मान्छे हावा, पानी, खाद्यपदार्थ र समग्रमा प्रकृतिका दास हुन्, प्रकृतिको यस्तो दासत्वबाट मानिसको मुक्ति असम्भव छ । तर, प्रकृतिबाहेकको दासत्व स्वीकार गर्न मानिस कहिल्यै तयार भएनन्/हुँदैनन् । स्वतन्त्रता मानिसको चाहना हो र विशेषता पनि, तर आममानिसले स्वतन्त्रताको प्रयोग केवल आफूमा र आफ्नो हितमा मात्र सीमित गर्ने हुनाले शदीयौँअघि राज्यको स्थापनापश्चात् समाजका सबैको हित सुनिश्चित गर्ने प्रकारले स्वतन्त्रताको प्रयोग/उपयोग गर्ने व्यवस्था मिलाइएको छ । यद्यपि राज्य सञ्चालन प्रक्रियामा अगुवाइ गर्नेहरूले केही बढी अधिकारहरूको प्रयोग–उपभोग गर्ने परम्परा बसेकाले एकथरी मानिसमा राजनीतिप्रति बेग्लै प्रकारको लगाव रहेको देखिन्छ । आममानिसलाई पूर्ण रूपमा स्वतन्त्रत छोड्नु राज्य र नागरिक स्वयम्का लागि पनि खतरनाक हुनसक्ने पक्षमाथि दृष्टिगत गर्दै संसारमा समाजलाई अनुशासनमा राख्न विभिन्न पद्धतिहरू विकास गरिएका छन् । खासगरी बलको आधारमा राज्य खडा गरिने (हुने) र निश्चित नियम/कानुनहरूको तर्जुमा गरी राज्यले नागरिक समाजमा अनुशासन कायम गर्दै सबैको हित खोज्ने परम्परा विश्वमा निर्विकल्पित ढङ्गले संस्थागत भइसकेको छ । राज्य सञ्चालनको भूमिका प्राप्त गर्नेहरूको ‘क्रेज’का कारण एकथरी मानिसमा राजनीतिप्रति ठूलो मोह रहेको पाइन्छ । मानिसमा विद्यमान यस्तै चाहनाका कारण संसारमा निरङ्कुशताको प्रादुर्भाव भएको हो भन्न सकिन्छ । विश्वमा सामान्यतया तीन प्रकारका निरङ्कुशता प्रयोगमा आएको देखिन्छ । सैन्य बलका आधारमा सेनाकै मानिस निरङ्कुश शासक बन्ने र शासन गर्ने एउटा पद्धति प्रयोगमा आउने गरेको पाइन्छ भने अर्को जनताबाट निर्वाचित भई शासनसत्तामा पुग्ने र सत्तामा पुगेपछि सङ्गठन या भीडको बलमा चुनाव जित्दै शासन गरिरहने फासीवादी प्रवृत्ति देखिएको छ । साम्यवादीहरू सङ्गठन या भीडको बलमा शासनसत्ता प्राप्त गर्नु र राज्य सञ्चालन गर्नुलाई जायज या स्वाभाविक ठान्ने गर्दछन् । उल्लिखित दुवै प्रकारका निरङ्कुशतामा एक व्यक्तिको नियन्त्रण कायम गरिएको हुन्छ । व्यक्तिको नियन्त्रण कायम हुने निरङ्कुशतामा नागरिक अधिकार कुण्ठित हुने भएकोले संसारमा ‘कानुनको निरङ्कुशता’ कायम रहने व्यवस्थाको परिकल्पना गरिएको छ र विश्वका धेरै मुलुकमा व्यक्तिको नभई कानुनको निरङ्कुशतालाई स्वीकार गरिएको छ– जसलाई प्रजातन्त्र अर्थात् डिमक्रेसी भन्ने गरिन्छ । शासनमा व्यक्तिविशेषको नियन्त्रणभन्दा कानुनको नियन्त्रण उपयोगी हुने भएकोले आधुनिक विश्वमा प्रजातन्त्रलाई आमरूपमा स्वीकार गरिएको छ । प्रजातन्त्र भन्नु नै कानुनको निरङ्कुशता हो र यसलाई Rule of Law पनि भन्ने गरिन्छ । कुनै मुलुकमा प्रजातन्त्र स्थापना गरियो, तर त्यहाँ कानुनको निरङ्कुशता कायम गर्न सकिएन भने त्यस्तो प्रजातन्त्र सही मानेमा प्रजातन्त्र हुन सक्दैन । कानुनी निरङ्कुशताबिनाको प्रजातन्त्र भीडतन्त्रमा रूपान्तरित हुन्छ र त्यसलाई Mobocracy (भीडतन्त्र) भन्नुपर्ने हुन्छ ।
युरोप तथा अमेरिकामा कानुनको निरङ्कुशता बलवान भएकोले ती मुलुक स्थिर, शान्त र समृद्ध बन्न सकेका हुन् भन्ने तथ्यबारे हामी सबै अवगत छौँ । विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतले प्रजातान्त्रिक अभ्यासको सात दशक पूरा गर्नै लाग्दा त्यहाँ कानुनी शासन व्यवहारमा अनुवाद हुन खोज्दै छ । कानुनको निरङ्कुशता संस्थागत हुने क्रमसँगै भारतले आर्थिक समृद्धिको गति र दिशा पनि तय गरेको अनुभूति दिलाउँदै छ । तर, एसियाली कतिपय मुलुकहरू जसले दु्रतत्तर उन्नति–प्रगति हासिल गरेका छन् तिनले कानुनी शासन र समृद्धिको मार्ग सुनिश्चित गर्न एक कालखण्डमा व्यक्ति नियन्त्रित शासन पद्धतिलाई आत्मसात् गरेको देखिन्छ । सिंगापुर, मलेसिया र दक्षिण कोरिया यसका दृष्टान्त हुन् । अहिले प्रजातान्त्रिक प्रणालीलाई आत्मसात् गरिरहेका कोरिया, सिंगापुर र मलेसियाजस्ता मुलुकहरूले कानुन नियन्त्रित शासन व्यवस्थालाई स्थिर एवम् संस्थागत तुल्याइनुअघि केही समय व्यक्ति नियन्त्रित शासन अवलम्बन गरे र त्यसमा सफलता पनि प्राप्त गरेका हुन् । कानुनको शासन स्थापित हुन नसकेका मुलुकमा शान्ति, स्थिरता र विकास असम्भव मानिन्छ या प्रजातन्त्रको दीर्घ जीवन कठिन हुन पुग्दछ । समृद्धिका निम्ति विकास, विकासका निम्ति स्थिरता, स्थिरताका निम्ति शान्ति र शान्तिका निम्ति समृद्धि अपरिहार्य हुन्छ । जनजीवनलाई सहज, शान्त, स्थिर र समृद्ध तुल्याउन नसक्ने प्रजातन्त्रले स्थायित्व प्राप्त गर्न नसकेका अनेक दृष्टान्त विश्वमा छन् । हामीले पछिल्लो दशकमा प्राप्त गरेको पूर्ण प्रजातन्त्र जनहितमुखी बन्न नसकेका कारण कतै यो पनि अल्पायुको हुने हो कि भन्ने आशङ्का पैदा हुन थालेको छ ।
सिंगापुर र दक्षिण कोरियालई आज विश्वका समृद्ध मुलुकको कोटिमा राखिन्छ । सन् १९५९ मा ली क्वान युले सत्ता सम्हाल्दा सिंगापुरको प्रतिव्यक्ति आय अमेरिकी डलर चार सय बराबर थियो, उनको तीस वर्ष लामो शासनमा आर्थिक उन्नति यसरी भयो कि अहिले सिंगापुरको प्रतिव्यक्ति आम्दानी साठी हजार अमेरिकी डलर बराबर रहेको छ । यसरी आर्थिक उन्नति हासिल गर्न ली क्वान युले देशमा लगानीमैत्री वातावरण बनाएका थिए र लगानीमैत्री वातावरण बनाउन उनले टे«ड युनियनहरूलाई नियन्त्रण गरी व्याप्त भ्रष्टाचार निर्मुलीकरणका निम्ति विशेष अभियान चलाउनुपरेको थियो । सिंगापुर यतिबेला समृद्ध छ र त्यहाँ मानवअधिकार तथा प्रजातन्त्र नरहेको स्वीकार गरिँदैन । तर, ली क्वान युको तीसवर्षे शासनकाल व्यक्ति नियन्त्रित थिएन भन्ने मानिँदैन । त्यस्तै दक्षिण कोरियालाई आजको समृद्ध मुलुकमा रूपान्तरित गर्ने पार्क चुङ ही सैनिक जनरल हुन् । सन् १९६१ मा बिनारक्तपात ‘कु’ गरेर सत्तामा आउँदा कोरियाको प्रतिव्यक्ति आय बयासी (८२) अमेरिकी डलर बराबर थियो । शासन सत्ता हातमा लिएको दश वर्षभित्र पार्क चुङ हीले प्रतिव्यक्ति आय तीन सय सोह्र अमेरिकी डलर बराबर पु-याए र दुई दशकभित्र सन् १९७९ मा सोह्र सय बैसठ्ठी अमेरिकी डलर कायम गरेका थिए । यसरी आर्थिक उपलब्धि हासिल गर्न हीले देशमा लगानीमैत्री वातावरण बनाउन निकै मिहिनेत गर्नुपरेको थियो । यस क्रममा उनले मानवअधिकार र प्रजातान्त्रिक मूल्य–मान्यताको अवज्ञा गर्नुपरेको थियो । सिंगापुरमा झैँ कोरियामा पनि हीले टे«ड युनियन अधिकारलाई सङ्कुचित तुल्याएका थिए र भ्रष्टाचारविरुद्धको अभियान निकै प्रभावकारी ढङ्गले सञ्चालन गरेका थिए । अवैध ढङ्गले अकुत सम्पत्ति आर्जन गरेका ठूला व्यापारीहरूलाई गिरफ्तार गरी कानुनी कारबाहीको दायरामा ल्याएका पार्क चुङ हीले economy first policy अवधारणा लागू गरेका थिए । युनियनहरूको collective bargaining गर्न सक्ने हैसियत वञ्चित गर्ने कानुन तर्जुमा गरी हीले अराजनीतिक टे«ड युनियन गठन गर्नेसम्मको सुविधाचाहिँ उपलब्ध गराइदिएका थिए । उत्पादन र निर्यातमुखी अर्थतन्त्रलाई सुदृढ तुल्याउन उनले कुनै कसर बाँकी राखेका थिएनन् । जापानसँग सम्बन्ध सुधार गरी द्विपक्षीय हित सबल बनाएका हीले सैन्य शक्तिलाई सुदृढ बनाउन पनि त्यत्तिकै योगदान पु-याए । देशलाई विपन्न अवस्थाबाट सम्पन्नतामा पु-याएकै कारण सन् १९९० मा प्रजातान्त्रिक विधिद्वारा राष्ट्रपतिको निर्वाचन गराउँदा कोरियाली जनताको साथ पार्क चुङ हीलाई नै मिलेको थियो । एउटा सैन्य तानशाह चोला बदलेर नागरिक शासक बन्न सक्नुको प्रमुख कारण हीको योगदानलाई नै मानिन्छ । हीले सन् १९७१ मा सुरु गरेको New Village Movement ले ग्रामीण अर्थतन्त्रलाई सुधार गर्न ठूलो योगदान पु-याएको थियो । व्यक्ति नियन्त्रित शासन पद्धतिलाई रूपान्तरित गरेर पार्कले कानुन नियन्त्रित प्रजातान्त्रिक प्रणालीको विकास गरेका कारण आज कोरियाली जनता समृद्धिसहितको प्रजातान्त्रिक अभ्यास गर्न पाउने–सक्ने अवस्थामा पुगेका छन् । दक्षिण कोरिया र सिंगापुरझैँ आर्थिक उन्नति हासिल गर्ने मुलुकहरू चाइना र भियतनाममा प्रजातान्त्रिक मूल्य–मान्यताअनुरूपको शासन व्यवस्था आजसम्म छैन । मलेसियाका महाथीर मोहम्मदले पनि टे«ड युनियन गतिविधि र भ्रष्टाचारलाई नियन्त्रण गरेर आजको समृद्ध मलेसिया निर्माण गरेका हुन् । यसरी उन्नति–प्रगतिका नयाँ दृष्टान्त बन्न सफल एसियाली मुलुक नियन्त्रणमुखी ‘प्रजातन्त्र’मार्फत आफ्नो गन्तव्य हासिल गर्न सफल भएका हुँदा पूर्ण प्रजातन्त्र आर्थिक उन्नतिका निम्ति के व्यवधान हो, भन्ने प्रश्न उत्पन्न गराएको छ । नेपाली राजनीतिकर्मी र आमनागरिकको चेतनास्तर मध्ययुगीन तहबाट माथि उठ्न नसकेको सन्दर्भमा यहाँ पनि पूर्ण प्रजातन्त्र संस्थागत कसरी हुनसक्ला र संस्थागत भइहालेछ भने पनि यसले शान्ति, स्थिरता र समृद्धितर्फको मार्ग प्रशस्त गर्न कसरी सक्ला भनी चिन्ता र चिन्तन गर्नुपर्ने अवस्था छ ।
कुनै पनि मुलुक समृद्ध बन्न त्यहाँ लगानीमैत्री वातावरण बन्न अत्यावश्यक हुन्छ । लगानीमैत्री वातावरणलाई चुनौती दिने तत्वहरू युनियानिज्म, भ्रष्टाचार र ज्यादा राजनीतीकरण हुन् । कानुनी शासन उल्लिखित तीन तत्वलाई शिथिल बनाउन असफल हुँदा प्रजातन्त्र सफल हुन सक्दैन । नेपालले आज यही नियति भोगिरहेको छ । यस सन्दर्भमा ली क्वान युको एउटा भनाइ यहाँ स्मरणीय छ । आफ्ना छिमेकी कतिपय मुलुकले आर्थिक प्रगति गर्न नसक्नु र आफूलाई समृद्धि प्राप्तिको सफलता मिल्नुको कारण स्पष्ट गर्दै लीले आफ्नै लवजको अङ्ग्रेजीमा भनेका छन्– “They are not clean systems, We run clean systems. Their rule of law is wonky; we stick to it. We became reliable and credible to investors.” नेपाली राजनीतिकर्मीहरू साधनको बहस र विवादमा यसरी उल्झेका छन् कि उनीहरूले समृद्धिको ढोका कहाँबाट कसरी खोल्ने भन्नेबारेमा सामान्य हेक्कासमेत राख्न सकेका छैनन् । जनजीवनलाई सुविधासम्पन्न र मुलुकलाई समृद्ध बनाउन नसक्दा प्रजातन्त्रसमेत कसरी बदनाम हुन सक्दोरहेछ भन्ने एउटा सटिक दृष्टान्त नेपाली राजनीतिकर्मीहरूले स्थापित गर्दै छन् । शान्ति, स्थिरता, विकास र समृद्धिबिनाको प्रजातन्त्रलाई बतासे अण्डाका रूपमा बुझ्न्पर्ने हुन्छ– अण्डा हो, तर चल्ला पैदा हुँदैन । यसप्रकारको थारो प्रजातन्त्रलाई महान् उपलब्धि मान्ने धैर्य नेपाली जनताले कुनै पनि दिन गुमाउन सक्ने खतरा छ, समयमै राजनीतिकर्मीहरूको सद्बुद्धि फिरोस्, शुभकामना ।
प्रतिक्रिया