चार दलको सहमतिमा हुन लागेको संविधानसभाको दोस्रो निर्वाचनको विरोधमा आन्दोलन गरिरहेको नेकपा–माओवादीका जुझारू नेता नेत्रविक्रम चन्द विप्लवसँग घटना र विचार साप्ताहिकका लागि ऋषि धमलाले गरेको कुराकानी :
० निर्वाचनमा भाग लिने कि नलिने ?
हामीले प्रजातान्त्रिक र सहमतिको जुन मान्यता र सर्तहरू अघि सारेका छौँ, त्यो पूरा नभएसम्म निर्वाचन सफल हुने सम्भावना हामीले देखेका छैनौँ ।
– तपाईंहरू निर्वाचन बिथोल्नुहुन्छ ?
सरकारको दायित्व निर्वाचन गराउने हो, उसले त्यसका लागि प्रयास गर्ला, तर यो चुनावको अर्थ छैन । जुन चुनावले पार्टीहरू, बुद्धिजीवीहरू, नागरिकहरू कसैलाई पनि सन्तुष्टि दिन सकेको छैन भने यसले समाधान दिन्छ भनेर कल्पना पनि गर्न सकिँदैन । नेपालको इतिहासमा सहमति कि चुनाव भन्ने बहस लामो समयदेखि चल्दै आएको छ । अहिलेको विवाद पनि त्यही छ– पहिला चुनाव कि पहिला सहमति । हाम्रो भनाइ पहिला सहमति त्यसपछि चुनाव हो । हामी चुनावको विरोधी होइनौं त्यसका लागि तयारै छाँै । तर, पहिला सहमति गर्नुप-यो ।
० चुनावले समाधान देला ?
– चार दलका नेताहरू र पार्टीभित्र पनि निर्वाचनको विषयमा एकमत छैन । जुन नेताहरू चुनावको वकालत गर्दै हिँडेका छन् उनीहरू पनि निर्वाचन हुनेमा विश्वस्त छैनन् । त्यसैले यस्तो अवस्थामा हुने निर्वाचनले मुलुकलाई समाधान दिन सक्दैन । संविधान लेख्न चुनावको आवश्यकतै छैन, सहमति मात्रै आवश्यक छ । हिजो चुनाव भएकै हो, त्यसले समाधानभन्दा पनि भाँडभैलौ मात्रै दियो ।
० संविधानसभाले संविधान दिनुपर्छ, होइन र ?
– त्यस्तो होइन, संविधानसभाबाट मात्र संविधान बनेको सबै देशमा उदाहरण छैन । ठूला–ठूला प्रजातान्त्रिक, समाजवादी देशहरूका संविधान विभिन्न प्रक्रियाबाट बनेका छन् । हामीले चुनावबाट संविधान बन्छ भने बनाऊँ भनेर निर्वाचनमा भाग लिएका हौँ नि, तर बनेन नि ! चार वर्षमा त सबैभन्दा बढी विश्वास गरिएका नेता र संविधानसभा नै बद्नाम भयो । त्यसैले यसले चुनाव होइन सहमति आजको आवश्यकता हो भन्ने देखिन्छ ।
० चुनावको विपक्षमा जाँदा तपाईंहरूकै दललाई घाटा हुन्छ भनेर भनिँदै छ नि ?
– त्यस्तो होइन, हामी जनतासँग प्रत्यक्ष अन्तरक्रिया गरिरहेका छौँ । जनता चुनावको पक्षमा छैनन् । दुई–चारजना मान्छेले चुनावको पक्षमा भएको फर्जी कुरा गरेका हुन् । हामी आफ्नो ऐजन्डा लिएर हिँडेका छौँ । हामी जित्ने–हार्ने, लोकप्रिय–अलोकप्रिय के हुने भन्ने कुरा हाम्रो हो । जसले संविधान, राष्ट्रियता, स्वाधीनता चाहँदैन त्यसले गर्ने कुरा हो यो ।
० सबैले चुनाव चाहेको बेला अब तपाईंहरूको गठबन्धनको औचित्य के ?
¬ हामीले चुनावको विरोध गरेका छैनाँै । हामीले अहिलेको अवस्थामा सहमति नभई चुनाव हुनै सक्दैन वा चुनावै भए पनि त्यसले परिणाम दिन सक्दैन भनेर भनेका छौँ ।
० तपाईंहरूसँगको सहमतिबिना चुनाव भए तपाईंहरू के गर्नुहुन्छ ?
– त्यसको लेखाजोखा सरकारले गर्नुपर्छ । सरकारले जनताको अवहेलना ग-यो, हेप्यो, पार्टीलाई एक्ल्याउन र बाइपास गर्न खोज्यो भने त्यसको परिणाम राम्रो आउँदैन । खिलराज रेग्मी आफैँले भनिसक्नुभएको छ म बाध्यतामा आएको भनेर । उहाँलाई आत्मविश्वास नै छैन निर्वाचन गराउने । निर्वाचन गर्न खोजे हामी बहिस्कार गर्छौं । जनताको बहिस्कारको नेतृत्व गर्छौं । चुनाव त काङ्ग्रेस र एमालेले पनि बहिस्कार गर्दै आएको कुरा हो नि । हामीले पनि गर्दै आएका हाँै । सहमतिबिना निर्वाचन गराउनुको अर्थ सरकार चुनाव चाहँदैन, युद्ध चाहन्छ भन्ने प्रस्ट हुन्छ ।
० तपाईंको पार्टीभित्र चुनावमा जाने–नजाने विषयमा विवाद छ रे नि ?
– होइन त्यस्तो केही छैन । हाम्रो पार्टीले एक मतले निर्णय गरेको हो । यो बाहिर चलाइएको हल्ला मात्रै हो । हामी चुनावको विषयमा एकमत छाँै ।
० चुनाव घोषणा गरेपछि तपाईंहरूको पार्टीमा पहिरो जान्छ भनिन्छ ?
– राजनीतिमा चुनौतीको सामना गर्नुपर्छ, त्यो मजै हुन्छ । समाज बदल्ने अभियानमा लागेका हामीलाई अरूसँगको प्रतिस्पर्धासँग कुनै चिन्ता छैन ।
० तपाईंहरूले किन फेरि युद्धको कुरा गर्नुभएको ?
– हामीले युद्धको कुरा गरेकै छैनौँ । जसरी आज देशलाई विभाजन गरेर सहमति नगरी केही मान्छेले रातारात निर्णय गरेर बाधा अड्काउ फुकाउ गरेर जनतामाथि थोपर्ने काम गरेका छन् यसले पो युद्ध निम्त्याउँछ त । हामी त सहमतिको कुरा गरिरहेका छौँ । सहमतिको कुराचाहिँ नसुन्ने युद्ध जन्माउने जुन खेल चलिरहेको छ यसलाई चिन्नुपर्छ, प्रस्ट बनाउनुपर्छ ।
० जनतामा जान दल खोलेको होइन र ?
– हो, हामी जनतामै छौँ । आकाशमा त छैनाँै । चारजना मान्छेले गरेको निर्णयलाई जनताको भावना भन्न मिल्दैन । रातभरि निर्णय गरेर बिहानबाटै गल्ती ग-यौँ भन्ने नेताहरूको स्वभाव त तपाईं–हामीले देखेकै छौँ नि । चार दलले जसरी निर्णय गरिरहेका छन् त्यसले देशलाई शान्ति र संविधानतिर लैजाँदैन । बुद्धि भए सहमति गर्नैपर्छ ।
० चुनाव गर्न के गर्नुपर्छ ?
– संविधानसभाको निर्वाचन हुनका लागि पहिला नै अब संविधान बन्छ कि बन्दैन भन्ने कुराको सुनिश्चितता चाहिन्छ । संविधानमा के–के लेख्ने, के–के नलेख्ने, बढीमा कतिसम्म जान सकिन्छ भन्ने कुरा निश्चित हुनुपर्छ । विगतमा पनि यही नभएकोले नै संविधान नबनेको हो । अब पहिला सहमति गर्नुपर्छ ।
० एमाओवादीसँग एकताको सम्भावना कत्तिको छ ?
– एमाओवादीसँग पार्टी एकताको कुनै सम्भावना छैन । जुन इश्युमा हामी छुट्टिएका थियौँ त्यो इश्यु अहिले पनि कायम छ । यस्तो अवस्थामा एकताको कुरै हुँदैन ।
हाम्रा नेताहरूले गल्ती गरे :अमिक शेरचन (नेता, एकीकृत नेकपा माओवादी)
० एकीकृत नेकपा माओवादी अहिलेको अवस्थामा चुनाव चाहँदैन भनेर धेरैले भनिरहेका छन्, कुरा के हो ?
– कसैले पश्चिमबाट घाम उदाउँछ भनेर भन्यो भने त्यो पत्याउने कि नपत्याउने ? एमाओवादीले चुनाव चाहेको छैन भन्नु र घाम त पश्चिमबाट उदाउन थालेछ भनी पत्याउनु उस्तै कुरा हो ।
० तपाईंको पार्टीका उपाध्यक्ष बाबुराम भट्टराईले पश्चिमाहरू चुनाव भाँड्न लागिपरेका छन् भनी भन्नुको तात्पर्यचाहिँ के होला त ?
– विदेशीहरूको चलखेल नेपालमा यतिबेला बढेको कुरा सत्य हो । एउटासँग एउटा कुरा गरिदिने र अर्कोसँग भेटेर अर्कै कुरा गरिदिने धेरै विदेशी भेटिन थालिएको छ । यस्तो किन गरिँदै छ भन्ने जिज्ञासा सबैमा जाग्नु स्वाभाविक हुन्छ । यस्तै परिवेशमाथि विचार गरेर उपाध्यक्षजीले त्यस्तो टिप्पणी गर्नुभएको हुनसक्छ । तर, मेरो विचारमा चुनाव भाँडिन लाग्यो भनेर अरूलाई औंल्याउनुभन्दा हाम्रै कारणले चुनाव हुन नसकेको हो र अब चुनाव भएन भने पनि हाम्रै कारणले नहुने हो ।
० तपाईंको भनाइको मतलब नेपाली मिलेमा सबै समस्या आफैँले समाधान गर्न सकिन्छ, बाह्य सहयोगको दरकार पर्दैन, हो ?
– हो । हामी मिले हामीले नै समस्या हल गर्न सक्छौँ र गर्नु पनि पर्छ । आफ्नो इच्छाशक्ति प्रबल तुल्याउन नसक्ने अनि बेकारमा किन विदेशीलाई मात्र दोष दिइरहने ?
० संविधानसभाको निर्वाचनको वातावरण बनाउने सवालमा तपाईंहरू किन चुकिरहनुभएको छ त ?
– यस सवालका सन्दर्भमा मैले धेरैपटक भनिसकँे कि बहुमतीय सिस्टम नेपालका लागि अफाप भइसकेको सिस्टम हो । बहुमतीय प्रणालीमा अनेक अस्वाभाविक र अपवित्र गठबन्धन गरेर अर्कोलाई तल खसाल्ने अस्वस्थ क्रियाकलाप निकै हुने भएकाले राजनीति सधैँ अस्थिर रहन्छ । तसर्थ, सदाकाल अस्थिरता निम्त्याउने यो बहुमतीय व्यवस्था नअँगालौँ, सहमतीय प्रणाली नतोडौँ भन्ने गर्छु म । सहमतीय प्रणाली त्याग्नुको परिणामस्वरूप अहिले निर्वाचनको वातावरण पनि खलबलिने या खलबल्याउने काम भइरहेको छ । यसरी वातावरण खलबलिनुमा कुनै दल वा नेताविशेषको भन्दा पनि बहुमतीय प्रणालीकै दोष देख्छु म ।
० सहमतिको प्रयास लम्ब्याइरहनुभन्दा पुरानै ऐनअनुसार चुनाव गराउनु उचित हुने तर्कहरू पनि उठेका छन्, यो सम्भव होला ?
– यो संविधानसभाको निर्वाचन हो, त्यो पनि पहिलेको संविधानसभाले पूरा गर्न नसकेका कार्यहरू पूरा गर्नका लागि गर्न लागिएको चुनाव हो । त्यसैले यहाँ कुनै पनि नयाँ कुराहरू नझिकौँ, पुरानै ऐन–नियम वा प्रक्रिया अवलम्बन गरेर काम सम्पन्न गरौँ भनेर त मैले उहिल्यैदेखि भन्दै आएको छु । निर्वाचन आयोगले जुन मस्यौदा बनाएर ल्यायो, त्यतिबेलै नेताहरूले नयाँ प्रावधानहरू राख्दै नराखौँ भनेर भन्न सक्नुपथ्र्यो । यदि त्यसो गरिएको भए आज यत्रो लफडै रहने थिएन ।
० भनेपछि तपाईं ‘थ्रेसहोल्ड’को विपक्षमा हुनुहुन्छ, होइन त ?
– पक्ष र विपक्षको कुरै नगरौँ न ! चुनाव गराउनु छ, कसो गर्दा चुनाव सम्भव हुन्छ त्यतापट्टि लाग्नुप-यो नि । निर्वाचन ऐनमा नयाँ–नयाँ प्रावधान थप्नुभन्दा सदस्य सङ्ख्या चार सय ९१ गर्नेबाहेक अरू केही नचलाऔँ भन्ने मेरो व्यक्तिगत राय हो । निर्वाचन आयोगका तर्फबाट ल्याइएको प्रस्ताव दलका प्रतिनिधिहरूसँग छलफल गरेरै ल्याइएको भनिएको छ । यस्तो हो भने नेताहरूको कमजोरी देखियो, सहमति जनाउन हुँदैनथ्यो । निर्वाचन आयोगले पनि संसदीय निर्वाचनको लागि चाहिने खालको ऐन मस्यौदा गरेर ल्याउनुहुन्नथ्यो, त्यो गल्ती भयो । निर्वाचन आयोगमा छलफलका लागि जाँदा त्यहाँ ‘हुन्छ’ भन्ने अहिलेचाहिँ ‘हुँदैन’ भनेका हुन् भने हाम्रा नेताहरूले पनि गल्ती गरेकै ठहर्छ । हाम्रो पार्टीको लाइन त थ्रेसहोल्ड राख्ने भन्ने थिएन, मलाई यत्ति थाहा छ ।
० तपाईंहरू मोहन वैद्य पक्ष चुनावमा नआओस् भन्ने चाहनुहुन्छ, त्यसैले चुनावी वातावरण खलबल्याउने एमाओवादीको नियत छ भन्ने जनआवाज छ, के भन्नुहुन्छ ?
– यो पनि अत्यन्त हास्यास्पद कुरा भयो । चुनावमा आइदिनुप-यो, वातावरण बिथोल्ने काम गर्न भएन भन्ने अनुरोधका साथ मोहन वैद्यसँग पटक–पटक म आफैँ गएर कुरा गरिरहेको छु । प्रचण्ड कमरेड पनि आफैँ गएर उहाँसँग कुरा गरिरहनुभएको छ । सकभर पार्टी नै एक गरेर जाऔँ, नभए पनि कार्यगत एकता गरेर मिलिजुली चुनाव लडौँ भन्ने हाम्रो आग्रह रहँदै आएको छ वैद्यजीहरूसँग । उहाँहरूले पनि हाम्रा सर्तहरूमा पोजेटिभ्ली हेरिए चुनावमा जान नसकिने होइन भनी सकारात्मक जवाफ दिनुभएको छ । सत्य कुरा यो हो, अब यसलाई बङ्ग्याएर कसैले आफूअनुकूल कुरा गर्छ भने हामी के गर्न सक्छौँ र ? हामी उहाँहरूले चुनाव बहिष्कार गरेको होइन भाग लिएको हेर्न चाहन्छौँ । अहिलेको परिवेशमा चुनाव बहिष्कार गरेर लाभ होइन धेरै नै हानि हुन्छ भन्ने कुरा उहाँहरूले पनि राम्रैसँग बुझ्नुभएको छ भन्ने मेरो बुझाइ छ ।
० यस्तो हो भने तपाईंका पार्टी अध्यक्षले गहन पहल िकन नगर्नुभएको त वैद्य पक्षलाई चुनावका लागि सहमत गराउन ? काङ्ग्रेस–एमालेका नेताहरूले त प्रचण्डमाथि यस्तै आरोप लगाइरहेका छन् कि उहाँले वैद्यलाई फकाउने होइन भड्काउने व्यवहार गरिरहनुभएको छ ?
– प्रचण्डजीले वैद्यजीलाई भड्काउने कुनै त्यस्तो व्यवहार गर्नुभएको छैन । बरु काङ्ग्रेस–एमालेहरू नै वैद्यजीहरूसँग सहकार्य गरेर अघि बढ्ने भनी भ्रामक कुरा गरेर उहाँहरूलाई यदाकदा अलमल्याउन खोजिरहेका छन् ।
० प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएको कुरामै वैद्यजीहरूको मुख्य आपत्ति छ भने तपाईंहरूसँग कसरी कार्यगत एकता गर्ला त नेकपा–माओवादीले ?
– यो कुराचाहिँ अलिक समस्याकै रूपमा रहेको छ । तर, उहाँहरूले नबुझेको या बुझपचाएको कुरा के छ भने प्रधानन्यायाधीश पदबाट खिलराज रेग्मीले राजीनामा दिनेबित्तिकै जो प्रधानन्यायाधीश हुन्छ त्यही व्यक्तिलाई फेरि चुनावी सरकारको लगाम सुम्पिनुपर्ने हुन्छ । किनकि, ‘बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरिने’ भनेर लेखिसकियो । यसको मतलब खिलराज रेग्मीलाई जिम्मेवारी दिएको नभई सर्वोच्चको प्रधानन्यायाधीशलाई दिइएको हो । यसप्रकार रेग्मीले छोडे अर्का शर्मा आउन सक्छन् । यो त सुल्झिने कुरा भएन नि, त्यसैले यस्तो अडान उहाँहरूले छाड्नु वेश हुन्छ भन्ने हाम्रो तर्क रहँदै आएको छ ।
० यस्तो सहमति किन गरेको त, सहमति फेरेर अर्को लेखिदिए होला नि त ?
– यो पनि दलहरूका तर्फबाट कमजोरी भएकै हो । ‘बहालवाला प्रधानन्यायाधीशको नेतृत्व’ भनी तोक्नु हुन्थेन । तर, अब जे भयो–भयो, केही महिनाका लागि यही सरकारलाई मान्दिँदा उहाँहरूको पनि केही बिग्रने होइन । सुरुक्क चुनावमा गए सबै समस्या समाप्त हुन्थ्यो । रेग्मीको राजीनामाका लागि फेरि ऐननियम संशोधन गर्नुपर्ने हुन्छ । यस्ता अनेक लफडा गरिरहनुभन्दा खुरुक्क चुनावमा जानु नै सबैका लागि श्रेयस्कर हुन्छ । – ऋषि धमला
काङ्ग्रेसका युवाको हस्तक्षेपकारी भूमिका आवश्यक :सुवास पोखरेल (नेपाली काङ्ग्रेसका युवा नेता)
० नेपाली काङ्ग्रेसमा युवाको भूमिका फितलो भयो भनिन्छ, तपाईं के भन्नुहुन्छ ?
– आजका युवाको सन्दर्भमा युवाहरूको प्रतिनिधित्व नभएको होइन, छ । केन्द्रीय समितिमा पनि छ, जिल्ला तहमा पनि छ, विभागमा पनि छ, सबै निकायमा छ । तर, तीतो सत्य के छ भने निर्णायक तहमा छैन, छरपष्ट्र भूमिकामा छ, सङ्गठित भूमिकामा छैन । यसको अर्थ हुन्छ– प्रभावकारी भूमिकामा छैन । त्यसै हुनाले काङ्ग्रेस पार्टीलाई सङ्गठित प्रतिनिधित्वको हस्तक्षेपकारी सामथ्र्य बोकेको युवाको पार्टी बनाउनु आवश्यक छ । इतिहासमा बीपी कोइरालाको थियो, कृष्णप्रसाद भट्टराई, सुवर्णशमशेर यस्तै व्यक्ति हुनुहुन्थ्यो । बीपी कोइराला गृहमन्त्री हुँदा ३७ वर्षको हुनुहुन्थ्यो । किशुनजी सभामुख हँुदा २६ वर्षको मात्रै हुनुहुन्थ्यो । सुवर्णशमशेर र गणेशमानजी पनि ३२–३५ को हुनुहुन्थ्यो । त्यही कारणले उहाँहरूले पार्टीको स्थापना गर्न सके, विद्रोह गर्न सके, लोकतन्त्रका लागि लड्न सके, प्रगतिशील राज्यसत्ताको निर्माण गर्न सके । तिनै नेताले पसिना सिँचेको पार्टीका हामी प्रतिनिधि युवाहरू जो प्रविधिका हिसाबले, ज्ञानका हिसाबले, अनुभवका हिसाबले पनि अगाडि छौँ भने हामीले किन नसक्ने ? राजाका निरङ्कुशताविरुद्ध लड्न सक्ने र त्यो व्यवस्थालाई फालिदिन सक्नेले लोकतन्त्रको नेतृत्व गर्न किन नसक्ने ? त्यसैले आज काङ्ग्रेस पार्टीभित्र सङ्गठित र हस्तक्षेपकारी युवा नेताहरूको खाँचो छ ।
० यसको अर्थ काङ्ग्रेसको पुरानो नेतृत्व असफल हुँदै छ भन्ने तपाईंको मूल्याङ्कन हो ?
– म समाजको भावनाको प्रतिनिधित्व गर्छु, त्यसैले तपाईंको प्रश्नसँग असहमत छैन । तर, नेतृत्व एकै दिन विस्थापित र एकैपटक स्थापित हुने विषय होइन । काङ्ग्रेस एउटा लामो इतिहास बोकेको पार्टी भएकाले यसको नेतृत्वको रूप पनि प्रशासनिक नेतृत्वजस्तो हँुदै गएको छ । जनभावनाको कदर कम गर्ने, जनता अपेक्षाअनुसार नचल्ने, कुनै अमूक शक्तिकेन्द्रको ज्यादा प्रभावमा पर्नेजस्ता गतिविधि देखापरेको छ । जसका कारणले पार्टी कमजोर हँुदै गएको छ । नेतृत्वसँग जनताको आशा घट्दै गएको छ । नेता र जनताको दूरी बढेको छ । यसको अर्थ के हुन्छ भने राजनीतिमा जनता निराश हँुदै गएका छन् । विस्फोटनको तहसम्मकै निराशा छाएको अवस्था छ । जुनै पनि बेला यो विस्फोट हुन सक्छ । जनताले विद्रोह गर्न सक्छन् । त्यो विद्रोह सकारात्मकभन्दा पनि नकारात्मक हुन्छ । निराशाजनक राजनीतिको परिणाम नकारात्मक नै हुन्छ ।
० यो अवस्थामा तपाईंजस्ता काङ्ग्रेका जुझारु युवाले के भूमिका निर्वाह गर्न सक्नुहुन्छ त ?
– काङ्ग्रेसका युवाहरू भूमिकाकै खोजीमा छन् । जो केन्द्रीय सदस्यमा छन् ती पनि भूमिकाकै खोजीमा छन् । जो त्यहाँ छैनन् उनीहरू पनि भूमिकाकै खोजीमा छन् । यसैकारण हो मैले भूमिका अब हस्तक्षेपकारी हुनुप-यो भनेर भनेको । हस्तक्षेप गर्न एक्लाएक्लै सकिन्न, त्यसैले सङ्गठित हुनुप-यो । त्यसैले अब हाम्रो भूमिका हामीभित्रको सम्भावनालाई खोतल्ने र हामी युवालाई सङ्गठित भएर पार्टी पङ्क्तिभित्र र बाहिर अर्थात् समाज र जनताका तहसम्म जाने रचनात्मक भूमिका निर्वाह गर्न सक्नुपर्छ । यसले युवाहरूको सम्भावनालाई उजार गर्छ ।
० यो त मुखले गर्ने कुरा भए, यो विषयलाई मजबुत तुल्याउन व्यक्तिगत तहमा तपाईंले के गरिरहनुभएको छ ?
– म केन्द्रीय भूमिकामा नभएकाले केन्द्रीय भूमिका भएका नेताहरूलाई भेट्दा बारम्बार भन्ने गर्छु– सङ्गठित हुने विषयमा कि हामीभित्रको सम्भावनालाई खोतलौँ । पार्टीभित्र मौलाउँदै गएको कुरीति र कुप्रथाका विरुद्ध लडौँ, काङ्ग्रेस पार्टीलाई आर्थिक–सामाजिक कार्यक्रम बनाउन दबाब सिर्जना गरौँ । किनभने, काङ्ग्रेसले समाजवादी आर्थिक मोडेलका कार्यक्रम ल्याउनै सकेको छैन । समाजवादमा आधारित आर्थिक सामाजिक न्याय स्थापना गर्ने कार्यक्रम बनाउने सन्दर्भमा बहस र छलफल सुरु गराँै भनिरहेको छु । मैले गगन थापालाई, चन्द्र भण्डारी, एनपी साउद, किशोरसिंह राठौर, सीता गुरुड, बद्री पाण्डेलगायतका थुप्रै केन्द्रीय युवानेता साथीहरूलाई भनेको छु । मेरो प्रत्यक्ष भूमिकाको सन्दर्भमा म खोटाडमा कार्यरत भएका कारण जिल्ला पार्टीमा सबै युवा साथीलाई जिल्ला कार्यसमिति र महाधिवेशन र महासमिति प्रतिनिधित्व प्रत्यक्ष सहयोग पु-याएको छु । र, खुसीको कुरा हो कि खोटाड काङ्ग्रेस युवासाथीको काधमा सवार छ ।
० यो त तपाईंको पार्टीको विषय भयो अब देशको कुरा गरौँ । वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न काङ्ग्रेसको भूमिका के हुनुपर्छ वा हुनुपथ्र्यो ?
– पार्टीको कुरा आज केवल कार्यकर्ताको मात्र कुरा होइन, यो देशको पनि समस्या हो । पार्टीको समस्या देशको समस्या हो । आज काङ्ग्रेस पार्टीको कारणले देशमा समस्या आएको छ । एमाले र माओवादी पार्टीको समस्याका कारणले पनि देशमा समस्या आएको छ । पार्टीहरूकै कारण समस्या समाधान पनि भएको छ । र, भोलिको नेपालको सम्भावना भन्नुु पनि यिनै पार्टी हुने । त्यही कारण पार्टीभित्रको लोकतन्त्र, पार्टीभित्रको द्वन्द्व, पार्टीभित्रको समस्या आज केवल पार्टी कार्यकर्ताको मात्रै चासो र सरोकारको विषय होइन । यो आमजनतालाई असर गर्ने, प्रभाव पार्ने विषय हो । त्यसो हुनाले पार्टी र राष्ट्रको जीवन गाँसिएको छ । पार्टीहरू बलिया हुँदा नेपालको राजनीति बलियो हुन्छ । बलिया राजनीतिक दलका नेताले मात्रै अन्य देशका नेतासँग वार्ता गर्दा, राष्ट्रिय मुद्दामा छलफल गर्दा राष्ट्रिय बल प्राप्त गर्छ । त्यसो हुनाले नेपालको राष्ट्रिय राजनीतिमा बलियो नेताको उदयले मात्रै नेपालको राष्ट्रियतालाई बलियो गर्छ ।
जहाँसम्म काङ्ग्रेसको भूमिकाको सवाल छ, काङ्ग्रेसको वर्तमान भूमिका भनेको संविधानसभाको निर्वाचनमार्फत नेपालमा लोकतन्त्रलाई संस्थागत गर्ने दिशातर्फ पाइला चाल्ने कार्यमै गुज्रेकोमा सन्देह छैन । तर, समग्र पार्टीपङ्क्तिलाई परिचालित गरेर चुनावी माहोल तयार गर्न सकिरहेको छैन । जातीय, क्षेत्रीय, लिङ्गीय र सङ्घीय मुद्दाहरूको सन्दर्भमा स्पष्ट दृष्टिकोणका साथ जनताबीच जानु यसका लागि विचार मिल्ने समूह, संस्था र पार्टीहरूबीच छलफल, विचार विनिमय र आवश्यकतामा कार्यगत एकता र पार्टीगत एकीकरणको दिशामा पार्टीलाई लैजानु आजको नेतृत्वको मूल कार्यभार हो जस्तो मलाई लाग्छ । नेपालमा आज राजनीतिक सङ्क्रमण मात्र छैन कि सामाजिक र सांस्कृतिक सङ्क्रमण पनि जारी छ । पुस्ता र पुस्तान्तरणको सङ्क्रमणमा पनि नेपाल परिरहेको छ । यसको प्रभाव राष्ट्रिय राजनीतिमा परिरहेको छ । विदेशी प्रभाव पनि यसै समयमा विस्तार हुने गर्छ । निर्वाचित राजनीतिक संस्थाहरू अहिले नभएकाले पनि यस्तो अवस्था आएको हो । सीमित सङ्ख्यामा सिन्डिकेटवाला नेता छन् जो २०–२५ वर्षदेखि एकलौटी हालीमुहाली गरिरहेका छन् । निर्वाचन भए पो नयाँ नेतृत्व, नयाँ विचार आउँछ, नयाँ कार्यक्रम आउँछ । जनसहभागिताबेगरको राजनीति कमजोर हुन्छ । नेपालको अहिलेको मूल समस्या पनि यही हो । त्यसैले काङ्ग्रेसको राजनीति चुनावमुखी हुनुपर्छ । त्यो केवल संविधानसभा र केन्द्रीय सरकार बनाउने मात्र होइन कि प्रदेश र स्थानीय सरकारको निर्माण गर्ने दिशातर्फ पनि केन्द्रित हुनुपर्छ ।
० आन्तरिक लोकतन्त्र मजबुत गराउन काङ्ग्रेस किन सफल हुन सकेन ?
– हामी पुरानो राजनीतिक, सामाजिक र आर्थिक प्रणालीको अन्त्य गर्न चाहन्छाँै र यसको ठाउँमा नयाँ राजनीतिक, सामाजिक र आर्थिक प्रणाली स्थापना गर्न चाहन्छौँ । पुरानो सामाजिक प्रणालीका हाम्रा पुराना, प्रथा परम्परा, रीति–रिवाज, चालचलन भत्काउँदा नयाँ अर्को परम्परा, रीति–रिवाज, चालचलन स्थापना पनि गर्न सकेका छैनौँ । त्यसै सामन्तवादी अर्थप्रणाली हामीले भत्कायौँ तर त्यसको ठाउँमा अर्को नयाँ आर्थिक प्रणाली गाउँठाउँमा स्थापित गर्न सकेका छैनौँ । पुरानो राजतन्त्रात्मक राजनीतिक प्रणाली पनि हटायाँै । नयाँ स्थापना पनि गर्न सकेका छैनौँ । अनि पुरानो सभ्यता र संस्कृतिले गाँजिएको हामी कार्यकर्ता र नेताको मनोसामाजिक अवस्था छ । त्यो ठाउँमा नयाँ विचार पैदा गर्नु छ दिमागमा । पुरानो विचार बोकेको टाउकामा नयाँ विचार बोकेको दिमाग बनाउनु छ । यो कसरी सम्भव छ ? सम्भव छ । हामी जनतासँग बसेर नयाँ नीतिका सन्दर्भमा छलफल गर्दै छौँ । यसो गर्दा नयाँ र पुरानोबीचको द्वन्द्व सबै ठाउँमा बढेको छ ।
वैचारिक रूपमा यो–यो पुरानो र नयाँबीचको राजनीतिक, सांस्कृतिक, धार्मिक सङ्घर्षको पनि लडाइँ हो । नयाँ प्रणाली मान्ने त भन्यौँ । तर, त्यससँग साक्षात्कार गर्न सकिरहेका छैनौँ । त्यसको असर पार्टीभित्र पनि देखिएको छ । पुरानो पुस्ता जो आफूलाई शक्तितशाली ठान्छ र ऊ भूमिकामा पनि छ, नयाँ पुस्ता सकारात्मक रचनात्मक भूमिकाको खोजीमा छ, तर भूमिकामा छैन । यसले आफ्नो भूमिका खोजिरहेको छ । कहिले पुरानोसँग मिलेर भूमिका खोज्छ कहिले अलग धार बनाउन खोज्छ । मनोवैज्ञानिक, दार्शनिक र सैद्धान्तिक रूपले आजको पार्टीभित्रको आन्तरिक द्वन्द्व पनि कताकता यसैभित्र केन्द्रित छ जस्तो लाग्छ । कार्यकर्ता अघिल्लो पुस्ताको जस्तो नेता खोजिरहेको छ तर नेतृत्व पूरै कार्यकर्ताजस्तो छ । यो राष्ट्रिय राजनीतिको मुद्दाभन्दा पनि गुटगत स्वार्थका निम्ति काम गरिरहन्छ । त्यसैले अहिलेको पार्टीको एकल नेतृत्वले देशलाई हाँक्नै सक्दैन । यो सामूहिक नेतृत्वमा जानुपर्छ ।
प्रतिक्रिया