अन्तरविचार

अन्तरविचार


antarbicharकाङ्ग्रेस विकल्परहित पार्टी भएको बुझ्दै छन् जनता – दीपकुमार उपाध्याय (नेता, नेपाली काङ्ग्रेस)

० यसपटकको चुनावमा नेपाली काङ्ग्रेसप्रति जनतामा कत्तिको आकर्षण पाउनुभएको छ ?
– एकदम आकर्षण बढेको पाएको छु र यो स्वाभाविक पनि हो । किनकि, नयाँ शक्तिलाई टेस्ट गर्ने भनी हिजो जनताले जुन पार्टीलाई ठूलो दल बन्ने अवसर प्रदान गरेका थिए, त्यसको वास्तविक हैसियत र चरित्र उदाङ्गो भइसकेको छ । लोकतन्त्रको जगेर्ना, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुका साथै व्यावहारिक तवरको सबल आर्थिक एजेण्डा लागू गर्नका लागि भरपर्दो पार्टी त काङ्ग्रेस नै रहेछ भन्ने यथार्थबोध आमनेपालीमा अझै सुस्पष्टसँग भएको छ । अरूले जस्तो फोस्रो सपना बाँड्ने नभई काङ्ग्रेसले यथार्थ बोल्छ र बोलेको गरेर देखाउँछ भन्ने कुरा जनतामा स्थापित भइसकेको छ । यसर्थ, काङ्ग्रेसप्रति आकर्षण बढेको हो ।
० विगतमा संविधानसभामा काङ्ग्रेसले खेलेको भूमिकाको मूल्याङ्कनचाहिँ कसरी गर्दारहेछन् नि जनता ?
– संविधानसभामा काङ्ग्रेसको सभासद् सङ्ख्या अलिक कम हुनाले चाहेजस्तो लोकतान्त्रिक संविधान बन्न सकेन । जनमुखी संविधानको नाममा हामीले जनताको मौलिक हक–अधिकारमाथि खेलवाड गर्ने कुरामा कम्प्रोमाइज गरेको भए, एकल जातीय पहिचानमा सम्झौता गरेको भए संविधान त बन्थ्यो होला । तर, त्यसरी बनेको संविधानले देश र जनताको हित गथ्र्यो कि अहित भन्ने कुरा अब सचेत जनतालाई बुझाइरहनुपर्दैन । यदि काङ्ग्रेस कमजोर हुने हो भने भोलि गएर फेरि पनि संविधान नबन्न सक्छ भन्ने कुरा पनि जनताले बुझिसकेका छन् । बीपीले भन्नुभएजस्तो काङ्ग्रेस गरिब र निमुखाको पार्टी हो भन्ने कुरालाई सुरक्षित गर्नका लागि काङ्ग्रेसले भूमिका निर्वाह गर्नैपर्ने भएको छ । काङ्ग्रेसलाई यो जिम्मेवारी प्रदान गर्नका लागि आममतदाता नेपालीले पनि यो अवसर पाएका छन् भन्ने मलाई लाग्छ । कसैको डर–त्रास नमानी उत्साहका साथ जनताले आफ्नो अभिमत दिएर नेपालमा एउटा दह्रो र दिगो संविधान बनाउने कुरामा योगदान गर्ने मैले पाएको छु ।
० आमजनताले त नेपाली काङ्ग्रेसले बोलेको कुरा पु-याउँदैन पो भन्ने गरेका छन्, तपाईंचाहिँ बोलेको कुरा व्यवहारमा सिद्ध गर्ने पार्टी भनेकै काङ्ग्रेस हो भन्दै हुनुहुन्छ ?
– जनताको मत लिनकै लागि भनेर नसक्ने र नहुने झुटा कुरा काङ्ग्रेसले बोल्दैन, यो कुराचाहिँ घामजत्तिकै छर्लङ्ग छ । यहाँ आकाशको तारा नै खसाउने खालका कुरा गरेर जनतालाई दिग्भ्रमित तुल्याउने कसरत निकै भएका छन् । यस्तालाई जनताले भित्रभित्रै मूल्याङ्कन गरिरहेका छन् । विगतमा हामीले दुईपटक एकल बहुमत पनि पाएका हौँ, तर त्यतिबेला हामीबाट गल्ती–कमजोरी भएकै हो भनी स्वीकार गर्नुपर्ने हुन्छ । पाँच वर्ष अवधिको सरकार पूर्णअवधि टिकाएर चलाउन नसकेकोमा हामीले जनतासमक्ष क्षमायाचना गरिसकेका छौँ, हाम्रा नेताहरूले क्षमायाचना गरिसकेका छन् र जनताले यसलाई परिस्थितिजन्य कमजोरीका रूपमा स्वीकार गरेर काङ्ग्रेसप्रति आफ्नो स्नेह प्रकट गरिसकेका पनि छन् । मानव चेतनाले आफ्ना कमी–कमजोरी र गल्तीलाई महसुस गर अनि त्यसलाई सुधार गर भनी भन्छ । सुधार्ने र सुध्रने पक्षमा काङ्ग्रेसले आफूलाई अघि बढाएको जनताको नजरमा प्रस्ट छ ।
० काङ्ग्रेस नेतृत्वले सुध्रिएर जनभावनाअनुसार काम गर्ला त ?
– गर्छ र गर्नुपर्छ । हामी सबै मिलेर बाध्य पार्नुपर्छ । नेतृत्व भनेको आमकार्यकर्ता र जनताको भावनाबाट चल्नुपर्छ भन्ने कुरालाई काङ्ग्रेसले हृदयङ्गम गर्दै आएको छ । हिजो माओवादीजस्ता दलले सरकारमा बसेर जे–जस्ता नकारात्मक व्यवहार वा काम–कुरा गरे, काङ्ग्रेसबाट त यस्तो हुँदैन भन्ने चेत पैदा भएको छ । काङ्ग्रेस बलियो भइदिए जनताको लोकतान्त्रिक संविधान बन्छ र जनताका नैसर्गिक अधिकारका कुराहरू, मानवचेतनाका कुराहरू, राष्ट्रको पहिचान र सामथ्र्यका कुराहरू, धर्म–संस्कृति र परम्परागत रीतिरिवाजका सकारात्मक पक्षलाई रक्षा गर्दै अघि बढाउने कुराहरू काङ्ग्रेसबाट मात्र सम्भव छ भन्ने सबैले बुझेका छन् । यसैले त जनताले काङ्ग्रेसको विकल्प रहेनछ भन्न थालेका छन् नि ।
० स्वायत्त मधेस प्रदेशका कुरा फेरि पनि उठाइएका छन्, यसमा काङ्ग्रेस के भन्छ नि ?
– नेपाली काङ्ग्रेसको एक मजबुत आधार भनेको मधेस हो । यो काङ्ग्रेसले राम्ररी बुझेको छ । मधेसले अवसर पाएको छैन, पछौटेपनले गाँजेको छ भन्ने महसुस गरेर नै काङ्ग्रेस मधेसलाई अगाडि ल्याउन दत्तचित्त छ । मधेसका मुद्दा र आर्थिक समृद्धिका कुराहरूलाई हामी अगाडि ल्याउन चाहन्छौँ । आर्थिक समृद्धिले मात्र त्यहाँका मुद्दाहरूमा उचित समाधान दिन्छ । सपना मात्र बाँडेर केही हुँदैन ।
० मधेसमा कतिवटा प्रदेश चाहनुहुन्छ त तपाईंहरू ?
– हामीले मुलुकमा सातवटा प्रदेश रहने प्रस्ताव प्रस्तुत गरेका छौँ । अब यसबारे संविधानसभामा छलफल हुन्छ र सबैको सहमतिबाट एउटा निचोडमा पुगिएला । नामाङ्कन र सीमाङ्कनका कुरा संविधानसभाबाट टुङ्गो लाग्ने विषय भएकाले अहिले नै हल्काफुल्का टिप्पणी र अभिव्यक्ति दिनु उचित नहोला । म कपिलवस्तुवासी राजनीतिक कार्यकर्ताको नाताले यहाँनेर के भन्न चाहन्छु भने के कपिलवस्तुसँग जोडिएका अर्घाखाँची, गुल्मीका नागरिकलाई तपाईंहरू आ–आफ्ना मोटरसाइकल या गाडी बेचेर घोडा किनेर पहाडको बाटो लाग्नुस् भन्न मैले सक्छु ? अवश्य सक्दिनँ र मिल्दैन । मधेससँग जोडिएको मुद्दाको प्रश्न पनि यस्तै हो । यस्तो संवेदनशील कुरालाई निर्वाचनपछि बन्ने संविधानसभाबाटै टुङ्गो लगाइनुपर्छ ।
० सङ्घीयताको बारेमा किन काङ्ग्रेस प्रस्ट हुन नसकेको होला ?
– सङ्घीयता भन्नाले मूलत: अधिकार विकेन्द्रीकरणको कुरा बुझ्नुपर्छ । राष्ट्रिय तहको एउटा संरचना हामीसँग हुन्छ, त्यसपछि सङ्घीयताको स्वरूपअनुसारको प्रादेशिक संरचनाहरू हुन्छन् । त्यसपछि स्थानीय सरकार हुन्छ । सबैलाई हामी प्रशस्त अधिकार दिन चाहन्छौँ । त्यही अधिकारले नै हाम्रो लोकतन्त्र या गणतन्त्र मजबुत र संस्थागत हुन्छ । अरू दलहरूले कुराचाहिँ सङ्घीयता र विकेन्द्रीकरणको गर्दै केन्द्रीकृत सत्ताशक्ति स्थापनाको प्रयास गरिरहेको प्रस्टै छ । तर, त्यसरी बोली र व्यवहारमा असमञ्जस्यता प्रदर्शन गर्नेहरू नै नेपाली काङ्ग्रेस सङ्घीयताको विरुद्ध छ भनेर दुस्प्रचार गरिरहेका छन्, जो दु:खद् आश्चर्यको पाटो हो ।

नेपालमा राजतन्त्र र गणतन्त्र आउने–जाने चलिरहन्छ– जगत गौचन (नेता, राप्रपा)

एसियाली स्तरको करॉते खेल प्रतियोगितामा स्वर्णपदक जितेर नेपाली खेल जगतमा इतिहास रचेका जगत गौचन आफूलाई राजावादी र प्रखर राष्ट्रवादी व्यक्तिका रूपमा चिनाउन चाहन्छन् । राप्रपा नेपालका संस्थापकहरूमध्येका एक गौचन ०६४ को निर्वाचनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरे भने उक्त पार्टीको केन्द्रीय नेतृत्वमा रहेका उनी पार्टीको समानुपातिक तर्फबाट उम्मेदवार बनेका छन् । दिल्ली विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गौचन आफ्नो बौद्धिक छविलाई नजरअन्दाज गर्दै विभिन्न विवादमा तान्ने प्रयत्नहरू भएकोप्रति गुनासो गर्छन् । आफू राप्रपामा भए पनि राप्रपा नेपाल पार्टीको एजेण्डाप्रति मोह रहेको स्वीकार गर्ने उनी राप्रपा र राप्रपा नेपाल पार्टी एकीकरणको प्रयत्न जारी रहेको बताउ‘छन् । आफूलाई ‘दरबारिया’को विशेषण दिइएकोप्रति गुनासो होइन गर्व गर्ने उनी राजसंस्था पुनस्र्थापित गर्न आफूहरू लागिपरेको खुलासा मात्र नगरी नेपालमा राजसंस्था पुनस्र्थापित हुने दाबीसमेत गर्छन् । मुलुक गणतन्त्रमा गइसकेको परिवेशमा विदा भइसकेको राजसंस्था कसरी पुनस्र्थापित हुनसक्छ त ? प्रस्तुत छ, यस्तै रोचक विषयमा गौचनस‘ग गरिएको कुराकानी :

० देशको राजनीतिक अवस्थाको चित्रण एक वाक्यमा गर्नुपर्दा कसरी गर्नुहुन्छ तपाईं ?
– देशको राजनीति यतिबेला अत्यन्त सङ्कटपूर्ण स्थितिबाट अघि बढिरहेको छ । एक वाक्यमा भनेर नपुग्ने हुनाले केही शब्द थप्न चाहन्छु । नेपालको इतिहासमै राष्ट्रियता यति कमजोर कहिल्यै भएको थिएन ।
० कसरी यस्तो भयो त ?
– एमाले, काङ्ग्रेस, एमाओवादी र क्षेत्रीय दलका रूपमा उदाएका मधेसवादी पार्टीहरू सत्ता र पदप्राप्तिका लागि बाह्यशक्तिको चाकडीमा लिप्त हुने प्रवृत्ति निकै बढेकाले यस्तो अवस्था निम्तिएको हो । मुलुक पराधीन नै बन्न सक्ने परिवेश तयार भइरहेकाले यहाँ एक जोडदार राष्ट्रवादी आन्दोलनको आवश्यकता छ भन्ने मलाई लाग्दछ ।
० काङ्ग्रेस, एमालेजस्ता ठूला पार्टी नै सत्ता र पदका लागि बाटो बिराइरहेका छन् भने अब तपाईंले भनेजस्तो राष्ट्रियताको आन्दोलनचाहिँ कसले गर्ने त ?
– एमाले, काङ्ग्रेसहरूलाई ठूला पार्टी भन्ने मान्न म तयार छैन । नेपालको पछिल्लो इतिहास मात्र नियाल्ने हो भने पनि ०७ सालमा क्रान्तिको अगुवाइ गरेर काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी भयो । त्योभन्दा अगाडि राणाहरू बलिया थिए । ०१७ सालपछि पञ्चायत बलियो भयो । यस्तै, ०४६ सालपछि फेरि काङ्ग्रेसले बहुमत ल्यायो भने ०६३ को आन्दोलनपछि नेकपा माओवादी सबैभन्दा ठूलो शक्तिका रूपमा स्थापित भएको देखियो । मैले भन्न खोजेको के भने नेपालको राजनीतिक घटनाक्रमलाई हेर्दाखेरि के देखिन्छ भने समय र परिस्थितिअनुसार सम्बन्धित पार्टीले निर्वाह गरेको भूमिकाका आधारमा ठूलो या सानो हुने स्थिति देखिन्छ । यस आधारमा ०४६ सालदेखि आजको अवस्थासम्म आइपुग्दा यी दलहरूले आफ्नो औचित्य गुमाइसकेकाले को ठूलो भनेर मापन गर्ने परिवेश पनि समाप्त भएको अवस्था छ । नेपालमा राजतन्त्र र गणतन्त्र आउने–जाने भएजस्तै हो यहाँका पार्टी ठूलो–सानो हुने अवस्था पनि । यतिबेला सबै दल बराबरीको अवस्थामा छ । अब कुनचाहिँ ठूलो दल भनी जनताले परख गरी छुट्याइदिनुपर्ने अवस्था खडा भएको छ । जहाँसम्म राष्ट्रियताको आन्दोलन कसले गर्ने भन्ने सवाल हो, समयले यसको टुङ्गो लगाउँछ ।
० नेपालमा राजतन्त्र र गणतन्त्र आउने–जाने भइरहन्छ भन्नुभयो, के फेरि राजतन्त्र वा राजसंस्था स्थापना हुने विश्वासमा हुनुहुन्छ तपाईं ?
– म विश्वस्त छु, नेपालमा फेरि राजसंस्था स्थापित हुनेछ । नेपालका पार्टीहरूले न राजतन्त्र फालेका हुन् न त गणतन्त्र नै आफ्नो बलबुताबाट ल्याएका हुन् । जसको बलबुता र चाहनामा यो सब भइरहेको छ, उनीहरूकै राजनीतिक जोडघटाउ र समीकरणले राजसंस्था स्थापित हुनेछ । उनीहरू बाध्य नै हुनेछन् भन्ने परिरिस्थितिको विकासक्रमले प्रस्ट्याइरहेको छ ।
० यसको मतलब विदेशी शक्तिले नै राजसंस्था पुनस्र्थापित गराइदिन्छ भन्ने विश्वासमा तपाईं हुनुहुन्छ ?
– नेपाली जनताको शक्ति र चाहनामै विश्वास राख्छु म त । हिजो बिकाउ दलका बिकाउ नेताहरूलाई राजतन्त्रविरुद्ध प्रयोग गरिएको थियो भने अब सच्चा देशभक्त नेपाली जनताको चाहनाअनुरूप राजसंस्थालाई पूर्ववत् रूपमा खडा गर्न त्यो शक्ति बाध्य बन्नेछ ।
० दल तथा दलका नेताहरूलाई बिकाउ भन्नुभयो, पूर्वराजाले चाहिँ बाह्यशक्तिको कुरा नमानेकै कारण राजसंस्था गुमाउनुपरेको हो त ?
– त्यो त एक सय एक प्रतिशत नै साँचो हो । यदि बाह्य प्रस्तावहरू मानिदिएको भए राजतन्त्र बरकरार रहने निश्चित थियो । तर, देश र जनताको स्वाभिमान गिराएर सम्झौता गर्नुभन्दा गद्दी त्याग्नु गौरवपूर्ण ठानेर राजाबाट उक्त कदम चालिएको हो । तर, गणतन्त्रका नाममा आज दलका नेताहरूले मुलुकको जुन बदहाल तुल्याएका छन्, यसले सच्चा नेपालीलाई गम्भीर बनाएको छ । यसैले गर्दा राजसंस्थाको पुनर्वापसी हुन्छ । हुन त अहिले पनि विधानत: राजसंस्था गएको छैन, कायम नै छ भन्छु म । अहिलेको अन्तरिम संविधान भनेको चारवटा राजनीतिक दलहरूको सहमतिको दस्तावेज मात्र हो । यो दस्तावेजको औचित्यमा प्रश्नचिह्न खडा हुने परिस्थिति पैदा भएको छ । चार शक्तिहरू चारतिर फर्किएका छन् र संविधानको व्याख्या गर्नुपर्दा आ–आफ्नै किसिमबाट गर्ने गर्छन् । यसले अन्तरिम संविधानको औचित्यमा गम्भीर प्रश्नचिह्न लागिरहेको छ । राजा निलम्बित स्थितिमा छन् भन्ने हाम्रो भनाइ हो । ०६३ सालको आन्दोलन कुनै क्रान्ति थिएन, फगत आन्दोलन थियो । राजनीतिक पार्टीहरू (सात दल), भारत र राजाको बीचमा एउटा समझदारी भएर त्यो टुङ्गिएको थियो । सबैले सबैको अस्तित्वलाई स्वीकार गर्ने, राजा संवैधानिक भएर बस्ने र कार्यकारी अधिकार सरकारमा रहने भन्ने लिखित समझदारी भएको थियो । तर, त्यसमा दलहरूले धोका दिए ।
० यस्तो लिखित डकुमेन्ट नै छ भने राजा किन चुप बसेका छन् त ?
– नेताहरूको हैसियत नभएकोले उनीहरूसँग यो कुरा गरेर कुनै अर्थ छैन । जसको रोहवरमा उक्त लिखित सहमति भएको थियो, साक्षी बसेर जिम्मा लिने सोही पक्षलाई त्यसको पालनाबारे घचघच्याउने काम हामीबाट भएको छ । ‘काङ्ग्रेस र एमाले बहुदलवादी भएकाले तिनले राजा मानिहाल्छन्, माओवादी अलिक उग्र छ, त्यसलाई मूल राजनीतिक प्रवाहमा ल्याउनका लागि अहिले चुप लागेर बसेजस्तो गर्नुप-यो, पछि २–४ महिनामा त्यो सब साम्य भइहाल्छ, त्यतिञ्जेलका लागि चुपचाप बसेर पछि संवैधानिक राजा भई बसिदिनुप-यो’ भनेर त्यतिबेला साक्षी बसिदिने निकायले आग्रह गरेकोले मुलुकमा रक्तपात निम्त्याउने कुराको खिलाफमा रहेका राजाले सो आग्रह स्वीकार गरेको यथार्थ हो । ‘उक्त सहमति कार्यान्वयन हुने समय आउँछ, नआत्तिनुस्’ भनेबमोजिम राजा चुप बसेका हुन् ।
० तपाईंले भनेको यो कुरा राजा ज्ञानेन्द्रकै मुखबाट अभिव्यक्त भए आमनेपालीलाई बढ्ता पत्यार लाग्थ्यो होला, उहाँ किन नबोल्नुभएको होला त ?
– नेपाल एकीकरण गरेका ऐतिहासिक विभूतिका उहाँ सन्तति तथा अहिलेका प्रमुख प्रतिनिधि पात्र, यस्तो सम्मानित व्यतित्वले बोलीको ठेगान नै नभएका नेताहरूसँग सहमतिको कुरा झिकिबस्न सुहाउने कुरै होइन । न्याय दिने यिनले होइनन्, नेपाली जनताले हो । यिनका आफ्नो हुति हुन्थ्यो भने त यो सब परिस्थिति नै निम्तने थिएन नेपालमा । तर, उचित समयमा प्रमाणसहित हामी यो कुरा निकाल्ने नै छौँ ।
० देशमा संविधानसभाको चुनाव हुन गइरहेको छ, तपाईंको दृष्टिमा यो चुनाव हुनुपथ्र्यो कि पर्दैनथ्यो ?
– वर्तमान परिवेशमा चुनाव त जरुरी नै थियो, तर सबैलाई समेटेर हुनुपर्ने चुनाव एउटा बलियो पक्षलाई बाहिर राखेर गर्न लागिएकाले यो चुनावको औचित्यमा ठूलो प्रश्नचिह्न खडा भएको छ । पचास प्रतिशत भन्दा कम जनताले भोट हाले भने द्वन्द्वको अवस्था त रहिरहने भयो नि ।
० यस्तो चुनावमा तपाईंहरूले किन भाग लिएको त ?
– यसमा हाम्रो थुप्रै रिजर्भेसनहरू छन् । चारदलीय सिन्डिकेटको दादागिरीले भागबण्डा गरेर मुलुक चुसिरहेका छन् । खिलराज रेग्मीको सरकारदेखि अन्य हरेक निकायमा यिनीहरूले भागबण्डा मिलाएर मनपरी गरिरहेका छन् । यी सबै कुरामा हाम्रो सहमति नहुँदानहुँदै पनि अहिले मुलुकमा जुन बेथिति, अराजकता र अन्योल छ, त्यसलाई निकास दिने उपाय निर्वाचन नै हुन सक्छ कि भन्ने सोचका कारण हामीले निर्वाचन स्वीकार गरेका हौँ ।
० चुनावपछि त गणतान्त्रिक नेपालको संविधान बन्ने हो, राप्रपा पनि गणतान्त्रिक पार्टी हो त अब ?
– राप्रपा गणतान्त्रिक पार्टी होइन, गणतन्त्र ल्याउन कुनै योगदान गरेको पार्टी पनि होइन यो । आफ्नो नीति र सिद्धान्त त्यो नभए पनि जिम्मेदार दल र जनताप्रति उत्तरदायी शक्ति हुनुको नाताले स्वीकार गरिदिएको मात्र हो । मेरो व्यक्तिगत कुरा गर्ने हो भने त राजसंस्था चाहिन्छ, नेपाल हिन्दूराष्ट्र हुनुपर्छ, गणतन्त्रले नेपालको हित गर्दैन भन्ने मूल एजेण्डा बोकेको पार्टी ‘राप्रपा नेपाल’को म एक संस्थापक हुँ । कारणवश अहिले राप्रपामा रहे पनि हामीले तय गरेका ती एजेण्डाहरू मुलुकको लागि आवश्यक ठान्दछु ।
० आफैँले बनाएका ती एजेण्डा छोडेर किन राप्रपामा जानुभयो त तपाईं ?
– यसको कारण गहिरो छ । एजेण्डा सही बोके पनि राजनीतिमा कहिलेकाहीँ यस्तो अवस्था आइपर्छ कि अल्पमतमा परिन्छ, साथ दिनेहरू कम हुन्छन् । ०६४ सालको चुनावपछि हामीलाई लाग्यो कि राप्रपा नेपालले मात्रै हिन्दूराष्ट्र, राजसंस्थाजस्ता ज्वलन्त एजेण्डाहरूलाई काँधमा थेग्न सक्दैन, गणतन्त्रको विपक्षमा आवाज बुलन्द गरेर जनमत सिर्जना गर्न यसले सक्दैन, यसका लागि पार्टी एकीकरणको जरुरत छ । हो, यही मकसदबाट प्रेरित भएर हामी केही साथीहरू राप्रपामा आबद्ध भएका हौँ । पार्टी एकीकरण गरेर उल्लेखित एजेण्डाहरूलाई सशक्त रूपले उठाएर नेपाली जनतामाझ स्थापित गराउने हाम्रो अभियान जारी नै छ ।
० चुनाव होला भन्ने लाग्छ तपाईंलाई ?
– सबैले चुनाव–चुनाव भनिरहेको देख्दा हुनसक्ने स्थिति छ जस्तो पनि लाग्छ, तर मोहन वैद्यजस्ताले नेतृत्व गरेको अत्यन्त सशक्त शक्तिलाई किनारा लगाउन खोजिएको अवस्थाका कारण कुनै पनि बेला कुनै प्रकारको दुर्घटना पनि हुनसक्छ भन्ने लाग्छ ।
० मङ्सिरमा चुनाव नभए के होला नि ?
– केही हुँदैन । वैद्यसँग सल्लाह गरेर चैतका लागि सारिदिए हुन्छ । के फरक पर्छ ? बरु माओवादी पनि चुनावमा आउने हुँदा राम्रै हुन्छ । तर, जबसम्म चुनाव हुँदैन, हामीले मन पराए पनि नपराए पनि या माने पनि र नमाने पनि नेपालको राजनीतिमा यिनै चार पक्ष निर्णायक शक्तिका रूपमा रहिरहने अवस्था हुन्छ । यसर्थ, चारदलीय सिण्डिकेटको मनपरीबाट मुलुकलाई मुक्ति दिलाउन पनि चुनाव आवश्यक छ ।
० वैद्य समूह र पूर्वराजा ज्ञानेन्द्रबीच विशेष साँठगाँठ छ भनेर चलाइएका हल्लाबारे तपाईंको प्रतिक्रिया के हुन्छ नि ?
– यस्तो साँठगाँठ भएको र हुनुपर्ने कुनै आवश्यकता र तुक म देख्दिनँ । मोहन वैद्य समूहलाई प्रचण्डहरूको स्वार्थवश चुनावमा आउन नदिइएको हो । यो वैद्यजीहरूले राम्रैसँग बुझेका छन् । यसरी चुनावमा जान नदिएपछि चुपचाप बस्ने कुरै आएन, आफ्नो अस्तित्व जोगाउनकै लागि पनि बहिष्कार र आन्दोलन गरेर देखाउनुपर्ने बाध्यता उनीहरूलाई प-यो । यसरी मोहन वैद्यहरूले आफ्नो अस्तित्व रक्षार्थ आन्दोलन गर्दा फाइदा क–कसलाई पुग्ला या नपुग्ला भन्ने कुरा भविष्यकै पाटो हो । राजासँग साँठगाँठ गरेर वैद्यजीहरू आन्दोलित बनेका होलान् भनी विश्लेषण गर्न खोज्नु हास्यास्पद हुन्छ ।
० पूर्वराजा पनि चुनाव चाहँदैनन् भन्ने एकथरी मत छ, यो सत्य होला ?
– मलाई त्यस्तो लाग्दैन । किनकि, राजाले नेपालभित्रको खेललाई हेर्नुभएकै छैन । यहाँ जे–जे होस् या नहोस्, केलाएर बस्ने जरुरत नै छैन राजालाई । किनकि, यहाँका दल वा नेताहरूले चाहेर या नचाहेर केही हुने अवस्था छैन भन्ने उहाँलाई राम्रो ज्ञान छ ।
० मुलुक अस्तित्वकै सङ्कटबाट गुज्रेकाले राष्ट्रियताको लडाइँ लड्नुपर्ने आवश्यकता रहेको कुरा त गर्नुभयो, तर लडिदिनेचाहिँ कसले हो त ?
– नेता या नेतृत्व भन्ने कुरा समय र परिस्थितिले जन्माउने हो । दलहरूले सिर्जना गरेका नकारात्मक क्रियाकलापका कारण नेपाली जनता यति सचेत र सजग भएका छन् कि राष्ट्रियता सङ्कटमा छ भन्ने उनीहरूले राम्ररी महसुस गरेका छन् । अब ‘नेसनल कज’का लागि इमानदारीका साथ लड्ने कुनै व्यक्ति अगाडि आएमा जनताले साथ दिनेछन् । चीनमा माओलाई कसैले ग्रुम गरेर नेताका रूपमा ठड्याएको होइन, उनी परिस्थितिको उपजका रूपमा खडा भएका नेता हुन् । यहाँ पनि यस्तै हुन्छ, समय आएपछि हुन्छ ।
० मौका पाए प्रचण्डले राष्ट्रवादी आन्दोलनको नेतृत्व गर्न सक्छन् भन्नेहरू पनि छन् नि ?
– प्रचण्डजस्ताले राष्ट्रवादी नेतृत्व लिन सक्ने अपेक्षा गरिएको थियो होला, तर अब उनले यस्तो आन्दोलनको अगुवाइ गर्नु भनेको पश्चिमबाट घाम उदाउँछ भनेजस्तै हो । उनी पूरै फेल र फेलभन्दा पनि पत्रु नै सावित भइसकेका छन् । जनताले यसलाई व्यवहारत: देखाइदिन मात्र बाँकी छ । प्रचण्ड मार्काका नेता त सब बिकाउ सावित भइसके, नेपालमा नयाँ नेताको दरकार छ ।