डिग्रीहोल्डर आयाको खोजीमा जोली -नवीन उप्रेती

डिग्रीहोल्डर आयाको खोजीमा जोली -नवीन उप्रेती


डिग्री पास गर्नुका साथै अङ्ग्रेजीबाहेक कम्तीमा पनि दुई भाषाको ज्ञान भएको व्यक्तिले कस्तो रोजगारीको खोजी गर्छ ? निश्चय पनि उसले राम्रै कम्पनीमा सकभर उच्च ओहदाकै कामको आश गर्छ । तर, उल्लेखित योग्यता भएको व्यक्ति आफ्ना बच्चाहरूको स्याहारसुसार गर्नका लागि दरखास्त आह्वान गरेका छन् हलिवुड स्टारदम्पती ब्रैड पिट र एन्जेलोना जोलीले । त्यत्तिका पढेर कसले अर्काको बच्चा स्याहार्ने काम गरिरहोस् भन्ने लाग्न सक्छ, तर त्यस्तो नसोच्नुहोस् । त्यस काम गरेबापत उनीहरूले चानचुन होइन ठ्याम्मै डेढ लाख डलर पारिश्रमिक दिने घोषणा गरेका छन् । उनीहरूको बच्चा स्याहार्न तयार हुने व्यक्तिले क्यालिफोरि्नया, न्यू ओरलियन्स र फ्रान्समा गएर काम गर्नुपर्नेछ । अक्सर फिल्म सुटिङका दौरानमा एन्जेलोना-जोडीले ती स्थानको यात्रा गरिरहनुपर्ने भएकोले उनीहरूले पूर्णकालिक कामका निम्ति शिक्षित आयाको खोजी गरेका हुन् । स्मरण रहोस्, आफ्नै कोखबाट जन्मिएकाबाहेक पनि केही बच्चा जोलीले धर्मसन्तानका रूपमा अपनाएकी छिन् ।

गेमको नशाले बालकको प्राण हुरुक्कै
ताइवाननिवासी एक युवा जोडीको घरमा एक दूधेबच्चाको लास रहेको खबर पाएर प्रहरीले छापा मार्‍यो । छापा मार्ने क्रममा प्रहरीले साँच्चै एक मृत बच्चा फेला पार्‍यो जसको आँखा धसिएको र उमेरअनुसार हुनुपर्नेभन्दा झन्डै आधा -जम्मा ४ किलोग्राम) मात्र तौल बाँकी थियो । छाला र हड्डीको ढाँचामा रहेको सो बालकको लासनजिकै टेबलमा एक कम्प्युटर खुलै थियो भने अनलाइन गेमको एउटा वेबसाइट पनि खुलेकै अवस्थामा थियो । तर बाबुआमा बेपत्ता थिए । यी सबै विवरणका आधारमा छानबिन गरेपछि ताइवानी प्रहरी रोचक तथा दु:खद् निष्कर्षमा पुग्यो कि बच्चाका बाबुआमालाई कम्प्युटरमा अनलाइन गेम खेल्ने लतले यसरी गाँजेको रहेछ कि उनीहरूले कम्प्युटरमा लिप्त रहँदा बच्चालाई दूध खुवाउन नै भुलेछन् । जब भोकले तड्पिएर बच्चा मरेको थाहा पाए, डरले उनीहरू त्यहाँबाट भागे ।

बिल बचाउने कि क्यान्सर निम्त्याउने ?
बिजुलीको खपत कम गर्ने सिएफएल चिमको प्रयोग गर्ने चलन यतिबेला निकै बढेर गएको छ । तर, बिजुलीको बिल केही कम गर्नका लागि यस्ता चिम प्रयोग गर्नुअघि सोच्नुपर्ने अवस्था पैदा भएको छ ।र्
जर्मनका वैज्ञानिकहरूले हालै एक अध्ययन सम्पन्न गरेपछि गरेको दाबीअनुसार यस्ता चिमबाट क्यान्सर फैलाउने रसायन उत्पन्न हुन्छ । वैज्ञानिकहरूले यसमा सख्त चेतावनी दिएका छन् कि चिम बाल्दा कुनै पनि व्यक्तिले आफ्नो शिर बल्बनजिक नलगोस् । विषालु तत्त्व पैदा हुने हुनाले धेरै समय लगातार यस्तो चिम बालेर नछोड्न, वयस्क व्यक्तिले राति अध्ययन गर्दा यो चिम प्रयोग नगर्न र बच्चाको कोठामा पूरा रात बालेर नछोड्न पनि अध्ययनकर्ताहरूले चेतावनी दिएका छन् ।

गोली खाँदा गुलेलीको अनुभव गरेपछि…
२३ वर्षअघि अर्थात् सन् १९८८ मा चीनको हर्ेबई प्रान्तनिवासी वाङ तियानचिङले यस्तो अनुभूति गरे कि कसैले आफूलाई पछाडितिरबाट टाउको ताकेर गुलेलीले प्रहार गर्‍यो । यो सोच्दासोच्दै उनी त्यहीँ बेहोस् भए । उनको होस अस्पतालमा मात्रै खुल्यो । डाक्टरले उनलाई सुन्निएको ठीक हुने र दुखाइ कम गर्ने औषधि दिएर घर पठाइदिए । तर, त्यसपछि वाङलाई बेलाबेला त्यत्तिकै बेहोस हुने व्यथाले च्याप्यो । यो क्रमले पछि आएर उग्र रूप लियो । अति भएपछि हालै उनी बेहोस हुने व्यथाको उपचार्रार्थ अस्पताल भर्ना भए । उनको टाउकोको स्क्यानिङ गरेर हेर्दा बल्ल पत्ता लाग्यो- २३ वर्षअघि कसैले उनलाई गुलेली होइन गोली नै मारेको रहेछ । २३ वर्षसम्म टाउकोभित्र गोली बोकेर बाँचेका वाङको अपरेसन गरी गोली निकालिएको छ र यतिबेला उनी स्वस्थ रहेका छन् ।

आँखैमा अटाउने कम्प्युटर
वैज्ञानिकहरूले संसारकै सबैभन्दा सानो कम्प्युटर निर्माण गरेको दाबी गरेका छन् । मिसिगन विश्वविद्यालयको एक वैज्ञानिक समूहले दाबी गरेअनुसार उनीहरूले तयार गरेको कम्प्युटरको आकार मात्र एक वर्गमिलिमिटर छ जसलाई आँखाको पुतलीमा पनि प्रत्यारोपित गर्न सकिन्छ । यस नयाँ उपकरणलाई आँखा उपचारकै लागि उपयोग गरिने पनि उनीहरूले बताएका छन् । हेर्नमा अत्यन्त सानो भए पनि यो कम्प्युटरमा मेमोरी, प्रेसर सेन्सर र एक पातलो ब्याट्रीसमेत केही अन्य उपकरणहरू रहेका छन् । यसमा सोलर सेल, वायरलेस रेडियो र एउटा एन्टेनासमेत जडान गरिएको छ जसको सहायताबाट बाहिर रिडर उपकरणलाई सूचना पठाउन सकिने वैज्ञानिकहरूले बताएका छन् ।