माक्र्स, गान्धी र बीपीबाट कमजोरी भएनन् ?=माधव नेपाल

माक्र्स, गान्धी र बीपीबाट कमजोरी भएनन् ?=माधव नेपाल


Madhav-Kumar-Nepal (वरिष्ठ नेता, नेकपा एमाले)
० संविधानसभाको चुनाव होला ?
– चुनावको मिति घोषणा भइसक्यो भनेपछि चुनाव त हुनैपर्छ नि ।
० हुनुपर्छ कि हुन्छ ? हुने आधार के–के छन् त ?
– संविधान बनाउनु छ । सङ्क्रमणकालीन अवस्थालाई छोट्याउनु छ । संविधानका थोरै बाँकी विषयलाई टुङ्ग्याउनु छ । लामो समयदेखि हामी सङ्क्रमणकालबाट गुज्रिरहेका छौँ, त्यसैले जनतामा निराशा छाएको छ । सारा कामहरू अस्तव्यस्त छन् । आर्थिक विकासका कामहरू हुन सकेका छैनन् । यी सबै कारणले गर्दा हाम्रा कामलाई छोटोभन्दा छोटो समयमा सम्पन्न गर्नुपर्ने आवश्यकता छ । कामको चटारोबीच हामीबाट यी सबै कामको निम्ति जसरी पनि चुनाव सम्पन्न गर्न सहयोग हुनु जरुरी छ । सरकार पनि प्रतिबद्ध छ । निर्वाचन आयोग पनि प्रतिबद्ध छ । नेपाली काङ्गे्रस, नेकपा एमालेलगायतका दलहरू पनि तयार छन् । साना दलहरू पनि निर्वाचन आयोगमा दर्ता भइरहेका छन् । चुनावी माहोल सुरु भइसकेको अवस्था छ । त्यसैले मङ्सिरमा चुनाव हुन्छ ।
० पछिल्लो समयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो सरकार पनि असफल भएको छ भन्ने प्रतिक्रिया दिनुभयो, कतै नयाँ खेलको सुरुवात हुन खोजेको त होइन ?
– उहाँले प्रधानमन्त्री पद छोड्नुपर्दाको पीडा अभिव्यक्त गर्नुभएको हो । उहाँको बोलीमा कुनै तुक छैन ।
० डा. भट्टराईले सत्ता छोड्दै गर्दा भन्नुभएको थियो कि केही समयका लागि सत्ता हस्तान्तरण गर्दै छु, पछि फेरि म नै आउँछु भनेर, त्यो सम्भव छ ?
– उहाँ फेरि आउनु भनेको कल्पनाको कुरा हो । उहाँ सपनाको संसारमा हिँड्दै हुनुहुन्छ । यथार्थमा उहाँ फेरि प्रधानमन्त्री बन्न सक्नुहुन्न ।
० माओवादी शान्तिप्रक्रियामा आएदेखि उनीहरूले जे भनिरहेका छन् त्यही भइरहेको छ । माओवादीको पुच्छर समातेर अरू दलहरू हिँडिरहेकोजस्तो देखिन्छ भने तपाईंको यो दाबीको अर्थ रहला ?
– कहाँ हामीले पुच्छर समातेर हिँड्यौँ ? हामीले संविधानसभा सदस्य सङ्ख्या घटाएर ६०१ को बदला ४९१ बनाउनुपर्छ भन्यौँ । धेरै समयको कसरतपछि हाम्रै कुरा सदर भयो । सिलिङबारे पनि हामीले अडान लिइरहेकै थियौँ ।
० दलका नेताहरूले पटकपटक गल्ती गर्ने अनि हामीले गल्ती ग-यौँ भनेर माफी माग्ने गरेका छन्, अब जनताले कसरी विश्वास गर्ने तपाईंहरूलाई ?
– मलाई बताइदिनुप-यो– हामीले कहाँ गल्ती ग-यौँ ? हामीले माओवादीलाई शान्तिप्रक्रियामा ल्यायौँ त के गल्ती ग-यौँ ? देशमा चलिरहेको हिंसात्मक द्वन्द्वलाई समाप्त पा-यौँ, के गल्ती ग-यौँ ? राजतन्त्रको अत्याचारबाट देशलाई मुक्त बनायौँ, के गल्ती ग-यौँ ? हामीले मुलुकमा गणतन्त्रको घोषणा ग-यौँ, के गल्ती ग-यौं ? हामीले संविधानसभाको निर्वाचन गरेर द्वन्द्वलाई समाधान गरौँ भन्यौँ, के गल्ती ग-यौँ ? माओवादीले जथाभावी तरिकाले प्रधानसेनापतिलाई हटाउन खोज्दा हामीले रोक्यौँ, के गल्ती ग-यौँ ? अनमिनलाई यहाँबाट बिदा ग-यौँ, के गल्ती ग-यौँ ? माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि मेरो नेतृत्वमा सरकार गठन गरेर माओवादीको दम्भलाई चकनाचुर पा-यौँ, के गल्ती ग-यौँ ?
० राजनीतिक दलहरू असफल भएका कारण कर्मचारीसँग आत्मसमर्पण गरे भन्ने टिप्पणी पनि गरिएको छ नि, के भन्नुहुन्छ ?
– यो कुरामा त मिडियाकै महŒवपूर्ण भूमिका रहन्छ । हाम्रा आवाज जनतासम्म पु-याउने त मिडियाले नै हो । हाम्रा कुरालाई प्रचारप्रसार गर्न मिडियाले भूमिका खेलिदिनुहोस् भनेर हामी त भनिरहेका छौँ । मैले त मिडियामा पनि एकदम स्पष्ट धारणा राखिरा’छु । म अरूजस्तो ढुलमुले तरिकाले बोलिरहेको छैन । मैले त चुनौतीको भाषामा बोलिरहेको छु के नेपालको राजनीतिको नसा–नसा मलाई थाहा छैन ? यहाँका प्रत्येक घटनाक्रममा म सहभागी भएको छु, भनेपछि मलाई जानकारी नभएको कुनै चिज होलाजस्तो त लाग्दैन । अलि–अलि कमजोरी त कोबाट भएको छैन ? के कार्लमाक्र्सबाट कमजोरी भएको छैन ? के बीपीबाट कमजोरी भएको छैन ? के महात्मा गान्धीबाट कमजोरी भएको छैन ? सानातिना गल्ती–कमजोरी त कोबाट हुँदैन ? के पार्टीबाहेक देश हाँक्ने कुनै संस्था संसारमा जन्मिएको छ ? अब मुलुकलाई बलियो सरकार चाहिएको छ । एउटा इमानदार मान्छे चाहिएको छ । स्वच्छ छविको मान्छे चाहिएको छ । एउटा दूरदर्शिता बोकेको मान्छे चाहिएको छ ।
० यहाँले यति भन्दै गर्दा अहिले चोक–चोक र गल्ली–गल्लीमा ०४७ सालको संविधान पुनस्र्थापनाका कुराहरू सुनिन थालेका छन् नि, हावा नचली पात त अवश्य हल्लँदैन होला ?
– ०४७ सालको संविधानको कुरा फेरि आउन सक्दैन । संवैधानिक राजतन्त्र त हामीले मानेकै हो नि । अब त राजतन्त्र इतिहासको पानामा सीमित भइक्यो । फेरि फर्केर आउने कुरै छैन । अब कसैको रैती भएर नेपाली जनता बस्नेवाला छैनन् ।
० सयौँ राजा पाल्नभन्दा एउटै राजा ठीक पनि त भन्न थालेका छन् नि जनताले ?
– कसलाई सयौँ राजा भन्ने ? एउटा राष्ट्रपति हुनुहुन्छ, किसानका छोरा रामवरणजीले बहुत कुशलताकासाथ मुलुक हाँक्नुभएकै छ । आज रामवरण यादवजी हुनुहुन्छ भोलि अर्कै किसानको छोरा आउन सक्छ । त्यसैले गर्दा कुनै एकदम धनी सम्भ्रान्त, आफू के–के न हो भनेर अहंकार बोकेका राजा र तिनका परिवारका भारी हामी बोक्न सक्दैनौँ ।
० दलहरू त निकै कमजोर बनेका छन्, यस्तो परिवेशमा तपाईंले यो कुरा गर्नु कति सान्दर्भिक होला ?
– कसले भन्यो दल कमजोर ? हाम्रै कुरा गर्नुहुन्छ भने हालै हजारौँ मान्छे अन्य पार्टी छोडेर एमालेमा आइरहेका छन् । युवा पङ्क्तिमा एमालेको आकर्षण बढ्दो छ । आमजनतामा एमालेप्रतिको विश्वास बढ्दो छ । म आफैँले पनि सिन्धुपाल्चोक, सर्लाही, धनुषा, चौतहट, तनहुँ, बाँके तथा देशका विभिन्न ठाउँमा जाँदा कार्यकर्तामाझ धेरै उत्साह देखेको छु । अन्य पार्टी छोडेर एमालेमा आउने एउटा लहर र प्रतिस्पर्धा चलेको छ । त्यसो हुनाले एमालेप्रति विकर्षण होइन आकर्षण बढेको छ । हामी पूरै छाती फुकाएर भन्न चाहन्छौँ कि ०५१ सालको नौमहिने सरकारमा मात्रै होइन म प्रधानमन्त्री भएको बेलामा पनि हामीले जे काम गरेका छौँ गौरवपूर्ण काम गरेका छौँ, शिर निहुराउने कुनै काम गरेका छैनौँ ।
­० आगामी चुनावमा लोकतान्त्रिक शक्तिहरूले सहकार्य गरेर जाने आवश्यकता देख्नुभएको छ कि छैैन ?
– हामीले त भनिरहेका छौँ कि एमालेको एकल बहुमत र एमालेसहितको लोकतान्त्रिक वामपन्थी शक्तिहरूको दुईतिहाइ बहुमत भन्दै हामी निर्वाचनको मैदानमा उत्रिरहेका छौँ । अरू पार्टीले के भन्छन्– पार्टीविशेषको कुराकानी गर्दिनँ म । अरू पार्टीका कुनै नेता हुन्न भन्दिए भने हामी अप्ठ्यारोमा पर्नेछौँ, तर हामीले भने आफ्नो ठाउँमा ढोका खुला राखेका छौँ ।
० प्रजातान्त्रिक शैलीबाट नेपालमा निरङ्कुश संविधान निर्माण गर्ने बाटोमा नेकपा एमाओवादी हिँडिरहेको देखिन्छ, तपाईंले यसलाई कसरी लिइरहनुभएको छ ?
– कुरा एकदम ठीक भन्नुभयो । माओवादीको मूल एजेन्डा परिवर्तन भएको छैन, तरिका फेरिएको छ । हिजो बन्दुकको त्रास देखाएका थिए आज बन्दुकको त्रासले होइन मनोवैज्ञानिक त्रास पैदा गरेर साम, दाम, दण्ड, भेदको बाटो अपनाएर शक्ति र पैसा सबै थोक हो भन्ने मान्यताका आधारमा सत्ता कब्जाको सपना देखिरहेका छन् । उनीहरूको नीति हिजो पनि कब्जा हो आज पनि कब्जा नै हो । कब्जाको तरिका मात्रै फेरिएको हो । हिजो बन्दुक पड्काएर, मान्छेको घाँटी रेटेर सबैलाई आफ्नो जालमा अल्झाउने नीति थियो भने अहिले सबै ठाउँबाट लोकतान्त्रिक शक्तिलाई पन्छाएर अधिनायकवादी मान्यता बोकेकाहरूलाई र उग्रवादी विचार बोकेकाहरूलाई त्यस ठाउँमा राखेर उनीहरूले आफ्नो वर्चस्व स्थापना गर्न खोजिरहेका छन् । यसमा समयमै हामी सचेत र सजग हुनु आवश्यक भएको छ ।
० एमाओवादीले बहुमत नल्याउँदा पनि तपाईंहरूलाई घिसारिरहेको छ, उसले बहुमत या दुईतिहाइ मत ल्याए के गर्ला ?
– हामीलाई घिसार्नेभन्दा पनि देशलाई घिसार्ने उसको नीति पक्कै पनि बन्छ । हामी नघिस्रिउँला किनभने हामी पनि लामो इतिहास बोकेका नेता र पार्टीहरू हौँ । हामीभित्र पनि कतिपय मान्छे अल्मलिने स्थिति बन्न पनि सक्ला तर आमजनताले धेरै दु:ख पाउनेछन् । लोकतन्त्रले धेरै क्षति व्यहोर्नुपर्नेछ । परिवर्तनका सबै प्रक्रिया अवरुद्ध हुनेछन् । भ्रष्टाचारले पराकाष्ठा नाघ्नेछ । राज्यका स्रोत र साधनको एकलौटी दुरुपयोग हुनेछ । आपराधिक घटनाक्रम बढ्नेछन् । सबैतिर त्रास नै त्रासको
वातावरण पैदा हुनेछ । पछि फेरि जनता विद्रोहको मैदानमा उत्रनेछन् । माओवादीको दम्भलाई परास्त गर्नेछन् । त्यसैले निराशा हुनुपर्ने अवस्था छैन तर समयमै हामी सचेत हुनु जरुरी छ ।
० नेपालमा बहुदलीय व्यवस्था अफाप भयो भन्ने तपार्इंलाई लाग्दैन ?
– निर्दलीय व्यवस्था अफाप भएर बहुदलीय व्यवस्था स्थापना भएको छ । बहुदलीय व्यवस्था पनि कहीँ अफाप
हुन्छ ? केही पार्टीका केही व्यक्ति ठीक भएनन् भने नयाँ व्यक्ति, नयाँ पार्टी जन्मिन्छन् । अब यस्ता इमानदार र निष्ठावान नेताहरू आउनुप-यो कि मैले खान पाइनँ, उसले दुईवटा खाएछ, मैले चारवटा खाने थिएँ मौकामा भनेर दिमागमा राखेर आउनुभएन । निष्ठावान चाहियो, निष्ठावान भनेको सुरुदेखि देखिन्छ । इमानदारिता सुरुदेखि देखिन्छ । हुने बिरुवाको चिल्लो पात भनेझैं लक्षण देखिनुप-यो । लक्षण–सक्षण केही पनि छैन गफ त्यत्तिकै हाँक्या छ । कुरा मात्रै ग-या छ, काम र उत्तरदायित्व पूरा गर्नु छैन । त्यसबाट केही लछारपाटो लाग्नेवाला छैन ।
० दलहरूले संविधानसभाबाट संविधान पनि बनाउन सकेनन्, सानातिना कुरामा त सहमति जुटाउन सकिएको छैन भने अब दोस्रो संविधानसभाको निर्वाचनबाट संविधान बन्ला भनेर कसरी विश्वास गर्ने ?
– संविधानका अधिकांश विषयमा सहमति जुटिसकेको छ । सहमति हुन नसकेका विषयमा फेरि पनि सहमति जुट्न सकेन भने जनमतसङ्ग्रह गरेर भए पनि संविधान बनाउनुपर्छ ।
० नेपालमा राजनीतिक स्थायित्व कहिलेसम्ममा होला ?
– यो संविधानसभाको चुनावपछि र संविधानको घोषणा भइसकेपछि स्थायित्वको नयाँ चरणमा नेपाल पुग्नेछ ।
० यहाँको भारत भ्रमणको चर्चा चलिरहेको छ, कहिले जाँदै हुनुहुन्छ भारत भ्रमणमा ?
– त्यो त मैले पनि सुनिरहेको छु । त्योभन्दा बढी मलाई केही थाहा छैन ।
० औपचारिक निमन्त्रणा आएको छैन ?
– छैन ।
प्रस्तुति : प्रकाश पोख्रेल/आशिष पौडेल