अनुशासन हुनु त यस्तो पो– वीरेन्द्रमणि पौडेल

अनुशासन हुनु त यस्तो पो– वीरेन्द्रमणि पौडेल


bicharनेपाल प्रहरी सङ्गठनबाट अवकाशप्राप्त प्रहरी उपरीक्षक रामचन्द्र भण्डारीले असार १२ गते चितवनको भरतपुरमा दुईजना स्कुले नानीले स्कुल जाने क्रममा केराको बोक्रा सडकमा फालेको देखे । नानीहरूले सडकमा बोक्रा फ्याँकेको दृश्य हेरिसकेपछि तिनले केही भलाद्मीहरूसँग यसो भने, ‘कुन स्कुलका विद्यार्थी हुन् भन्न सक्दिनँ, तर त्यो स्कुलमा अनुशासन सिकाएको रहेनछ भन्नेचाहिँ बुझियो ।’ कम्तीमा ती नानीहरूलाई केराको बोक्रामा चिप्लिएर मानिस लड्न सक्छ भन्ने कुरा थाहा नहुनुलाई प्रमाण मान्न सकिन्छ कि त्यस स्कुलका शिक्षक स्वयम् सोचेजति अनुशासित रहेनछन् । यदि तिनीहरू अनुशासित थिए भने तिनले विद्यार्थीलाई पनि अनुशासन सिकाउँथे र तिनले केराको बोक्रा सडकको बीचमा फ्याँक्ने थिएनन् ।
साँच्चै हो । हिजोआज नेपालका स्कुल–कलेजमा कतै पनि अनुशासनको महत्व र नैतिकताबारे गम्भीरतापूर्वक पढाउने गरिएको छैन । पहिले–पहिले, धेरै पहिले पढाइएको अनुशासन र नैतिकताको केही असर बाँकी रहेकाले नेपाली नागरिक समाज पूरै ध्वस्त भएको छैन । यदि त्यसो पनि नहुँदो हो त आज यो मुलुक मान्छे बस्न पूरै नालायक ठहरिने पो थियो कि ! आज पनि मान्छे पान खाएर सडक र सडकको भित्तामा निर्धक्कले थुक्छन् । सडक फोहोर बनाउँछन् । बाटोमा खकारेर थुक्छन् । जहाँ मन लाग्छ त्यहीँ सिँगान फ्याँक्छन् । थुक्नेले थुक्छ, सिँगान फ्याँक्नेले फ्याँक्छ तर कसैले नथुक, खकार–सिँगान जथाभावी नफ्याँक भन्दैन । किन भन्दैन भने अपवादलाई छाडेर सबका सबले त्यसै गर्छन् । त्यसकारण तिनले कसैलाई सल्लाह दिने हैसियत राख्दैनन् । समाजका प्राय: सबै पक्ष अनुशासनहीन हुँदै आफ्नो परिचय मेटाउनतर्फ अग्रसर भए । तलब सुविधा कम भएर परिवार पाल्न मुस्किल भएर हो कि कुन्नी, नेपालका मालपोत, भन्सार र कर कार्यालयमा काम गर्ने कर्मचारी घुस खानतर्फ आकर्षित भएको बुझिन्छ । घुस भ्रष्टाचारतर्फ कर्मचारी आकर्षित हुनु गैरकानुनी र सजायलायक मात्र नभई अनुशासनहीन काम पनि हो । एक कान दुई कान मैदान हुँदै आज नेपाललाई एउटा देश हो भन्ने तरिकाले संसारमा जहाँजहाँ चिनिन्छ त्यहाँका मानिसले सीधै भन्छन्, ‘नेपालका कर्मचारीले सीधा वा घुमाएर धेरैथोरै घुस खान्छन् ।’ सबै खालको अवस्थालाई प्रमाण र आधार मानेर व्याख्या गर्दा नेपालका कर्मचारी मात्रै होइन राज्य सञ्चालनका प्रक्रियामा सहयोगी प्राय: सबै अङ्ग तोकिएको कर्तव्यमा नअडिएर अनुशासनबाट बाहिरिएको छर्लङ्गै देखिन्छ । तर, अचम्म मान्दा हुन्छ, सबैले धेरैथोरै अनुशासन तोडेको अवस्थामा नेपालमा नेपाली जनताको अन्तिम ठूलो शक्ति तथा सम्पत्ति नेपाल आर्मी र ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नामको विशुद्ध सामाजिक संस्थाले अनुशासनलाई कायम राखेको पाइयो । यी दुई सङ्गठनको प्रभाव र भूमिका सकारात्मक हुँदा मुलुक थेगिन मद्दत पुग्यो । यदि यी दुई सङ्गठनमा पनि अनुशासन कायम नभएको भए नेपाललाई अनुशासनहीनहरूको देश भनिदिए हुने अवस्था सिर्जना हुन्थ्यो । संसारभर नेपालको परिचय नकारात्मक हुन्थ्यो र नेपालीलाई दुनियाँका सामु मुख देखाएर हिँड्न पनि मुस्किल हुन्थ्यो । जस्ताको त्यस्तै भन्नुपर्छ, ‘नेपाल सरकार मातहतको नेपाल आर्मी र भारतमा मुख्य अखडा रहेको ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र जसको थुप्रै शाखा नेपालमा छन्, यी दुई सङ्गठनले नेपालीको इज्जत धानिदिएका छन् ।’ यिनीहरू कति अनुशासित छन् त ? पहिले व्याख्या गरौँ नेपाल आर्मीको ।
नेपाल आर्मीले राज्यले तोके–अह्राएको काम इमानदारीपूर्वक गर्दै आएको छ । यसको चेन अफ कमान्ड कहिल्यै पनि भत्किएन । अर्थात् यो सङ्गठनले कहिल्यै पनि आफूलाई अनुशासनबाट बाहिर लगेन । राष्ट्रियताको पहरेदारको रूपमा रहेको यो शक्ति निकै पुरानो शक्ति हो । नेपाल आर्मीका कर्मचारीमा तलको सिपाहीदेखि प्रधानसेनापतिसम्म रहेका छन् । माथिको आदेश पालना गर्नु अनुशासन मात्रै होइन धर्म र कर्तव्य पनि हो यिनको । सेना परिचालनका लागि आदेश दिने सर्वोच्च स्थानमा राजतन्त्र हुँदा राजा बस्थे यतिबेला राष्ट्रपति डा. रामवरण यादव रहेका छन् । करिब लाख सङ्ख्या रहेको नेपाल आर्मीका कर्मचारी लप्पनछप्पन गर्ने ठाउँमा जाँदैनन् । ब्यारेकभित्र बस्छन् । तोकिएको काम गर्छन् । दुई–चार महिनामा एकपटक घरबिदामा निस्किन्छन् । धेरै बोल्दैनन्, ठिक्क बोल्छन् । आर्मीभित्रका अनुशासन पालनासम्बन्धी कुरा गर्छन् । घुस, भ्रष्टाचार, कमिशनजस्ता विषय यिनले शब्दमा मात्रै सुनेका होलान् व्यवहारमा यिनीहरू कञ्चन छन्, सफा र निर्मल छन् । जनताको घरदैलोमा आगलागी हुँदा यिनले आफ्नो ज्यान जोखिममा पारेरै पनि मद्दत गर्ने गरेका छन् । गाडी दुर्घटना हुँदा घाइतेलाई सामान्य उपचार र अस्पताल लैजाने काम त यिनले गरेकै छन्, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट जनधनको क्षति हुँदा पनि यिनले प्रशंसालायक ढङ्गले सहयोग गरेका छन् । आफ्नो मुलुकभित्र यिनले कुनै पनि नागरिकलाई तर्साउने, धम्क्याउने र आफ्नो शक्तिको दुरुपयोग गरेका छैनन् । अपवादलाई छाडेर नेपाल आर्मीका सबै कर्मचारीले मुलुकभित्र अनुशासनको पालना गरी अन्यलाई ‘अनुशासन होस् त नेपाल आर्मीको जस्तो होस्’ भन्न बाध्य तुल्याएका छन् । यति मात्रै होइन, नेपाल आर्मीले युद्धग्रस्त विदेशी मुलुकमा शान्तिसेनाको रूपमा खटिएर मानवीय मूल्य र मान्यताका आधारमा काम गरी दुनियाँबाट स्यावासीसमेत बटुलेका छन् । सम्पूर्ण नेपाली जनताको इज्जत र गरिमा उँचो बनाएका छन् । हिजोआज पनि चोक चौराहमा मुलुकको अवस्थालाई सूक्ष्म ढङ्गले व्याख्या गर्नेहरू भन्छन्, ‘अरू सबै असफल भए पनि डराउन पर्दैन, सबै असफल भए पनि आडभरोसा दिएर लोकतन्त्र सुदृढीकरणका लागि नेपाल आर्मीले मद्दत गर्छ । नेपाल आर्मी अरू देशको आर्मीजस्तो आफैँ अघि सरेर सत्ता हात पार्न अग्रसर हुँदैन । जनताप्रति औधी इमानदार छ ।
अब चर्चा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्रको । ईश्वरीय विश्वविद्यालय पनि भन्ने गरिएको यो संस्थामा आबद्ध मानिसले सधैँभरि अरूको भलो चिताउँछन् । आफू सकारात्मक चिन्तन गर्छन् र अरूलाई पनि त्यस्तै गर्न सल्लाह दिन्छन् । हिजोआजका मान्छे अनावश्यक धनको लोभमा फसेका छन्, पद र भौतिक सुविधाको लोभमा फसेका छन् । यो अवस्था बुझेका यिनले धनको अतिलोभमा नफस्न सल्लाह दिने गरेका छन् । पद र भौतिक सुविधा एकप्रकारको भ्रम मात्रै भएको यिनीहरूले निष्कर्ष निकालेका छन् र यो खालको भ्रममा नफस्न भनिरहेका छन् । ब्रह्माकुमारी र ब्रह्माकुमार भन्ने गरिएका यिनीहरू मान्छे नै हुन् । अनेकखालका मान्छेहरूको छेउछाउमै बस्ने यिनीहरू अरूको ईष्र्या गर्दैनन् । हरेक चिज नाशवान छ । आत्माबाहेक शरीर पनि एक दिन नासिन्छ, त्यसैले क्रोध, लोभ, ईष्र्या, मोहमा फस्न हुँदैन भन्छन् यिनीहरू । ठीक हो सोह्रै आना ठीक हो यिनको तर्क । काम, क्रोध, लोभ, मोह र अहंकारको जालमा यो युगमा मानिस फसेका छन् । आफू अनुशासित भएर यिनले अरूलाई यस्ता विकारबाट टाढा रहन निरन्तर सिकाइरहेका छन् । जन्म र मृत्युको बीचमा जीवन हुन्छ । जन्म जुन तरिकाबाट होस्, मृत्यु जुनसुकै कारणबाट होस् आत्मा अमर बताउँछन् र सकारात्मक ढङ्गले बाँच्ने कला सिकाउँछन् । हुन त ब्रह्माकुमारी र ब्रह्माकुमारहरू पनि एक प्रकारका कलाकारहरू हुन् । बाँच्नका लागि यिनीहरूले पनि कला प्रस्तुत गर्छन् । अचम्मै लोभलाग्दो तरिकाको सकारात्मक कला । नमार, नकाट, नलुट, जाँडरक्सी नखाऊ, भ्रष्टाचार नगर, अशिष्टलाई शिष्ट व्यवहार गर, कुरा नबुझ्नेलाई बुझाऊ, आफूले ज्ञान सिकेर अज्ञानीलाई सिकाऊ भन्छन् । यी कलाकारलाई पनि रिस त उठ्दो हो, तर देखिँदैन । रिसलाई भित्रभित्रै दबाउने वा समाप्त पार्ने तागत छ यिनीहरूमा । त्यो क्षमता अन्य सामान्य मानवमा हुँदैन । निष्कर्षमा यिनीहरू मान्छेले जे गर्नुपर्छ त्यो गर्छन् जुन काम गर्न हुँदैन यिनीहरू त्यो काम कहिल्यै गर्दैनन् । यिनीहरू देवीदेवता होइनन्, तर देवीदेवतामा हुने केही गुण भने अवश्य भेटिन्छ । यिनीहरू यति अनुशासित छन् कि यिनलाई अनुशासनका प्रतीक भनिदिए पनि हुन्छ ।
आर्मीहरू ब्यारेकमा बस्छन्, ब्रह्माकुमार–ब्रह्माकुमारीहरू आश्रममा बस्छन् । अनुशासनको चेन अफ कमान्ड हुबहु मिल्छ । माथिकाले भनेको तलकाले मान्ने । एकै मिनेटमा सूचना जहाँ पु-याउनुपर्ने हो तुरुन्त पु-याइहाल्ने । आर्मी र ब्रह्माकुमार–कुमारीहरूमा चालचलनका कोणबाट भने निकै फरक देखिन्छ । आर्मीले सरकारबाट तलब–भत्ता लिन्छन् । दैनिक परेड खेल्छन् । हातमा बन्दुक बोक्छन् । उस्तै परे लडाइँमा भाग लिन्छन् । सम्भोग गर्छन् । पारिवारिक झमेलामा फस्छन् । यिनको आमा, बा, स्वास्नी, छोराछोरी, भान्जाभान्जी, मामामाइजू, काकाकाकी, दिदीभिनाजु, बहिनीज्वाइँ, फुपू–फुपाजु मित–मितिनीलगायत अनेकअनेक नातापाताका मान्छे हुन्छन् । ब्रह्माकुमार–कुमारीहरूले कहीँकतैबाट तलब–भत्ता पाउँदैनन् । दाताहरूले दिए खाने हो, तर माग्दैनन् । परेड खेल्दैनन् परमात्मा शिवबाबाको ध्यानमा बस्छन् । हातमा बन्दुक हुँदैन ज्ञानअमृत स्वरूपका ‘मुरली’ भनिने अक्षरको पाना हुन्छ । लडाइँ–झगडा गर्दैनन्, सधैँ मेलमिलाप गर्नुपर्छ भन्छन् र त्यसै गर्छन् । सम्भोगबाट टाढा रहनु यिनको खास विशेषता हो । बिहे गर्दैनन् । परिवार जोडेर ठाडो नर्कमा प्रवेश गर्दैनन् । दु:खको दलदलमा गाडिँदैनन् । यिनको कोही नातेदार हुँदैनन् । सिर्फ शिव परमात्माबाहेक यिनका न अगाडि कोही छ न त पछाडि कोही । यिनलाई जत्तिको आनन्द शायद मान्छेको शरीर धारण गर्ने अरू कसैलाई छैन । एउटा वास्तविकता यो हो– आर्मीलाई सम्भोगको एउटा सुविधा छ, त्यसबाहेक कुनै सुविधा छैन । सबै दु:ख मात्रै छ । हजारौँहजार दु:खैदु:खको पहाड मात्रै छ । ब्रह्माकुमार–कुमारीलाई सिर्फ एउटा सम्भोगको सुविधा छैन बाँकी संसार सबै छ । सुखैसुख र आनन्दैआनन्दको सागरै छ । कुनै पिर छैन, कुनै चिन्ता छैन । त्यसकारण भन्न सकिन्छ– अनुशासनको मामलामा आर्मी र ब्रह्माकुमार–कुमारीहरूमा एकरूपता देखिन्छ । यिनको अनुशासनको प्रभाव नेपाली नागरिक समाजमा गतिलैसँग परेको छ । आर्मी अनुशासनको प्रभाव एक प्रकारको र ब्रह्माकुमारी राजयोग सेवाकेन्द्रको प्रभाव अर्कोे प्रकारको छ, तर दुवैको प्रभाव सकारात्मक छ । कल्पनालाई आधार मानेर भन्न सकिन्छ– सबै पक्षमा अनुशासन भत्किएर मुलुक थलालिङ्ग भएको अवस्थामा, जसले सक्छ उसले ठोक्ने र लुट्ने भएको अवस्थामा आर्मी र ओमशान्तिवालाहरूको यो खालको उपस्थिति पनि नभएको भए यो मुलुकको अवस्था आज कस्तो हुन्थ्यो होला ? त्यो दृश्यलाई कल्पिँदा पनि आङ नै जिरिङ्ग हुन्छ, हातगोडै लल्याकलुलुक हुन्छन् । धन्य हो नेपाल आर्मी ! धन्य हो ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र !!