– डा. दुमनसिंह थापा (सभासद्, एमाले)
अर्घाखाँची– २ बाट संविधानसभामा विजयी भएलगत्तैदेखि नेकपा एमालेका सभासद् डा. दुमनसिंह थापा लगातार विवादमा तानिँदै आएका छन् । विभिन्न प्रयोजनमा उनले बाँडेका चेकहरू बाउन्स भएको भन्ने चर्चा सेलाउन नपाउँदै एमआरएमजी नामक संस्थामार्फत सञ्चालित खानेपानी आयोजनाको मोटो रकम हिनामिना गरेको खबर आइरहँदा सो संस्थाका अध्यक्षसमेत रहेका सभासद् थापा आफूमाथि सत्प्रतिशत झुटा लाञ्छना लगाएर अत्याचार गरिएको दु:खेसो गर्छन् । आफूलाई पक्का समाजसेवी दाबी गर्ने उनी केही न केही विषयसँग जोडिएर मिडियाको तारो बनिरहेका देखिन्छन् । यस्तो किन त ? प्रस्तुत छ सभासद् थापासँग गरिएको कुराकानीको अंश :
० तपाईं संविधानसभामा पुगेपछि विभिन्न विवादमा तानिँदै आउनुभएको छ, बेकार सभासद् भएछु भन्ने पश्चात्ताप त लागेको छैन ?
– मैलाउँ मैखाउँ भन्ने हाँडीघोप्टे र ईष्र्यालु स्वभाव भएकाले मेराबारे भ्रामक प्रचारबाजी गरेका मात्रै हुन् । मैले चुनाव जित्नासाथ विरोधीहरू निकै अत्तालिएका थिए । यस्ता निरर्थक हल्लाले मलाई केही फरक पार्दैन । म पश्चात्तापमा होइन कि चुनावमा जनसमक्ष गरेका वाचाहरू पूरा गर्न र एक संविधानसभा सदस्यका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न थप प्रेरित भएको छु ।
० जिल्लामा कैयन पुराना र त्यागी नेताहरू हुँदाहँुदै तपाईं कसरी एमालेबाट सभासद् बन्नुभयो ?
– समाजलाई केही गर्नुपर्छ भन्ने मभित्र रहेको भावना, इमानदारी र मेरो आजसम्मको गाउँ–ठाउँ, देश र जनताप्रतिको योगदानका कारण जिल्लाका सबै नेता एवम् शुभचिन्तकको सुझाव र सहयोगमा नेकपा एमालेले पार्टीगत मूल्याङ्नअनुसार मलाई संविधानसभामा पु¥याउँदा देश र जनताको हित नै हुन्छ भन्ने ठानेर टिकट दिएको हो । पार्टीले पत्याएअनुसार मैले पनि काङ्ग्रेस बाहुल्य रहेको स्थानबाट चुनाव जितेर पार्टीको मप्रतिको विश्वासलाई सत्य सावित गरिदिएँ
० जिल्लाका त्यागी एमाले नेताहरूको आत्मा त रोएकै होला नि तपाईंका कारण भाग खोसियो भनेर ?
– सरासर गलत सोच हो । मेरो विजयप्रति पार्टीका कसैले नकारात्मक भाव पालेका छैनन्, बरु उहाँहरूकै प्रस्ताव, समर्थन र साथ–सहयोगका कारण म संविधानसभामा पुगेको हुँ ।
० कम्युनिस्ट पार्टी नै रोज्नु थियो भने एमाओवादी छोडेर किन एमाले नै रोज्नुभयो ?
– म कुनै पार्टीमा संलग्न नभई समाजको हितमा काम गर्ने व्यक्ति हुँदाहुँदै पनि नेपालको सन्दर्भमा नेकपा एमालेसँग म भित्रैबाट प्रभावित थिएँ । जब नेपाली जनता र मुलुक सङ्कटमा पर्छ त्यतिबेला एमालेको भूमिका प्रशंसनीय रहेको मेरो ठम्याइ थियो । जनताको पक्षमा काम गर्ने एमाले पार्टी हुँदाहुँदै आजको युगमा उग्र विचार बोकेको पार्टीलाई रोज्ने त कुरै भएन नि ।
० पार्टीका केन्द्रीय नेतालाई मोटो रकम बुझाएर सभासद्को टिकट पाउनुभएको आरोप पनि छ नि तपाईंमाथि ?
– मलाई आरोप लगाउनुभन्दा पनि प्रमाणित गर्ने काम ठूलो हो । आरोप लगाउनेले प्रमाणित गरेर जनतासमक्ष नङ्ग्याइदिए हुन्छ नि । पार्टीले नै सोचविचार गरेर निर्णय लिएको हो भने मलाई टिकट दिनासाथ जिल्लाका नेता, कार्यकर्ता र जनतामा बेग्लै उत्साह छाएको थियो ।
० एमालेभित्र तपाईं कुन गुटमा पर्नुहुन्छ नि ?
– पार्टीमा त्यस्तो कुनै गुट भएको जानकारी मलाई छैन । म त सही कुरालाई समर्थन र गलत कुराको विरोध गर्ने खालको व्यक्ति हुँ । वास्तवमा म नेकपा एमाले पक्षधर हुँ ।
० चुनावका लागि गरिएको खर्चको बिल तिर्दा पैसै नभएको चेक दिँदै हिँड्नुभएछ, हो ?
– पहिलो कुरा त चुनावी खर्च कतिसम्म गर्ने भन्ने कुरामा आचारसंहिता थियो, हल्ला गर्नेले गरेजस्तो जथाभावी चेक बाँड्दै हिँड्ने म मूर्ख होइन । दोस्रो कुरा म दाबीका साथ भन्छु कि मद्वारा त्यस्ता चेक बाँडिएका छन् भने एउटा मात्र प्रमाण ल्याइदिनोस्, म जस्तोसुकै सजाय पनि स्वीकार गर्न तयार छु । यो मलाई र नेकपा एमालेलाई बद्नाम गराउने षड्यन्त्र मात्र हो । यसभन्दा बढी अब म के बोलूँ ?
० तपाईं त खानेपानी आयोजनालगायतमा पनि संलग्न हुनुहुन्छ अरे ?
– अर्घाखाँचीमा मैले करिब बीस करोडका खानेपानी आयोजना २५ वर्षयता सफलतापूर्वक सम्पन्न गरी २४ गाविसका जनतालाई पानी खुवाइसकेको छु र केही आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । ती पनि सम्पन्न हुने क्रममै छन् ।
० त्यस्ता प्रोजेक्टको संयुक्त रूपमा खोलिएको खाताबाट अग्रिम हस्ताक्षर लिई रकम हिनामिना गर्नुभएको चर्चा किन चलेको छ त ?
– प्रश्न समयसापेक्ष छ । पहाडी स्रोत व्यवस्थापन समूह अर्थात् एमआरएमजीले खानेपानी आयोजनाको जिम्मा लिएको छ । काम गर्ने सिलसिलामा रकम हिनामिना होइन संयुक्त खाताबाट संस्थाको नाममा सारेर सप्लायर्सलाई दिएको अवस्था हो । रकममा शङ्का गर्नुपर्ने कुरै छैन । रकम हिनामिना हुनासाथ हाम्रो संस्था जवाफदेही हुने कारण यसबारे हामी आफैँ संवेदनशील रहेका छौँ । यो पनि मेरो खुट्टा तानेर आफू माथि जान खोज्नेहरूकै चाल होला । तर, त्यस्ताहरूले के बुझ्नुपर्छ भने अर्काको खुट्टा तानेर आफू माथि जान सकिन्न, माथि पुग्न त सोअनुरूपको क्षमता नै चाहिन्छ ।
० संयुक्त खाताको रकम संस्थाको खातामा सार्न मिल्छ र ?
– पुरानो या रुढीवादी प्रचलनअनुसार श्रीमान्ले नखाँदै श्रीमतीले भात खानु धर्मविपरीत मानिन्छ, तर खाना बनाउने, किचन सफा गर्ने महिला त आफ्नी अर्धाङ्गिनी (श्रीमती) नै हुन् भनेजस्तै आयोजना सम्पन्न गर्ने ‘समूह’ होइन हाम्रो संस्था हो । हामीले धेरै आयोजनामा कामको जिम्मा लिएको र समूहका मानिसहरू गाउँमा अनि हामीचाहिँ केन्द्र (काठमाडौं) मा रहने कारण समूहको सल्लाहमा चेकमा हस्ताक्षर गरी लिई हाम्रो संस्थामा रकम सारेको अवस्था हो । जसबाट सप्लायर्सलाई रकम दिन सजिलो प¥यो र हालसम्म जति पनि आयोजना सफल भए, त्यसरी नै काम हुँदै आएका थिए । किन हो अहिले त्यसैलाई केही साथीले नारा बनाउनुभएको छ । २५ वर्षसम्म आयोजनाका काम गर्दा एउटा मात्र गल्ती मद्वारा हुन्थ्यो भने चुनावमा मसला बन्दथ्यो र म हार्थें होला । विश्वास ठूलो कुरा हो, म सभासद् हुनुपूर्व विश्वास गरेको समूहले आज सभासद् भइसकेको मानिसप्रति कुदृष्टि राख्दै अनावश्यक प्रचारप्रसारमा लाग्नु उहाँहरूको कमजोरी हो । अर्घाखाँचीमा खानेपानीको समस्या छ र यो समस्या समाधान गर्न सबै जिल्लावासी आ–आफ्नो स्थानबाट इमानदार बन्नु आवश्यक देखिन्छ ।
० असारमै रकम लिएर किन काम नगर्नुभएको नि तपाईंहरूले ?
– ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिसँग सम्झौता भएको एक वर्षमा रकम आएको थियो । वर्षा र दसैँ–तिहारमा खानेपानी आयोजनाको काम हुने कुरै भएन । करिब एक–ढेड महिना सबैलाई चुनाव लागेको कारण केही ढिलाइ भएको भए पनि आवश्यकीय सामान पुसमै सप्लायर्सद्वारा समूहमा पुगिसकेको छ । आयोजना स्थलमा पुगेको सामानबाट समूहका मानिसले काम गर्नुको सट्टा केही व्यक्तिहरू हात धोएर मेरो बद्नाम गर्नतर्फ लागेको देख्दा छक्क परेको छु । यस्तो व्यवहारका कारण स्थानीयलाई घाटा पुग्यो भने त्यस्ताहरूले नै जिम्मेवारी लिनुपर्ने हुन्छ ।
० खानेपानी आयोजनाको काम गर्ने समयावधि पनि सकियो भनिन्छ, अब आयोजना के हुन्छ त ?
– समयावधि परिस्थितिअनुसार कहिलेकाहीँ सकिन्छन् र थपिन्छन् पनि । यसपालि पनि समय थपिएको छ । सर्वसाधारण जनताको हितमा काम सम्पन्न हुनुपर्छ भन्ने मेरो मान्यता हो । केही विकासविरोधीले अनावश्यक राजनीति गरेर स्थानीयलाई काम गर्न नदिएको अवस्था हो, तथापि म आयोजना सफल बनाउने प्रयासमै छु । दुमन समाजसेवाको भावले राजनीतिमा होमिएको छ, अब त्यसै लत्रिएर हार मान्दै कर्तव्यबाट भाग्दैन । डाह गर्नेहरू जलिरहुन्, मलाई केही फरक पर्दैन ।
० प्रसङ्ग बदलौँ, तपाईंले चुनावको समयमा २५ सय युवालाई रोजगारी लगाइदिन्छु भन्नुभएको थियो अरे, हालसम्म कतिलाई रोजगारी दिनुभयो त ?
– मैले यो बोलेको सत्य हो । उद्देश्य नै नराखी सफलताको शिखरमा पुग्न सकिँदैन । तपाईंले बीस लाखबराबरको तरकारी उत्पादन गर्छु भनेर मिहिनेत गर्नुभयो भने पन्ध्र लाख पनि कमाउन सक्नुहुन्छ र २५ लाख पनि हुन सक्छ । बेरोजगारी समस्या अर्घाखाँचीवासीलाई मात्र होइन समस्त नेपालीका लागि प्रमुख दुस्मन बनेको छ । यो विषय मैले मात्र नभई हामी सम्पूर्ण सभासद्ले सम्बोधन गर्नुपर्छ । हाम्रा विदेशीएका बलिया हातलाई स्वदेशमै रोजगार दिन सक्ने खालका विकास–निर्माणका कार्यहरूमा सबै एक ढिक्का बन्नुपर्छ । कैयन युवालाई मैले हालसम्म सेट गरिसकेको भए पनि एक छेउ पनि सन्तोष मिलेको छैन । प्रसस्त रोजगारी प्राप्त गर्न सकिने सम्भावना भएको अर्घाखाँचीमा रोजगारी सिर्जना हुन सक्ने विकास–निर्माणका भिजनसहित पार्टी र सरकारको ध्यान आकृष्ट गर्नेतर्फ म लागिसकेको छु । समय लागे पनि चुनावमा गरेका वाचा सबै पूरा गर्न इमानदारीसाथ लागिपरेको छु, पर्नेछु ।
० एमाओवादीले स्थानीय चुनाव गर्न नदिने भनेका छन्, तपाईं के भन्नुहुन्छ ?
– चुनावी घोषणापत्रमा स्थानीय चुनावप्रति रुचि देखाउने एमाओवादी यति चाँडै किन पीपलपात फर्किए जसरी कुरा फेर्दै छ– आमनेपाली आश्चर्य मानिरहेका छन् । स्थानीय निकायको निर्वाचन अपरिहार्य बनेको छ । कुनै पनि पार्टीले यतिबेला यसको विरोध गर्नु भनेको जनताबाट आफैँ टाढिँदै जानु हो, आफ्नै खुट्टामा बञ्चरो लगाउनु हो ।
० थप केही भन्न चाहनुहुन्छ ?
– राजनीतिक आधारमा चुनाव लड्दा एमालेको सिपाही बनेर लडेको भएपनि म समग्र देशकै सभासद् हुँ र देशप्रति नै मेरो कर्तव्य छ । अर्घाखाँचीका जनतालाई त मसँग समस्या वा दु:ख–सुख बाँड्ने विशेष अधिकार नै छ । जिल्लाको विकास–निर्माणको सवालमा बिनापूर्वाग्रह हामीहरू एकजुट भयौँ भने अर्घाखाँचीको स्वरूपमा परिवर्तन आउने छ ।
प्रस्तुति : मुक्तिनाथ भुसाल
प्रतिक्रिया