तीन दिनमै सकिए संस्थानका खसीबोका !

तीन दिनमै सकिए संस्थानका खसीबोका !


सरकारले दशैँका अवसरमा उपत्यकामा बिक्री गर्न ल्याएको ३०७ वटै खसीबोका बिक्री भएको छ ।

नेपाल खाद्य संस्थानले मकवानपुरबाट ३०७ वटा खसीबोका खरिद गरेर ल्याएको थियो । दाङलगायत पश्चिमी जिल्लाबाट करिब हजार खसीबोका खरिद गर्ने लक्ष्य राखिए पनि संस्थानले पश्चिमी क्षेत्रबाट खसीबोका खरिद गर्न नसकेपछि मकवानपुरबाट ल्याएको हो । निजी क्षेत्रका व्यापारीले कृषकलाई उच्च मूल्य दिएका कारण लक्ष्यअनुसारको खसीबोका खरिद गर्न नसकिएको संस्थानका प्रवक्ता शंकरप्रसाद सापकोटाले जानकारी दिए । संस्थानले आज बिहानसम्म ६५० च्यांग्रा बिक्री गरिसकेको छ । मुस्ताङबाट ९२० च्यांग्रा खरिद गरी ल्याइएको थियो ।

खसीबोका प्रतिकिलो रु. ५०० र च्यांग्रा प्रतिकिलो रु. ७०० मा बिक्री–वितरण गरिएको संस्थानले जनाएको छ । थापाथलीस्थित संस्थानको धान गोदामबाट ती खासीबोका, च्यांग्रा सर्वसाधारणका लागि बिक्री गरिएको थियो । यसअघिका वर्षमा खसीबोका तथा च्यांग्रा बिरामी परेर संस्थानलाई नोक्सान हुने गरे पनि यसपटक भने कुनै पनि चौपाया बिरामी नपरेको प्रवक्ता सापकोटाले बताए ।

संस्थानले मुस्ताङबाट च्यांग्रा प्रतिकिलो रु. ५२५ र मकवानपुरबाट खसीबोका प्रतिकिलो ४३० मा खरिद गरेर ल्याएको थियो । मंगलबार साँझसम्म च्यांग्रा बिक्री गरेर सक्ने लक्ष्य संस्थानको छ । बाँकी च्यांग्रा बिक्री गरेपछि मात्र आर्थिक कारोबारको तथ्यांक सार्वजनिक गरिने संस्थानले जनाएको छ । संस्थानले गत शुक्रबारदेखि खसीबोका तथा च्यांग्राको बिक्री शुरु गरेको थियो ।

निजी क्षेत्रका व्यापारीको एकाधिकार तोड्न सरकारले वर्षेनी संस्थानमार्फत खसीबोका तथा च्यांग्रा खरिद गरी बिक्री–वितरण गर्ने गरेको छ । बजारमा सरकारको उपस्थिति नहुँदा निजी क्षेत्रका व्यापारीले चाडपर्वको मौकाछोपी उपभोक्तालाई चर्को मूल्यमा खसीबोका तथा च्यांग्रा बिक्री–वितरण गर्दै आएको पाइन्छ ।

संस्थानको खसीबोका सकिएपछि निजी क्षेत्रका व्यापारीबाट उपभोक्ता ठगिनु नपरोस् भन्ने उद्देश्यले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खसी बजारको अनुगमनालाई तीव्रता दिएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले अस्वाभाविक मूल्य राखेर खसीबोका बिक्री गरेको पाइए व्यापारीलाई कडा कारबाही हुने बताए ।