नुवाकोट प्रहरीले दशैँको समयमा ट्राफिक नियम उल्लंघन गरेका सवारीसाधनलाई कारबाही गर्न जिल्लाको १६ स्थानमा जाँचस्थल स्थापना गरेको छ ।
विभिन्न ठाउँमा जाँचस्थल कायम गरी जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवर, जिल्ला ट्राफिक प्रहरी प्रमुख शम्भुबहादुर अधिकारीसहितको टोली सवारी जाँचमा खटिएको छ ।
चाडपर्वको अवसरमा धेरै यात्रु राखेर ओहोरदोहोर गराउने र तीव्रगतिमा चलाउने प्रवृत्तिले दुर्घटना भएको भन्दै नियन्त्रणका लागि सवारी जाँच तथा कारबाहीका लागि मुख्य–मुख्य सडक खण्डमा ट्राफिक जाँचस्थल राखिएको प्रहरीले जनाएको छ ।
विदुर नगरपालिका– १० स्थित ढुंगे–बेत्रावती सडकखण्डमा बसेका प्रहरी प्रमुख कुँवरका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने सवारी दैनिक ५० भन्दा बढी रहेका छन् । ती सवारीलाई कारबाही गरी पछिल्लो समयमा दैनिक एकै स्थानबाट रु. ५० हजारको हाराहारीमा राजस्वसमेत संकलन भएको छ ।
दशैँ सुरु भएपछि दैनिक तीन सयभन्दा बढी सवारी कारबाहीको दायरामा आइसकेका छन् । ती सवारीबाट रु एक लाख ५० हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख अधिकारीले जानकारी दिए । नुवाकोट प्रहरीले जिल्लाको फूलबारी, छहरे, ठूलोखोला, बागेश्वरी, बाउनबेँसी, सिक्रे, ढिकुरे, कोलनी, इन्द्रचोक, पीपलटार, रानीपौवा, कोल्पुटार, ढुंगे, ओखरपौवा, गुज्रेलगायतका स्थानमा सवारी जाँच तथा ट्राफिक नियम पालन गराउन सचेतना कक्ष चलाउँदै आएको छ ।
जाँचस्थलमा बसेका प्रहरीले सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु नराख्न र नचढ्न आग्रह गरेका छन् । छतमा बस्न नदिने, तोकिएको शुल्कभन्दा बढी भाडा लिएमा फिर्ता गराउने, पशु चौपायालाई छत र डिकीमा राखेर ओहोरदोहोर गराउन रोक लगाएको छ । विशेष अभियानका रूपमा यो कार्य दशैँ अवधिभर कायम रहने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया