गृहमन्त्रीलाई खतरनाक निर्देशन-रामहरि पाण्डे

गृहमन्त्रीलाई खतरनाक निर्देशन-रामहरि पाण्डे


एकीकृत माओवादी अध्यक्ष प्रचण्डले गृहमन्त्री कृष्णबहादुर महरालाई दिनुभएको गोप्य, गम्भीर र अति संवेदनशील निर्देशनको विवरण घटना र विचारलाई प्राप्त भएको छ । प्रचण्डले गृहमन्त्री महरालाई दिनुभएको निर्देशनका सात बुँदा अत्यन्त संवेदनशील र खतरनाक रहेका छन् । आफूलाई पार्टी नेतृत्वबाट प्राप्त निर्देशन कार्यान्वयन गराउन गृहमन्त्री महराले मातहतका सुरक्षा निकायहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई क्रमबद्ध रूपमा टिपाउनुभएको छ ।
सम्बद्ध सूत्रबाट प्राप्त जानकारीअनुसार प्रचण्डले दिनुभएको निर्देशनमा यसअघिका सरकारले आर्थिक लेनदेन गरेको महत्त्वपूर्ण फाइलहरूको गोप्य अनुसन्धान गरी एक-एक प्रति माओवादी पार्टी कार्यालयमा लैजाने र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र केपी ओली पक्षका मानिसलाई भ्रष्टाचारको मुद्दामा जेल हाल्ने आधार तयार पार्ने भनिएको छ ।
त्यसैगरी निर्देशनमा एमाओवादीका नेता तथा कार्यकर्तामाथि लागेका सम्पूर्ण मुद्दा फिर्ता लिने, आफूअनुकूल रहेका गृह प्रशासनअन्तर्गतका सुरक्षा अधिकारीहरूलाई महत्त्वपूर्ण र संवेदनशील स्थानमा खटाउने, सरकारले राहत रकम बाँड्दा आफ्ना पार्टीका कार्यकर्तालाई प्राथमिकता दिने भन्ने उल्लेख गरिएको छ । त्यसैगरी सुरक्षाकर्मीहरूलाई आफूअनुकूल प्रयोग गर्न लोकप्रिय कार्यक्रम ल्याउने, पार्टी नेता तथा कार्यकर्ताको भरपर्दो सुरक्षा व्यवस्था मिलाउने र भारतसँग सीमा जोडिएको स्थानमा उच्च सुरक्षा र्सतर्कता अपनाउने पनि प्रचण्डको निर्देशनमा उल्लेख छ ।
उच्च सुरक्षा स्रोतका अनुसार महराले तीनवटै सुरक्षा निकायका प्रमुखलाई गृह मन्त्रालयमा फरक-फरक समयमा बोलाएर आफूलाई पार्टी नेतृत्वबाट प्राप्त निर्देशन प्रचण्ड र पार्टीको उल्लेख नगरी आफ्नैजस्तो गरेर दिनुभएको थियो । निर्देशन दिँदै महराले आफूले भनेका कार्य तत्कालै लागू गरी एक हप्ताभित्र रिपोर्ट पेस गर्न पनि भन्नुभएको थियो । माओवादीले गृह प्रशासन र प्रशासनअन्तर्गत सम्पूर्ण सुरक्षा व्यवस्थामा आमूल परिवर्तन गर्न चाहेको उल्लेख गर्दै आफूले दिएको निर्देशनलाई सही रूपमा कार्यान्वयन गर्नुपर्ने भनी महराले सुरक्षा प्रमुखहरूलाई सचेत गराउनुभएको थियो ।