चिनीमा कालोबजारी गरे कारबाही गर्छु : मन्त्री यादव

चिनीमा कालोबजारी गरे कारबाही गर्छु : मन्त्री यादव


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले चिनीमा कालोबजारी गरे कारबाही गर्ने बताएका छन् । उनले सरकारले चिनीको बिक्री मूल्य रु ७० तोकेको हुनाले सोही अनुसार उपभोक्तालाई खरीद गर्न आग्रह गर्दै कहीँ कतै उक्त मूल्यभन्दा बढीमा बिक्री भएको पाइए कारवाही हुने उनले बताए ।

उपभोक्ता, किसान र उद्योगीहरुसँगको छलफलपछि नै सरकारले चिनीको खुद्रा मूल्य रु ७० कायम गरेको उनको भनाइ थियो । मन्त्री यादवले कालाबजारी र गलत कार्य गर्ने ठेकेदारलाई सरकारले कारवाही गरेको उल्लेख गर्दै सञ्चार माध्यमलाई सत्यतथ्य समाचार सम्प्रेषण गरिदिन आग्रह गरे । विगतमा बजार अनगुमन कार्य नभएकाले अब केही दिनभित्र ग्रामीण क्षेत्र र साना शहर–बजारको समेत अनुगमन हुने उनले जानकारी दिए ।

विमानस्थलमा बुधबार सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै मन्त्री यादवले वर्तमान सरकारको लोकप्रियता नघटेको बताएका छन् । उनले जनताले दिएको जनादेशअनुसार सरकारले काम गरिरहेकाले यसको लोकप्रियतामा कुनै कमी नआएको प्रष्ट पारे ।