सुशील र देउवा सामूहिक आत्माहत्या-राजेश ढुंगाना

सुशील र देउवा सामूहिक आत्माहत्या-राजेश ढुंगाना


आधी वर्षजति अगाडि त्यसबेला नवनिर्वाचित सभापति सुशील कोइरालाले ल्याउनुभएको पदाधिकारी मनोनयनको प्रस्ताव केन्द्रीय समितिमा चर्को विरोधका कारण अलपत्र परेको थियो । वास्तवमा भन्ने हो भने यसलाई अघोषित रूपमै भए पनि एकप्रकारको अस्वीकृत भएको नै मान्नुपर्छ । प्रस्ताव आयो, स्वीकृत भएन । यसको अर्थ अस्वीकृत नभए के भयो त ?
तर, दुर्भाग्य र लज्जाको कुरा-पर्सि ९ गते हुने केन्द्रीय बैठकमा सभापति कोइरालाले पुनः अर्कोपटक एकपटक व्यावहारिक रूपमा असफल र अस्वीकृत भएको त्यही प्रस्ताव ल्याउँदै हुनुहुन्छ । पहिलो कुरा के भने, सभापतिले प्रस्ताव ल्याउँदा पहिल्यै सल्लाह गरेर असफल नहुने गरी प्रस्ताव ल्याउनुपर्ने । साँच्चै भन्ने हो भने प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्ने काङ्ग्रेसमा सभापतिको प्रस्ताव असफल भएपछि सभापतिले नैतिक रूपमा राजीनामा दिनुपर्ने हुन्छ । कसैले भने पनि नभने पनि । कसैले मागे पनि नमागे पनि । केवल काङ्ग्रेसको प्रजातान्त्रिक हुनुको ‘इज्जत’ बचाउन । अर्को कुरा, लाज पचाएर त्यो नगरी बसे पनि पुनः लबस्तरो नै बनेर दुनियाँलाई कुरी-कुरी लाग्ने गरी नाङ्गेझार भएर पुनः त्यही प्रस्ताव ल्याउनु हुन्छ ?
बरु कोइरालाले आफूले ल्याएको प्रस्तावमा सिङ्गो पार्टीलाई त के आफ्नो गुटलाई समेत नै पनि अमान्य भएपछि फिर्ता लिएर अर्को उचित प्रस्ताव ल्याउनुपर्दथ्यो । काङ्ग्रेसलाई पार्टीका रूपमा चलाउने र बचाउने हो भने । होइन, बाँचुञ्जेली मनमानी गर्छु- मरेपछि काङ्ग्रेस नै रहोस् कि नरहोस् भन्ने सोच हो भने अर्कै कुरा भयो ।
र, अर्को कुरा- शेरबहादुर देउवाले केही पदहरूसँग सभापतिको त्यो प्रस्ताव साट्नुभएको चर्चा आएको छ । यसरी विवेकसँग पद साटेर देउवा पनि सुशील पस्न थाल्नुभएको एउटै गुहे खाल्डोमा सँगसँगै पस्न थाल्नुहुँदै छ । यदि उहाँले यसो गर्नै लाग्नुभएको हो भने अहिले केही पद त पाएर तत्काल रमाउनु पनि होला । तर, त्यो अन्ततः उहाँले गर्नुभएको राजनीतिक आत्महत्याबाहेक केही हुने छैन । सभापतिको प्रस्ताव अनुचित थियो भन्ने नलागी विरोध गर्नुहुन्थेन र अनुचित भएपछि ‘पापा’ मागेर मान्नै हुँदैन । यसो गर्दा सुशील लोभी मात्र होइन, देउवा पनि पापी भएको प्रमाणित हुन्छ ।
पक्षमा लोभी र विपक्षमा पापी बसेपछि काङ्ग्रेसको जीवन कति दिन बाँच्ला – सुशील र देउवाले भित्तामा यो प्रश्न टाँसेर राख्नुहोस् । कुनै दिन इमान र विवेक जागेको क्षण घोच्ला † नभए दुवैजना किन यसरी सामूहिक आत्महत्या गर्दै हुनुहुन्छ – केवल उहाँहरूको आत्महत्याको चिन्ता पटक्कै होइन । त्यसबाट काङ्ग्रेसको हत्या हुँदै छ भन्ने पीर मात्र हो ।