केटकी पिप्पाको नितम्बले विश्व हल्लायो

केटकी पिप्पाको नितम्बले विश्व हल्लायो


हालै सम्पन्न केट र विल्सको शाही विवाहलाई संसारभरका दुई बिलियन मानिसले प्रत्यक्ष प्रसारणको माध्यमबाट हेरिरहेका थिए, जसको प्रत्यक्ष प्रसारण अति नै चुनिएका शाही क्यामेराम्यानका विभिन्न एङ्गल र पोजमा राखिएका क्यामेराहरूबाट भइरहेको थियो । केटकी ‘मैड अफ अनर’ रहेकी पिप्पा, दिदीको लत्रिएको पहिरनलाई उठाउनका लागि निहुरेकी थिईन्, ठीक त्यही समयमा उनको पछिल्तिर खासगरी कम्मरमुनिको भाग, सम्पूर्ण रूपमा नितम्बसहित केही सेकेन्डका लागि देखाइएको थियो । यो ‘डेलिबेरेट’ थिएन, दुलहीको उक्त पोसाकको चर्चाले मिडिया तातिएको सन्दर्भमा सोही पोसाककै वरिपरि एउटा क्यामेरालाई तैनाथ गरिनु असान्दरि्भक थिएन, तर सो पोसाकसँगै त्यही पोसाकसहितकी दिदीको रेखदेख गर्न खटिएकी बहिनी पिप्पाको सुडौल नितम्ब अगाडि परेको थियो । मात्र केही सेकेन्डको त्यही दृश्यले गर्दा अहिले पिप्पा संसारभरमै चर्चामा आएकी छिन् ।
नितम्बलाई नै आधार बनाएर हलिवुडकी जेनिफर लोपेजलाई सुन्दरी भनिएको थियो भने यहाँ अर्थात् यूकेकी अर्की मोडेल किम कार्दासियनलाई नितम्बकै आधारमा संसारकी सुन्दरी भनिएको थियो हालसालै । तर, पिप्पाको केही सेकेन्डको लाइभ दृश्यपछि भने उक्त खिताब अहिले पिप्पालाई गएको मानिएको छ । पिप्पाको जन्मदिन अर्थात् सेप्टेम्बर ९ लाई पिप्पाको नितम्बको प्रशंसा गर्ने दिन (Pippa’s Ass Appreciation Day) को रूपमा मनाउने भनी दुनियाँभरमा त्यसका लागि अभियान सञ्चालन गरिएको छ । सोही नितम्बकै लागि फेसबुक पेजमा एक समाजको निर्माण गरिएको छ, जसमा दसौँ हजार मानिस भेला भइसकेका छन्, ती सबैले सेप्टेम्बर ९ तारिख शुक्रबार जब पिप्पा अट्ठाइसौँ वर्षमा लाग्छिन्, पब तथा बारहरूमा भेला भएर उनको नितम्बको प्रशंसा गर्दै त्यही नितम्बलाई सम्झँदै बियर पिई नाचगान गर्ने भएको खबर विश्वव्यापी भएको छ ।
भिभिड इन्टरटेनमेन्ट तथा फिल्म प्रोडक्सन हाउस पोर्नका फाउन्डर, निर्देशक स्टेभन हर्सले एक चिट्ठी लेखी पिप्पालाई आफ्नो अघिल्लो यौन सिनेमा खेल्नका लागि अफर गरेका छन् । पाँच बिलियन अमेरिकी डलरको मूल्य राखेर उनलाई आफ्नो नयाँ यौन सिनेमामा खेलाउनका लागि चिट्ठी पठाउने स्टिभनले लेखेका छन्, ‘जहाँसम्म मेरो हेराइको बुझाइ छ, तपाईं शाही विवाहको मुख्य आकर्षण हुनुहुन्थ्यो । जब मैले त्यो प्रत्यक्ष प्रसारण हेरेँ, मैले सोचँे कि तपाईं आफ्नो सुन्दरता र हावभावले गर्दा एक अति सफल यौन अभिनेत्री बन्न सक्नुहुनेछ र भर्खरै जब तपाईंको बिकिनी लगाएको ‘फन पार्टी’को एक तस्बिर देखेँ, तब नै तपाईंलाई आफ्नो यौन सिनेमामा यौन अभिनेत्रीको रोलमा खेलाउन पाँच बिलियन यूएस डलरसहित अफर गर्ने निधो गरेँ । तपाईं आफ्नो चाहनाअनुसारको पुरुष अभिनेता रोज्न सक्नुहुनेछ ।’
बताइएअनुसार स्टिभनको सो अफरलाई मिडल्टन परिवारले बेवास्ता गरेको छ र सोही सूत्रबाट प्राप्त जानकारीअनुसार केही महिनाअगाडि साथीहरूका साथ अनि परिवारसहित गएकी पिप्पाको त्यो ‘बिकिनी फन पार्टी’ जसको तस्बिर त्यही समूहका एक मित्रले खिचेका थिए, लाई लाखौँमा बेचिदिएको थाहा लागेको छ । पिप्पाको तिनै केही सेकेन्डभित्रको त्यही नितम्बको दृश्यपछि त्यसरी उनीसँग सम्बन्धित तस्बिरहरूको पनि मूल्य बढेको हो ।
हालै पत्रिकाहरूमा एक अर्को समाचार तस्बिरसहित छापिएको थियो । एउटा नीलो रङको कारमा सेतो इनामेलले लेखिएको थियो- ‘के अझै पिप्पाको नितम्ब मेरोभन्दा राम्रो छ ?’ त्यसपछि सोहीसम्बन्धी चर्चा चल्न थालेका छन् । साधारणतया आमपुरुषहरूबीच साधारण गफहरूमा पनि पिप्पाको नितम्ब आउने गरेको यस तस्बिरले सुझ्याउँछ । पक्कै पनि एक श्रीमान् वा प्रेमीले आफ्नी श्रीमती वा प्रेमिकाको सम्मुख पिप्पाको नितम्बको प्रशंसा गरेको हुनुपर्ने अडकल सर्वत्र राखिएको छ । त्यसरी श्रीमती वा पे्रमिका उक्त श्रीमान् वा प्रेमीसँग रिसाएर त्यसको बदला उनको कारमा उतारेको हुनसक्दछ ।
इन्टरनेटले गर्दा अहिले संसार निक्कै नै साँघुरिएको छ । संसारका कुनै कुनामा घटिरहेका घटनाबाट अर्को कुनामा बस्ने मानिस बेखबर हुँदैनन् । र, यही सन्दर्भमा संसारभरमा यस्ता ससाना कुराहरूले पनि विश्वव्यापी रूपले चर्चा लिँदै जान्छ । अनि त्यसरी पाउँदै गएको चर्चालाई मिडियामा झन् तदारुकताका साथ फुकिन्छ र अन्ततः त्यो विश्वप्रसिद्ध हुन्छ । साधारणतया योगा गर्ने पिप्पाको शरीर वास्तवमा विशेष नभईकन नै अब उनी त्यही मिडियाकै प्रचारप्रसारले गर्दा सुडोल नितम्ब भएकी सुन्दरी भनेर चिनिनेछिन् र त्यही नितम्बलाई आधार बनाएर अबका दिनहरूमा नितम्बहरूको सुन्दरताको बखान गरिने पक्का छ । प्रश्न उठ्छ, वास्तवमा, सुन्दरताको कसीचाहिँ के हो त ?
– लण्डनबाट प्रकाश के.सी.