महासागरमुनि अजङ्गको ज्वालामुखी
प्रशान्त महासागरको विशालतम् ज्वारभाटामुनि संसारकै सबभन्दा ठूलो ज्वालामुखी छ भन्दा कसलाई आश्चर्य नलाग्ला ? तर, वैज्ञानिकहरूको दाबी यस्तै छ । जापानभन्दा १६ सय किलोमिटर पूर्वमा पानीभित्र सेट्स्की राइज नाक पठारमा तमु मस्सिफ नामको संसारकै ठूलो ज्वालामुखी रहेको अन्वेषकहरूले जनाएका छन् । हवाईस्थित मौना लोआ ज्वालामुखीलाई आजसम्म ठूलो ज्वालामुखी मानिएकोमा अब त्यो रेकर्ड तोडिएको छ । सौर्यमण्डलमै सबभन्दा ठूलो ज्वालामुखीचाहिँ मंगल ग्रहमा रहेको ओलिम्पस मान्सलाई मानिन्छ, प्रशान्त महासागरभित्रको तमु मस्सिफ मंगलमा रहेको उक्त ज्वालामुखीकै आकारको रहेको दाबी सम्बद्ध वैज्ञानिकहरूको छ । समुद्री सतहबाट ३० किलोमिटर तलसम्म गहिराइ रहेको तमु मस्सिफको उत्पत्ति क्रिटेसियस युग अर्थात् १४ करोडदेखि ६ करोड वर्ष पहिले भएको अनुमान गरिएको छ ।
जासुसी कुकुरलाई मुसाले बेरोजगार तुल्याउने खतरा
जटिल प्रकृतिका अपराध अन्वेषणमा प्रहरीले कुकुरको सहयोग लिने प्रचलन विश्वव्यापी नै छ र यो पुरानो विधि पनि हो । तर, अब भने कुकुरले यस कामबाट विस्तारै छुट्टी पाउने अवस्था निम्तिँदै छ । नेदरल्यान्ड पुलिसले अब अपराध मामला सुल्झाउन मुसाको सहायता लिँदै छ । यसैको सिको गर्दै अन्यत्र पनि मुसालाई अपराध अनुसन्धानमा लगाउन थालियो भने कुकुरले छुट्टी नपाउने सवाल नै रहेन । नेदरल्यान्ड पुलिसले गोलीको अवशेष सुँघेर सुराक पत्ता लगाउन सक्ने कैलो रङ्गका पाँचवटा मुसालाई तालिम दिएर काममा लगाइसकेको छ । ती मुसाहरूलाई प्रसिद्ध जासुस अगाथा क्रिस्टी पोइरट र अमेरिकी प्राइभेट जासुस म्याग्नमको नाम दिइएको छ । नेदरल्यान्डको एक ट्रेनिङ सेन्टरमा तालिम हासिल गरिरहेका यी जासुस मुसाले सुरुमा गोलीको मात्र पहिचान गरे पनि बिस्तारै बन्दुक प्रयोग गर्ने व्यक्तिलाई समेत पत्ता लगाउन सक्षम हुने विश्वास लिइएको छ । मुसाका प्रशिक्षक मोनिक ह्यामर्सलेगले मुसाको सिक्ने क्षमता आश्चर्यजनक प्रकृतिको रहेको उल्लेख गर्दै कुकुरभन्दा मुसा जासुसीको मामलामा धेरै सक्षम सावित हुने दाबी गरेका छन् भने तालिम दिन पनि कुकुरको तुलनामा मुसालाई नै सजिलो भएको उनको भनाइ छ ।
पाँच हजार महिलाका पतिको पेट पाल्ने काइदा
एक व्यक्तिले जीवनमा कतिवटा सम्म विवाह गर्ला ? एक, दुई, चार, आठ, सोह्र या केही दर्जन ? भारत छत्तीसगढस्थित राजनन्द गाउँका विजय गजभिय नामक व्यक्तिले भने ५–६ हजार महिलासँग विवाह गर्न भ्याइसकेका छन्, त्यो पनि जम्मा ४७ वर्षकै उमेरमा । पत्याउन कठिन कुरा भए पनि यसरी हजारौँको सङ्ख्यामा विवाह गरेको अभियोगमा विजयलाई छत्तीसगढ प्रहरीले पक्राउ गरिसकेको छ । यत्तिका सङ्ख्यामा विवाह गरेको आरोप लागेका विजयसँग आरोप लागेअनुरूप साथमा पत्नीहरू भने छैनन्, तर विवाहको रेकर्ड रहने सरकारी निकायहरूमा उनका पत्नीको सङ्ख्या पाँच हजार नाघिसकेको देखिएको छ । यसरी एकपछि अर्को गर्दै हजारौँ विवाह गर्न उनलाई सरकारी कर्मचारीले नै सघाएको प्रहरी अनुसन्धानले देखाएको छ । यसरी उनले विवाह गर्नुमा अन्तरजातीय विवाह गर्नेलाई सरकारबाट प्राप्त हुने प्रोत्साहन भत्ता कारकतत्व रहेको खुलासा पनि प्रहरीले गरेको छ । छत्तीसगढमा लोप हुन लागेको एक अल्पसङ्ख्यक आदिवासीका लागि अन्तरजातीय विवाहबापत पचास हजार भारतीय रुपैयाँ प्राप्त हुने प्रावधान छ । यसैको अनुचित लाभ उठाएर सरकारी कर्मचारीकै मिलिभगतमा विजय गजभियले भाडामा महिला उभ्याउँदै कोर्टमा विवाह गरेर आर्जित रकमबाट आरामको जिन्दगी गुजार्दै आएका रहेछन् ।
हाडजोर्नीका बिरामीलाई ब्रोकाउली लाभकारी
त्यसो त ब्रोकाउली मन नपर्ने व्यक्ति सायदै होलान् । तरकारीका रूपमा सबैको प्रिय ब्रोकाउलीमा महत्वपूर्ण औषधीय गुणसमेत हुने पत्ता लागेको छ । ब्रोकाउली खानाले हाडजोर्नी दुख्ने रोग निको हुने शोधकर्ताहरूले दाबी गरेका छन् । बेलायती अनुसन्धानकर्ताहरूको दाबी मान्ने हो भने प्रशस्त मात्रामा ब्रोकाउली खानाले हाडजोर्नी दुख्ने (युरिक एसिड) रोग निको हुन्छ । युनिभर्सिटी अफ इस्ट एंग्लियाको शोधकर्ताहरूले मुसामा यसको परीक्षण गरी अब मानिसमा परीक्षण सुरु गरेका छन् । ब्रोकाउलीमा हड्डीमा हानि पु-याउने एक विनाशकारी एन्जाइमलाई रोक्ने गजबको तत्व हुन्छ । शोधमा संलग्न बेलायती चिकित्सकहरूले युरिकएसिडका बिरामीलाई दुई हप्तासम्म सय ग्राम ब्रोकाउली खाने सल्लाह दिन थालेका छन् ।
प्रतिक्रिया