प्रदेश १ योजना आयोगको उपाध्यक्षमा प्याकुरेल

प्रदेश १ योजना आयोगको उपाध्यक्षमा प्याकुरेल


प्रदेश १ सरकारको आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन गर्नेलगायत १२ वटा निर्णय गरेको छ ।

बैठकले आयोगको उपाध्यक्षमा विराटनगरनिवासी मानवअधिकारकर्मी सुबोधराज प्याकुरेल तथा सदस्यमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्त गरेको छ । बैठकपछि सरकारका प्रवक्ता हिक्मत कार्कीले प्रदेश १ को सार्वजनिक खर्च मापदण्ड र मितव्ययितासम्बन्धी निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधि २०७५ लाई स्वीकृति दिने निर्णय गरेको बताए ।

बैठकले सुनसरीको कोसी गाउँपालिकास्थित कोसी कटान क्षेत्र नियन्त्रण परियोजना अघि बढाउन तथा मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुम र फिदिम दुई सहरलाई नयाँ सहरका रूपमा विकास गर्न स्वीकृति प्रदान गरेको छ । त्यसका लागि संघीय सरकारबाट १७ करोड रुपैयाँ विनियोजन भइसकेको छ । बैठकले प्रदेश सरकारको मातहतमा रहेका भौतिक सम्पत्ति प्रदेश सरकारको मातहतमा ल्याउने निर्णय गरेको छ । साथै कोसी प्रतिष्ठान विधेयक मस्यौदालाई स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

मन्त्रिपरिषद्ले प्रदेश विकास स्वयंसेवक परिचालन कार्यक्रम– २०७५ स्वीकृत गर्दै झापास्थित दमकको ग्रामीण सडक सुधार सञ्जाल आयोजनालाई प्रदेश सरकारमातहत ल्याउने निर्णय गरेको छ ।