दशैँ-तिहारको मौका छोप्दा जिप्रका गुल्मीमा सेवाग्राहीको घुइँचो

दशैँ-तिहारको मौका छोप्दा जिप्रका गुल्मीमा सेवाग्राहीको घुइँचो


रमेश विश्वकर्मा, गुल्मी

जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता, राहादानी र अन्य किसिमका सेवा लिने सेवाग्राहीको भिड बढेको छ । नेपालीको महान पर्व विजयादशमी र दिपावलीको अवसरमा जिल्लाबाहिर वा विदेशबाट घर आएको समयको सदुपयोग गर्दै उमेर पुगेका छोराछोरीको नागरिकता एवम् राहदानी बनाउने लहरका कारण कार्यालयमा सेवाग्राहीको भीड बढेको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेका अनुसार सेवाग्राहीहरुको चाप भएतापनि छिटोछरितो रुपमा सेवा लिएर सेवाग्राहीहरु जाने गरेका छन् ।

कतिपय समयमा नागरिकता लिनका लागि आवश्यक कागजपत्रहरु छुट्ने र छुटाउने गरेकाले पनि त्यसलाई सहज बनाई सेवा दिनका लागि जिल्ला प्रशासन कार्यालयमा फ्रि वाईफाईको ब्यवस्था गरिएको र आवश्यक परेको खण्डमा कार्यालयकै मेलमार्फत आवश्यक कागाजातहरु पठाउने र आउन सक्ने ब्यवस्था पनि गरिएको पाण्डेले बताए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीहरुलाई सेवा लिनका लागि कुनै समस्या नपरोस् भनेर नागरिक साहायता कक्ष स्थापना गरी सेवा दिइएको पाण्डेले बताए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीबाट कात्तिक ४ गतेदेखि ११ गतेसम्म चार सय ३७ नागरिकता, दुई सय २६ वटा नागरिकताको प्रतिलिपी वितरण गरिएको र दुई सय २५ वटा राहदानीको आवेदन फारम लिइएको उनको भनाई छ । पछिल्ला दुई दिन सेवाग्राहीको चाप विशेष रुपले बढेको उनले जानकारी दिए ।