राष्ट्रिय इज्जतको कुरा -बबिता बस्नेत

राष्ट्रिय इज्जतको कुरा -बबिता बस्नेत


वैदेशिक यात्राका क्रममा रातो पासपोर्ट देखाउनुलाई सहज र गौरव महसुस गर्नुपर्नेमा रातो पासपोर्ट दुरुपयोगका घटनाले कूटनीतिक पासपोर्ट बोकेर यात्रा गर्नेहरूलाई शङ्कास्पद त बनाइदिएको छ । अरू पासपोर्टमा सामान्य प्रक्रिया मात्रै पूरा गरिए पनि रातो पासपोर्टका सवालमा अन्तर्राष्ट्रिय अध्यागमनहरू अब निकै गम्भीर बन्नुपर्नेछ । इन्टरनेटमार्फत नेपालको रातो पासपार्ट दुरुपयोगको कथा विश्वव्यापी बनेपछि अध्यागमनहरूले त्यसमा गम्भीरता अपनाउनु स्वाभाविकै पनि हो । सर्वसाधारणका लागि खासै फरक नपरे पनि राज्यका वरिष्ठ व्यक्तित्वहरूका निम्ति यसप्रकारका घटनाले हीनताबोध गराउने छन् । नयाँ नेपालका सभासद्हरूले आफ्नो पदले पाएको सुविधाको मर्यादा नराखिदिँदा अब धेरैले नेपाली नागरिक हुनुको ‘ह्युमिलिएसन’ अन्तर्राष्ट्रिय एयरपोर्टहरूमा भोग्नुपर्नेछ । त्यसो त, अन्तर्राष्ट्रिय अध्यागमनहरूमा नेपाली पासपोर्टको त्यत्रो इज्जत नै कहाँ थियो र ? सँगै यात्रा गरेका विकसित मुलुकका साथीहरूले ट्रान्जिटका क्रममा कतिपय मुलुकमा प्रवेश पाएर घुमफिर गर्न निस्किँदा गरिब राष्ट्रको नागरिक भएकै कारणले नेपाली पासपोर्टले त्यस्ता ठाउँहरूमा प्रवेश नपाएका अनुभव यात्रा गर्नेहरू धेरैको छ । समग्र राष्ट्रको उन्नति र प्रगति नभई व्यक्ति मात्र जतिसुकै बनिए पनि केही अर्थ राख्दैन भन्ने कुरा यस्ता कुराहरूले प्रमाणित गर्छन् । विकसित मुलुकमा पनि कति मानिस गरिब छन्, कति मानिस खराब नियतका छन्, ती जे-जस्ता भए पनि सहजै विभिन्न मुलुकमा प्रवेश पाउँछन् तर गरिब र बद्नाम मुलुकमा जतिसुकै राम्रा मानिस भए पनि त्यसले केही अर्थ राख्दैन । विभिन्न देशको यात्राका क्रममा त्यसै पनि अनेक प्रकारका हीनताबोध खप्नुपर्ने नेपालीलाई अहिले सभासद्हरूले गरेको कूटनीतिक पासपोर्ट दुरुपयोग काण्डले झनै शिर निचो बनाइदिएको छ ।
संविधानसभाको अवधारणा आफैंमा राम्रो कुरा भए पनि यसबीचमा हामीकहाँ भएका अभ्यासहरूले संविधानसभा भनेको यस्तै रहेछ भन्ने नकारात्मक छाप जनमानसमा परेको छ । विशेषगरी विभिन्न दलसँग सम्बद्ध सभासद्का क्रियाकलापका कारण संविधानसभा स्वयम् बद्नाम हुन पुगेको हो । समानुपातिक प्रतिनिधित्वका नाममा त्यतिबेला जो पायो त्यसैलाई सभासद् बनाउँदा यो समस्या आएको हो । राजनीतिक ठाउँहरूमा राजनीतिक संस्कृति भएको मानिस जरुरी हुन्छ । ‘पोलिटिकल कल्चर’सँग अनभिज्ञ, आफू बाँच्नका लागि सङ्घर्षरत तर कहिल्यै सार्वजनिक हितका निम्ति काम नगरेका, सरकार, राज्य, राजनीतिजस्ता कुराहरू नबुझेका, अरू त अरू आफू कुन तहमा मनोनीत भएँ भन्ने कुराको सम्म जानकारी नभएका मानिसलाई जसरी एकैपल्ट सभासद्जस्तो पदमा ल्याइयो त्यसले पदको गरिमालाई एकैपल्ट धेरै तल झारिदियो । शारदा नेपालीको रवैया होस् या गायत्री साह र बीपी यादवको दुस्साहस अरू केही नभएर बोकाको मुखमा कुभिण्डो नै हो । अरू पनि यस्ता धेरै उदाहरण छन्, जसले आफ्नो पदको गरिमालाई बुझ्नै सकेका छैनन् । विशेषगरी तराईका सभासद्हरू विभिन्न मुद्दाहरूमा मुछिएका छन्, कसैले आफू जिल्ला जाँदा मान-सम्मान नपाएको भन्दै प्रहरीलाई गाली गरे त कसैले गाडी सुविधा नपाएको भन्दै सीडीओलाई कुटे । अहिले पासपोर्ट दुरुपयोगमा अन्य केही सभासद्हरूको पनि नाम चर्चामा छ, तीमध्ये धेरै मधेसी समुदायका छन् । यसमा मधेसी, पहाडी, महिला, पुरुष या यस्तै केहीभन्दा पनि आफूले सोचेभन्दा या धान्न सक्नेभन्दा बढीको पदका कारण यी घटना भएका हुन् । उनीहरू सभासद्मा चुनिएदेखि नै आफूले जे गर्न पनि हुने र यो देशको सबैभन्दा ठूला मान्छे हामी नै हौँ भन्ने भ्रममा परे । उनीहरूले आफ्नो जीवनमा क्रमशः खुट्किलाहरू उक्लँदै जाँदा पाएको पद र प्रतिष्ठा भए अवश्य पनि यस्तो हुने थिएन । कति सभासद्लाई तीन वर्ष कार्यकाल बितिसक्दासम्म आफ्नो काम, कर्तव्य र अधिकार के हो भन्ने थाहा छैन । हरेक ठाउँमा जाँदा पैसा पाइन्छ र पाउनुपर्छ भन्ने मान्यता राख्नेहरूको सङ्ख्या ठूलो छ । संविधानसभाबाट आफूले प्राप्त गर्दै आएको तलब-भत्ताबाहेक कुनै कार्यक्रममा जाँदा र बोल्दा पैसाको माग गर्ने सभासद्हरूको सङ्ख्या ठूलै छ । त्यसो त, यसबीचमा केही गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले त्यस्तै गरे पनि । सभासद्लाई कार्यक्रममा बोलाउने, भाडाबापतको भन्दै पैसा दिने जुन संस्कृति बस्यो त्यसले स्वयम् सभासद् र कार्यक्रममा बोलाउँदा पैसा दिन नसक्ने आयोजकहरूलाई निकै अप्ठ्यारोमा पार्‍यो । कतिपय सभासद् र विभिन्न समितिका सभापतिलगायतले त मुखै खोलेर भने कि तपाईंहरूको कार्यक्रममा पैसा छ कि छैन ? छैन भन्ने जवाफपछि उनीहरूको भनाइ हुन्थ्यो, खै मलाई त फर्ुसद नै छैन । कुन उद्देश्यले, केका लागि आफूलाई बोलाइएको हो भनेर तिनले वास्ता गरेनन्, उनीहरूको ध्यान केवल पैसामा केन्द्रित रह्यो । आवासीय कार्यक्रमहरूमा मादक पदार्थ नराख्दा यस्तो सुक्खा कार्यक्रममा हामीलाई यति टाढासम्म बोलाउने भनेर सभासद् रिसाएका अनुभव त धेरै सङ्घ-संस्थाका प्रतिनिधिहरूसँग छ । सबै सभासद् उस्तै छैनन् तर जतिले यसप्रकारको रवैया देखाए त्यसले सभासद्को नाम नै बद्नाम गरिदियो ।
अहिले कसैले आफूलाई सभासद् भनेर परिचय दियो भने लाजमर्दो अवस्था आउनुमा सभासद्बाहेक अरूको भूमिका छैन । पासपोर्ट दुरुपयोग, बहुविवाह, भ्रष्टाचार, कुटपिट, झैझगडालगायतका क्रियाकलापमा सभासद्हरूको संलग्नताले मात्रै नभएर समयमा संविधान निर्माण गर्न नसक्नु उनीहरूको बद्नामीको थप कारण बन्न पुग्यो । संविधानसभाका सन्दर्भमा हामीकहाँ पहिलो गल्ती सभासद्को सङ्ख्याबाटै भएको थियो । यति सानो देशमा ६०१ को सङ्ख्याका सभासद्हरूको आवश्यकता नै थिएन । थोरै सङ्ख्याको चुस्त, विषयवस्तु र राष्ट्रको संवेदनशील घडीलाई बुझ्न सक्ने क्षमतायुक्त व्यक्तिहरू सम्मिलित संविधानसभाको गठन हुन सकेको भए सभासद्हरूकै कारण राज्यले यसप्रकारको बेइज्जती खप्नुपर्ने थिएन । झैझगडा, कुटपिट, सुविधामा हारालुछजस्ता कुराहरू राष्ट्रभित्र मात्रै सीमित रहे पनि कूटनीतिक पासपोर्टको दुरुपयोग राज्यलाई नै लज्जित बनाउने कुरा हो । देशका नीति-निर्माता, संविधान निर्माता सभासद् त त्यो स्तरमा झर्न सक्छन् भने अरू जनता कस्ता होलान् भन्ने सन्देश अन्तर्राष्ट्रिय जगत्मा फैलन्छ, फैलिएको छ । उदाहरणका लागि हामी नाइजेरियाका नागरिकको अन्तर्राष्ट्रिय भ्रमणलाई लिन सक्छौँ, नाइजेरियामा कति मानिस इमानदार होलान्, कति सकारातमक सोच र प्रवृत्ति भएका होलान्, धनीहरूको सङ्ख्या पनि नभएको होइन तर हरेक अध्यागमनमा त्यहाँका नागरिकहरूले अन्य देशका नागरिकले भन्दा बढी नै दुःख पाउँछन् । त्यहाँका जनता सबै नै लागूपदार्थ ओसारपसारमा कहाँ संलग्न छन् र ? तर केही मानिसका कारण देश नै बद्नाम छ, घन्टौंसम्म एयरपोर्टमा उनीहरूको जाँच गरिन्छ, उनीहरूको राष्ट्रियता -पासपोर्ट) नै त्यहाँ शङ्काको कारण बन्छ । हामी पनि यसैगरी बद्नाम हुँदै छौँ, केही सभासद्का कारण आफूले नगरेको अपराधको सजायको भागीदार सबै नेपाली बन्दै छन् । अझै संविधानसभाको म्याद थप्ने हो भने यो देशको बद्नामीको उचाइ कहाँ पुग्ला ?