० चार दलभित्रकै नेताहरूबाट निर्वाचन सार्ने कुरा आउन थाल्यो, यतिबेला के काङ्ग्रेस पनि निर्वाचन सार्ने पक्षमा उभिन सक्छ ?
– सार्नैपर्छ भन्ने कुरा आउँदैन । यो सापेक्षिक कुरा हो । यदि नेकपा–माओवादीले मङ्सिर १५ भित्र निर्वाचन गर्दा भाग लिन तयार छु भन्ने सार्वजनिक अभिव्यक्ति दिएर वार्तामा बस्छ भने अध्यक्ष खिलराज रेग्मीज्यूले निर्वाचनको हकमा, देश र जनताको हितमा उहाँले प्रधानन्यायाधीश पदबाट राजीनामा दिने त्याग प्रदर्शन गर्नुपर्छ भन्नचाहिँ सकिन्छ । त्यस अवस्थामा हप्ता–दश दिनजति निर्वाचनको मिति सार्न अपत्ति हुँदैन ।
० अध्यक्ष रेग्मीले त राजीनामा गर्दिनँ भनिसक्नुभएको छ नि ?
– सबैको हित हुने कुरामा उहाँले त्यस्तो हठ प्रदर्शन गर्नुहोला जस्तो त लाग्दैन । यदि माओवादी निर्वाचनमा आउन प्रतिबद्ध भएको अवस्थामा पनि उहाँ प्रधानन्यायाधीशबाट राजीनामा दिन तयार नहुनुभएको खण्डमा उच्चस्तरीय राजनीतिक समितिले त्यसपछि कस्तो कदम चाल्ने भनी विचार गर्नुपर्छ । तर, सबैले आग्रह गरेपछि उहाँले देश र जनताप्रति उत्तरदायित्वविहीनताको व्यवहार प्रदर्शन गर्नुहोला जस्तो मलाई लाग्दैन ।
० तपाईंको पार्टी सभापतिले त अब चुनाव सार्नै सकिँदैन भनिसक्नुभएको छ, तपाईंलाई थाहा छैन ?
– केका लागि सार्ने भन्ने प्रश्न महत्वपूर्ण छ । त्यत्तिकै निरपेक्ष रूपमा त सार्न सकिन्न र सार्न मिल्दैन भनेर म पनि भनिरहेको छु नि । तर यदि नेकपा–माओवादीले मङ्सिर १५ भित्रमा हामी चुनावमा भाग लिन तयार छौँ, त्यति समय भए पार्टी दर्तालगायतका औपचारिकता पूरा गर्न समय पुग्छ भनेर वक्तव्य दिएर आउँछ भने हाम्रो पार्टी सभापतिले मिति सार्नैहुन्न भनेर भन्नुहुने छैन ।
० चार गतेलाई तोकिएको कुरा मङ्सिर १५ भनेर सार्न थाल्दा त चुनाव चैततिर सर्न पुग्दैन र ?
– सर्दैन–सर्दैन । त्यसभन्दा बढ्ता त सार्ने कुरै आउँदैन । बरु चरणबद्ध रूपमा गर्नचाहिँ सकिन्छ । मङ्सिर १५ मा हिमाली क्षेत्रमा गरिदिने, अनि केही दिनपछि फेरि अर्को चरणमा पहाड र मधेसको गरिदिने । तर, सार्ने भनेर २–४ महिना नै पर लैजान त अब सक्दैसकिन्न र त्यसो गर्नु पनि हुँदैन । माओवादीजस्तो शक्ति पनि आउँछ भने किन तारतम्य नमिलाउने भन्ने कुरा हो । एउटा शक्ति बनेर बसेको दललाई उपेक्षा गरेर छोडिदिँदा भोलि समस्याको रूप लिन सक्छ भनेर संवेदनशील हुनुपरेको अवस्था हो ।
० त्यति मिति सार्दैमा माओवादी चुनावमा आउला भन्ने विश्वास छ तपाईंलाई ?
– पहिले उहाँहरूले विश्वसनीय तवरले प्रतिबद्धता जनाउनुप-यो कि १५ गतेभित्र गराउने गरी सार्दा हामी आउँछौँ भनेर । सहमतिमा हस्ताक्षर गरी सार्वजनिक वक्तव्य नै दिनुपर्छ पहिले, अनि मात्र मिति सर्छ । त्यत्तिकै सार्ने कुरा अब त आउँदैआउँदैन नि ।
० वैद्यजीले त अन्तर्राष्ट्रिय समुदायसमेतलाई सम्बोधन गरेर भनिसक्नुभएको छ नि मिति सारे चुनावमा गइन्छ भनेर ?
– त्यसरी अमूर्त या निरपेक्ष खालको वक्तव्य दिएर पुग्दैन । विश्वसनीय ढङ्गमा प्रतिबद्धता आउनुपर्छ । भाग लिने त लिने, कहिले लिने ? चैतमा हो कि, अर्को मङ्सिरमा पो हो कि ? या अझ त्योभन्दा परतिर गएर मात्र भाग लिन्छौँ भन्ने खोजेको हो कि ? ठोस कुरा आउनुप-यो नि त ।
० तपाईंको पार्टीले त देशभरका उम्मेदवार तय गरिसक्यो क्यारे, पूरा तयारी भइसकेको छ, तर तपाईं केही समय सारेर पनि माओवादीलाई लिएर जानुपर्ने कुरा गर्दै हुनुहुन्छ, व्यावहारिक होला त ?
– दुई–चार दिन पर सार्दा उनीहरू चुनावमा आउँछन्, संविधान बन्छ, देशमा शान्ति–सुव्यवस्था छाउँछ भने कोही किन तयार हुन्नन् ? कसरी अव्यावहारिक हुन्छ ? के आकाश खस्छ ? के उथलपुथल हुन्छ अलिकता समय सर्दा ? संविधानसभा भनेको राष्ट्रिय समझदारीबाट गर्ने चुनाव हो नि त । तर, अर्कालाई अलमल्याउनकै लागि मात्र रणनीतिको रूपमा माओवादीले पनि यी सब तिगडम गरेको हुनुभएन, उनीहरू पनि गम्भीर हुनुप-यो । चुनाव सार्ने बहानाका लागि मात्र यी कुरा गरिएका हुन् भने त माओवादीलाई वास्तै नगरी अघि बढ्दा पनि हुन्छ । ठोस प्रतिबद्धता नआए कसले मिति सार्छ ? कसले रेग्मीको राजीनामा गराउँछ ?
० काङ्ग्रेसको उम्मेदवारी चयनमा त गुटगत मतभेद देखाप-यो भन्ने चर्चा छ नि, तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
– काङ्ग्रेस ठूलो पार्टी हो । यसभित्र धेरै लायक मानिस भएकाले ठूलो सङ्ख्यामा उम्मेदवारका आकाङ्क्षीहरू छन्, यो स्वाभाविक कुरा हो । धेरै योग्य र लायकको बीचमा अझ बढी योग्य म हुँ भन्ने सावित गर्ने प्रतिस्पर्धा हुनु पनि स्वाभाविक छ । तर, गुट–उपगुटको वशमा परेर टिकट बाँड्न थालियो भनेचाहिँ नेपाली काङ्ग्रेसलाई यसैले खाइदिन्छ भन्ने नेतृत्व र खासगरी टिकट बाँड्ने बोर्डमा बसेका साथीहरूले मनन गर्नु आवश्यक छ ।
– ऋषि धमला
प्रतिक्रिया