अरूको सिनेमा यस्तो र उस्तो भन्दै आफूलाई चलचित्र निर्देशकभन्दा समीक्षकको रूपमा प्रस्तुत गरेर सिनेमाको ‘कमेन्ट’ गर्ने चलचित्र निर्देशक मनोज पण्डितको तेस्रो चलचित्र ‘वधशाला’ हेरेपछि उल्टै समीक्षकहरूले मात्र होइन कि स्वयम् दर्शकहरूले समेत गाली गरे यिनलाई ।
चलचित्र समीक्षकहरूले त मनोजको चलचित्र ‘वधशाला’लाई बन्न नसकेको डकुमेन्ट्री पनि भने । सेन्सरको विषयलाई लिएर बजार भने यसले तताएकै थियो तर यो हेरेपछि मनोजमाथिको दर्शकहरूको भरोसा मात्र चिसिएको छैन कि लुटबाट दर्शकहरूको माया रामै्रसँग लुट्न पाएका दयाहाङ राई र सौगात मल्ल पनि माइनस भएका छन् । आफूलाई फरक धारको चलचित्र निर्देशक भनेर चिनाउन पाएमा दङ्ग पर्ने मनोज अन्तत: आफैँ झुक्किन पुगेका छन्, आफूले कुन धारको चलचित्र बनाएँ भनेर । चलचित्र केका लागि बनाउने ? अनि कसका लागि बनाउने ? उनी आफैँ कन्फ्युजमा छन् । अरूले तोकेको टिकटको रेट तिर्न तयार भएर दर्शकहरू हलभित्र छिर्छन् भने उनीहरू त्यो टिकटको पूर्ण रूपमा सदुपयोग होस् भन्ने चाहन्छन् । एकछिन भए पनि मन र मस्तिष्कलाई आराम दिन वा तनाव बिर्सनका लागि दर्शकहरू हलभित्र छिर्छन् । तर, वधशाला हेर्न हलभित्र छिरेपछि उल्टै दर्शकहरूको त्यो इच्छामाथि वध हुन पुग्छ । अनि निर्देशकले आफ्नो काम देखाउन चलचित्र बनाउने होइन कि दर्शकहरूको मन जित्न र ताली पाउन चलचित्र बनाउन सक्नुपर्छ । यदि दर्शकहरूको मन जित्न सकिएन भने त्यो चलचित्र र निर्देशकले आत्मलोचना गर्दै मैले राम्रो चलचित्र बनाउन सकिनँ भन्न सक्नुपर्छ । यदि वधशाला वृत्तचित्र हो भने वृत्तचित्रको उद्देश्य र प्रदर्शन फरक हुन्छ तर सार्वजनिक रूपमा प्रदर्शन गर्न सिनेमाको रूप दिएपछि निर्माताको लगानी बचाउन नसक्ने फिल्ममेकर वास्तवमा नै असफल फिल्ममेकर हो । दुई–चारजनाले अगाडि ‘वाहवाही गर्दैमा निर्माता मोहन डोटेलको लगानी फिर्ता आउँदैन । यसर्थ सार्वजनिक प्रदर्शन भएपछि लगानी उठाउन र दर्शकहरूको मन जित्न नसक्ने चलचित्र असफल नै हो भन्दा फरक नपर्ला ।
सीमित दर्शकहरूको इच्छालाई ध्यानमा राखेर मल्टिप्लेक्स हलहरूका लागि बनाइएको भनेर हौवा पिटाइएको चलचित्र ‘वधशाला’ विशेषत: साधारण दर्शकहरूसमक्ष पुग्दै पुगेन र पुगे पनि ती दर्शकले बुझ्दैनथे । अझै पनि वधशालाका निर्माता मोहन डोटेल र निर्देशक मनोज पण्डितले के बुझ्नुपर्छ भने नेपाली चलचित्र हेर्ने वर्ग, तह र तप्काको बारेमा अध्ययन गर्नैपर्छ ।
वरिष्ठ चलचित्र निर्देशक यादव खरेलको सहायक भएर वर्षौंसम्म काम गरेका मनोज पण्डितलाई दर्शकहरूको परिवेशको बारेमा रामै्र ज्ञान हुनुपर्ने हो । तर, उहाँले वधशाला दर्शकहरूका लागि नभएर केही समीक्षक र आफ्ना लागि बनाएको देखिन्छ । दुई हप्ताअघि रिलिज भएको दुई चलचित्र नोटबुक र हमेशाभन्दा नयाँ रिलिज भएको वधशालाको व्यापार कम हुनु भनेको साह्रै अशोभनीय कुरा हो । सार्वजनिक प्रतिस्पर्धामा उत्रिएपछि व्यावसायिक रूपमा घाटा–नाफा हुन्छ । यो मामिलामा घाटा भएमा असफल अनि नाफा भएमा सफल मान्नैपर्छ । बढीभन्दा बढी दर्शकले हेरेमा सफल मानिन्छ । तर, यो पक्षमा भने वधशाला असफल नै हो । हुनसक्ला भोलि अन्तर्राष्ट्रिय महोत्सवमा गएर चलचित्र ‘वधशाला’ ले थुपै्र अवार्ड जित्ला यसले उठाइएका विषयका कारण । तर, नेपाली दर्शकले यसलाई लत्याएको कुरा भने स्वयम् निर्माता/निर्देशकले पनि स्वीकार्नुपर्छ ।
राजनीतिक विषय, भाषण अनि यस्तै हल्लाहरू देख्दा र सुन्दा दिक्क भएका नेपालीले मन शान्त पार्न हलतिर छिर्दा फेरि त्यही कुरा देखेपछि कसरी उनीहरूको मन शान्त र प्रफुल्ल हुनसक्छ । अझै पनि केवल सिनेमा भनेको स्वच्छ मनोरञ्जन मात्र हो भन्ने कुरा बुझेका नेपाली दर्शकका लागि ‘वधशाला’जस्तो चलचित्र बनाउने समय आइनसकेको जानकारी यसका निर्माता/निर्देशकहरूलाई हुनुपर्छ ।
शिलुको कसैसँग छैन इलुइलु
‘ठाउँको ठाउँ ढल्ने गरी
मलाई कति पिर छ
कि त बूढी त्याग कान्छा
कि त मलाई बिर्स…’
धेरैको जीवनमा गीतका यी शब्द मेल खान सक्छन् तर गायिक एवम् शिलु भट्टराईको जीवनमा भने यो गीत मेल खाँदैन । उनले यसै भनिन्, ‘गीत सबै मनोरञ्जन नै हुनुपर्छ भन्ने छैन । समाजमा भएका र देखिरहेका कुरालाई गीत बनाउँदा झनै सुनमा सुगन्ध हुन्छ ।’ गायिका भट्टराईले यसै भनिन, ‘यो गीत पनि समाजको एउटा पाटो हो ।’
बुटवल घर भएकी शिलु लामो समयदेखि काठमाडौंमा बस्दै आइरहेकी छिन् । पेसाले ब्युटिसियन पनि हुन् उनी । गीत गाउनु भने उनको सौख रहेछ । केही गीतहरूको म्युजिक मिडियोमा मोडलिङसमेत गरेकी शिलु अब आफ्नै गीतमा मोडलिङ गर्नुपर्छ भन्नेतिर लागेकी छन् । ‘हुन त अरूको गीतमा पनि मोडलिङ गर्न भने छाड्दिनँ,’ उनको उद्देश्य छ ।
६ वटा गीत सङ्ग्रहित ‘ठाउँको ठाउँ ढल्ने गरी’ नामको गीति एल्बम आफ्नै एकल आवाजमा चाँडै बजारमा ल्याउने तयारीमा छिन शिलु । यतिबेला गीत गायनलाई सौखको रूपमा मात्र लिएकी उनले भोलि सफलता हात लागेपछि गायन क्षेत्रलाई पेसा नै बनाउने योजनामा पनि छिन् । अभिनयमा पनि रुचि राख्ने शिलु राम्रो अफर आएमा सिनेमामा पनि काम गर्ने इच्छा सुनाउँछिन् । ‘गीत–सङ्गीत अनि अभिनय एउटै क्षेत्रजस्तो लाग्छ मलाई, राम्रो प्रस्ताव आएमा अभिनय गर्न पनि पछि सर्दिनँ,’ उनले आफ्नो इच्छा सुनाइन् ।
मीठो र स्वरकी शिलु राम्री पनि छिन् । यसकारण पनि उनलाई सोधियो, ‘इलुइलु कत्तिको छ त ?’ जवाफमा उनले भनिन्, ‘अहिले छैन इलुइलु ।’
बेरोजगार बनेपछि नायिकाहरु दु:खी
समयलाई चिन्न नसक्दा, समयको मागलाई बुझ्न अनि दर्शकको माग र चाहनाअनुरूप आफूलाई प्रस्तुत गर्न नसक्दा यतिबेला ठूलो सपना बोकेर चलचित्र क्षेत्रमा होमिएका केही नायिकाको अवस्था घर न घाटको भएको छ ।
यता क्रमश: दर्शकमा नवप्रवेशी हिराइनहरूले छाप छोड्न थालेपछि दश वर्षअघिदेखि निरन्तर रूपमा सिनेमा क्षेत्रमा होमिएका नायिकाको नाम त हटाउने अवस्थामा पुगिनै सक्यो, त्यसमाथि पनि आफ्नो जवानीका उमेरहरू चलचित्र क्षेत्रलाई दिँदा यतिबेला उमेर पनि बाटो काट्दा अहिले यता न उताको अवस्थामा छन् यिनीहरू । रेजिना उप्रेती, नन्दिता केसी, ऋचा घिमिरे र सञ्चिता लुइँटेलको अवस्था साँच्चीकै नाजुक हुन थालेको छ । एकपछि अर्को नयाँ चलचित्रमा व्यस्त हुनुपर्ने समयमा यिनीहरू हाल कोही सन्तान खेलाएर घरतिरै बसिरहेका छन् भने कोही कसैले फिल्मको अफर गर्लान् कि भन्ने आशमा मोबाइलको घन्टी कुरेर बसिरहेका छन् । तर, यिनीहरू सबैको आशमा तुषारापात हुने गरेको छ ।
चर्चाको शिखरमा हुँदाहुँदै सञ्चिताले निखिल उपे्रतीसँग सुटुक्क बिहे गर्नु नै उनका लागि अभिशाप बन्न पुग्यो । अहिले दुई सन्तानकी आमा बनेकी सञ्चितालाई निखिलले पनि त्यति वास्ता गर्दैनन् भने उनी अहिले माइतीको रेखदेखमा बस्छिन् । विवाहित छोरीको रेखदेख माइतीले गर्नुपर्दाको ठूलो पीडा अरू के नै हुन्छ र ? निर्माता निर्देशकहरूको नजरमा अब सञ्चिता पर्न छाडेकी छिन् ।
पहिले नै अरूले फिल्म नखेलाएपछि आफैँ निर्मात्री भएकी ऋचाको पीडा पनि कम छैन । सन्तान पाएपछि मोटाएकी ऋचालाई लहडमा चाँडो विवाह गर्नु नै घात बन्न पुगेको छ । अब लगभग उनी सिनेमा क्षेत्रबाट हराएकोजस्तै भइसकेको छ । क्षमता हुँदाहुँदै आफ्नै कारणले पछि परेकी ऋचा यो उमेरमा आएर सन्तान खेलाउनुमा नै सीमित हुन पुगेकी छि ।
अन्य दुई नायिका रेजिना उपे्रती र नन्दिता केसी अविवाहित त हुन् तर त्यो भए तापनि उनीहरूको जादु अब सिनेमा क्षेत्रमा नचल्ने निश्चित भएको छ । एउटै अभिनय र खासै प्रभाव पार्न नसक्ने उपस्थितिका कारण रेजिना र नन्दिताको चलचित्र क्यारियर पनि यतिबेला माइनस हुँदै गइरहेको छ । आकर्षक उचाइको अभाव पनि यी दुईलाई मार खुवाउने माध्यम बन्यो । पछिल्लोपटक रेजिना सिनेमाको निर्मात्री पनि बनिन् तर त्यो सिनेमा पनि नचल्दा उनको नैराश्यता छाएको छ । अर्की हिरोइन नन्दिताले भने म्युजिक भिडियोतिर फाट्टफुट्ट काम पाइरहेकी छिन् ।
प्रतिक्रिया