काभ्रेमा तीन महिनामा साढे आठ हजार सवारीसाधनले मिचे नियम

काभ्रेमा तीन महिनामा साढे आठ हजार सवारीसाधनले मिचे नियम


काभे्रपलाञ्चोकमा सञ्चालितमध्ये आठ हजार ५५० सवारीसाधन नियम उल्लंघन गरेबापत चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कारबाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख निशेष चापागाईंका अनुसार सवारी नियम उल्लंघन गरेबापत विभिन्न सवारीसाधनलाई कारबाही गर्दा बितेको तीन महिनाको अवधिमा रु. ५० लाख ५४ हजार राजस्व संकलन भएको छ । उनले भने, ‘यो राजस्व अघिल्लो आवको पहिलो तीन महिनाभन्दा झन्डै दोब्बर हो ।’ ट्राफिक प्रहरी कार्यालयले गत साउन महिनामा दुई हजार २ सय सवारीलाई कारबाही गरी १३ लाख दुई हजार, भदौमा चार हजार ५० वटा सवारी कारबाहीबाट रु. २४ लाख ६८ हजार ५ सय र असोजमा दुई हजार १ सय सवारी कारबाहीबाट १२ लाख ८३ हजार ५ सय राजस्व संकलन गरेको हो ।

गत वर्षको तुलनामा अरनिको राजमार्गअन्तर्गत काभे्रपलाञ्चोक जिल्ला हुँदै मध्यपहाडी जिल्ला तथा बिपी राजमार्गबाट पूर्व जाने सवारी चाप बढेसँगै सवारी नियम उल्लंघन गर्ने सवारीको संख्या बढेको र राजस्वसमेत वृद्धि भएको प्रमुख चापागाईंले बताए ।