पर्यटकलाई गैँडाको आक्रमणबाट बचाउँदा…

पर्यटकलाई गैँडाको आक्रमणबाट बचाउँदा…


चितवन सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी शिरलाल परियार आफ्नो ज्यानको बाजी थापेर गैँडाको आक्रमणबाट पर्यटकलाई बचाउन सफल भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा घुम्न गएका पर्यटकलाई बचाउने क्रममा गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका परियारको अहिले काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । वन र वन्यजन्तुको संरक्षण सँगसँगै पर्यटकलाई निकुञ्ज घुमाएर वन्यजन्तु अवलोकन गराउनु उनको दशकौंदेखिको दैनिकी थियो । सौराहाको होटेल पार्क साइडका सञ्चालक परियार चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि पथ प्रदर्शकसमेत हुन् ।

गएको शुक्रबार निकुञ्जमा अस्ट्रेलियाका ११ जना पर्यटकलाई घुमाउन लैजाने क्रममा नसोचेको परिणाम उनले भोग्नुप¥यो । एक्कासि भेटिएको बच्चासहितको गैँडा पर्यटकलाई आक्रमण गर्न आयो । परियारले आफ्नो ज्यानको बाजी थापेर पर्यटकलाई सकुशल फिर्ता गरे । तर, पर्यटकलाई जोगाउँदा उनी आफू भने घाइते भएका छन् ।

गैँडासँग कसरी बच्ने भन्ने कला उनीसँग थियो । यसपटक धेरै पर्यटक भएकाले उनीहरूलाई बचाउनकै लागि गैँडासँग संघर्ष गर्नुप¥यो । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत परियारले भने, ‘बच्चासहितको गैँडाबाट बच्न मुस्किल पर्छ, तर यसपालि पर्यटक बचाएर आफू पनि बाँच्न सफल भएँ, यो मेरो नयाँ जीवन हो ।’

बच्चा देखेपछि आक्रामक हुँदै गैँडा आयो । अब पर्यटकलाई मार्ने भयो भनेर उनले विभिन्न उपायसहित भुइँमा लठ्ठी बजारे । तर, गैँडा रोकिएन । रुखमा छेलिएर गैँडालाई धपाउन लाग्दा आफैँ झाडीमा अल्झिएर लडेपछि गैँडाले आक्रमण गरेको परियार सम्झन्छन् । गैँडाले परियारको पिँडुला टोकेर गम्भीर घाइते बनाएको छ ।

छातीमा हान्यो भने एकैचोटि ज्यान जान्छ भनेर एक्कासि घोप्टो परेपछि अरू दुई पथ प्रदर्शकको सहयोगमा गैँडाबाट बच्न सफल भएको उनको भनाइ छ । बच्चासहितको कुनै पनि जनावर देखिएमा सतर्क हुनुपर्ने उनी बताउँछन् । तिघ्रापछाडि सिङ्ले हानेको छ । चितवनको भरतपुर अस्पतालमा शल्यक्रिया गरिए पनि घाउमा संक्रमण भएपछि उनलाई आइतबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो । संक्रमण भएको सबै मासु निकालिएको र दुई दिनपछि पुनः शल्यक्रिया गर्ने तयारी गरिएको पत्नी सुशीला चौधरीले जानकारी दिइन् ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट जनधनको क्षति हुने गरेको छ । गैँडा, बाघ, चितुवा, भालु, हात्तीले बढी आक्रमण गर्छ ।

रासस