‘खरको छानामुक्त’ छत्रदेवमा बाँदरआतङ्क !

‘खरको छानामुक्त’ छत्रदेवमा बाँदरआतङ्क !


– मुक्तिनाथ भुसाल

अर्घाखाँचीको छत्रदेव गाउँपालिका नेपालकै पहिलो खरमुक्त छाना बनेको छ । गरिबीको कारण जस्तापाता खरिद गर्न नसकेर कष्टकर जीवन बिताएकाहरूलाई स्थानीय सरकारले निःशुल्क जस्तापाता वितरण गरिदिएपछि आफूहरूले सही जनप्रतिनिधि चुनेको स्थानीयहरूको कथन छ । जम्मा ६ हजार ९ सय ५३ घरधुरी रहेको उक्त गाउँपालिकामा आर्थिक वर्ष ०७४÷७५ को तथ्याङ्कअनुसार ३३७ घरधुरीमा खरको छाना रहेको थियो । स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदमा विजयी लेखनाथ पोखरेल र तुल्सीदेवी श्रेष्ठको टिमले जिम्मेवारी सम्हालेको पहिलो वर्षमा नै खरको छानामुक्त गाउँपालिका बनाउने कार्यमा सफलता भित्रिएको सर्वविदित छ ।

सुशासन र खुलापन आफ्नो मुख्य प्राथमिकता भएको बताउने गाउँपालिका अध्यक्ष पोखरेलसँग खरिद गरिएका जस्तापाताहरूबारे केन्द्रित भई जिज्ञासा राख्दा पालिकाको १ करोड २० लाख बजेटमार्फत हुलासको गुराँस छाप जिरो प्वाइन्ट छयालीस एमएमको हेभी नीलो जस्तापाता खरिद गरी ३३७ घरधुरीहरूलाई वितरण गरेको बुझियो । यसैगरी प्रत्येक चौमासिकमा वितरण गरिने सामाजिक सुरक्षा भत्तालाई ‘एमआईएस’ प्रणालीमा गइसकेको छत्रदेव गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा प्रत्येक वडाहरूमा पुगी वृद्धवृद्धालाई रकम दिनुको साथै एमबीबीएस डाक्टरद्वारा फुलचेकअप गरी निःशुल्क औषधि वितरण गर्ने कार्यसमेत पूरा गरेको छ । जुन कार्यलाई ५ नम्बर प्रदेश सरकार र मुलुकका केही स्थानीय निकायहरूले चालू आर्थिक वर्षमा अनुशरण गरेको बुझिएको छ ।

काम गर्न इच्छाशक्ति भएमा आवश्यकीय स्रोत जुटाउन सकिन्छ भन्ने एउटा दह्रिलो उदाहरणका लागि एम्बलेन्स सेवालाई समेत लिन सकिन्छ । छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलको सक्रियतामा भारतीय राजदूतावासमार्फत, स्वास्थ्य मन्त्रालयमार्फत र सोही गाउँपालिकाबाट विदेशमा रहेका युवायुवतीको सहयोगमा तीनवटा एम्बुलेन्स सो गाउँपालिकामा गुडेका कारण अर्घाखाँचीको अलावा गुल्मी र पाल्पा जिल्लाका स्थानीयहरूसमेत लाभान्वित बनेको घामजत्तिकै छर्लङ्ग छ ।

स्थानीय तहमा निर्वाचित भएपछि प्रमुख तथा उपप्रमुखहरूका लागि बेग्लाबेग्लै गाडी खरिद गर्ने लहर अधिकांश पालिकाहरूमा फेसनजस्तै बनेको सर्वविदित रहेको अवस्थामा यो गाउँपालिकाका अध्यक्ष पोखरेलले अर्थ मन्त्रालयमा पुगी भे.१झ २६२ नम्बरको पुरानो गाडी ल्याएर आफ्नो आवश्यकीय कार्यहरू सम्पादन गरेका छन् । आफ्नो गाउँपालिकालाई काठको पोलमुक्त गराउने लक्ष्य राखेका अध्यक्ष पोखरेलले १ करोड ४३ लाख ५० हजार बजेटमार्फत ९६७ वटा फलामका पोलहरू खरिद गरिसकेको र गाउँपालिकाले टेन्डर आह्वान गर्दा कानुनी प्रक्रिया पूरा गरी ई–बिडिङ पद्धतिबाट गर्ने हुँदा कुनै पनि कुरा गोप्य नरहने मात्र होइन दुई पैसा हिनामिना नहुनेसमेत बुझिएको छ ।

श्रीमान् कम्तीमा पाँच वर्षदेखि बेपत्ता बन्दा सास्ती खेप्न विवश छत्रदेव गाउँपालिकाका ४९ जना महिलालाई गाउँपालिका माइती बनेर उनीहरूलाई पेवास्वरूप वयर जातिको बाख्राका पाठीहरू निःशुल्क वितरण गरिएको तत्कालीन जिल्ला पशुसेवा कार्यालय अर्घाखाँचीका वरिष्ठ पशु अधिकृत डाक्टर लोकनाथ पौडेलको भनाइ रहेको छ । डाक्टर पौडेलका अनुसार वितरण गरिएका पाठीहरूको मूल्य २५ हजार दुई सयसम्म रहेको थप जानकारी मिल्यो । अनौठा लाग्दा प्रशंसनीय कार्यहरूको बाबजुद छत्रदेव गाउँपालिकामा जङ्गली जनावर अर्थात् बाँदरआतङ्क एउटा ठूलै चुनौती बनेको छ । आन्तरिक आम्दानी करिब शून्य मानिने उक्त गाउँपालिकाका सबै वडाहरूमा बाँदर, बदेल, दुम्सीजस्ता वन्यजन्तुको कारण बालीनाली संरक्षणका लागि अत्यन्तै असहज अवस्था देखिएको छ । कृषि, पशु र उत्पादनमा लगानी गर्ने गाउँपालिकाको उद्देश्यलाई जङ्गली जनावरको कारण असहज अवस्था सिर्जना हुँदा चाहेजति विकासले फड्को मार्ने कुरामा शङ्का गर्नुपर्ने स्थिति देखिन्छ ।

बाँदर व्यवस्थापनका लागि गत आवमा सबै वडामा बालीनाली संरक्षणअन्तर्गत निश्चित रकम विनियोजन गरी परीक्षणका लागि हेरालु राख्नुका साथै समूह विभाजन गरी प्रतिनिधित्वमूलक बाँदर आएमा खबर गर्ने गरी गाउँपालिकाले केही बजेट परिचालन गरेको भए पनि सन्तुष्ट हुन नसकेको सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्तको भनाइ छ । स्मरण रहोस्, नेपालको कानुनअनुसार २६ थरीका स्तनधारी जनावरहरू चाहेर पनि मार्न पाइँदैन ।