-शोभाकर पराजुली
भारतको पश्चिम बंगालमा ३४ वर्षदेखि अविच्छिन्न शासन गरिआएको कम्युनिस्ट सरकारको अन्त्य भएको छ । यो परिणामबाट खुसी या दु:खी हुनेहरू प्रसस्त छन् । विश्वको इतिहासमा कुनै पनि राज्यमा लोकतन्त्रको माध्यमद्वारा यति लामो समयसम्म कम्युनिस्ट पार्टीको शासन भएको पहिलो नै थियो । त्यो इतिहासको अन्त्य भएको छ । अर्थात्, बंगालको दारि्जलिङ क्षेत्र पहिलादेखि नै कम्युनिस्टहरूको पकड भएको क्षेत्र थियो र त्यो अब कम्युनिस्टहरूको हातबाट गुमेको छ । यसको असर र यसबाट लिनुपर्ने शिक्षाका सम्बन्धमा विभिन्न कोणहरूबाट कुराहरू आएका छन् ।
यो अवस्थाले नेपाललाई के असर गर्दछ भन्ने सवाल सान्दरि्भक ठानिएको छ । नेपालसँग जोडिएको प्रान्त भएकोले मात्र होइन नेपालीभाषीहरूको क्षेत्रसमेत भएकोले त्यहाँको बदलावले नेपालीलाई केही शिक्षा र केही सोच्नुपर्ने अवस्थामा पुर्याउन सक्छ । यसको अर्थ कम्युनिस्टहरूले आफ्ना कमजोरी केलाउने र ठीक किसिमले ठीक नीतिको पक्षमा लाग्नुपर्छ भनी सोच्नु नै प्रमुख हो । कम्युनिस्ट साथीहरूको उत्साहमा यो परिणामले अवश्य पनि ठेस पुग्छ । तर, यसलाई गल्ती केलाउने अवसरको रूपमा लिन सकियो भने कम्युनिस्टसँग काङ्ग्रेससमेतका शक्तिहरू मिलेर देशको आर्थिक नक्सा बदल्न सकिन्छ र जनतालाई सम्पन्न बनाउन सकिन्छ । सत्ता र सरकार नै सबै कुरा होइन, जनताको हितको संरक्षण महत्त्वपूर्ण हो भन्ने ठम्याइ आजको आवश्यकता हो । यो अवस्थाको सुरुवातले हामीलाई सम्पन्न र सुखी पनि बनाउनेछ । हामी छिमेकीका गल्तीहरूबाट सिकेर सुरुवाटै उचित दिशामा जान सफल भयौँ भने यसको फाइदा अरूलाई भन्दा हामीलाई नै हुन्छ ।
भारतमा त्रिपुरा, केरला र पश्चिम बंगाल कम्युनिस्टहरूको राम्रो पोजिसन रहेका प्रान्तमा गनिने गरेका थिए । अहिले तीनवटै प्रान्तबाट कम्युनिस्टहरूले हात धुनुपरेको छ । त्रिपुरा र केरलामा लामो समयसम्म कम्युनिस्टहरूको एकछत्र सरकार नभएकोले कम्युनिस्टहरूको बारेमा लामो समयसम्म सरकारमा रहेको पश्चिम बंगालको आधारमा विश्लेषण गर्नु बढी उचित हुन सक्छ । हुन त मानसिक रूपमा कमजोरहरू तथा अपेक्षाकृत डरपोकहरू बन्दुक र त्रासको नीतिमा विश्वास गर्छन् पनि भन्ने गरिन्छ । अरूलाई निषेध गरेपछि तथा खुकुरी र बन्दुक आफ्नो हातमा भएपछि बल प्राप्त भएको अनुभूति उनीहरूलाई हुन्छ पनि भनिन्छ । तर, आरोपमात्र लगाएर समस्याको समाधान नहुने भएकोले कम्युनिस्टहरूलाई गाली गरेर लोकतन्त्रवादीहरूलाई भ्रष्टाचार र बेइमानी गर्ने लाइसेन्स मिल्नुपर्छ भन्ने मान्यतामा कोही छ भने त्यो देशघाती हो ।
अब कम्युनिस्ट र लोकतन्त्रवादी दुवैले आफ्ना कमजोरी पहिचान गरेर गल्तीका कारणहरू सैद्धान्तिक भए सैद्धान्तिक र व्यावहारिक भए व्यावहरिक रूपमा नै सच्याउन तयार हुनुपर्छ । माओवादीहिंसाको सुरुवात लोकतन्त्रवादीहरूलाई आफ्ना कमजोरी सच्याउने अवसर हुनुपर्ने थियो र कम्युनिस्टहरूको साख खस्केका तथा पतन भएका रुस तथा बंगालसमेतका देशहरूको उदाहरणले राम्रो गर्ने सोच नेपालका कम्युनिस्टहरूले पनि लिनुपर्छ । हामी कम्युनिस्ट र काङ्ग्रेसभन्दा पनि जनताको अधिकार, विकास, शान्ति र समानताका पक्षधर हौँ भन्ने सोच्नसक्नु आजको आवश्यकता हो ।
पश्चिम बंगालमा ३४ वर्ष पहिला काङ्ग्रेसको सरकार हुँदा त्यो प्रान्त भारतको सबैभन्दा धनी प्रान्त थियो । कम्युनिस्टहरूले शासन गरेर अरू दललाई सरकार बुझाउँदा यो प्रान्त भारतको सबैभन्दा गरिब प्रान्त हुन पुगेको छ । यसले कम्युनिस्ट भनेको मीठा भाषण गर्ने र जनतालाई दु:ख नै बाँड्ने तर नेताहरू धनी बन्ने, शक्ति, प्रवृत्ति र सिद्धान्त हो भन्ने देखिएको छ । बंगालका धेरै ठूला उद्योगहरू कम्युनिस्ट नेताहरूका हातमा छन् । गरिबी र असमानता दिँदा र बन्दुक पूर्ण रूपमा प्रयोग गर्न नपाउंदा पनि बंगालमा किन र कसरी कम्युनिस्टहरूले सरकार चलाउन सकेका हुन् भनी पङ्क्तिकारले विगतदेखि नै उठाउँदै आएको सवाल हो । त्यसको विश्लेषण हुनुपर्छ भन्ने पङ्क्तिकारको आवाज थियो । ढिलै भए पनि जनताले जनार्दनको काम गरे । उनीहरूले केही जनतालाई सधैं झुक्याउन सकिन्छ र सबैलाई केही समय झुक्याउन सकिन्छ, तर सबैलाई सधैं झुक्याउन सकिँदैन भन्ने सन्देश दिएका छन् ।
अझ पनि यो दु:खी या खुसी बन्ने विषयभन्दा माथि रहेर सोच्ने र विश्लेषण गर्ने अवसर हो । कम्युनिस्ट विचारमा त्यस्तो के खुवी थियो र छ जसले जनतालाई अपेक्षाकृत राम्रो दिन नसकेर पनि सरकारमा रहने क्षमता राख्दछ ? त्यसभन्दा अगाडि बढेर विश्वमा साम्यवाद आइसक्न लाग्यो भनिएको देश जहाँ अन्य दलहरू प्रतिबन्धित थिए, अर्थात् रुस, त्यहाँ साम्यवादी व्यवस्थामा नै जन्मेर दीक्षित भएका गोर्भाचोभले त्यो व्यवस्थाको नै अन्त्य गरे । उनले सत्ता, पद, सुख, शान आदिलाई छोडेर लोकतन्त्र दिएर आफू साधारण मानिस बन्न तयार भए । उनले अरूका लागि जासुसी गरेका थिए भन्ने हो भने पनि कम्युनिस्ट दीक्षा यति कमजोर रहेछ कि जहाँ राज्य नै लाग्दा पनि बचाउन नसकिने भन्ने सवाल उठ्छ । त्यस्तै लोकतान्त्रिक परिपाटी कस्तो रहेछ जसले कम्युनिस्टहरूलाई सङ्गठित हुन दिएर पनि आफू बलियो भइरहने ? रुसमा ती सेना, गुप्तचरहरू, प्रशासकहरू, कम्युनिस्ट नेताहरू र कार्यकर्ताहरू एक भएको भए गोर्भाचोभको के लाग्ने थियो ? कि सबैलाई अमेरिकाले किन्यो ? किनिने कस्ता ? महान् भनिएको शिक्षाको हैसियत कस्तो ? यी विषयमा घोत्लिने हो भने धेरै महत्त्वपूर्ण जवाफ हातलाग्न सक्छन् ।
भारतमा कम्युनिस्टहरूको हारको मुख्य कारण उनीहरूको काम र व्यवहारको सिद्धान्तसँग तादम्यता नहुनु पनि हो । थोरै भए पनि उग्र कम्युनिस्टहरूको हिंसाले गर्दा जनतालाई कम्युनिस्ट विचारप्रति नै वितृष्णा आएको हुन सक्दछ । जनताले कम्युनिस्ट भनेको अन्ततोगत्वा मानिस मार्ने र आफ्नो लक्ष्यका लागि जनतालाई बलि चढाउने र विकासलाई तहसनहस पार्ने शक्ति हो भन्ने सोचेकै हुनुपर्छ ।
कम्युनवादी सोच र सर्वसत्तावाद, लोकतन्त्र र कम्युनवादी विचार, जनहित र सिद्धान्तको परीक्षणजस्ता विषयमा हामीले निष्पक्ष र एक भएर बहस गर्ने बेला आएको छ । यसलाई उपयोग गरेर गल्तीबाट सिक्दै जनताको हितमा सिद्धान्तलाई पारख गर्ने वातावरणको सिर्जना गर्न सकौँ । हामी सबै नेपाली हौँ र सिद्धान्त नै बेइमानी गर्दछु भनेर कसैले पनि लिएको हुँदैन । तर, व्यवहार र परिस्थितिले सिद्धान्त र लक्ष्यलाई कसी लगाउने कार्य गर्दछ । यो नै हामीहरूको लक्ष्यको आधार र पृष्टभूमि हुनुपर्छ ।
पश्चिम बंगालमा मेरा एक छिमेकी जागिर गर्छन् । उनले मलाई केही वर्ष पहिला भनेका थिए । नेपालीका लागि बंगाल ठीक छ । किनभने त्यहाँ उद्योगीहरूले हामीलाई रुचाउँछन् । हामी सङ्गठन नगर्ने, हड्ताल नगर्ने भएकोले र त्यहाँको अरू बाहिरी कुरासँग मतलब नगर्ने भएकोले उनीहरू हामीलाई रुचाउँछन् । बंगाली मजदुरहरू भने हामीहरूलाई त्यति रुचाउँदैनन् । नेपालमा पनि विदेशीलाई मजदुरमा राख्न रुचाउने गरेको पाइन्छ । मजदुरको हितको नाममा गरिने भनिएको कार्यले मजदुरलाई नै घाटा हुने र उद्योग धराशयी हुने तथा नकारात्मक असर बढ्ने कार्यले मजदुरको हित हुँदैन । यो बंगालका मजदुरहरूले बुझे र हामीले पनि बुझ्नुपर्छ । काङ्ग्रेस, कम्युनिस्ट वा अरू केही नभनी सत्य र जनहितका लागि उदाहरणहरूलाई अवसरको रूपमा प्रयोग गरौँ ।
यो चुनावी परिणाम संसदीय व्यवस्थाको असफलताको कारणले संसदीय व्यवस्थालाई उपयोग गरेका कम्युनिस्टप्रतिको वितृष्णा पनि होइन । किनभने, बिहारमा समेत यही व्यवस्थाको सदुपयोगबाट अहिले अत्यन्त राम्रोसँग विकास भएको छ । बरु संसदीय वा राष्ट्रपति शासन भएको लोकतन्त्रमा गल्ती देखाउन सकिने हुँदा जनताले गल्ती गर्नेहरूलाई देखाउने मात्र होइन सजायसमेत गरेर र सर्वसत्तावाद भएको साम्यवादी सत्तामा महागल्ती भएर पनि विरोध गर्न सकिएन । सत्य यो हो । यो महसुस गरेर यसबाट सिकौँ र सिकेको अवस्थामा कसैले कसैलाई लखेट्ने कार्य नगरौँ ।
प्रतिक्रिया