विप्लवविरुद्ध शुरु भयो धरपकड !

विप्लवविरुद्ध शुरु भयो धरपकड !


सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि कठोर निगरानी राख्न शुरु गरेको छ । सरकारले तराईका कतिपय जिल्लामा सीके राउतका गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने ठानेको भए पनि विप्लव नेतृत्वको नेकपा राष्ट्रिय सुरक्षामा मुख्य खतरा बनेको ठहर गरेकोे छ ।

त्यसैले विप्लव समूहको गतिविधि माथि सरकारले निगरानी बढाएको छ । यस क्रममा सरकारले पार्टीका दुई जिम्मेवार नेताहरूलाई गत साता मात्र पक्राउ गरी अज्ञात स्थलमा राखेको छ । पार्टीको बैठकबाट फर्किएका बेला पोलिटब्युरो सदस्य जीवन्त (मोहन कार्की) र गम्भीर (कृष्ण धमला) लाई गिरफ्तार गरी अज्ञात स्थलमा पु¥याएको हो । उनीहरूको गिरफ्तारीबारे सरकारले अहिलेसम्म सार्वजनिक जानकारी गराएको छैन । बरु नेत्रविक्रम चन्द, धर्मेन्द्र बास्तोला र खड्ग विश्वकर्मालगायतका नेताहरूलाई समेत पक्राउ गर्ने योजनाबद्ध प्रयासमा सरकार रहेको बुझिएको छ ।

प्राप्त जानकारीअनुसार प्रचण्ड र बादल विप्लवको शक्ति र सामथ्र्यसँग परिचित छन् । पहिले राज्यलाई बुझाउनुपर्ने हतियारमध्ये एके–४७ लगायत ठूलो परिमाणमा राम्रा हतियारहरू लुकाएको ठाउँबाट हराएको घटनापछि प्रचण्ड चिन्तित छन् । एउटा विदेशी एजेन्सीलाई लुकाइएका हतियारहरू अर्बौं रुपैयाँमा बिक्री गर्ने सहमति प्रचण्डले गरिसकेपछि हतियार लिन जाँदा लुकाइएको ठाउँमा नभेटिएकोले उक्त हात हतियार विप्लव समूहले कब्जामा लिएको विश्वास गरिएको छ ।

ठूलो परिमाणमा अत्याधुनिक हतियार तथा सेनासमेत विप्लवसँग रहेको विश्वासका कारण प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादललाई विप्लवहरूमाथि कडा निगरानी राख्न र नेतृत्वलाई गिरफ्तार गर्न विशेष निर्देशन दिएका छन् । प्रचण्डको निर्देशनपछि बादलले विप्लव नेतृत्वको पार्टीका गतिविधिमाथि कडा निगरानी राख्न सुरक्षा निकायहरूलाई आदेश दिएका छन् । एक सूत्रका अनुसार विप्लव नेतृत्वको नेकपाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा प्रचण्ड र बादल कठोर देखिएका छन् र, डर पनि ओलीमा भन्दा प्रचण्डमा नै देखिएको छ ।