—डा. बाबुराम भट्टराई (पूर्वप्रधानमन्त्री एवम् उपाध्यक्ष, एनेकपा माओवादी)
० असारमा नहुने भएपछि अब मङ्सिरमा पनि संविधानसभाको निर्वाचन हुँदैन भन्न थालिएको छ, चुनाव हुनेमा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ ?
– बेकारको आशङ्का गर्नुको कुनै तुक छैन, चुनाव गर्नैपर्छ, यसको विकल्पै छैन । चुनाव गराउनकै लागि त मैले सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सत्ता हस्तान्तरण गरेको हुँ ।
० निर्वाचन नहुने देखेर नै तपाईंले प्रधानन्यायाधीशलाई सत्ता हस्तान्तरण गरेको पनि भनिन्छ नि ?
– चुनावमा आउन केही शक्तिहरूले आनाकानी गरे र राष्ट्रपतिले अध्यादेशहरू रोकेर चुनाव नहुने वातावरण बनाइदिनुभयो । यसरी म निर्वाचित प्रधानमन्त्रीलाई चुनाव गराउन नदिइसकेपछि लोकतन्त्रमा अपवादजन्य विकल्पको रूपमा प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउनुपरेको हो । यो मात्रै विकल्प देखेर सरकार बनाएका हौँ । यो यथार्थविपरीत अन्य जे–जे अर्थ लगाए पनि त्यो निरर्थक हो ।
० संविधानसभा अवसान हुनुमा तपाईंको कति दोष छ भन्ने लाग्छ ?
– यसमा मेरो दोष कति छ भने नेपालमा राजनीतिको नाउँमा असाध्यै षड्यन्त्र र जालझेल चल्छ, यहाँ मूल्य–मान्यताको राजनीति छैन भन्ने कुरा बेलैमा नबुझ्नु र अन्तिम बेलासम्म आशावान भएर बस्नु मेरो कमजोरी हो । निर्वाचित प्रधानमन्त्रीलाई निर्वाचन गर्न नदिने जुन किसिमको वातावरण बनाइयो, पहिले तिनीहरूलाई सोध्नुस् लोकतन्त्रको हत्या कसले ग-यो भनेर । बाबुराम भट्टराईले त संविधानसभा बचाउनका निम्ति अन्तिमसम्म प्रयत्न गरेको थियो । मैले त जेठ ५ गते म्याद थप्नका निम्ति मन्त्रिपरिषद्बाट संविधान संशोधन विधेयक ल्याएको थिएँ । मैले आपतकाल लगाएर भए पनि म्याद थप्ने कोसिस गरँे तर राष्ट्रपतिजीले इन्कार गरिदिनुभयो । शेरबहादुर देउवाबाहेक कसैले पनि साथ दिएनन् । त्यसले गर्दा संविधानसभाको स्वत: अवसान भयो ।
० तपाईंकै कारणले संविधानसभाको निर्वाचन हुन नसकेको त मान्नुहुन्छ नि ?
– मैले पछिसम्म पर्खेर बस्नु मेरो कमजोरी रह्यो । मेरो कारणले त संविधान नै बन्थ्यो । मङ्सिर ७ का लागि मैले निर्वाचनको मिति घोषणा गरँे । त्यसका लागि ऐन चाहिन्थ्यो । मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष अध्यादेश पठायो तर राष्ट्रपतिले जारी नगरी थन्क्याएर राख्नुभयो । मेरो कारणले चुनाव हुन नसकेको पनि होइन र मैले चुनाव गर्न नसकेको पनि होइन । राष्ट्रपतिले अध्यादेश जारी नगरेर चुनाव गर्न नदिएको यथार्थलाई राम्ररी मनन गर्नुपर्छ ।
० काङ्ग्रेस र एमालेलाई मिलाउन र राष्ट्रपतिलाई कन्भिन्स गर्न त तपाईंले नै नसक्नुभएको हो नि, होइन र ?
– मैले सकिनँ कि एउटा निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गर्ने प्रयास गरियो ? एउटा वैधानिक सरकारले पठाएको अध्यादेश पारित नगरेर निर्वाचन नहुने वातावरण बनाइयो । नेपाली जनताले के बुझेका छन् भने २००७ सालबाट सुरु भएको संविधानसभाको एजेन्डा महेन्द्रले खाए । त्यसपछि त्यो एजेन्डा ०४६ सालको निर्वाचनमा बाबुराम भट्टराईले उठाएको थियो ।
० माओवादीको संविधानसभाको एजेन्डा त असफल भयो होइन ?
– असफल भएको छैन । एकपटक एउटा बच्चा म-यो भने बयस्क दम्पतीले अर्को प्रयत्न गरेर बच्चा जन्माउँछ, तर जो वृद्ध भइसकेका अर्थात् प्रजनन शक्ति गुमाइसकेका जोडीले कहिल्यै पनि बच्चा जन्माउन सक्दैन । नेपालमा यस्ता पनि राजनीतिक शक्तिहरू छन् जसको ‘बन्ध्याकरण’ भइसकेको छ । उनीहरूले संविधानसभालाई जन्माउन सम्भव छैन । तर, माओवादीले जन्माउन सक्छ र हुर्काउन पनि सक्छ ।
० तपाईंले प्रधानमन्त्री हुँदा सत्ताको साँचो अन्यत्रै रहेछ चाहिँ किन भन्नुभएको ?
– मैले त्यस्तो कहिल्यै पनि भनिनँ । मैले मिडियाका साथीहरूलाई भन्नुपर्नेछ कि कैयौँ कुरा आविष्कार गर्ने र दुष्प्रचार गर्दै भ्रम छर्ने प्रवृत्ति गलत हो । मैले नेपालको साँचो बाहिर छ कहिल्यै भनिनँ । नेपालको साँचो नेपाली जनताकै हातमा छ ।
० तर, नेपालका नेताहरू अन्यत्रैबाट सञ्चालित छन् भनिन्छ, किन होला ?
– किन यसो भनिन्छ तपाईंहरू आफैँ मूल्याङ्कन र विचार–विश्लेषण गर्नुहोस् न † माओवादी शक्तिले त यस्तो परिवेशलाई बदलेको अवस्था हो, यो यथार्थलाई कसैले बङ्ग्याउन मिल्दैन । सुगौली सन्धिदेखि यता हामी पराधीन भएकै हौँ । बाह्य शक्तिको चलखेल बढेकै हो । हामी र देश कमजोर भइसकेपछि छिमेकीले त्यसमा हात छिराउने प्रयत्न त गरिहाल्छ नि । त्यो स्वाभाविक कुरा हो ।
० खिलराज रेग्मीलाई आफँै निर्णय
गरेर प्रधानमन्त्री बनाएको कि बाहिरी शक्तिको पनि हात थियो ?
– निर्वाचित सरकार भएकाले कि त मेरै नेतृत्वमा चुनाव हुनुपर्दथ्यो, त्यो हुन नदिइसकेपछि अर्को विकल्प बंगलादेश, ग्रिसलगायतका देशमा प्रयोग गरिएको मोडल भनेको प्रधानन्यायाधीशको नेतृत्वमा सरकार हो । हामीले पनि त्यो नयाँ मोडलमा जाने प्रयत्न ग-यौँ । यो हाम्रै उपज हो तर यसमा बाहिरी शक्तिको सहयोग र समर्थन रहेको हो ।
० वैद्यले त भारतीय योजनाअनुसार निर्णय भएको आरोप लगाएका छन् नि ?
– म उहाँहरूको विषयमा टिप्पणी गर्न चाहन्न । इतिहासले नै त्यसको फैसला गर्छ । किनकि उहाँहरू वैचारिक राजनीतिक मतभिन्नताहरू राखेर हामीबाट अलग हुनुभएको छ । उहाँहरूको परीक्षण हुन बाँकी छ । तर, उहाँहरूको बाटो वस्तुसङ्गत छैन । त्यो बाटो सफल हुने सम्भावना म देख्दिनँ ।
० वैद्य समूहले भाग नलिए संविधानसभाको निर्वाचन होला ?
– उहाँहरू अहिले द्विविधामा हुनुहुन्छ । चुनाव हुने बेलासम्ममा उहाँहरूले पुनर्विचार गर्नुहुन्छ जस्तो मलाई लाग्छ । तर, भाग लिनुभएन भने पनि चुनाव त हुन्छ । अहिले उहाँले अगाडि सारेजस्तो माग पूरा हुन सक्दैन । खिलराज रेग्मी नेतृत्वको सरकारको विकल्प छैन । छिट्टै निर्वाचनको मिति तोक्नुपर्छ । चुनाव हुन्छ । पहिला एमाले–काङ्ग्रेस बाहिर थिए र चुनाव भएन । अहिले हामी प्रमुख दल एक ठाउँमा छौँ, त्यसैले पनि निर्वाचन हुन्छ ।
० तपाईं र राष्ट्रपतिबीचको द्वन्द्व कहिलेदेखि सुरु भयो ?
– राष्ट्रपति ‘व्यक्ति’सँग मेरो कुनै द्वन्द्व छैन । रामवरण यादवजीसँग मेरो राम्रो सम्बन्ध छ । तर, बेलाबखतमा केही शक्तिहरूले राष्ट्रपतिलाई उपयोग गर्ने प्रयत्न गर्छन्, अनि उहाँ अलि बहकिन खोज्नुहुन्छ । त्यसबाट उहाँ सतर्क रहनुपर्छ । त्यसो हुन सक्यो भने सरल तरिकाले राजनीति अघि बढ्छ ।
० तपाईंलाई राष्ट्रपतिले हटाउन खोजेकै
थिए त ?
– उहाँले मलाई हटाउन खोजेको कुरा त सबैले बुझेकै कुरा हो । मैले बाहिर आएजस्तो ‘कु’ शब्दको प्रयोग त गरेको छैन । तर, उहाँले निकै बाधा–अड्चन सिर्जना गरेर मेरो सरकारलाई असफल पार्ने कामचाहिँ गर्नुभएकै हो । अहिलेको अन्तरिम संविधानले उहाँलाई मन्त्रिपरिषद्ले पठाएको अध्यादेश रोकेर राख्ने अधिकार कतै पनि दिएको छैन । संविधानको संरक्षक भनेको संविधानको विपरीत जाने होइन । संविधान पालना गरेर मात्र संरक्षक हुन्छ, उल्लङ्घन गरेर होइन ।
० तपाईंको कार्यकालमा भ्रष्टाचारको त रेकर्ड नै बन्यो भन्छन् नि ?
– कहाँ भयो ? यो अमूर्त कुरा गरेर हुँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनेको छ । त्यसले छानबिन गरे भइहाल्छ नि † म र हिसिला दुवै इन्जिनियर हौँ । नक्सा कोरेर महिनाको करोडौँ रुपैयाँ आफँै कमाउन सक्छौँ । भएको सम्पत्ति छाडेर ज्यानको माया मारेर देशका लागि हिँडेका मान्छेलाई भ्रष्टाचार गरेको आरोप लगाउनुमा कुनै तुक छैन । मेरो, श्रीमती र छोरीको नाममा भएको सम्पत्तिको विवरण बुझाइएको छ । त्योभन्दा बाहेक एक पैसाको पनि सम्पत्ति छ भने लगे हुन्छ ।
० बाबुराम भट्टराईप्रतिको जनअपेक्षा त प्रधानमन्त्री भएपछि झन् घट्यो नि ?
– नेपाली जनताको मनमा परिवर्तनका अपेक्षा धेरै ठूला थिए । यो सङ्क्रमणकालमा जनताका ती अपेक्षाअनुसार काम गर्न गाह्रो थियो । पहिलो कुरा यो बहुमतको सरकार थिएन, संयुक्त सरकार थियो । सङ्क्रमणकालमा जनतालाई जुन राहत दिने गरी बजेट ल्याउनुपर्ने थियो त्यो ल्याउन दिइएन । यस्तै–यस्तै कारणले जनताका अपेक्षा पूरा नभएका हुन सक्छन् । त्यो म मान्छु, तर बाबुराम भट्टराईले नियतवश नै गरेन भनी जनताले भन्छन् या भनेका छन् भन्ने मलाई लाग्दैन ।
० फेरि प्रधानमन्त्री बन्ने तपाईंको चाहना छ कि छैन ?
– मेरो चाहना त यो देशमा विकास र समृद्धि होस् भन्नेमा छ । म अलिक राजनीतिक अर्थशास्त्रमा रुचि राख्ने मान्छे हुँ । त्यसैले म यो देशमा विकास र समृद्धि ल्याउन पाए हुन्थ्यो भन्ने चाहन्छु । शासन–सत्ता चलाउने या शक्तिको लालसा मलाई त्यति छैन ।
० तपार्इंलाई चीनले विश्वास नगरेको कारण के होला ?
– यो गलत कुरा हो । मेरो कार्यकालमा चीनका प्रधानमन्त्री नेपाल आउनु नै ठूलो कुरा थियो । १० वर्षपछि पहिलोपटक चिनियाँ प्रधानमन्त्री नेपाल भ्रममा आउनुभएको थियो, त्यो चानचुने कुरा होइन । चीन पनि नेतृत्व परिवर्तनकै कालखण्डमा थियो, त्यसको कारणले समय भएन होला । चीनसँग मेरो राम्रो सम्बन्ध थिएन भन्ने कुरा गलत हो ।
० लोकमानसिंह कार्कीलाई अख्तियारप्रमुख बनाउन भारतसहित मित्रराष्ट्रको भूमिका थियो ?
– जे कुरामा पनि विदेशीकै भूमिका हेर्ने हाम्रो यो मनोग्रन्थीबाट मुक्त हुनुपर्छ । उनलाई नेपालका चार राजनीतिक दलले सिफारिस गरेका हुन् । त्यसैको आधारमा संवैधानिक परिषद्ले सिफारिस गरेर राष्ट्रपतिलाई पठायो । राष्ट्रपतिले त्यसलाई स्वीकार गर्नुभयो र कार्की अख्तियारप्रमुख बन्नुभयो ।
० किन लोकमान नै ?
– कोही न कोही आउनैपथ्र्यो । उहाँमा नै सबै सहमति बन्यो र उहाँ आउनुभयो । जनआन्दोलनमा दमन नगरेका व्यक्ति त को पाइन्छ र ? सेना र प्रहरीका, प्रशासनका, न्यायालयमा रहेका सबै व्यक्ति हिजोको जनआन्दोलनमाथिको दमनमा संलग्न थिए । ती सबैलाई हटाउने हो भने त नेपालमा कोही पनि बाँकी रहँदैनन् । अहिले हल्लाको आधारमा कसैलाई आरोपित गर्नु हुँदैन । भोलि भ्रष्टाचार गरेको अभियोग प्रमाणित भए संसद्ले महाअभियोग लगाएर हटाउन सक्छ ।
‘रेग्मी सरकार’ प्रचण्डको सोच नभई हाम्रै लाइन हो—रामचन्द्र पौडेल
(उपसभापति, नेपाली काङ्ग्रेस)
० सर्वदलीय बैठकहरू निष्कर्षविहीन हुन थाले नि, किन होला ?
– यस्ता सर्वदलीय बैठक, गोलमेच सम्मेलनका गोलचक्करहरू जहिले पनि निष्कर्षविहीन नै हुन्छन् । यिनले निष्कर्ष दिन सक्दैनन् । निष्कर्ष दिन नसक्ने भएकै कारणले सीमित पक्षहरू बसेर ठोस निर्णय लिनुपर्ने बाध्यता नेपालमा आइपरेको छ । विगतको संविधानसभामा पनि यस्तै भएको थियो । जब कुनै महत्वपूर्ण निर्णय लिनका लागि सर्वपक्षीय, सर्वदलीय बैठक बसिन्थ्यो त्यो बेलामा सबैले बोल्ने मात्र काम हुन्थ्यो तर निर्णय वा निष्कर्ष भने केही आउँदैनथ्यो । अन्तमा सबै दलले ‘लौ तिमी तीन दलहरूले मिलाएर ल्याऊ’ भनेर जिम्मा लगाउँथे ।
० यतिबेला चार दलबीच पनि आ–आफ्ना अडान देखिन थाले, अब कसरी कुरा मिल्छ होला त ?
– हो, चार दलबीच पनि अहिले कतिपय कुरा मिलेको छैन । हामीचाहिँ वास्तवमा २–३ वटा कुरामा स्पष्ट छौँ । विगतका अनुभवबाट केही कुरा सिकेर संविधानसभालाई अब चुस्त–दुरुस्त बनाउनुपर्छ, जनमतको कदर पनि हामीले गर्नैपर्छ । नेपाली जनमत यत्रो जम्बो संविधानसभाको पक्षमा छँदै थिएन, घोर विपक्षमा थियो र छ । ६ सय १ को संविधानसभा यति आलोच्य थियो कि जनताको विरोधको तारो बनेको थियो । त्यसैले सभासद्को यत्रो विशाल सङ्ख्या संविधान बनाउनका लागि आवश्यक छैन । धेरै सङ्ख्या भएपछि झन् संविधान बनाउनभन्दा नबनाउनका लागि सहायक हुँदोरहेछ ।
० यसको मतलब नेपाली काङ्ग्रेस अब ६ सय १ को पक्षमा छैन ?
– हामी चार दल मिलेरै यसअघि चार सय ९१ को सङ्ख्या तय गरेका हौँ । अब फेरि यो निर्णय बदलेर ६ सय १ नै गर्न खोज्दा विवाद बढेको हो ।
० प्रचण्डजीले त फेरि पनि ६०१ नै गर्नुपर्ने कुरा उठाउन थाल्नुभयो नि ?
– त्यही त † उहाँको पारा नै यस्तै छ र त हरेक कुरामा दलहरू नमिलेकोजस्तो सन्देश जनतामा प्रवाहित भइरहेको छ । सबैलाई भाग पु-याउनका लागि जथाभावी सङ्ख्या तोक्दा झन् भद्रगोल हुने कुरा थाहा हुँदाहुँदै उहाँ एकपटक भइसकेको निर्णय बदल्न खोज्दै हुनुहुन्छ । उहाँको यस्तै रवैयाका कारण मुलुकले आजसम्म यस्तो दु:ख पाएको हो । एउटा कुरामा सहमति भएपछि हामी त्यही कुरा लिएर जनतामाझ गइरहेका हुन्छौँ तर प्रचण्डजी भने कुरा फेर्दै हिँड्न थाल्नुहुन्छ । अनि हामी सबैलाई अप्ठ्यारो पर्छ, जनता भ्रममा पर्छन् र दलका नेताहरूलाई गाली गर्न थाल्छन् । प्रचण्डजीको कुनै टुङ्गो छैन । चार सय ९१ जो तय गरिएको हो अब निर्णय बदल्ने कुरा आउँदैन । बरु त्यो सङ्ख्या पनि ठूलो भएकाले घटाउन सकिन्छ तर बढाउने निर्णय हामीलाई मान्य छैन । जनताले यस्तो जम्बो संविधानसभा चाहेका छैनन् ।
० साना दलहरूको गुनासो र दबाब छ नि ६ सय १ नै चाहिन्छ भन्नेमा ?
– यहाँ एकजना मान्छेको एउटा दल भएको पनि देखियो । दलका नाममा व्यक्ति–व्यक्तिका भनाइ पछ्याएर सम्भव हुन्छ ? दलका नाममा एकजना पनि कार्यकर्ता नभएका २–४ जनाको समूहका कारण भद्रगोल र अराजकता निम्तिएको छ देशमा । यस्ता अराजकतावादीबाट कुनै समस्याको समाधान हुन सक्दैन, देशले निकास पाउँदैन, मुलुकको कल्याण हुँदैन ।
० चुनावका लागि त सबै दललाई सहमत गराउनैप-यो नि तपाईंहरूले, पर्दैन र ?
– त्यही त भन्दै छु म । दलको नाममा एरे–गैरे जसले जे मन लाग्यो त्यही कुरा गर्दै हिँड्ने अनि त्यसलाई सम्बोधन गर्ने भन्दै हिँड्न थाल्यो भने त कहिले पार पाइन्छ ? न्यूनतम मापदण्ड पनि पूरा नगरी दलको नाममा चारजना चिच्याएर हिँड्छन्, एउटालाई सम्झायो अर्कोले बखेडा सुरु गर्छ, अनि कसले कसरी सहमतिमा ल्याउने ?
० नेपाली काङ्ग्रेस साना दलहरूप्रति यति धेरै पूर्वाग्रही किन उपसभापतिज्यू ?
– साना दलप्रति पूर्वाग्रही होइन, नेपाली काङ्ग्रेस साँच्चैका साना दलहरूप्रति सबभन्दा बढी सहानुभूतिशील छ । उहाँहरूलाई सहयोग गरी अघि बढाउन प्रयत्नशील पनि छ । तर, इमानदार तथा वास्तविक आकार–प्रकारका साना दलहरूबाट पनि त कुरा आइरहेको छ नि यस्तो अराजक तवरबाट अघि बढ्न सकिन्न, हुँदैन भनेर । हामीले यस भावनाको हरदम कदर गरिरहेका छौँ ।
० ‘थ्रेसहोल्ड’को मुद्दामा त साना दलहरूले तपाईंहरूसँग विमति जनाइरहेका छन् नि, कसरी चित्त बुझाइदिन सक्नुहुन्छ उनीहरूको ?
– यसमा केहीले पक्कै विमति र गुनासो प्रकट गरेका हुन्, तर साना दलमा पनि अधिकांशले त एउटा मापदण्ड राख्नैपर्छ भनेर भनिरहेका छन् ।
० एक प्रतिशत मत ल्याउन साना दलहरूलाई त गाह्रो छ नि त ?
– त्यति मत पनि ल्याउन सक्छु जस्तो लाग्दैन भने त्यस्ता समूहले पार्टीका नाममा किन चुनावमा भाग लिने ? अन्य पेसा गर्न गए भइहाल्यो नि † जनताको प्रतिनिधि बन्नका लागि मत त ल्याउनुप-यो नि †
० यस्तोमा अब सहमति कसरी खोज्ने त ? सहमतिबिना त संविधानसभाको निर्वाचन सम्भव देखिँदैन, होइन र ?
– निर्वाचन आयोगले आफ्ना अनुभव र सारा जनमत बुझेर अघिसारेको नीतिलाई मान्नुको विकल्प छैन । अपराधमा लागेकाहरूले चुनाव लड्न पाउनु हुँदैन भनेर भन्नु के नाजायज हो ? तर, यस्तो कुराको पनि कथित मधेसी दलहरूले विरोध गरिरहेका छन् । यसले के सङ्केत गर्छ ? चुनाव मर्यादित हुनुपर्छ ता कि यसपछि बन्ने संविधानसभाको गरिमा उच्च होस् र त्यसले गर्ने निर्णय सर्वमान्य सावित होस् । जनसङ्ख्याको अनुपातमा संसारमा यत्रो ठूलो संविधानसभा कुनै देशमा पनि छैन । नेपाली जनतालाई यो असैह्य भएको हामीले विगतमा देखिसक्यौँ । यो सत्यलाई बुझेर सहमतिमा आउने चेष्टा गर्नुप-यो सबैले ।
० निर्वाचनको मितिसमेत घोषणा हुन सकेको छैन नि, चुनावको सुनिश्चितता कसरी होला त ?
– चुनावको मिति घोषणा गर्न हतार गर्नु जरुरी छैन । पहिले त निर्वाचन सुनिश्चित एवम् निष्पक्ष हुने आधारहरूको खोजी गरिनु आवश्यक छ । मिलाउनुपर्ने सबै कुरा मिलाइसकेपछि घोषणा गर्दा राम्रो हुन्छ । मोहन वैद्यजीहरूसँग कुरा मिलाएर उहाँहरूलाई पनि ट्र्याकमा ल्याउनुपर्छ । निष्पक्षता, सुनिश्चितता र निर्भिग्नता– यति तीनवटा कुरा पहिले हुनैपर्छ, तब मात्र मिति घोषणा गर्नु सान्दर्भिक र सारपूर्ण हुन्छ । असारमा नहुने भएपछि समय अब पर्याप्त छ । हतार गरेर मिति मात्रै घोषणा गराउन खोज्नेहरूले के चाहेका हुन् मैले बुझ्न सकेको छैन ।
० तपाईंहरू प्रचण्डको बोलीको ठेगान भएन भन्नुहुन्छ तर उहाँकै कुरा मानेर पछि–पछि लागिरहनुहुन्छ, किन यस्तो ?
– कसरी पछि लाग्यौँ हामी ? दलहरू सँगसँगै मिलेर अघि बढ्नु आवश्यक भएकाले उहाँलाई पनि साथ लिएर हिँड्नु त हाम्रो बाध्यता हो । उहाँलाई साथमा लिएर राजनीतिक व्यवस्थापनमा लागिपर्नु हाम्रो गल्ती हो र ?
० प्रचण्डकै लाइनमा नेपाली काङ्ग्रेस हिँडिरहेको छ, होइन र ?
– कसरी प्रचण्डको लाइनमा हिँड्यौँ हामी ? काङ्ग्रेसका आफ्नै नीति, सिद्धान्त र योजना छन्, त्यसैका आधारमा हामी चलिरहेका छौँ भन्ने देख्नुहुन्न ?
० खिलराज रेग्मीलाई चुनावी सरकारको प्रमुख बनाउने प्रस्ताव प्रचण्डकै थियो जो तपाईंहरूले खुरुक्क मान्नुभयो, यस्तै अन्य थुप्रै उदाहरण छन्, होइन र ?
– त्यो प्रचण्डको लाइन होइन, हाम्रै लाइन हो । हामी प्रचण्डको पार्टी नेतृत्वको बाबुराम भट्टराई सरकारलाई अपदस्त गरेर संविधानसभाको निर्वाचनमा जान चाहन्थ्यौँ, यसका लागि हाम्रो लाइन त्यो बन्यो र हामीले ग-यौँ । त्यसैले प्रचण्डको लाइनअनुसार नभई हाम्रो लाइनअनुसार देश अब चुनावतिर अघि बढेको छ । त्यति नगरेको भए चुनावको सम्भावना झन्–झन् हराउँदै जान्थ्यो । माओवादी गठबन्धनको सरकार हटेर नयाँ सरकार बन्नु प्रचण्डको होइन हाम्रै चाहना हो भन्नेमा स्पष्ट हुनुस् ।
० लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाउन त तपाईंहरू प्रचण्डकै प्रस्तावको पछि लागेको हो नि होइन र ?
– कतिपय यस्ता काम–कुराचाहिँ प्रचण्ड र विजय गच्छदारहरूको लाइनअनुसार पनि भएका छन्, त्यसैले त ती निर्णय विवादित पनि बनेका छन् ।
– ऋषि धमला
प्रतिक्रिया