दोलखामा सालकको खपटासहित खड्का पक्राउ

दोलखामा सालकको खपटासहित खड्का पक्राउ


दुर्लभ वन्यजन्तु सालकको दुई किलो ६०० ग्राम खपटासहित प्रहरीले तामाकोसी गाउँपालिका–५ किर्नेटारबाट एकजनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका–५ का २० वर्षीय प्रह्लाद खड्का रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए ।

संरक्षित वन्यजन्तु सालकको खपटा बिक्री–वितरणका लागि लाँदै गरेको प्राप्त गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले हिजो (मंगलबार) अपराह्न ४ बजे बा.९१प ५८४४ नम्बरको पल्सर मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको हो ।

घटनामा संलग्न दुईजनामध्ये एकजनाले बा.८३प २९१९ नम्बरको पल्सर मोटरसाइकल छोडेर भागेको बताइएको छ । फरार अभियुक्तको खोजीकार्य भइरहेको र पक्राउ परेका खड्कालाई अनुसन्धान गरी कारबाहीका लागि डिभिजन वन कार्यालय दोलखामा बुझाइने प्रहरीले जनाएको छ ।