर्थशास्त्रका किताबबाहेक नेपाली यात्रा साहित्य, कविताका किताब लेखेको छु, गीत पनि लेख्छु । उपन्यास पनि लेखेको छु, तर प्राथमिकता अर्थशास्त्र विषयलाई नै दिँदै आएको छु ।
० सचिव बन्ने दौडधुपमा हुनुहुन्छ क्यार ?
– निजामती सेवामा संलग्न भएपछि र सचिव पदमा पुग्ने न्यूनतम योग्यता पुगेपछि जोसुकैले त्यो चाहना राख्नु स्वाभाविक हो । तर, नेपालमा सचिव पद आफ्नो क्षमताले भन्दा सरकाले दिए पाउने भएकोले मैले भन्न सक्ने कुरा भएन । कुरा यत्ति हो कि म सचिव पदका लागि न्यूनतम योग्यता पु-याएर बसेको छु । दौडधुप गर्न त मलाई खासै पनि फुर्सद छैन । दौडधुपभन्दा पनि म योग्यतामा विश्वास गर्छु त्यसैले यो प्रश्नलाई सच्याएर ‘लाइनमा हुनुहुन्छ क्यारे’ भन्नुभए हुन्छ ।
प्रतिक्रिया