– माधवप्रसाद श्रेष्ठ
आजका कम्प्युटर, इन्टरनेट तथा टेलिफोनजस्ता आधुनिकतम् सञ्चारमाध्यमका साधनहरू उपलब्धताको कारण साँघुरिँदै गएको विश्व मानचित्रको वरिपरि समाजमा महत्वपूर्ण स्थान ओगटेका महिला वर्गले आफ्नो पवित्रता जोगाई निर्धक्कसँग हिँडडुल गर्न र बाँच्न कठिनाइ पर्ने र विभिन्न कारणले आप्ना जीवनसाथीको मायाममताबाट वञ्चित हुनपर्नेसमेत ‘हजारौँ–लाखौँ’ महिलाका कहालीलाग्दा कथा र व्यथा सार्वजनिक हुने गरेका छन् । विशाल भारत र कहिलेकाहीँ नेपालमा पनि सुन्दैमा आङ जिरिङ्ग हुने खालका सामूहिक बलात्कार, बलात्कारपछि हत्याजस्ता जघन्य अपराध लगातार भनेजसो हुन गई हाम्रो समाज आक्रान्त हुने गरेको छ । भारतको दिल्ली र खास गरेर उत्तर प्रदेशमा यस्ता दुर्घटना शृङ्खलाबद्ध रूपमा घट्ने गरेको छ । नेपालको राजधानी काठमाडौं यस सम्बन्धमा शान्त देखिएको छ । भारतमा घटेका यस्ता घरेलुलगायत महिला हिंसाका घटनाभन्दा नेपालमा मोफसल पनि संयमितै छ भन्नुपर्छ । ज्वाइँलाई तिलक, छोरीलाई दाइजो दिने प्रथाले भारत र नेपालको तराई क्षेत्रमा असहज स्थिति उत्पन्न गर्ने गरेको छ । वैदेशिक रोजगारीले महिलाको जीवनमा कान्ति र भ्रान्ति दुवै ल्याउने गरेको छ ।
‘जुन घरमा स्त्रीजातिको सम्मान हुन्छ, त्यहाँ ईश्वरले बास गर्छन् ।’ पतिपरमेश्वर जीवित हुँदासम्म कुनै प्रकारको धर्मकर्म गर्न पर्दैन, आफ्ना जीवनसाथीको सेवा–सुश्रुषा गरे पुग्छ, भन्ने हिन्दूधर्मको नीति र मान्यता छ भनिन्छ । नेपालको प्रचलन, संस्कार, संस्कृति तथा रीतिरिवाजको वर्णन गर्ने हो भने महिला सामाजिक उत्पीडनको भुमरीमा परी सिन्दूर सदाका लागि पुछिएको अवस्थामा कष्टकर, एकल र निरश जीवन बाँच्न बाध्यकारी हुनजान्छ । महिलाको जिन्दगीमा सदा उत्साह र उमङ्ग भर्ने जीवनसाथीको देहान्त हुँदा कतिपय जातजातिका महिलाको पोतेधागो छिनाई तत्काल सार्वजनिक रूपमा एकप्रकारले बेइज्जतीजस्तो हुन गई उनको शेष जीवनमा व्यक्तित्व विकासमा यहीँबाट अवरोध खडा हुन जान्छ । यस्तो दुःखद् स्थितिको स्मरण गर्दा र सामाजिक न्यायको तराजुमा तौलिने प्रयास गर्दा यो अशुभ कार्यलाई कसरी मूल्याङ्कन गर्ने ? यस सम्बन्धमा पीडित महिलाको कस्तो विचार र प्रतिक्रिया होला ? निर्धक्कसँग पुनः विवाह गर्न सक्ने सम्भावना कुन अवस्थामा रहन्छ ? यो संस्कार र संस्कृतिलाई कहिलेसम्म खुल्ला रूपमा पन्पन दिई जीवन्त रहन दिने ? यो एउटा अत्यन्त संवेदनशील सामाजिक र मानवीय समस्या हो । नागरिक समाज, समाजशास्त्रीहरू र महिला आयोगहरूले सोच्न धेरै अबेर भइसकेको छ ।
शारीरिक बनावटको दृष्टिबाट साधारणतया महिलालाई पुरुषभन्दा कमजोर हुन्छन् भन्ने गरिए पनि उनीहरू अझ दृढनिश्चयी र साहसी हुन्छन् भन्ने कुरा सैद्धान्तिक तथा सर्वमान्य रूपमा स्वीकार गरिएको विषय हो । नागरिक र अन्तरिक्ष उडानको क्षेत्रमा भारतीय नारीले चामत्कारिक कार्य गरेर विश्वलाई देखाइदिएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्षमा मार्च ८, २०१० मा पाइलटहरू र सम्पूर्ण महिलाको २२ जनाको डफ्फाले एयर इन्डियाको बोइङ ७७७–२०० एलआर जहाजद्वारा मुम्बईबाट सीधै न्युयोर्क जोनएफ केनेडी ऐयरपोर्टमा उतारेका छन् । भारतीय मूलकी कल्पना चाउलाले भारतीय÷अमेरिकन यात्रुको रूपमा एकपटक सफलता पाएपछि १ फेब्रुअरी २००३ मा ४१ वर्षको उमेरमा दुर्घटना हुँदा दुःखद् निधन हुन गयो । गुजरात मूलकी फ्लाइट इन्जिनियर सुनिता विलियमद्वारा डिसेम्बर ९, २००६ देखि जुन २२, २००७ सम्मको सफल अन्तरिक्ष यात्रा गरेकी छिन् । संसारको अग्लो धुरी सगरमाथा विजय गर्ने जापानकी जुन्को ताबेई, भारतकी वाचेन्द्रीपाल र नेपालकी पासाङ ल्हामु शेर्पा हुन् । सगरमाथाको विजयपछि फिर्दा शेर्पाको दुःखद् निधन हुन गयो । यिनलाई नेपाल सरकारले राष्ट्रिय विभूतिको सम्मान दिएको छ । सगरमाथा विजय गर्ने अन्य घेरै महिला पनि छन् ।
राजनीतिक क्षेत्रमा पनि महिला नेतृहरूद्वारा युगान्तकारी भूमिका निर्वाह गरी आफूलाई विश्व इतिहासमा अमर बनाएका छन् । मित्रराष्ट्र भारतकी स्वर्गीय इन्दिरा गान्धी तथा पूर्वकी चेली नामले विख्यात बेनजीर भुट्टो आफ्नो देशको लागि बलिदान हुने वीरङ्गनाको नाम हो । इस्लामिक राष्ट्रहरूमा एक मात्र धर्मनिरपेक्ष राज्य बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिना वाजेद देशको समृद्धि र परिवर्तनका लागि सङ्घर्षरत हुनुहुन्छ ।
‘चिना हराएको मान्छे’ नामको पुस्तकका लेखक हास्यव्यङ्ग्य महजोडीका लोकप्रिय कलाकार हरिवंश आचार्यकी श्रीमती मीरा आचार्यको देहावसान हुँदा मोडेल अस्पतालको प्राङ्गणमा अचार्यलाई टेलिभिजनको पर्दामा विक्षिप्त अवस्थामा देखाइको थियो । पङ्क्तिकारलाई पनि यही अस्पतालमा आफ्नी जीवनसंगिनी ‘लक्ष्मी श्रेष्ठ’ को देहान्त हुँदा यतिखेर यस्तै शोकाकूल अवस्था व्यहोर्नुपरेको स्मरण भइरहेको छ । आफ्नो जीवनको दोस्रो पारीमा साथदिन आइपुग्नुभएकी ‘रमिला पाठक’को अनुहारमा श्री आचार्य स्वर्गीय मीरा आचार्यको प्रतिबिम्ब देख्नुहुन्छ । उनीप्रति श्रद्धा प्रकट गर्ने यो सकारात्मक र सराहनीय सोच हो । एक्लोपनले डिप्रेसनतिर धकेलिरहेका अवस्थामा पाको उमेरमा आएर मञ्जु विमलीसँगको दोस्रो विवाहले लेखक तथा साहित्यकार कृष्ण धारावासी आफ्नो जीवनमा उत्साह उमङ्गले भरेको महसुस गर्नुहुन्छ । वृद्धावस्थामा विपरीतलिङ्गीको साथ अझ बढी चाहिन्छ भन्ने मानवअधिकारवादी वरिष्ठ पत्रकार भैरव रिसालको पाको र परिपक्व विचार छ । आधा शताब्दीको उमेरमा आएर विराटनगरकी मोडल मधु भट्टराईसँग विवाह गरी नेपाल सिनेमाका लोकप्रिय अभिनेता राजेश हमालले जीवनलाई सुखी र सार्थक बनाउनुभएको छ । पूर्वआईजीपी मोतीलाल बोहराको लोकप्रिय सिने तथा नाट्य कलाकार सुश्री मिथिला शर्मासँग विवाह सम्पन्न भएकाले दुवैको जीवनमा हरियाली छाउने आशा गर्न सकिन्छ ।
सृष्टिका कारकतत्व रहेका पुरुष र महिला रथका दुई पाङ्ग्रामध्ये एक र सिक्काका अर्का पाटाझैं समाजमा महत्वपूर्ण स्थान ओगट्छन् । महिला पुरुषबीचको नङमासुझैं अटुट सम्बन्धका कारण हाम्रो समाज समृद्ध–शक्तिशाली बनी सृष्टिले निरन्तरता पाएको छ । कहिलेकाहीँ यो सौहार्दपूर्ण सम्बन्धमा व्यवधान खडा भई सन्तुलन बिग्रन जान्छ । ‘छोरी–बुहारी’ स्वयम्मा ‘आमा–सासूआमा’ तथा हजुरआमा हो भने त्यस्तै प्रकारले छोरा–पिता र हजुरबुबा पनि । महिला र पुरुषको यो नाता–सम्बन्ध समयको अन्तरालमा समाजको विकाससँगसँगै परिपक्व हुँदै मर्यादाक्रमसमेत परिवर्तन हुँदै जाने संस्कार नै बसेको छ । यस लेखमा महिलाका पीडाको सम्बन्धमा प्रशस्त मात्रामा चर्चा पाएको छ, तर पुरुषहरूले समाजमा भोग्नुपर्ने दुःख, कष्ट तथा पीडाको सम्बन्धमा कुनै प्रकारको टीका–टिप्पणी चर्चा समाजमा हुने गरेको छैन । हाम्रो समाज पितृसत्तात्मक अथवा पुरुष प्रधान प्रक्रियाबाट सञ्चालित हुँदा यस्तो भएको हुन सक्छ । महिला प्रायशः पतिविहीनताको एक वर्षसम्म सेतो पहिरन लगाई शिरमा सधैँ सिन्दुर पुछिएको अवस्थामा हुन्छिन् । त्यस्तो परम्परा र अवस्था पुरुषको समाजमा हुने गरेको छैन । तर, वास्तवमा महिलाको झैँ पुरुषहरूको परिवेश र मानसिक अवस्था पनि उस्तै–उस्तै हो । एकल महिला तथा एकल पुरुष शारीरिक र मानसिक रूपमा समाजमा समान पीडाबोधको स्थितिमा हुन्छन् भन्ने बुझाइ लेखकको छ ।
नेपालमा पुरुषको औसत आयु ६६ र महिलाको ६८ वर्ष पुगेको तथ्याङ्क सार्वजनिक भएको थियो । औषधि विज्ञानसमेतको प्रभावले सरदर आयु अझ वृद्धि हुने सम्भावना छ । यो उमेर समूहको महिला र पुरुषको हातपाउ बसेको अवस्था हो । हाम्रो समाजमा एक्लो निरस जीवन बाँच्न बाध्य हुनुपर्ने अवस्थाका ‘धेरै–धेरै’ महिला तथा पुरुष छन् । यो उमेरमा आएर पुनर्विवाह गरेर सुखी जीवन यापन गर्न सक्ने परिकल्पनासम्म पनि गर्न सकिँदैन । त्यसैले ‘वृद्ध–वृद्धा’ अवस्थाका अभिभावकविहीन महिला तथा पुरुषको सुरक्षाका लागि काठमाडौंलगायत राज्यका पाँचै क्षेत्रहरूमा ज्येष्ठ नागरिक सेवाकेन्द्रहरूको स्थापना सरकारले गरिदिन आवश्यक देखिन्छ ।
प्रतिक्रिया