राजदूत पत्नीले छोडिदिएपछि पति बने घरवासविहीन

राजदूत पत्नीले छोडिदिएपछि पति बने घरवासविहीन


जुन पतिले उच्च शिक्षा दिलाएर पत्नीलाई राजदूतको ओहोदासम्म पुऱ्याउन सहयोग गर्छन्, आफ्नो ‘हाइट’ बढेपछि तिनै पत्नीले पतिलाई सडकको बास गराउँछिन् भने त्यस्ता पत्नीलाई के भन्ने ? नेपालका लागि पाकिस्तानमा राजदूत रहेकी सेवा अधिकारी लम्सालको व्यवहारले यस्तै प्रश्न खडा गरेको छ । लम्सालले राजदूत बनिसकेपछि उमेर ढल्किसकेका पति प्रदीप अधिकारीलाई परित्याग मात्र गरिनन् शक्तिको आडमा सबै सम्पत्ति हत्याएर उनलाई सडकको बास गराइदिएकी छिन् ।

आफूले जीवनभर दुःख गरेर काठमाडौंको गैरीगाउँ (तिनकुनेनजिकै) मा बनाएको घर, इटहरीको मूल्यवान जमिन र बैंकमा सञ्चित गरिएको सम्पूर्ण रकम पत्नीबाट खोसिएपछि प्रदीप अधिकारी यतिबेला मीनभवनस्थित आफन्तको घरमा शरण लिइरहेका छन् । तीन छोरीका पिता अधिकारी पहिले गृह मन्त्रालयमा जागिरे थिए, गृहबाट उद्योग मन्त्रालयमा सरुवा गरिएका उनी कम्पनी रजिस्ट्रारको कार्यालयमा सेवारत थिए । त्यहीँ सेवारत रहँदा कसैले षड्यन्त्रमूलक ढङ्गले फसाइदिएपछि अधिकारी सेवामुक्त भएको बताइन्छ ।

आफू निजामती सेवामा रहँदा कृषि विकास बैंकको चौथो तहमा जागिरे रहेकी पत्नी सेवा लम्साललाई आफैँले उच्च शिक्षा दिलाएर निजामती सेवामा प्रवेश गर्न प्रदीपले सहयोग गरेका थिए । परराष्ट्र मन्त्रालयअन्तर्गत रहेकी लम्सालले दुई वर्षअघि राजदूत नियुक्त हुनुभन्दा केही समयअघिदेखि नै पतिसँग विभिन्न निहुँ झिकेर विवाद र झगडा गर्न थालेकी थिइन् । पतिले जागिर गुमाएपछि फरक व्यवहार गर्न शुरु गरेकी उनले आफ्नो ओहोदा बढ्दै गएपछि शयन कक्षसमेत पतिसँग अलग गरेकी थिइन् । राजदूत नियुक्त भएपछि सेवामा भारी परिवर्तन देखापरेको थियो, यसै क्रममा बुढेसकालका पतिलाई गत असार २० गते उनले कानुनी तवरमै छोडिदिएकी छिन् ।

यसरी पतिसँग सम्बन्धविच्छेद गरिदिँदा सेवाले प्रदीप अधिकारी पनि बाँच्न पाउनुपर्छ भन्ने सोचिनन् । घर, जग्गा र सम्पूर्ण नगद आफैँसँग राखेर उनले पतिलाई घरबाट निकालिदिइन् । सँगै जिउने, सँगै मर्ने वाचा गरेकी पत्नीले ठूलो ओहोदा भेट्टाएपछि यतिसम्म गर्लिन् भन्ने सपनामा पनि नसोचेका प्रदीप अधिकारीसँग यतिबेला वास बस्नका लागि घर, खेतीपाती गर्नका निम्ति जग्गाजमिन त रहेन नै, जागिर खानका लागि उमेर र अन्य केही काम गर्नका निम्ति जाँगर पनि छैन । यसरी रित्याइएका प्रदीपले बाँकी जिन्दगी कसरी गुजार्ने हुन्, आफन्त तथा नातेदारहरूका निम्ति चिन्ताको विषय बनेको छ ।