एकल महिला–एकल पुरुष : समान पीडाबोधको स्थितिमा

एकल महिला–एकल पुरुष : समान पीडाबोधको स्थितिमा


bichar– माधवप्रसाद श्रेष्ठ
आजका कम्प्युटर, इन्टरनेट तथा टेलिफोनजस्ता आधुनिकतम् सञ्चारमाध्यमका साधनहरू उपलब्धताको कारण साँघुरिँदै गएको विश्व मानचित्रको वरिपरि समाजमा महत्वपूर्ण स्थान ओगटेका महिला वर्गले आफ्नो पवित्रता जोगाई निर्धक्कसँग हिँडडुल गर्न र बाँच्न कठिनाइ पर्ने र विभिन्न कारणले आप्ना जीवनसाथीको मायाममताबाट वञ्चित हुनपर्नेसमेत ‘हजारौँ–लाखौँ’ महिलाका कहालीलाग्दा कथा र व्यथा सार्वजनिक हुने गरेका छन् । विशाल भारत र कहिलेकाहीँ नेपालमा पनि सुन्दैमा आङ जिरिङ्ग हुने खालका सामूहिक बलात्कार, बलात्कारपछि हत्याजस्ता जघन्य अपराध लगातार भनेजसो हुन गई हाम्रो समाज आक्रान्त हुने गरेको छ । भारतको दिल्ली र खास गरेर उत्तर प्रदेशमा यस्ता दुर्घटना शृङ्खलाबद्ध रूपमा घट्ने गरेको छ । नेपालको राजधानी काठमाडौं यस सम्बन्धमा शान्त देखिएको छ । भारतमा घटेका यस्ता घरेलुलगायत महिला हिंसाका घटनाभन्दा नेपालमा मोफसल पनि संयमितै छ भन्नुपर्छ । ज्वाइँलाई तिलक, छोरीलाई दाइजो दिने प्रथाले भारत र नेपालको तराई क्षेत्रमा असहज स्थिति उत्पन्न गर्ने गरेको छ । वैदेशिक रोजगारीले महिलाको जीवनमा कान्ति र भ्रान्ति दुवै ल्याउने गरेको छ ।
‘जुन घरमा स्त्रीजातिको सम्मान हुन्छ, त्यहाँ ईश्वरले बास गर्छन् ।’ पतिपरमेश्वर जीवित हुँदासम्म कुनै प्रकारको धर्मकर्म गर्न पर्दैन, आफ्ना जीवनसाथीको सेवा–सुश्रुषा गरे पुग्छ, भन्ने हिन्दूधर्मको नीति र मान्यता छ भनिन्छ । नेपालको प्रचलन, संस्कार, संस्कृति तथा रीतिरिवाजको वर्णन गर्ने हो भने महिला सामाजिक उत्पीडनको भुमरीमा परी सिन्दूर सदाका लागि पुछिएको अवस्थामा कष्टकर, एकल र निरश जीवन बाँच्न बाध्यकारी हुनजान्छ । महिलाको जिन्दगीमा सदा उत्साह र उमङ्ग भर्ने जीवनसाथीको देहान्त हुँदा कतिपय जातजातिका महिलाको पोतेधागो छिनाई तत्काल सार्वजनिक रूपमा एकप्रकारले बेइज्जतीजस्तो हुन गई उनको शेष जीवनमा व्यक्तित्व विकासमा यहीँबाट अवरोध खडा हुन जान्छ । यस्तो दुःखद् स्थितिको स्मरण गर्दा र सामाजिक न्यायको तराजुमा तौलिने प्रयास गर्दा यो अशुभ कार्यलाई कसरी मूल्याङ्कन गर्ने ? यस सम्बन्धमा पीडित महिलाको कस्तो विचार र प्रतिक्रिया होला ? निर्धक्कसँग पुनः विवाह गर्न सक्ने सम्भावना कुन अवस्थामा रहन्छ ? यो संस्कार र संस्कृतिलाई कहिलेसम्म खुल्ला रूपमा पन्पन दिई जीवन्त रहन दिने ? यो एउटा अत्यन्त संवेदनशील सामाजिक र मानवीय समस्या हो । नागरिक समाज, समाजशास्त्रीहरू र महिला आयोगहरूले सोच्न धेरै अबेर भइसकेको छ ।
शारीरिक बनावटको दृष्टिबाट साधारणतया महिलालाई पुरुषभन्दा कमजोर हुन्छन् भन्ने गरिए पनि उनीहरू अझ दृढनिश्चयी र साहसी हुन्छन् भन्ने कुरा सैद्धान्तिक तथा सर्वमान्य रूपमा स्वीकार गरिएको विषय हो । नागरिक र अन्तरिक्ष उडानको क्षेत्रमा भारतीय नारीले चामत्कारिक कार्य गरेर विश्वलाई देखाइदिएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्षमा मार्च ८, २०१० मा पाइलटहरू र सम्पूर्ण महिलाको २२ जनाको डफ्फाले एयर इन्डियाको बोइङ ७७७–२०० एलआर जहाजद्वारा मुम्बईबाट सीधै न्युयोर्क जोनएफ केनेडी ऐयरपोर्टमा उतारेका छन् । भारतीय मूलकी कल्पना चाउलाले भारतीय÷अमेरिकन यात्रुको रूपमा एकपटक सफलता पाएपछि १ फेब्रुअरी २००३ मा ४१ वर्षको उमेरमा दुर्घटना हुँदा दुःखद् निधन हुन गयो । गुजरात मूलकी फ्लाइट इन्जिनियर सुनिता विलियमद्वारा डिसेम्बर ९, २००६ देखि जुन २२, २००७ सम्मको सफल अन्तरिक्ष यात्रा गरेकी छिन् । संसारको अग्लो धुरी सगरमाथा विजय गर्ने जापानकी जुन्को ताबेई, भारतकी वाचेन्द्रीपाल र नेपालकी पासाङ ल्हामु शेर्पा हुन् । सगरमाथाको विजयपछि फिर्दा शेर्पाको दुःखद् निधन हुन गयो । यिनलाई नेपाल सरकारले राष्ट्रिय विभूतिको सम्मान दिएको छ । सगरमाथा विजय गर्ने अन्य घेरै महिला पनि छन् ।
राजनीतिक क्षेत्रमा पनि महिला नेतृहरूद्वारा युगान्तकारी भूमिका निर्वाह गरी आफूलाई विश्व इतिहासमा अमर बनाएका छन् । मित्रराष्ट्र भारतकी स्वर्गीय इन्दिरा गान्धी तथा पूर्वकी चेली नामले विख्यात बेनजीर भुट्टो आफ्नो देशको लागि बलिदान हुने वीरङ्गनाको नाम हो । इस्लामिक राष्ट्रहरूमा एक मात्र धर्मनिरपेक्ष राज्य बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिना वाजेद देशको समृद्धि र परिवर्तनका लागि सङ्घर्षरत हुनुहुन्छ ।
‘चिना हराएको मान्छे’ नामको पुस्तकका लेखक हास्यव्यङ्ग्य महजोडीका लोकप्रिय कलाकार हरिवंश आचार्यकी श्रीमती मीरा आचार्यको देहावसान हुँदा मोडेल अस्पतालको प्राङ्गणमा अचार्यलाई टेलिभिजनको पर्दामा विक्षिप्त अवस्थामा देखाइको थियो । पङ्क्तिकारलाई पनि यही अस्पतालमा आफ्नी जीवनसंगिनी ‘लक्ष्मी श्रेष्ठ’ को देहान्त हुँदा यतिखेर यस्तै शोकाकूल अवस्था व्यहोर्नुपरेको स्मरण भइरहेको छ । आफ्नो जीवनको दोस्रो पारीमा साथदिन आइपुग्नुभएकी ‘रमिला पाठक’को अनुहारमा श्री आचार्य स्वर्गीय मीरा आचार्यको प्रतिबिम्ब देख्नुहुन्छ । उनीप्रति श्रद्धा प्रकट गर्ने यो सकारात्मक र सराहनीय सोच हो । एक्लोपनले डिप्रेसनतिर धकेलिरहेका अवस्थामा पाको उमेरमा आएर मञ्जु विमलीसँगको दोस्रो विवाहले लेखक तथा साहित्यकार कृष्ण धारावासी आफ्नो जीवनमा उत्साह उमङ्गले भरेको महसुस गर्नुहुन्छ । वृद्धावस्थामा विपरीतलिङ्गीको साथ अझ बढी चाहिन्छ भन्ने मानवअधिकारवादी वरिष्ठ पत्रकार भैरव रिसालको पाको र परिपक्व विचार छ । आधा शताब्दीको उमेरमा आएर विराटनगरकी मोडल मधु भट्टराईसँग विवाह गरी नेपाल सिनेमाका लोकप्रिय अभिनेता राजेश हमालले जीवनलाई सुखी र सार्थक बनाउनुभएको छ । पूर्वआईजीपी मोतीलाल बोहराको लोकप्रिय सिने तथा नाट्य कलाकार सुश्री मिथिला शर्मासँग विवाह सम्पन्न भएकाले दुवैको जीवनमा हरियाली छाउने आशा गर्न सकिन्छ ।
सृष्टिका कारकतत्व रहेका पुरुष र महिला रथका दुई पाङ्ग्रामध्ये एक र सिक्काका अर्का पाटाझैं समाजमा महत्वपूर्ण स्थान ओगट्छन् । महिला पुरुषबीचको नङमासुझैं अटुट सम्बन्धका कारण हाम्रो समाज समृद्ध–शक्तिशाली बनी सृष्टिले निरन्तरता पाएको छ । कहिलेकाहीँ यो सौहार्दपूर्ण सम्बन्धमा व्यवधान खडा भई सन्तुलन बिग्रन जान्छ । ‘छोरी–बुहारी’ स्वयम्मा ‘आमा–सासूआमा’ तथा हजुरआमा हो भने त्यस्तै प्रकारले छोरा–पिता र हजुरबुबा पनि । महिला र पुरुषको यो नाता–सम्बन्ध समयको अन्तरालमा समाजको विकाससँगसँगै परिपक्व हुँदै मर्यादाक्रमसमेत परिवर्तन हुँदै जाने संस्कार नै बसेको छ । यस लेखमा महिलाका पीडाको सम्बन्धमा प्रशस्त मात्रामा चर्चा पाएको छ, तर पुरुषहरूले समाजमा भोग्नुपर्ने दुःख, कष्ट तथा पीडाको सम्बन्धमा कुनै प्रकारको टीका–टिप्पणी चर्चा समाजमा हुने गरेको छैन । हाम्रो समाज पितृसत्तात्मक अथवा पुरुष प्रधान प्रक्रियाबाट सञ्चालित हुँदा यस्तो भएको हुन सक्छ । महिला प्रायशः पतिविहीनताको एक वर्षसम्म सेतो पहिरन लगाई शिरमा सधैँ सिन्दुर पुछिएको अवस्थामा हुन्छिन् । त्यस्तो परम्परा र अवस्था पुरुषको समाजमा हुने गरेको छैन । तर, वास्तवमा महिलाको झैँ पुरुषहरूको परिवेश र मानसिक अवस्था पनि उस्तै–उस्तै हो । एकल महिला तथा एकल पुरुष शारीरिक र मानसिक रूपमा समाजमा समान पीडाबोधको स्थितिमा हुन्छन् भन्ने बुझाइ लेखकको छ ।
नेपालमा पुरुषको औसत आयु ६६ र महिलाको ६८ वर्ष पुगेको तथ्याङ्क सार्वजनिक भएको थियो । औषधि विज्ञानसमेतको प्रभावले सरदर आयु अझ वृद्धि हुने सम्भावना छ । यो उमेर समूहको महिला र पुरुषको हातपाउ बसेको अवस्था हो । हाम्रो समाजमा एक्लो निरस जीवन बाँच्न बाध्य हुनुपर्ने अवस्थाका ‘धेरै–धेरै’ महिला तथा पुरुष छन् । यो उमेरमा आएर पुनर्विवाह गरेर सुखी जीवन यापन गर्न सक्ने परिकल्पनासम्म पनि गर्न सकिँदैन । त्यसैले ‘वृद्ध–वृद्धा’ अवस्थाका अभिभावकविहीन महिला तथा पुरुषको सुरक्षाका लागि काठमाडौंलगायत राज्यका पाँचै क्षेत्रहरूमा ज्येष्ठ नागरिक सेवाकेन्द्रहरूको स्थापना सरकारले गरिदिन आवश्यक देखिन्छ ।