यसकारण आइन् सुची नेपालमा– बुद्धिप्रसाद शर्मा

यसकारण आइन् सुची नेपालमा– बुद्धिप्रसाद शर्मा


bicharम्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुचीको नेपाल भ्रमणलाई लिएर विभिन्न किसिमको विचार एवम् टीका–टिप्पणी भए र अझै हुँदैछन् । मुख्यगरी म्यानमारको कार्यकारिणी पदमा नरहेरै पनि राजकीयसरहको सम्मान सुचीलाई किन प्रदान गरियो त भन्ने जिज्ञासा धेरैका मनमा जागृत भए, जो कैयनका मनमा अझै कायम रहेको हुनसक्छ ।
आफ्ना पिता आङ साङ, जो म्यानमारका स्वतन्त्र सेनानी एवम् प्रजातन्त्रवादी नेता थिए, को पदचिह्न पछ्याउँदै विदेशको सुख–सुविधा त्यागेर सन् १९८८ मा स्वदेश फर्की आर्मी शासनको विरुद्ध प्रजातन्त्र, मानवअधिकार, सामाजिक न्याय, राष्ट्र निर्माण एवम् शान्ति स्थापनाका लागि सङ्घर्ष सुरु गरेकी सुचीले करिब २० वर्ष सैनिक नजरबन्दमा बिताइन् । उनलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यापक दबाबपश्चात् सन् २०१० मा नजरबन्द मुक्त गर्दै सैनिक नेतृत्वले प्रजातान्त्रिक सुधारको सुरुवात गरेको थियो जुन अझैसम्म पनि जारी छ ।
म्यानमार अझै पूर्ण प्रजातान्त्रिक देश हुन सकेको छैन ता पनि म्यानमार र नेपालबीच धेरै कुरामा समानता रहेको छ । सन् १९५१ मा सोसलिस्ट इन्टरनेसनलको स्थापना भएयता नेपाल र म्यनमारका प्रजातान्त्रिक शक्तिले प्रजातन्त्र र शान्तिका लागि सहकार्यसहित सहसम्बन्ध विस्तार गर्दै आएका छन् । नेपाली काङ्गे्रस पार्टी र सुचीको नेसनल लिग फर डेमोक्रेसी (एलडीसी) पार्टीबीच अत्यन्त घनिष्ठ एवम् सहकार्यमा आधारित सम्बन्ध रहँदै आएको छ ।
सुचीको यसपटकको नेपाल भ्रमण पाँचौँ हो । सर्वप्रथम उनी सन् १९६० को दशकमा आफ्नी आमा (जो भारतका लागि तत्कालीन राजदूत थिइन्) सँग नेपाल भ्रमणमा आएकी थिइन् । नेपाली काङ्ग्रेसको विशेष पहल र बीपी चिन्तन प्रतिष्ठानको निम्तामा नेपाल आएकी सुचीले नेपालको ०६२/६३ यताको सहमतीय राजनीतिक अभ्यासबाट आफू निकै प्रभावित भएको बताइन् । एक सन्दर्भमा उनले नेपालको राजनीतिक अस्थिरतालाई व्यङ्ग्यात्मक शैलीमा औंल्याउनसमेत भ्याइन् । सुचीले भनेकी थिइन्, ‘मैले एकै दिन सात–सातजना पूर्वप्रधानमन्त्रीसँग भेट गर्न पाएँ, यसले नेपालमा प्रजातन्त्र कति बलियो भइसकेछ भन्ने बुझ्न सजिलो भएको छ ।’ निश्चय पनि सुचीले यहाँका सरकारको अस्थिरता या छिटो–छिटो सरकार परिवर्तन हुने प्रवृत्ति बुझेर यस्तो वाक्य प्रयोग गरेकी थिइन् भन्न सकिन्छ । तथापि, नेपालको भूराजनीति, आर्थिक एवम् सामाजिक अवस्था, सांस्कृतिक एवम् भूबनोटसँग मेल खाने म्यानमारका लागि नेपालको लोकतान्त्रिक अभ्यासको विकासक्रमबाट सिक्न सक्ने ठोस कुराहरू धेरै हुन सक्ने विज्ञहरू बताउँछन् । त्यसकारण पनि सुचीको नेपाल भ्रमणलाई लिएर विभिन्न कोणबाट विभिन्न टीका–टिप्पणीहरू भएका हुन् । सुचीको नेपालका भ्रमणपछाडि मुख्यगरी निम्न कारणहरू रहेको देखिन्छ :
क. नेपालको नयाँ लोकतान्त्रिक अभ्यासबाट सिक्न
नेपालको जस्तै भूराजनीति तथा आर्थिक–सामाजिक संरचना रहेको र विस्तारै प्रजातान्त्रिक सुधारतर्फ मोडिएको म्यानमारका लागि नेपालको समावेशी चरित्रको संविधान निर्माण प्रक्रिया र लोकतान्त्रिक सुधारबाट प्रभावित हुने र अनुसरण गर्ने कुराहरू धेरै छन् । प्रजातन्त्र अझै फक्रन नसकेको म्यानमार र ०४६ यताको प्रजातान्त्रिक अभ्यासले चरम अराजकता निम्ताएपश्चात् पुन: लोकतान्त्रिक सुधारतर्फ होमिएको नेपालले आफ्नो लोकतान्त्रिक सुदृढीकरण, विकास, शान्ति स्थापना र मानवअधिकारका पक्षमा धेरै नै सहकार्य गरेर अगाडि बढ्न सक्छन्, जुन निश्चित रूपमा दुवै देशको हितमा हुनेछ । सधैँ लोकतन्त्रको लडाइँमा खुम्चिएका दुई मुलुक अब जागेर आन्तरिक रूपमा राजनीतिलाई सुदृढ गर्दै विश्व मञ्चमा समेत आफ्नो उपस्थिति दह्रो पार्नुपर्दछ भन्ने भावनाबाट अभिप्रेरित छन् । सुची नेपालमा अब बन्ने समावेशी लोकतान्त्रिक संविधानका मूल्य–मान्यताबाट अत्यन्त प्रभावित भएको बताइन्छ ।
ख. प्रजातान्त्रिक समाजवादलाई प्रवद्र्धन गर्न
प्रजातान्त्रिक समाजवादी आन्दोलनका अग्रज नेपाली काङ्गे्रस र सुचीको नेसनल लिग फर डेमेक्रेसी पार्टीबीच अत्यन्त घनिष्ट ऐतिहासिक सम्बन्ध रहेको छ । दुवै पार्टी सन् १९५१ मा सोसलिस्ट इन्टरनेसनलको स्थापना भएसँगैका संस्थापक एवम् आन्दोलनका संवाहक हुन् । वि.सं. २००७ सालको राणाशासनविरुद्धको नेपाली काङ्गे्रस नेतृत्वको क्रान्तिमा आङ साङको एलडीसी पार्टीले व्यापक आर्थिक एवम् सैनिक सहयोग गरेको थियो । त्यस्तै प्रकारका सहयोगहरू नेपाली काङ्ग्रेसले पनि गर्दै आएको छ । दुई पार्टीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन र भावी कार्यका लागि थप सहकार्य गर्न पनि सुचीको भ्रमण भएको हो । प्रजातान्त्रिक समाजवादको सान्दर्भिकता घटेको होइन थप बढेर गएको कुरामा नेपाली काङ्ग्रेस र सुचीको एलडीसी पार्टी सहमत छ ।
ग. बुद्धको मार्गदर्शनलाई विश्वव्यापी बनाउन
म्यानमारमा करिब ८२ प्रतिशत मानिस बुद्धधर्म मान्छन् । बुद्ध अनुयायी भएको नाताले आङ साङ सुचीलाई नेपालप्रति धेरै माया छ । उनले सन् १९६० को दशकमै ‘लेट्स भिजिट नेपाल’ भन्ने पुस्तक लेखेर नेपालको प्राकृतिक सम्पदा र बुद्ध एवम् हिन्दूधर्मको महत्वलाई विश्वसामु पु-याएकी थिइन् । सुची मुख्यगरी भगवान् बुद्धको करुणा, प्रेरणा र मार्गदर्शनबाट प्रभावित छिन् जुन कुरा उनले आफ्नो धेरैजसो प्रवचनहरूमा व्यक्त गर्दै अएकी छिन् । नेपाल र म्यानमार मिलेर विश्वशान्तिका लागि बुद्धको सन्देशलाई विश्वभरि फैलाउन सकिएमा साँच्चै नै विश्वशान्तिको सपना त्यति टाढा हुनेछैन ।
घ. परिवर्तित सन्दर्भमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन
लोकतान्त्रिक अभ्यासको क्रममा नेपाल धेरै अगाडि बढिसकेको छ । यहाँ विभिन्न आयामका परिवर्तनसँगै नयाँ–नयाँ शक्तिहरूको पनि उदय भएको छ । त्यस्तैगरी ढिलै भए पनि म्यानमारको लोकतान्त्रिक सुधारका कार्यहरू अगाडि बढेका छन् । संविधान संशोधनको काम धमाधम भइरहेको छ । यस परिवर्तित सन्दर्भमा दुवै देशको राजनीतिक शक्तिहरूले नयाँ दिशाबाट विश्लेषण गरी दुईदेशीय सम्बन्धलाई अत्यन्त प्रगाढ बनाउनुपर्छ । दुई देशका मुख्य राजनीतिक शक्तिहरूबीच सुमधुर सम्बन्ध र सहकार्य हुन सकेमा निश्चित रूपमा राष्ट्र–राष्ट्र एवम् जनता–जनताबीचको सम्बन्ध पनि प्रगाढ हुन्छ
निश्चित रूपमा आङ साङ सुचीको यो नेपाल भ्रमण ऐतिहासिक छ । लोकतन्त्र, विश्वशान्ति, मानवअधिकार, सामाजिक न्याय, आर्थिक विकास र अन्ततोगत्वा प्रजातान्त्रिक समाजवादको प्रवद्र्धनका लागि मिलेर काम गर्नुपर्ने निष्कर्ष सुचीको यस भ्रमणले पुष्टि गर्छ । लोकतन्त्र र विश्वशान्ति प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय व्यक्तित्वसमेत भइसकेकी एसियाकै एक उच्च राजनीतिज्ञ आङ साङ सुचीलाई अत्यन्त सही समय र सन्दर्भमा नेपाल भ्रमण गराएर नेपाली काङ्ग्रेस र बीपी चिन्तन प्रतिष्ठान धन्यावादका पात्र भएका छन् । प्रजातान्त्रिक समाजवादी नेता, विद्वान् एवम् व्यक्तित्वहरूलाई नेपाल निम्त्याई प्रजातान्त्रिक समाजवादबारे विश्व सम्मेलन गर्न सक्यो, जुन वास्तवमा ऐतिहासिक रूपमै महत्वपूर्ण छ । आङ साङ सूचीको नेपाल साइनो थप प्रगाढ बन्ने निश्चित छ ।