० तपाईंहरूले गृहमन्त्री नपाएकै कारण सरकारमै सहभागी नहुनेसम्मको बयानबाजी गर्नुभयो, गृहमन्त्री चलाउने यत्रो इच्छा थियो भने माघ २६ गतेको सातबुँदे सहमतिमै त्यो किन उल्लेख नगरेको ?
– सम्झौतापत्रमा यतिजना उपप्रधानमन्त्री, यो नामको विभागमा यो मन्त्री, फलाना मन्त्रीले यतिवटा मन्त्रालय हेर्ने, फलानो मन्त्रीलाई फलानो सचिव आदि–इत्यादि भनेर लेखेर साध्य हुने कुरा त आउँदैन नि । दस्तावेजमा त्यसरी उल्लेख गर्नु उपयुक्त हुँदैन भन्ने नै लाग्यो हामीलाई । यस्तो हुन्छ भन्ने ठानिएको भए त उल्लेख पनि गरिन्थ्यो होला ।
० काङ्ग्रेसले आखिर गृहमन्त्री एमालेलाई दिने सहमति भएकै थिएन भन्ने मौका त पायो नि, कि कसो ?
– नेपाली काङ्ग्रेसले यतिसम्म पनि गर्न सक्दोरहेछ भन्ने कुरा म पहिलोपटक देख्दै छु । काङ्ग्रेसले अनेकपटक सम्झौता उल्लङ्घन गरेको छ, तर सम्झौता गरेर पनि गरेकै छैन भनी भनेकोचाहिँ यो पहिलोपटक हो । कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाहरूसँग अनेक मामलामा अनेकपटक सम्झौता भए, तर उनीहरूले ‘सम्झौता भए पनि हामी अब मान्दैनौँ’ भनेर तोड्ने गर्थे । जस्तो कि, काङ्ग्रेसका संस्थापक नेता भट्टराईले लिखित रूपमै हामीसँग गरेको एउटा सम्झौता कार्यान्वयन गराउन तत्कालीन नेता राधाकृष्ण मैनाली उनीसमक्ष जाँदा उनले ‘राधाबाबु, मैले तपाईंहरूसँग गरेको सम्झौता गिरिजाप्रसादलाई प्रधानमन्त्रीबाट हटाउन गरेको हो र ? गिरिजालाई सुधारेर मेरो पक्षमा ल्याउन पो गरेको त ! गिरिजा हालका लागि मेरो पक्षमा आइसके, अब सम्झौता–तम्झौताको कुरा बोकेर मकहाँ नआउनु, गइहाल्नुस् तपाईं’ भनेर ठाडै हकारेर पठाइदिए । काङ्ग्रेसका संस्थापक नेताको त त्यस्तो ताल थियो । हामीले त्यतिसम्म त भोगेकै हौँ, त्योभन्दा पनि एक कदम अघि बढेर यसरी सम्झौतै नभएको भनी ढाँट्लान् भन्ने त हामीले ठानेनौँ नि ।
० तपाईंले यस्ता कथा हाल्दैमा गृहमन्त्री दिने भनी सम्झौता गरेको ठहर त हुँदैन नि, अन्य सबै कुरा लिखित गराउने अनि ‘वामदेवलाई गृहमन्त्री बनाउने’ भन्नेचाहिँ सम्झौताको दस्तावेजमा उल्लेख नै नभएपछि कसरी विश्वास गर्ने आमजनताले ?
– राजनीतिक दलहरूबीच हुने सबै सहमति र समझदारीको लिखितै आधार त कहाँ हुन्छ त ? म नेपालको कम्युनिस्ट आन्दोलनमा पचास वर्षदेखि निरन्तर लागेको एमाले पार्टीको जिम्मेवार नेता, अब मजस्तो व्यक्तिले काङ्ग्रेससँग सहमति नै नभई सहमति भएको थियो भनी झुटो बोल्छु होला त ? सम्झौता भएको छ भनेर मैले भनेपछि विश्वास गर्नुप-यो नि । त्यसैले जनताले बुझ्नुप-यो कि काङ्ग्रेसका सबै होइन केही नेताले यहाँ धोका दिइरहेका छन् । माघ २५ देखि नै काङग्रेसका नेता कृष्णप्रसाद सिटौला र मीनेन्द्र रिजालहरूले ‘वामदेवजीलाई गृहमन्त्री दिने’ भनेका थिए भने २६ गते त दीपकुमार उपाध्यायसमेत भएको ठाउँमा त्यो कुरा दोहो-याइएको थियो । अहिले दीपकुमार उपाध्याय सम्झौता भएकै छैन भन्छन् भने अब उनीमाथि हामीले सदाका लागि शङ्का र अविश्वास गर्नुपर्ने अवस्था आएको छ । दीपकुमार र रामशरण महतसँग त अब नेकपा (एमाले)ले कहिल्यै कुनै पनि वार्ता गर्ने छैन । किनकि, २५ माघको बिहान ‘हामीले मात्रै वार्ताको टुङ्गो लगाउन सकेनौँ’ भन्दै कृष्ण सिटौला, मीनेन्द्र रिजाल र अमरेशकुमार सिंहलाई वार्ताका लागि हामीसमक्ष ल्याएको उहाँहरूले नै हो । आफैँले ल्याएका मानिसले हामीलाई वचन दिएपछि अहिले ‘उनीहरूले भन्दैमा कहाँ हुन्छ’ भन्दै बखेडा गर्न कसरी मिल्छ ? माघ १६ देखि नै ‘गृह र उपप्रधानमन्त्री नपाएसम्म एमाले सरकारमा जाँदैन’ भनी हामीले भनेका हौँ । यसबाट पनि त सम्झौता भएको थियो भनेर बुझ्नुपर्छ ।
० त्यति अघिदेखिको माग रहेछ त अरू सबै कुरा सम्झौतापत्रमा उल्लेख गरेर योचाहिँ नलेख्नु एमालेको गल्ती भएन र ?
– त्यति कमजोरी त भएकै हो भन्नुप-यो अब । धोका हुन्छ भन्ने जानेको भए त लेख्न लगाइन्थ्यो ।
० तपाईं यसो भन्नुहुन्छ, तर जब तपाईंको दाबी गृहमन्त्रीमा रह्यो तब ‘यो कुरा हामीले निर्णय लिन सक्दैनौँ, सभापतिलाई सोध्नुपर्छ’ भन्दै वार्ताटोलीका सदस्यद्वय महत र उपाध्याय महाराजगञ्ज गएका बेला अनधिकृत रूपमा सिटौला र रिजालहरूले तपाईंलाई वचन दिएको भन्छन् नि त काङ्ग्रेस नेताहरू ?
– त्यो कुरा हामी जान्दैनौँ । सिटौलाजी काङ्ग्रेसका महामन्त्री होइनन् ? रिजालजी केन्द्रीय सदस्य र सभापतिले विश्वास गरेका नेता होइनन् ? उहाँहरूले वचन दिएपछि हामीले विश्वास नगर्ने त ?
० भनेपछि काङ्ग्रेसले गृह नदिए एमाले सरकारमै नजाने त ?
– अँ हँ ! नजाने । गृह मन्त्रालय चाहिन्छ भन्ने कुरा त हाम्रो ‘बटमलाइन’ नै हो । र, हाम्रा लागि यो एउटा धोखाधडी गर्ने राजनीतिक दलसँगको हिसाबकिताबको सवाल पनि हो । सरकारमा नगइदिएर हामी हिसाब चुक्ता गर्छौं । कसैले पनि एमालेबिना सरकार चलाएर देखाउन्, हाम्रो चुनौती छ ।
० नेपाली काङ्ग्रेसले देखाइदियो भने ?
– देखायो भने हेरौँला नि त ! नेकपा (एमाले)बिना संविधान पनि बनोस्, जारी होस् । एमालेबेगर अग्रगमनको बाटो तय गरोस् काङ्ग्रेसले, हामी हेरौँला ।
० होइन, एमालेलाई गृह मन्त्रालयचाहिँ नभइनहुने किन होला ?
– किन नि ? सत्ता साझेदारीका लागि । नेपाली काङ्ग्रेससँग आम्नेसाम्ने नाक जुधाएर काम गर्ने हौँ हामी । हामी प्रमुख प्रतिद्वन्द्वी हौँ । प्रमुख प्रतिस्पर्धा गर्न आएको पार्टी एमाले काङ्ग्रेसभन्दा न मतले न त सिटले नै आकासपातालको फरक छ । काङ्ग्रेसको निगाहमा हामी सरकारमा जाने होइन, निर्वाचनमा हासिल भएको हैसियतका आधारमा जाने हो । बराबरको जनादेश पाएका छौँ हामीले, यस्तोमा काङ्ग्रेसचाहिँ गद्दीमा बस्ने हामीचाहिँ भुइँको रद्दीमा बस्ने ? बराबरको हक लिन हामीलाई गृह मन्त्रालय चाहिएको हो ।
० तपाईंका नेता माधव नेपाल प्रधानमन्त्री हुँदा त गृह, रक्षा, अर्थ, परराष्ट्र जम्मै एमालेलाई नै छोडिदिएको थियो नि काङ्ग्रेसले, सम्झना छ ?
– त्यतिबेला त माओवादीलाई थच्याउन जसरी पनि एमालेले सरकारको नेतृत्व लिइदिए हुन्थ्यो भनी काङ्ग्रेसले अनुनयविनय गरेको अवस्था थियो । जम्मै कुरा दिनु परे पनि दिने तर प्रचण्डहरूलाई सत्ताबाट ओरालेरै छोड्ने रणनीति अपनाएको थियो काङ्ग्रेसले । हामीले मागेर या हाम्रो मायाले होइन, फकाउने उद्देश्यले उसले त्यत्तिकै पनि सबै महत्वपूर्ण मन्त्रालय एमालेलाई दिएको हो । अझ भन्नुपर्दा सडकबाट सत्ता कब्जा गर्छौं भनी अराजक बन्न थालेको माओवादीलाई तह लगाउनका लागि बलियो प्रधानमन्त्रीका रूपमा माधव नेपालजीलाई उभ्याउन काङ्ग्रेसले सजिलै महत्वपूर्ण मन्त्रालय दिएको हो । त्यतिबेला र अहिलेको परिस्थिति नितान्त फरक छ, त्यसैले हामीले शक्तिशाली मन्त्रालय गृहमा दाबी गरेका हौँ ।
० प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्छ भन्ने त तपाईंलाई पनि थाहा रहेछ नि, अनि बखेडा किन ?
– काङ्ग्रेसजस्तो सम्झौतै तोड्ने, भएको सम्झौता होइन भन्नेसँग बखेडा नगरेर के गर्ने त ? अब बखेडा मात्र होइन, दिएको समर्थन पनि फिर्ता लिन्छौँ । सरकार छोडेर विपक्षमा बस्नका लागि त सरकारलाई दिएको समर्थन फिर्ता लिनैपर्छ ।
० कहिले लिने त समर्थन फिर्ता ?
– त्यो त मैले एक्लै भन्न मिल्दैन, पार्टी कमिटीको बैठकले निर्णय लिन्छ । अहिले नै दिन तोक्नु जरुरी पनि छैन र मिल्दैन पनि । म यतिचाहिँ भन्न सक्छु कि जब एमाले सरकारमा सामेल हुँदैन भने उसले प्रमुख प्रतिपक्षीको भूमिका खेल्नुपर्ने हुन्छ, प्रतिपक्षी बन्नका निम्ति समर्थन फिर्ता लिनैपर्छ । हामी फिर्ता लिन्छौँ ।
० तपाईंका वरिष्ठ नेता माधव नेपालले त गृह मन्त्रालयको बारेमा सहमति भएको थिएन भन्नुभएको छ नि ?
– माधवजी सहमतिको बेला नेपालमै हुनुहुन्नथ्यो । उहाँ जयपुरमा हुनुहुन्थ्यो, हामीले फोन गरेर भनेका थियौँ । गृह मन्त्रालयसहित वामदेव गौतमको उपप्रधानमन्त्रीय नेतृत्वमा सरकारमा जाने भन्ने हाम्रो स्थायी कमिटीको सर्वसम्मत निर्णय नै छ ।
० वामदेव गौतमलाई गृह दिन काङ्ग्रेस किन हच्किएको होला जस्तो लाग्छ तपाईंलाईं ?
– खै ! म गृहमन्त्री हुँदा ०५४ सालको स्थानीय निर्वाचनमा एमालेले दुईतिहाइ सिट हासिल गरेको बदला लिन खोजेको होला । गृह आफैँ लिएर सत्ताको दुरुपयोग गर्ने मनसुवा होला काङ्ग्रेसको ।
० तपाईंले पनि दुरुपयोग गरेरै स्थानीय चुनाव एमालेलाई जिताएको हो त ?
– मैले त के दुरुपयोग गर्थें र ? मेरो चरित्रै होइन दुरुपयोग गर्ने । हिजो पनि गरिनँ र भोलि पनि गर्दिनँ । गृहमन्त्रीका रूपमा मैले जनताको मतको संरक्षण गरिदिएको हो र भोलि पनि त्यो जिम्मेवारीमा रहे जनताको मतकै संरक्षण गरिदिने हो । जनताको मत संरक्षणका निम्ति के–के भूमिका खेल्नुपर्छ त्यो निर्वाह गर्न म सतप्रतिशत योग्य छु । त्यो मत चाहे काङ्ग्रेसको होस्, चाहे एमालेको या अन्य कसैको पनि किन नहोस्, संरक्षण गर्नु गृहमन्त्रीको दायित्व हुन्छ ।
० तपाईं त पुलिसलाई अनधिकृत प्रयोग गरेर राजनीतिक लाभ उठाउन माहिर हुनुहुन्छ भन्ने चर्चा छ, पुलिस प्रयोग गरेर स्थानीय चुनाव जित्ने दाउ पो हो कि ?
– गृहमन्त्रीले प्रयोग गर्छु भन्दैमा जथाभावी पुलिस प्रयोग हुन्थ्यो भने, गृहमन्त्री बन्दैमा चुनाव जितिन्थ्यो भने गृहमन्त्री भएकै बेला कृष्ण सिटौलाले किन ०६४ को चुनाव हारे त ? म त्यसरी पुलिसको दुरुपयोग गर्ने व्यक्ति नै होइन । अर्को कुरा, बहुदल आएपछि कतिवटा सरकार बने, तीमध्ये जम्मा चारपटक मात्र एमालेले गृह मन्त्रालय चलाउन पायो, काङ्ग्रेसले त १० पटक मौका पायो होला । पुलिस प्रयोग गरेर आफ्नो पक्षमा नतिजा ल्याउन काङ्ग्रेसले किन सकेन त ? त्यसैले यो बेकारको कुरा हो ।
० वामदेवको ठाउँमा विष्णु पौडेल गृहमन्त्री हुन सक्छ कि सक्दैन ?
– यो हुन सक्दैन । अहिलेको अवस्थामा एमालेबाट गृहमन्त्री हुन्छ भने वामदेव मात्रै हुन्छ, अर्को आउनै सक्दैन । यो बटमलाइन हो ।
० पूर्वगृहमन्त्री भीम रावलले त गृह वामदेवबाहेक अन्य नेतालाई दिन पनि सकिन्छ भन्ने अभिव्यक्ति दिनुभयो नि त ?
– भीम रावल त मेरो कार्यकर्ता हो । नेताका अगाडि कार्यकर्ताले बोलेर हुँदैन । माधव नेपाल मेरो बराबरीका नेता हुनुहुन्छ, उहाँले नै एमाले सरकारमा जाँदा वामदेव गौतम गृह मन्त्रालयको जिम्मेवारी लिएर जानुहुन्छ भनेर प्रस्ताव गर्नुभएको हो । रावलले कहाँ के भने भन्ने कुराको अर्थ छैन ।
० माधव नेपाललाई त तपाईंले यसपटक धोका दिनुभयो नि, किन त ?
– संसदीय दलको नेतामा उहाँ नै उठेको भए मैले के गर्थें भन्ने कुरा आफ्नो ठाउँमा छ, नउठ्नु भन्दाभन्दै झलनाथ उठ्नुभयो, मैले केपीजीलाई सघाएँ ।
० यही रिस पोखेर तपाईंमाथि षड्यन्त्र भएको पनि भन्छन् नि ?
– खै ! यस्तो त मलाई थाहा छैन ।
० एमालेमा गुटबन्दी मौलायो भन्छन् नि, हो ?
– त्यस्तरी मौलाएको भन्न मिल्दैन । तर, गुटबन्दीका जे–जति टुसा–मुसा छन्, ती अबका एक–डेढ वर्षमा समाप्त पार्ने सङ्कल्पका साथ हामी सबै लागिपरेका छौँ ।
० नवौँ महाधिवेशनपछि एमालेको अध्यक्ष को ?
– यो अहिले नै घोषणा गर्न सकिने कुरा होइन ।
० तपाईं अध्यक्ष बन्न सक्नुहुन्न ?
– मैले म अध्यक्षमा उम्मेदवारी दिन्नँ भनेको छैन । त्यसैले अध्यक्ष बन्ने मेरो सम्भावना छ ।
० केपी ओलीको नि ?
– उहाँको पनि सम्भावना छ ।
० माधव नेपाल र झलनाथ खनालको नि ?
– उहाँहरूको अब सम्भावना छैन । उम्मेदवारी जसले पनि दिन सक्छन्, उहाँहरूले पनि हामी उठ्छौँ भन्न सक्नुहोला, तर सम्भावना छैन । सम्भावना भनेको केपी ओली र वामदेव गौतमको मात्र छ ।
प्रतिक्रिया