– बुद्धिप्रसाद शर्मा
दोस्रो विश्वयुद्धको समाप्तिसँगै विश्व–महाशक्ति बनेको अमेरिका त्यसयता कहिल्यै पनि विश्वमञ्चमा पछि परेको देखिएन । सन् १९५० देखि १९९० सम्मको शीतयुद्धकालीन अमेरिका र सोभियत युनियनबीचको चरम प्रतिस्पर्धामा सोभियत युनियनको पतनसँगै सन् १९९१ बाट अमेरिका विश्वको एक मात्र शक्तिराष्ट्र बन्यो । राजनीतिक, आर्थिक, प्रविधि, सामरिकलगायतका कुरामा अझैसम्म पनि दुनियाँमा त्यस्तो राष्ट्र छैन जसले अमेरिकालाई सीधै टक्कर दिन सकोस् । सन् १९२० देखि १९९० सम्म अमेरिकाले संसारकै सबभन्दा सफल र असल नेतृत्व पायो । समयको प्रभाव र विश्वमञ्चको परिस्थिति व्यावहारिक ढङ्गबाट विश्लेषण गरेर ती नेतृत्वकर्ताहरू आफ्नो देशलाई सदा नम्मर एक बनाउन सफल भए ।
सन् १९९१ पछिका नेतृत्वहरूले त्यति धेरै मिहिनेत त गर्नुपरेको छैन, तर जब सोभियत युनियनको पतनसँगै एक मात्र शक्तिराष्ट्र बन्यो त्यसको केही समयपछि विश्व राजनीतिमा नयाँ–नयाँ राष्ट्रहरू जोडदार राजनीतिक तथा आर्थिक सुधार गरी अगाडि बढ्न थाले, जुन अवस्था सन् २००० पछि झनै बढेर गयो । यसले गर्दा अमेरिकाको पारम्परिक प्रभाव क्षेत्र र आयस्रोत नराम्रोसँग घट्न पुग्यो । दक्षिण–पूर्वी एसियाली राष्ट्रहरूको नाटकीय विकास, चीन, भारत, रसिया, दक्षिण कोरिया, ब्राजिल र दक्षिण अफ्रिकाजस्ता देशहरूको विश्वशक्ति बन्ने होड साथसाथै हिजो चरम गरिबीमा पिल्सिएका अफ्रिकी देशहरू जस्तै: नाइजेरिया, इथियोपिया आदि देशहरू आर्थिक रूपमा अगाडि आउन थाले । यसरी आर्थिक एवम् राजनीतिक रूपमा अमेरिकालाई ठाडो चुनौती दिन सक्ने राष्ट्रहरूको उदयसँगै स्वाभाविक रूपमा अमेरिकाको प्रभाव विश्व राजनीतिमा घट्दै गएको अनुभूति गरिन्छ । इराक र अफगानिस्तानमाथिको अमेरिकी प्रयास पूर्ण असफल ठानिएको छ । लिबिया, सिरिया, इजिप्ट, इजरायल एवम् प्यालेस्टाइन देशका द्वन्द्व समाधानमा पनि अमेरिकी प्रयास विफल भएका छन् । आन्तरिक राजनीतिमा समेत अमेरिकी राष्ट्रपति ओबामा र उनी नेतृत्वको सरकार तथा प्रशासन एकदमै कमजोर र निरीह बन्दै गएको अनुभूति हुन्छ । अनुसन्धानहरूले यतिबेला अमेरिकी राष्ट्रपतिको लोकप्रियता इतिहासकै न्यून देखाएका छन् । यस्तो परिवेशमा विश्व महाशक्ति राष्ट्र अमेरिकाको प्रभाव अन्तर्राष्ट्रिय राजनीतिमा किन कमजोर बन्दै गएको छ त भन्ने जिज्ञासा स्वत: पैदा हुन्छ ।
क. एकपक्षीय प्रवृत्ति : प्रत्यक्ष रूपमा अल्पविकसित एवम् विकासशील राष्ट्रहरूलाई सहयोग बढाएजसो गरी अमेरिकाले ती देशहरूलाई राजनीतिक रूपमा अस्थिर, आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा विखण्डनउन्मुख बनाउनतर्फ लागेको आरोप लग्दै आएको छ । कमजोर राष्ट्रहरूलाई सदा आफ्ना एकल स्वार्थका सर्तहरू थोपर्ने र त्यहाँका साधन स्रोतमाथि पूर्ण कब्जा जमाउने साथसाथै सधैँ धोखाधडी कूटनीति अमेरिकाले उपयोग गरेको भनी आलोचना गर्नेहरूको कमी छैन । यसप्रकारको कूटनीतिक अन्याय सम्बन्धित देशहरूले धेरै पछि थाहा पाए र अमेरिकासँगको सम्बन्धलाई चनाखोपूर्ण ढङ्गबाट अगाडि बढाउन थाले । अमेरिका सँगसँगै उसका साझेदार अन्तर्राष्ट्रिय संस्थाहरूप्रति पनि घनघोर वितृष्णा बढ्यो र समस्याको कारक रूपमा चित्रण गर्न थालियो । यसरी अमेरिकाको कूटनीतिक बेइमानीका कारण कमजोर देशहरू विश्व राजनीतिमा वैकल्पिक सम्बन्ध बढाउनतर्फ लागे ।
ख. अनियन्त्रित उदार पुँजीवादको क्रमिक असफलता : सन् १९९० को दशकको अन्तिम समयबाट उदार पुँजीवादी अर्थतन्त्रभित्र संरचनात्मक समस्याहरू बढ्न थाल्यो । अमेरिकाको सन्दर्भमै हेर्नुपर्दा बजेट घाटा बढ्दै जानु, बेरोजगारी दर उच्च हुनु, मुद्रास्फीति दर सरकारको नियन्त्रणभन्दा बाहिर जानु, आर्थिक वृद्धिदर घट्नु र आमजनता राज्यको सेवा–सुविधाबाट वञ्चित हुँदै गएको कारण लगामहीन खुला पुँजीवादी अर्थतन्त्र असफल बन्दै गएको छ । सन् २००८ को विश्व आर्थिक मन्दीपछि त उदार पुँजीवादी अर्थतन्त्रलाई उचित सरकारी नियन्त्रण आवश्यक रहेको आवाज आर्थिक विज्ञहरूले उठाउन थाले । यो भनेको अमेरिकी प्रायोजित आर्थिक मोडलको असफलताको लक्षण थियो र हो ।
ग. राष्ट्रहरूमा जागेको सचेतना : ऋण र अनुदान सहयोगको नाममा अल्पविकसित र विकासशील देशहरूलाई कसरी पश्चिमा विश्व एवम् उनीहरूद्वारा प्रायोजित अन्तर्राष्ट्रिय संस्थाहरूले शोषण गर्दछन् र ती देशहरूलाई हदैसम्मको अस्थिर एवम् कमजोर बनाउँछन् भन्ने कुराको स्पष्टता एक्काइसौँ शताब्दीमा आएर मात्र भयो । यसो भएपछि ती गरिब देशहरू स्पष्ट राजनीतिक सोच र प्रणालीसहित आन्तरिक सुधारतर्फ लागे । बाह्य सहयोगको क्षेत्रहरूलाई उनीहरूले नयाँ उदाउँदा अर्थतन्त्रसँग हातेमालो गरे । चीन, रसिया, भारतलगायतका नयाँ उदाउँदा देशहरू गरिब राष्ट्रहरूमा बिनासर्त लगानी बढाउन अग्रसर भए । उचित मूल्यमा कच्चा पदार्थ खरिद गर्न, आमन्त्रित राष्ट्रहरूको योजनामा आधारित लगानी बढाउन र सहसम्बन्धमा आधारित द्विपक्षीय सम्बन्ध बढाउन चीन, भारत, रसियाजस्ता देशहरू अल्पविकसित देशहरूमा प्रवेश गरे । जसको भरपूर फाइदा नेपाललगायत गरिब राष्ट्रहरूले लिँदै छन् । यसकारण पनि भन्न सकिन्छ कि अमेरिकी असमान सम्बन्ध र गलत नियतको बोध विश्वका कमजोर धेरै देशहरूमा हुनु पनि अमेरिकाको अधोगतिको एउटा कारण हो ।
घ. नयाँ शक्तिको उदय : सन् १९७८ बाट खुला अर्थतन्त्रको अवलम्बनसँगै तीव्र आर्थिक वृद्धि गरेको चीन सन् २०१० मा जापानलाई उछिन्दै दोस्रो आर्थिक शक्ति बन्यो । आईएमएफलगायत केही विश्व आर्थिक संस्थाहरूको आँकलनअनुसार सन् २०२५ सम्म चीन विश्वको प्रथम आर्थिक शक्ति बन्नेछ, अमेरिकालाई पछि पार्दै । सँगसँगै भारत, रसिया, दक्षिण कोरिया, दक्षिण अफ्रिका, ब्राजिललगायतका देशहरू पनि तीव्र आर्थिक विकाससँगै अगाडि बढेका छन् । आज युरोपको प्रभाव विश्व राजनीतिक एवम् आर्थिक क्षेत्रमा नगन्य प्राय: भएको छ । आफँै आन्तरिक कठिनाइमा गुज्रिरहेको युरोपले कमजोर बन्दै गएको अमेरिकालाई अप्ठ्यारोमा साथ–सहयोग दिने कुरा व्यावहारिक रूपमा राख्दैन । यसरी विश्व मञ्चमा विभिन्न शक्तिराष्ट्रहरूको उदय र उनीहरूको देखिँदो बढ्दो प्रभावले सन् १९९० पछिको एकध्रुवीय विश्व सन्तुलनलाई पुन: बहुध्रुवीय बनाइदिएको छ । यो वास्तवमा अमेरिकी एकल प्रभुत्वमाथिको जोडदार धक्का हो । आज मध्यपूर्वदेखि अफ्रिका एवम् दक्षिण अमेरिकाका द्वन्द्व समाधानमा अमेरिकाको प्रयास पूर्ण विफल हुनु यही नवध्रुवीय विश्वको प्रभाव हो ।
निष्कर्ष : निश्चित रूपमा विश्व राजनीति सदा एकै किसिमले अगाडि बढ्दैन । विश्वको इतिहासले पनि यो कुराको पुष्टि गरेको छ । विश्वमञ्चमा नयाँनयाँ शक्ति उदाउने र अस्ताउने क्रम चलिरहन्छ । विश्व इतिहासले के पनि देखाएको छ भने पूरानो शक्तिको विघटन र नयाँ शक्तिको उदयसँगै राजनीतिक विचारधारा, आर्थिक मोडल र सामाजिक सम्बन्ध पनि परिवर्तन हुँदै आएका छन् । आज अमेरिकाको गिर्दो प्रभावसँगै उसले प्रवद्र्धन गर्दै आएको राजनीतिक विचारधारा, आर्थिक मोडल र सामाजिक सम्बन्ध समाप्त भई नयाँ ढङ्गको परिस्थिति निर्माण हुने क्रममा छ । यो लगभग प्राकृतिक प्रक्रिया हो भन्दा पनि हुन्छ । कतिपय अन्तर्राष्ट्रिय मामिलाका विज्ञहरूले चेतावनी दिन थालेका छन् कि अमेरिकी नीति, कार्यान्वयन तरिका र नियतले विश्व राजनीतिलाई उसको प्रभाववाट मुक्त गर्दै विस्तारै चरम व्यापारघाटासहित कुनै समय असफल राष्ट्र बनाउने त होइन ?
yesmanbush@gmail .com
प्रतिक्रिया