दमक नगरपालिकाले ७० वर्षमाथिकालाई निःशुल्क उपचार गर्ने

दमक नगरपालिकाले ७० वर्षमाथिकालाई निःशुल्क उपचार गर्ने


झापाको दमक नगरपालिकाले नगरका ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा पहुँच पुऱ्याउन यस वर्षदेखि नगरपालिकाले निःशुल्क उपचारको व्यवस्था गरेको हो ।

दमक अस्पतालमा ज्येष्ठ नागरिकलाई सबै किसिमको उपचार निःशुल्क गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालले जानकारी दिए । नगरपालिकाले नगरका गर्भवतीलाई आइरन र क्याल्सियम चक्की पनि निःशुल्क उपलब्ध गराउने भएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आउने गर्भवतीलाई सो औषधि निःशुल्क उपलब्ध गराउने भएको हो । चारपटक नियमित रूपमा परीक्षणका लागि आउने गर्भवतीले हरेकपटक रु. १०० समेत यस वर्षदेखि पाउने व्यवस्था गरिएको अर्यालले बताए ।

स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन यस वर्ष नगरपालिकाले रु. पाँच लाख ५० हजार छुट्याएको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा स्वास्थ्यका ९० कार्यक्रम स्वीकृत गरेको छ । ती कार्यक्रमका लागि नगरपालिकाले रु. ९० लाख छुट्याएको छ ।