नातिनीको आग्रहलाई इन्कार गर्न नसकेपछि पूर्व श्री ५ ज्ञानेन्द्र बैंकक जान बाध्य हुनुभएको छ । कान्छी नातिनी कृतिकाको विद्यालय भर्नाका लागि उहाँ बैंकक जानुभएको हो ।
प्राप्त जानकारीअनुसार स्कुल पढ्दै गरेकी कृतिकालाई बैंकक पढाउने निधो भएपछि आमा हिमानी मात्रै भर्नाका लागि जाने कार्यक्रम तय भएको थियो । तर, कृतिकाले आफ्ना हजुरबुबा पूर्वराजा ज्ञानेन्द्रसँग ‘ए दिज्यू (पूर्णिमा)लाई पु¥याउन जाने अनि मलाईचाहिँ नजाने’ भनेर जिद्दी गरेपछि उहाँ जान तयार हुनुभएको हो । लिंकन स्कुलमा ७ कक्षामा पढ्दै गरेकी कृतिकालाई यसै वर्षदेखि बैंककको विद्यालयमा भर्ना गरिएको छ । जेठी नातिनी पूर्णिका बैंककमा कलेज पढिरहेकी छिन् ।
गत साउन १६ गते जानुभएका पूर्व श्री ५ सहितको राजपरिवार आगामी भदौ १ गते फर्कने कार्यक्रम रहेको छ । राजाका साथमा पूर्वबडामहारानी कोमल, पूर्वयुवराज्ञी हिमानीलगायतको पारिवारिक टिम रहेको छ । दुवै नातिनीहरू बैंकक पढ्न थालेपछि अब साथमा पूर्वनवयुवराज हृदयेन्द्र रहेका छन् । लिंकन स्कुलमा दश कक्षामा अध्ययनरत हृदयेन्द्र यसै वर्ष एसईई परीक्षा दिँदै छन् । एसईईपछि उनको विश्वविद्यालय अध्ययन पनि बैंककमै हुने बुझिएको छ । बाबु पारसबाहेक परिवारका सबै सदस्य अहिले बैंककमा छन् । ज्ञातव्य छ, पारसलाई थाइल्यान्डले प्रवेशमा रोक लगाएको छ ।
यसैबीच प्राप्त अर्को एक जानकारीअनुसार मुमा बडामहारानी रत्नको ९०औँ जन्मोत्सव भव्यताका साथ मनाउने तयारी गरिएको छ । नारायणहिटी राजदरबारको महेन्द्र मञ्जिलमा रहनुभएकी मुमा बडामहारानी रत्नको जन्मोत्सव नारायणहिटीमै मनाइनेछ । भदौ ४ गते मनाइने जन्मोत्सवमा राजपरिवारका नातेदार तथा आफन्तहरूलाई बोलाइने बताइएको छ । शुभजन्मोत्सवको अवसरमा आयोजना गरिने ‘रिसेस्सन’का लागि सोल्टी होटेलबाट खानेकुराको व्यवस्था गर्न लागिएको छ ।
प्रतिक्रिया