सबल स्वास्थ्यस्थिति, जोस, जाँगर, क्षमता र उत्साह रहिन्जेल अवसर नपाउने, अवसर प्राप्त हुँदा शरीर, उत्साह र क्षमता शिथिल भइसक्ने एउटा उदेकपूर्ण एवम् पट्यारलाग्दो चरणबाट नेपाली राजनीति गुज्रँदै छ । अल्पविकसित मुलुकहरूमा अधिकांश मानिस आफूलाई ‘माथि’ पु¥याउन राजनीतिमा सरिक हुने गर्दछन्, उनीहरूमा आफू कसरी सफल बन्न सकिन्छ भन्ने विषयको चिन्ता मात्र हुँदैन, आफ्नो उन्नतिका निम्ति स्पष्ट भिजन र त्यसप्रतिको लगाव पनि हुन्छ । आफूलाई ‘माथि पु¥याउन’ राजनीतिमा संलग्न व्यक्तिमा देशलाई कसरी माथि लैजाने भन्ने विषयसम्बन्धित दृष्टिकोण, नीति, कार्यक्रम, प्रतिबद्धता र इमानदारी नभए पनि आफ्ना विषयमा स्पष्टता देखिन्छ– ‘जसरी भए पनि सत्तामा पुग्ने र पुगेपछि हरहालतमा हैसियत जोगाइरहने ।’ नेपाली राजनीतिकर्मीहरूको साझा मनोविज्ञान पनि यही नै हो । देशका प्रति चिन्तित, चिन्तनशील एवम् समर्पित व्यक्ति उचित जिम्मेवारीको अवसरबाट वञ्चित रहन्छन् या निरुत्साहित गरिन्छन् । पार्टीहरूभित्रै बलियो ‘सिन्डिकेट’ खडा गर्ने र ‘एसम्यान’हरूको दुर्गन्धित पोखरीबाट रोजाइमा परेकालाई हात दिएर साथ लिने सामन्ती अभ्यासको परम्परा राणा–शाह जो–जसले बसाएका भए पनि देशको सबैभन्दा ठूलो ‘प्रजातान्त्रिक’ दल नेपाली काङ्ग्रेसले त्यस्तो परम्परालाई अक्षुण्ण राख्ने प्रभावकारी क्षमता दर्शाउँदै आएको छ । कम्युनिस्टहरू राजतन्त्रमा जस्तै उत्तराधिकारी परम्परामा विश्वास गर्छन् । माओपछि हुवाको फङ, किमइल सुङपछि किम जोड इल र इलपछि उन, लेनिनपछि स्तालिन र स्तालिनपछि ख्रुस्चेब, फिडेल क्यास्त्रोपछि राहुल र हु चिन ताओपछि सी जिन पिङ उत्तराधिकारी परम्पराअनुरूप ‘नेता’ बनाइएका हुन् । तर, सामान्यतया कम्युनिस्टहरूले उत्तराधिकारी निर्धारण गर्दा वफादारीलाई मात्र आधार बनाउँदैनन्, सिद्धान्त, विचार क्षमता, कार्यकौशल र देशप्रतिको इमानदारीसमेतलाई हेरी वफादार पात्रलाई उत्तराधिकारी बनाउने परम्परा कम्युनिस्टहरूले बनाएका छन् । उत्तर कोरियामा चाहिँ साम्यवादी राजतन्त्र नै स्थापना गरिएकोले त्यहाँको स्थितिलाई अझै भिन्न रूपमा बुझ्न सकिन्छ ।
विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक मित्रराष्ट्र भारत र नेपालको सामाजिक एवम् राजनीतिक चरित्रमा भिन्नताको मात्रा कम छ । उस्तैखाले प्रवृत्ति, पात्र र कार्यशैली नेपाल र भारतमा देख्न सकिन्छ । नेपाली काङ्गे्रस कोइराला वंशको शासनबाट मुक्त हुन खोज्दैन । कोइरालाहरूसँग निहुँ खोज्ने महानेता गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईहरूले जीवनको आखिरी कालखण्डमा पार्टीबाटै अलग्गिएको घोषणा गर्नुप¥यो । कोइरालाहरूसँग भिडेर वंश परम्पराको अन्त्य गर्न अग्रसर शेरबहादुर देउवा र उनीहरूसँग मित्रवत् सम्बन्ध कायम गरी आफूमा नेतृत्व हस्तान्तरण हुने परिस्थिति निर्माण गर्न प्रयत्नशील रामचन्द्र पौडेलमध्ये कुनैले पार्टीको सर्वोच्च सत्ता प्राप्त गर्ने हुन् या होइनन् यो अझै प्रतीक्षाको विषय बनेको छ । कुनै एक कोइरालालाई गहनाकै रूपमा भए पनि प्रयोग नगरी देउवा वा पौडेल सर्वोच्च जिम्मेवारी प्राप्त गर्न सफल हुने विश्वास गरिएको छैन । कुनै तरिकाले देउवा वा पौडेल उच्च नेतृत्वमा पुग्न सफल त होलान् तर त्यसबेलासम्म उनीहरू पनि अशक्त नबन्लान् भन्न सकिन्न । डा. रामशरण महतको पुस्तामा अहिले देखिएको ऊर्जा अर्काे दश वर्षपछि नरहनु प्राकृतिक गुण हो, अशक्त भइसकेपछि मात्र महतलाई सर्वोच्च पदको जिम्मेवारी सुम्पनुचाहिँ अवश्य पनि अस्वाभाविक र अप्राकृतिक हो । नेकपा एमाले प्रजातान्त्रिक अभ्यासमा जुट्दै गर्दा उसले माधव नेपालहरूको हातबाट सत्ता खोसी केपी ओलीसम्म पु¥याउन पनि निकै सङ्घर्ष गर्नुपर्ने अवस्था रह्यो । पार्टी या देशमा सक्षम नेतृत्व सहजै उपलब्ध र स्थापित हुने विधि र परम्पराको विकास गर्न सकिएन भने त्यसले प्रजातन्त्रसम्मत मूल्य–मान्यतालाई मात्र क्षति पु¥याउँदैन, देशको उन्नति र समृद्धिमा समेत अड्चन पैदा गर्नेछ ।
मित्रराष्ट्र भारतमा पनि प्रजातन्त्रको चुनौती बनेर वंश परम्परा स्थापित हुन खोज्दै थियो । नेहरूपछि इन्दिरा, इन्दिरापछि राजीव र राजीवपछि सोनिया हुँदै राहुलसम्म पुग्दै गरेको राजनीतिलाई नरेन्द्र मोदीले क्रभभङ्ग गरिदिएका छन् । भारतीय राजनीतिमा मोदीको बलवान उपस्थितिले वंशीय राजनीतिलाई चुनौती दिएको मात्र छैन, नयाँपनको अनेक सन्देश पनि प्रवाहित गरेको छ । एक असल, योग्य र सक्षम राजनीतिज्ञ बन्न तीन गुणहरू अनिवार्य मानिएका छन्– दूरदृष्टि, कार्यप्रतिबद्धता र इमानदारी । सुदूरभविष्यसम्मको गन्तव्य र मार्गबारे स्पष्ट दृष्टि, त्यसअनुरूपको निर्णय एवम् कार्यक्षमता र देश तथा जनताप्रति पूर्ण इमानदारीबिना कोही राजनेता बन्न सक्दैनन् । मोदीमा उल्लिखित तीनै गुणहरू रहेको पुष्टि व्यवहारतः हुँदै गएको छ ।
आफ्नोभन्दा बढी देशको माया गर्नु, आत्मकेन्द्रित सोचबाट मुक्त भई देशकेन्द्रित भावनाबाट अभिपे्ररित रहनु, निजी इच्छा, आकाङ्क्षा र स्वार्थबाट टाढा हुनु, आफ्नो धर्म, परम्परा र संस्कृतिप्रति प्रतिबद्ध भई क्रियाशील रहनु, राष्ट्रिय जिम्मेवारी पूरा गरिरहँदा आफन्त, नातेदार तथा व्यक्तिगत मित्रहरूको प्रभावबाट मुक्त हुनु, गन्तव्य तय गरी त्यसलाई हासिल गर्न ‘एकलव्य प्रयास’ गर्नु मोदीका विशेषता हुन् । राष्ट्र निर्माणका निम्ति मोदीले बनाएका दृष्टिकोण, नीति, कार्यक्रम र त्यसप्रतिको अटुट समर्पणले उनको उचाइ बढाएको छ । समग्रमा प्लेटोको ‘आदर्श राज्य’ले परिकल्पना गरेजस्तै नेता हुन् मोदी ।
ज्ञातव्य छ, प्लेटोले सत्ताकेन्द्रमा रहने व्यक्ति पारिवारिक जीवनबाट मुक्त, दार्शनिक एवम् धार्मिक गुणयुक्त क्षमतावान हुनुपर्छ भन्ने कल्पना गरेका थिए । प्लेटोले चाहेजस्तै व्यक्ति यतिबेला भारतीय शासन सत्ताको केन्द्रबिन्दुमा छन् । हाम्रा प्रधानमन्त्री सुशील कोइराला पनि अविवाहित छन् र उनको स्वच्छ छवि र इमानदारीको पनि मानिस परख गर्दछन् । तर, अविवाहित भएर पनि सुशील कोइराला परिवारमुक्त हुन सकेनन्, इमानदार तथा स्वच्छ छविका भए पनि उनले राष्ट्र निर्माणका पक्षमा निर्णयक्षमता प्रस्तुत गर्न सकेनन् । प्रधानमन्त्री अविवाहित र छवि स्वच्छको भएर मात्र देश बन्दोरहेनछ, देश बन्न अरू थप गुण र क्षमता आवश्यक पर्ने तथ्यबोध गराउँदै छ सुशील कोइरालाको प्रधानमन्त्रीत्वकाल ।
नरेन्द्र मोदीले पार्टीको राष्ट्रिय अध्यक्ष बनिसकेका चार÷चार नेतालाई आफ्नो मन्त्रिमण्डलमा समेटे । बेंकैया नायडु, राजनाथ सिंह, मुरलीमनोहर जोशी र नितिन गडकरीजस्ता ‘अध्यक्ष’हरूलाई सरकारमा समेट्न मोदीले सङ्कोच मानेनन् । राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हालिसकेका नेताहरू पनि आफूभन्दा ‘जुनियर’को मातहतमा रहेर काम गर्न खुसी–खुसी तयार भए । देशको आवश्यकताका अघिल्लतिर व्यक्तिको मान, प्रतिष्ठा या वरिष्ठता भन्ने कुरा जहिले पनि गौण हुन्छ भन्ने सन्देश मोदी र उनको नयाँ राजनीतिक अभ्यासले दिएको छ । तर, हामीकहाँ पार्टी सभापति प्रधानमन्त्री बनेको सरकारमा उपसभापतिले मन्त्रीको जिम्मेवारी स्वीकार गर्न सक्ने अवस्था छैन र आफ्नै उपसभापतिलाई सरकारको कार्यवाहक प्रमुख बनाउन पनि प्रधानमन्त्री डराएको स्थिति छ । देशको मान, प्रतिष्ठा वृद्धिमा योगदान पु¥याउन नसके पनि आफ्ना मान–प्रतिष्ठा र ‘इगो’ रक्षाका प्रति अत्यन्त सचेत देखिन्छन् नेपाली राजनीतिकर्मीहरू ।
आलोचनासँग डराउने या आलोचनामुक्त जीवनको कल्पना गर्ने मानिस नेता हुन सक्दैनन् । सम्पूर्ण राज्यसत्ता, सुखभोग र पारिवारिक जीवन त्यागेर सन्न्यासी बनेका गौतमुबद्ध पनि आलोचनामुक्त हुन सकेनन्, हतियार लिएर उनको हत्या गर्ने प्रयाससमेत भयो भने राजनीतिमा संलग्न मानिस आलोचनासँग डराउँछन् र आलोचकहरूलाई शत्रुको व्यवहार गर्दछन् । अनेक शीर्षकमा मोदीको आलोचना भएको सुनिन्छ, नेपाली राजनीतिकर्मीहरू पनि मौका पर्दा मोदीको आलोचना गर्न चुक्दैनन् । विपन्न गुजरातलाई सम्पन्नतातर्फको यात्रामा सामेल गराएर आफ्नो क्षमता, इमानदारी र कौशल पुष्टि गरिसकेका नरेन्द्र मोदीलाई एउटा शान्त, सुरक्षित तथा सम्पन्नतातिर अग्रसर मुलुकलाई विपन्नता र विकृतितर्फ धकेल्ने नेपाली नेताहरूले अर्ती–उपदेश दिँदा एउटा गज्जबको हास्यरस पैदा हुँदोरहेछ । भारतीय कवि रवीन्द्रनाथ या नेपाली साहित्यका अचल नक्षत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिहरूको समालोचना गर्दै ऋषि धमलाले तिनमा त्रुटि देखाउन खोज्दा उत्पन्न हुने हास्यरस नेपाली नेताहरूले मोदीलाई आलोचना गरेर या सुझाव दिएर पैदा गर्न सक्छन् ।
मोदीमा अदम्य साहस र मुलुकप्रति समर्पणभाव देखिन्छ । उनको उदयले बाराक ओबामा, सी जिनपिङ र भ्लादिमिर पुटिनलाई समेत भारतप्रति संवेदनशील एवम् सचेत हुनुपर्ने अवस्था पैदा गरिदिएको छ । नान्सी पावेललाई ‘बलिको बाख्रा’ बनाएर अमेरिकाले मोदीको मन जित्न प्रयास गरिसकेको छ भने सी जिनपिङ पनि मोदीसँग मित्रवत् सम्बन्ध बनाउन विशेष रूपले यत्नशील देखिन्छन् । देशको राज्यसत्तामा योग्य नेताको पदार्पण हुँदा मुलुकको इज्जत–प्रतिष्ठामा समेत फरक पर्दोरहेछ भन्ने उदाहरण मोदीको सत्तारोहणपश्चात् अन्तर्राष्ट्रिय जगत्ले भारतप्रति दर्शाएको चासोले पुष्टि गरेको छ । दक्षिण एसियामा त उनी आफ्ना काम, कार्यशैली र व्यवहारका कारण ‘हिरो’ बनेकै छन् । नेपालमा प्रचण्डहरूले ‘हिरो’ बन्न हतियार उठाए, चर्का क्रान्तिकारी नारा लगाए, मौलिक धर्म, संस्कृति र परम्परा ध्वंश गर्न सम्पूर्ण क्रान्तिकारी बन्नुपर्ने र धर्म–परम्पराका विरुद्ध जाइलाग्नुपर्छ भन्ने मान्यता प्रचण्डहरूले स्थापित गर्न खोजेका हुन् । तर, भारतमा नरेन्द्र मोदीले धर्म, परम्परा र संस्कृतिको पक्ष लिएरै पनि ऐतिहासिक ढङ्गले जनविश्वास आर्जन गरे । परिवर्तन गर्न ध्वंश हुनुपर्छ भन्ने प्रचण्डहरूको मान्यताविपरीत विध्वंशबिना नै सुधारात्मक परिवर्तन गर्न सकिने प्रमाण पनि मोदीले पेस गरिसकेका छन् ।
नेपाली राजनीतिकर्मीहरूको स्वभाव–चरित्र मोदीको भन्दा ठीक विपरीत भएको र कसैको राम्रा गुणहरूको अनुकरण गर्ने क्षमता उनीहरूले गुमाइसकेको हुनाले यिनले मोदीबाट केही सिक्लान् भन्ने अपेक्षा गरिएको छैन । कम्तीमा साधारण तर सचेत जनता र पार्टीको तल्ला तहका कार्यकर्ताले चाहिँ मोदीबाट केही सिक्ने प्रयास गर्नु उपयुक्त हुनेछ । देश र जनताप्रति इमानदार रहने, निजी खुसी तिलाञ्जली दिएर राष्ट्रसेवामा समर्पित हुने र विधि तथा प्रणालीको शासन स्थापित गर्न सच्चा दिलले क्रियाशील रहने हो भने दलहरूभित्रको सिन्डिकेट तोडेर योग्य मानिसलाई उपयुक्त जिम्मेवारीमा पु¥याउन या पुग्न सकिन्छ भन्ने ज्ञान मात्र नेपाली जनताले ग्रहण गरेमा नेपाली राजनीति र नेपालको मुहार परिवर्तनको द्वार अवश्य खुल्ने आशा गर्न सकिनेछ ।
प्रतिक्रिया